काठमाडौं । सरकारले चैत २५ गतेदेखि बालबालिकाको लागि टाईफाईड विरुद्धको खोप मुलुकभर अभियान सञ्चालन गर्ने भएको छ । १५ महिनादेखि १५ वर्षमुनिका बालबालिकालाई टाईफाईड विरुद्धको एकमात्रा खोप दिन लागिएको हो । खोप बैशाख १८ गतेसम्म दिइने छ ।
स्वास्थ्य सेवा विभाग, खोपशाखा प्रमुख सागर दाहालका अनुसार अभियानकारुपमा खोप सञ्चालन भएको एक महिना पछि नियमित खोपमा समावेश गरिने छ । नियमित खोपमा रहेको दादुरा रुबेला खोपसँगै १५ महिना पुगेका बालबालिकालाई टाईफाईड विरुद्धको खोप पनि दिइने छ । एक मात्रा लगाए पुग्ने यस खोपको प्रभावकारिता ९५ प्रतिशत रहेको जनाईएको छ ।
खोपको लागि गाभिले खोपको लागतको लागि आर्थिक सहयोग गरेको छ । यो खोप अभियान विद्यालय केन्द्रीत हुने छ । एलर्जिको समस्या, एड्स भएका, ज्वरो आएका बालबालिकालाई टाईफाईड खोप नदिइने जनाइएको छ । ९५ प्रतिशत भन्दाबढी बालबालिकालाई खोप लगाउने लक्ष्य लिइएको छ ।
विश्व स्वास्थ्य संगठनले सन् २०१७ मा टाईफाइडको समस्या भएका मुलुकले नियमित खोपमा समावेश गर्न सिफारिस गरेको थियो । यसबारेमा खोप सल्लाहकार समितिले हैजा, टाईफाईड, रोटाभाइरसबाट हुने समस्या विरुद्धको खोपलाई राष्ट्रिय खोपमा समावेश गर्न सिफारिस गरेको थियो । सन् २०२० मा टाईफाईड विरुद्धको खोप अभियानको रुपमा चलाउने र नियमित खोपमा समावेश गर्न सुझाव दिएको थियो । सोहि सुझाव अनुरुप कार्यक्रममा समावेश गरिएको हो ।
टाईफाईड विरुद्धको खोप अभियान ७७ वटै जिल्लाका ७ सय ५३ पालिकामा सञ्चालन हुने छ । विद्यालयमा खोप केन्द्र राखेर लगाइने छ । विद्यालय बाहिर रहेका बालबालिकालाई पनि खोपमा समावेश गर्न लगत पहिला नै लिइने छ । सोहि आधारमा खोप लगाइने छ । छुटेका बालबालिकलाई स्वास्थ्य संस्थामा पछि दिइने छ । त्यसकालागि स्थानीय तहमा छलफल गरिने छ ।
नेपालमा वार्षिक ४ लाख ५० हजार व्यक्ति टाईफाईड हुने गरेको पाइएको छ । पाटन एकेडेमि अफ हेल्थ साइन्सले गरेको एक अध्ययन अनुसार, प्रति लाखमा एक शय भन्दा बढी व्यक्तिलाई समस्या भए जनस्वास्थ्य समस्याको रुपमा लिइन्छ । नेपालमा प्रति लाखमा एक हजार ९६ जनालाई टाईफाइड भएको छ । बालबालिकाको हकमा प्रति एकलाखमा १० हजारलाई टाईफाइड भएको पाइएको छ ।
के हो टाईफाईड ?
व्याक्टेरियालाई पानीजन्य रोगका रुपमा लिइन्छ । एक प्रकारको व्याक्टेरियाबाट यो रोग लाग्छ । सबै उमेर समूहमा यो रोग लाग्न सक्छ । तर, १५ वर्ष मुनिका बालबालिकालाई धेरै लाग्छ । टाईफाईड भएका व्यक्तिको दिसाबाट व्याक्टेरिया बाहिर निस्कन्छ । पानी र खानेकुरामा मिसिएको अवस्थामा अन्यलाई पनि सर्छ ।

