पद्मरत्न तुलाधरलाई कुनै पदले चिनाउन सकिँदैन । उनी सांसद भए, मन्त्री पनि भए । राष्ट्रिय पञ्चायतका सदस्य पनि निर्वाचित थिए । सरकार–माओवादी शान्ति वार्ताका सहजकर्ता बने । उनी त्यसभन्दा बढी नागरिक अधिकारकर्मीका रूपमा निरन्तर सार्वजनिक हितमा समर्पित रहे । त्यसअघि नेपाल भाषामा पत्रकारिता तथा साहित्य सिर्जनामा सक्रिय थिए ।
७९ वर्षको उमेरमा मस्तिष्कघातको उपचारका लागि अस्पताल भर्ना भएका तुलाधरको आइतबार निधन हुँदा एउटा सक्रिय नागरिक अभियन्ताको अभाव खट्किने भयो । सरकारले राष्ट्रिय सम्मान अर्पण गर्यो, नागरिक तथा सांस्कृतिक अधिकारका क्षेत्रमा कार्यरत, शुभचिन्तक, हितैषीहरूले उनलाई भावपूर्ण बिदाइ गरे ।
उनको सार्वजनिक जीवनको एउटा मात्र उत्कर्ष थिएन । देशको राजनीतिक इतिहासको उतारचढावका प्रत्यक्षदर्शी, कतिपय विकासक्रममा साक्षी र सक्रिय योद्धा पनि भए । ०१५ को पहिलो संसदीय चुनावमा कम्युनिस्ट नेता पुष्पलाल श्रेष्ठको कार्यकर्ता बनेका उनी पञ्चायतकालमा भाषा अभियानसँगै वामपन्थी गतिविधिमा खट्न थाले । ०२२ को भाषा आन्दोलनमा सरिक भएका उनी ०३७ मा भएको जनमतसंग्रहमा सहाना प्रधान अध्यक्ष रहेको नेपाल कम्युनिस्ट पार्टीले खुलामञ्चमा गरेको सभाका वक्ता बने । त्यहाँ उनले जनमतसंग्रहको प्रचारप्रसार सबै भाषामा गरिनुपर्ने माग राखे । भोलिपल्ट गिरफ्तार भए ।
कुनै पार्टीमा सदस्य भने भएनन्, पञ्चायतकालदेखिकै स्वतन्त्र वामपन्थी रहन रुचाए । २०३६ मा तुलाधरले भाषिक, सांस्कृतिक अधिकारका लागि नेपाल भाषा मंका खल: नामक संस्थाको अगुवाइ गरे, जुन वर्ष नेपाल वर्ष ११०० लाग्दै थियो । यसलाई राष्ट्रिय मान्यता माग्दै उनले राजधानीमा ठूलो प्रदर्शन निकाले । त्यो अभियान धेरै वर्षपछि बहुदलकालमा सफल भयो । आदिवासी जनजातिलाई अधिकारका लागि संगठित गर्ने श्रेय उनलाई जान्छ ।
२०४३ सालको पञ्चायत निर्वाचनमा जनपक्षधर उम्मेदवार भएर काठमाडौंबाट अत्यधिक मतले जिते । चुनाव प्रचारप्रसारमा उनले टोलटोलमा दिएका भाषणका क्यासेट निकै बिक्री–वितरण भए । राष्ट्रिय पञ्चायतमै बहुदल मागे । प्रतिरोधी चेत भएका परिवर्तन पक्षधरहरूमा आशाको सञ्चार छरिरहे । पञ्चायतइतरका सबैले उनलाई मत दिए, के कांग्रेस, के कम्युनिस्ट । त्यसको तीन वर्षमा देशमा विशाल जनआन्दोलनको वातावरण बन्यो ।
२०४६ सालको जनआन्दोलनका लागि सहाना प्रधानको अध्यक्षतामा संयुक्त वाममोर्चा गठन गर्न उनको पनि भूमिका थियो । १२ टुक्रामा विभाजित कम्युनिस्ट जोड्दै नेपाली कांग्रेससँग सहकार्यका लागि गणेशमान सिंहसँग सुरुवाती वार्तामा संलग्न भएका थिए । २०४८ र २०५१ मा सांसद निर्वाचित भए । सूर्य चिह्नबाट चुनाव जिते
पनि उनी आफूलाई स्वतन्त्र वामपन्थी मान्थे । मनमोहन
अधिकारीको मन्त्रिपरिषद्मा स्वास्थ्यमन्त्री भए । पञ्चायतको चुनावमा उनले लिएको सूर्य चिह्नलाई नै एमालेले बहुदलकालमा आफ्नो बनायो ।
माओवादीको दसवर्षे सशस्त्र द्वन्द्वको शान्तिपूर्ण रूपान्तरणमा पनि उनले सक्रिय सहजकर्ता तथा सम्पर्कसूत्रको भूमिका गरे । नेपालभित्रका सबै राजनीतिक शक्तिले पत्याएका व्यक्ति
थिए । समन्वयकारी भएरै शान्ति प्रक्रियाको सूत्रधारका
रूपमा उनले काम गर्न सके । द्वन्द्वकालमा माओवादी, राज्य,
भारत, युरोपेली मुलुकलगायतका अन्तर्राष्ट्रिय समूह सबैसँग उनी सम्पर्कसेतु बने ।
सरल जीवनशैलीका तुलाधर साधारण शीलस्वभाव, कमलो हृदय र अहोरात्र सार्वजनिक सेवामा समर्पित थिए । पदप्रति आशक्त भएनन् । मानव अधिकार, लोकतन्त्र र न्यायको अधिकारमा सदैव डटिरहे । त्यसमा नयाँ आयाम थपे– जातीय र भाषिक पहिचानको । यो आयामले हाम्रो राजनीतिलाई प्रभावित तुल्याइरहेको छ ।
सत्ताको सधैं खबरदारी गर्न रुचाउने समाजका यस्ता सचेतकको जीवनले नयाँ पुस्तालाई सार्वजनिक सेवामा लाग्न प्रेरित गरिरहनेछ ।साभार ः कान्तिपुर, २०७५ कात्तिक २०
पदबाहिरका रत्न
पदबाहिरका रत्न
- अ
- अ
- अ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस

