वीरगन्ज । मुलुकका विभिन्न आठ नाकामा होल्डिङ सेन्टर निर्माण गरिएको छ । तर महिनौं बित्दासमेत निर्माण सम्पन्न भएका होल्डिङ सेन्टर हस्तान्तरण हुन सकेको छैन । जसका कारण यी उपयोगविहीन छन् ।
पछिल्लो समय दुई छिमेकी मुलुक चीन र भारतमा कोरोना संक्रमण उकालो लाग्दै गएको छ । कोरोनाको जोखिम बढ्दै जाँदा पनि होल्डिङ सेन्टरको प्रयोगमा कसैले चासो लिएको देखिदैन ।
यो आकर्षक भवन कोरोनाबाट जोगिन सरकारले बनाएको होल्डिङ सेन्टर हो । पर्सा जिल्लामा २८ करोडको लागतमा ६० वटा यस्ता भवन बनाइएका छन् । जसमध्ये १३ वटा त भान्सा घर मात्रै छन् । होल्डिङ सेन्टरमा बस्ने बिरामीका लागि २२ वटा शौचालय बनाइएको छ । यहाँ राखिएको नौ सय बेडमा सामान्य लक्षण भएकाहरुलाई राखिने छ भने बाँकी १ सय बेड जटिल अवस्थाको बिरामीलाई राखिने छ । यसैगरी अन्य ३ वटा एसीसहितको भवन अनुगमन गर्न आउने सरकारी प्रतिनिधिका लागि समेत निर्माण गरिएका छन् । तर सुविधा सम्पन्न यी होल्डिङ सेन्टर प्रशासनिक अलमलका कारण प्रयोग हुन सकेका छैनन् । अहिले छिमेकी मुलुकमा कोरोना संक्रमण फैलिन थालेसागै यसको प्रयोगका लागि तयारी अवस्थामा रहनु पर्ने हो । तर यसको सञ्चालनका लागि अहिलेसम्म कसैले कुनै चासो देखाएका छैनन् ।
पर्साका सहायक प्रमुख जिल्ला अधिकारी महेश तिम्सिनाले भने, ‘त्यतिखेर नेपालमा एक्दमै कोभिडको महामारी थियो । यति छिट्टै नियन्त्रणमा आउला भन्ने थिएन । एकै ठाउँ राख्ने व्यवस्था नभएकाले नेपाल सरकारले सातवटै प्रदेशमा सातवटा एक-एक हजार क्षमताको होल्डिङ सेन्टर बनाएको थियो ।’
यो त्यही शंकराचार्य प्रवेश द्वार हो । जहाँ छेवैमा कोभिड १९ को हेल्पडेक्सबाट नेपाल भित्रनेको स्वाब परीक्षण गरिन्थ्यो । तर अहिले सुनसान छ । छिमेकी मुलुकमा कोरोना संक्रमण फैलिदै गएपनि परीक्षणमा चासो दिईएको छैन ।
चीन तथा भारतका विभिन्न सहरमा फेरी कोभिडको चौथो लहरको संक्रमण बढ्दै गईरहेको छ। त्यसको सोझो असर खासगरी सीमावर्ती सहर र बस्तीमा पनि देखिने हुनाले नाका हुँदै आउनेहरूको परीक्षणमा कडाई गरिएको दाबी गरिएको छ । तर कुनै परीक्षण छैन । बरु कर्मचारीका आफ्नै गुनासा छन् ।
वीरगञ्ज हेल्प डेस्कका कर्मचारी कृष्णकुमार ठाकुर भन्छन्, ‘यति मरीमरी हामी काम गरिरहेका छौँ । छुट्टी पनि छैन । ६ महिनादेखि तलब पाएको छैन ।’
तर पनि हेल्प डेस्कमा खटिएका स्वास्थ्यकर्मीले वीरगन्ज नाकाबाट हाल नेपाल आवतजावत गर्ने करिब २ देखि ३ सय जना विदेशीको दैनिक रुपमा कोरोना संक्रमण परीक्षण भइरहेको दाबी गर्छन् ।
सीमावर्ती क्षेत्र तथा विमानस्थल लगायत सबै स्थानमा स्वास्थ्य परीक्षणमा कडाई नगरिएको भन्दै सरोकारवालाले आक्रोश पोखेका छन् ।
रोग लाग्नुभन्दा रोग लाग्न नदिनु नै उत्तम हो । छिमेकी मुलुकमा संक्रमण दर उच्च भएसँगै सीमा नाकामा कडाई गरिनु पर्ने हो । निर्माण सम्पन्न भएका होल्डिङ सेन्टर सञ्चालनमा ल्याउनु पर्ने हो । तर यसतर्फ सरकारी तदारुकता देखिदैन ।

