काठमाडौं । नेपालगन्ज मेडिकल कलेजमा सुनिल शर्माले लगानी गरेका छन् ।
डा. शर्माले मेडिकल कलेजको ५१ प्रतिशत शेयर लिएका छन् । स्रोतका अनुसार, त्यसको एमओईमा हस्ताक्षर भएको छ ।
उनी काठमाडौं मेडिकल कलेज (केएमसी) मा कार्यकारी अध्यक्ष पनि हुन् । बैना गर्दा उनले २ करोडको चेक दिएका थिए । ९० दिनको समयसीमा थियो । केएमसीमा उनले १ अर्ब ६९ करोड ८६ लाख ४० हजार रुपैंया लगानी गरेका थिए । उनले ५ असारमा कम्पनि रजिष्ट्रार कार्यालयमा नोबेल क्यान्सर हस्पिटल दर्ता गराएका थिए । सोहि आधारमा बैंक अफ काठमाडौं कन्सोर्टिएम भई रकम जुटेको थियो । डा. शर्मा बैंकको १२ वर्ष देखिका ग्राहक हुन् । उनले यस बैंकबाट २ अर्ब सम्म लोन लिएको स्रोतको दावी छ । उनले कुमारी बैंकबाट पनि लोन लिएका छन् ।
को हुन सुनिल शर्मा ?
मोरङमा जन्मेका डा. शर्मा जन्मँदै आफू गरिब र सुकुम्बासिका छोरा भन्ने गर्छन । उनले सम्पत्तिको नाममा साढे १७ कट्ठा जमिन भएको र वर्षभरि खान समेत नपुग्ने अवस्था रहेको सुनाउँछन् ।
उनका मामा कैलालीमा शिक्षक थिए । टिकापुरमा मावलीमा बसेर उनी पनि मामासँगै बसे । उनले एकजना किशोरसँग मित लगाए । मितबुवा रहेछन, कालिकोटका । उनले २०४९ सालमा कालिकोटबाट एसएलसी दिए । उनी सिंगो कर्णाली अञ्चलबाट प्रथम श्रेणिमा एसएलसी उत्तिर्ण भए ।
चीनबाट एमबीबीएस गरेका हुन् । शर्मा नोबल मेडिकल कलेज, विराटनगरका अध्यक्ष हुन्। शर्मा सञ्चालक रहेको यो कलेज पनि पटक पटक विवादमा तानिने गरेको छ। शर्मा कांग्रेसका नेता हुन्, पहुँच माथिल्लो तहसम्म छ।
तत्कालीन राजा ज्ञानेन्द्र शाहले २०६१ माघ १९ मा सत्ता हातमा लिएपछि राजाको कदमबारे विदेशीसँग कुरा गर्न सुजातालाई स्थलमार्ग हुँदै भारत पुराउन शर्माको सहयोग थियो ।विराटनगरका डा। ज्ञानेन्द्र गिरी, नवराज पाण्डे, आदित्य खनाल, रविन दाहाललगायतको समूह नोबेल मेडिकल कलेज सञ्चालन तयारीमा थिए । कलेजका लागि भौतिक पूर्वाधार र टिचिङ फ्याकल्टी व्यवस्था गरेपछि उनीहरूले सम्बन्धनका लागि काठमाडौं विश्वविद्यालयमा आवेदन दिए । सम्बन्ध नमिलिरहेका बेला शर्मा भेट भए । सम्बन्धन दिलाएवापत ५ प्रतिशत सेयरको बार्गेनिङ गरेका सुनिल शर्मा अहिले त्यसका मालिक हुन् ।
स्थापनाकालमा डा. गिरी अध्यक्ष रहेको नोबेल अस्पतालमा २८ करोड लगानी थियो ।सुरुका लगानीकर्ता डा. गिरी र पाण्डेलाई नोबेलबाट हटाएपछि शर्माले साझेदारका रूपमा विराट अस्पतालका सञ्चालक डा.ज्ञानेन्द्रमानसिंह कार्कीलाई भित्राएर ५० प्रतिशत सेयर दिए । पाँच प्रतिशत सेयरबाट नोबेल छिरेका शर्मा २०६५ सम्म ५० प्रतिशत शेयरधनी मात्र होइन, नोबेललाई एकलौटी पकडमा लिन सफल भए । डा. कार्कीसँग उनको साझेदारी लामो समय टिकेन । कार्की पनि किक आउट भए । कार्कीले अहिले बिराट मेडिकल कलेजको सम्बन्धनलाई पर्खिरहेका छन् । बिराट नर्सिङ होम, बिराट हेल्थ कलेज कार्कीले चलाइरहेका छन् ।
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाका प्रिय भएका कारणले पनि शर्माले गएको प्रतिनिधि सभा निर्वाचनमा मोरङ–३ मा टिकट पाएका थिए ।
२०७४ सालको प्रतिनिधि सभाको निर्वाचनमा कांग्रेसको तर्फबाट शर्मा मोरङ क्षेत्र ३ बाट उम्मेदवार बनेका थिए। शर्मा तत्कालीन नेकपा एमालेका भानुभक्त ढकालसँग झिनो मतले पराजित भएका थिए।
उनले निर्वाचनका समयमा आफू चुनाव लडेको क्षेत्रमा नोबेल मेडिकल कलेजको तर्फबाट स्वास्थ्य शिविरको अभियान नै चलाएका थिए। पछिल्लो समय आफ्नो निर्वाचन क्षेत्रमा निर्वाचित सांसद ढकालभन्दा शर्मा बढी खटिरहेका छन्।

