सुनसरी , धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पूर्ण स्वचालित बायोकेमेस्ट्री एनालाइजर जडान भएको छ । उक्त मेसिन जडान भएसँगै एकै पटकमा प्रतिघण्टा १२ सय टेस्टको रिपोर्ट निकाल्न सकिने बताइएको छ ।
प्रतिष्ठानमा सन २०१२ मा जडान भएको सानो क्षमताको एउटा मात्र बायोकेमेस्ट्री एनालाइजर मेसिनले प्रतिघण्टा ३ सय टेस्ट रिपोर्ट मात्र निकाल्ने गरेको थियो । तर उपचारका लागि दैनिक आउने ३५ सय जनामध्येको रगत र पिसावबाट हुने ५ हजार टेस्ट रिपोर्ट दिन बायोकेमेस्ट्री विभागलाई सकस पर्दै आएको थियो ।
ओपीडीमा चिकित्सकले बिरामी परीक्षण गरेर ल्याब रिपोर्टका लागि रगत र पिसावबाट पहिचान गर्न टेस्ट पुर्जीमा विवरण लेखिदिने गरेको छ । सोही विवरणअनुसार बिरामीहरू प्रयोगशालामा पुगेर रगत र पिसावको नमुना दिएर रिपोर्ट पर्खिने गरेका छन् । तर सानो क्षमताको मेसिन भएकाले धेरै टेस्टको रिपोर्ट एकसाथ निकाल्न नसकेपछि विभागले भोलिपल्ट मात्रै रिपोर्ट दिने गरेको थियो । भोलिपल्ट रिपोर्ट पाए पनि बिरामीले उक्त दिन चिकित्सकलाई देखाउन पाउने व्यवस्था नहुँदा ओपीडीमा आफ्नो रिपोर्ट देखाउन अर्को दिन धाउनु परेको थियो ।
टाढा र अर्को जिल्लाबाट आएका बिरामीले ओपीडी सेवा, प्रयोगशालाको सेवापछि पाएको रिपोर्ट चिकित्सकलाई देखाउन कम्तीमा तीन दिनको समय लाग्ने गर्दा सेवाग्राहीले अनावश्यक सास्ती र आर्थिक व्ययभार खेपिरहेको गुनासो गर्दैआएका थिए । विभागका प्राविधिक इन्चार्ज राजेन्द्र मोहन चौधरीले भने, ‘पहिला सानो क्षमताको एउटा मत्र एनालाइजर मेसिन हुँदा एकैपटक धेरै टेस्टको रिपोर्ट दिन सकेका थिएनौं । प्रयोगशालाबाट रिपोर्ट ढिलो पाउँदा बिरामीहरुले सास्ती खेप्ने गरेका थिए । रिपोर्ट निकाल्न समय लाग्थ्यो । अब नयाँ मेसिनबाट साढे तीन घण्टामा टेस्ट रिपोर्ट दिन सक्ने भएका छौं ।’
प्रतिष्ठानमा यसै साता जडान भएको उक्त मेसिन बुधबारदेखि सञ्चालनमा आएको हो । यो मेसिन जापानको वेकमान कल्टर कम्पनीले उत्पादन गरेको हो । नेपालमा उक्त मेसिन जडान भएको बीपी प्रतिष्ठान दोश्रो हो । यसअघि आधुनिक बायोकेमेस्ट्री मेसिन काठमाडौंको एक अस्पतालले मात्र जडान गरेको बताइन्छ ।
प्रतिष्ठानमा जडान भएको नयाँ बायोकेमेस्ट्री एनालाइजर मेसिनले लिभर फङ्सन (एलएफटी) लिपिड प्रोफाल (कोलेस्टेरोल) ग्लुकोज, युरिया, मृगौला सम्बन्धी टेस्ट क्रिटिनिन, मुटु सम्बन्धी कार्डियाक प्रोफाइल, एनिमियालगायत ६० वटा टेस्ट रगत र पिसावको नमुनाबाट रिपोर्ट दिन सक्छ ।
प्रतिष्ठानमा दैनिक उपचारका लागि आउने बिरामीको चाप बढेकाले ५ वर्षदेखि नै प्रयोगशालामा ठूलो क्षमताको बायोकेमेस्ट्री मेसिन जडान गर्ने प्रयास हुँदै आएको थियो । विश्व बजारमा उक्त मेसिनको मुल्य करिब २ करोड रुपैयाँ पर्छ । साभार : कान्तिपुर
प्रकाशित : फाल्गुन १८, २०७८

