काठमाडौं । कोरोना संक्रमण शुरु भएयता मुलुकमा चारजना स्वास्थ्य तथा जनसंख्या मन्त्री फेरिएका छन् । स्वास्थ्य मन्त्री फेरिंदा खोप आयात समेत प्रभावित भएको छ ।
एक वर्षअघि मुलुकमा कोरोना संक्रमण सुरु हुँदा भानुभक्त ढकाल स्वास्थ्यमन्त्री थिए । उनी पर्यटन मन्त्रालयमा सरुवा भएपछि २०७७ पुस १० मा स्वास्थ्यमन्त्रीको जिम्मेवारी हृदयेश त्रिपाठीले सम्हाले । उनी पनि हटेपछि २०७८ जेठ २१ मा शेरबहादुर तामाङले मन्त्रालय सम्हाले र १९ औं दिनमा पदमुक्त भए ।
त्यसपछि २०७८ असार १० गतेदेखि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारीसमेत पाएका छन् ।
स्वास्थ्य मन्त्रालयका एक उच्च अधिकारीले प्रशासनिक काममा खासै असर नपरे पनि निर्णयगत विषयमा असर पर्ने बताए । उनले स्वास्थ्य अनलाइनसँग भने, ‘एउटा मन्त्रीले खोप उत्पादन गर्ने मुलुक, कम्पनि वा दातासँग कुराकानी गर्छ । मन्त्री फेरिएसँगै पहलकदमी हराउँछ । प्रशासनिकरुपमा संस्थागत हिसाबले मन्त्रीको वार्ता र पहल त संस्थाभित्र रहला । एउटा फ्याक्टर मात्र भएन । धेरै फ्याक्टरहरु जिम्मेवार छन, खोप ल्याउन नसक्नुमा ।’ निर्णयको चरणमा पुगेको हुन्छ । त्यहिं बेला मन्त्री परिवर्तन हुँदा खरिद कार्य पनि प्रभावित हुने उनले बताए । नेपालले दातृ निकायलाई पनि खोप किनेर दिन आग्रह गर्ने गरेको छ । त्रिपाठीले स्वास्थ्यमन्त्रीबाट बिदा हुँदै गर्दा भारतले १७ लाख खोप १५ दिनभित्र पठाउने बताएका थिए । उनले भनेको मिति पनि गुज्रिसकेको छ । भारतको सिरम इन्स्टिच्युटले उत्पादन गरेको कोभिसिल्ड खोप खरिदका लागि सरकारले अग्रिम भुक्तानी गरे पनि १० लाख खोप आउन सकेको छैन ।
प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख २० मा चीन, रुसलगायत खोप उत्पादक राष्ट्र तथा कोभ्याक्ससँग निरन्तर सम्पर्क र समन्वय गरी छिटोभन्दा छिटो पर्याप्त मात्रामा खोप ल्याइसक्न नेपाल सरकार प्रयत्नशील रहेको बताएका थिए । त्रिपाठीले पनि जेठ १० को पत्रकार सम्मेलनमा जेठ ५ मै भारत, चीन, अमेरिका, बेलायत, रुसलगायतका खोप उत्पादक राष्ट्रलाई खोप खरिदका लागि आवश्यक समन्वय गरिदिनका लागि पत्र पठाएको बताएका थिए । जति पत्र पठाए पनि रेस्पोन्स गर्ने थोरैमात्रै छन् ।
त्रिपाठी मन्त्री भएलगत्तै हरेक दिनजसो मन्त्रालयमा खोप उत्पादन हुने मुलुकका राजदूतलाई बोलाएर खोप सहयोग मागे । सिरमसँग ४ डलरमा २० लाख डोज खरिदको सम्झौता पनि भयो । त्यसमध्ये १० लाख केही दिनमै आयो भने १० लाख अझै अनिश्चित छ । अहिले ब्याजसहित पैसा फिर्ता लैजानु भनिसकेको स्रोतले बतायो ।
खोप उत्पादक कम्पनीले तत्काल खोप नदिने भनेपछि कूटनीतिक र राजनीतिक रूपमा पहल गर्दा पनि ल्याउन सकिएको छैन । मन्त्री त्रिपाठी बाहिरिएपछि कूटनीतिक रूपमा छलफल नै नभएको मन्त्रालयका कर्मचारीहरू बताउँछन । एउटा मन्त्रीले अघि बढाएको खोप खरिद र अनुदान माग्ने प्रक्रिया अर्को आएपछि भाँडिने गरेको छ । अनुदानको खोप पनि ४२ लाख मात्राभन्दा बढी आएको थियो ।
खोपमा अनिश्चितता
स्वास्थ्य सेवा विभागका एक उच्च अधिकृतले अस्थिरता भइरहँदा काममा असर स्वतः भइहाल्ने बताए । उनले भने, ‘पहिले मन्त्रीले गरेको काम अगाडि कसरी बढाउने भन्नेमा असर परिहाल्छ ।
६५ वर्ष नाघेका साढे १३ लाख भन्दा बढी ज्येष्ठ नागरिकले दोस्रो चरणको कोभिशिल्ड खोप पाउन नसकेको उनले बताए ।फागुन २३ गतेपछि कोभिसिल्डको पहिलो डोज लगाएका देशभरका ६५ वर्ष र १४ जिल्लाका ५५ वर्षमाथिका गरी साढे १३ लाख बढी व्यक्ति दोस्रो मात्राको खोपको पर्खाइमा रहेका छन् ।विश्व स्वास्थ्य संगठनले खोपको पहिलो मात्रा लगाएको ९ देखि १२ हप्तासम्ममा दोस्रो मात्रा लगाउनुपर्ने बताएको छ । अहिले कोभिशिल्ड खोप भण्डारणमा छैन । केहि जिल्लामा सामान्य केहि भायलबाहेक भण्डारणमा नभएकोले योजना गरेरै तत्कालै खोप उपलब्ध गराउन सक्ने अवस्था नरहेको उनले बताए ।‘ खोप ल्याउनको लागि छलफल त भइरहेको छ । तर, स्वास्थ्य मन्त्री फेरिरहँदा असर परेको उनले बताए ।
कोभ्याक्स अन्तर्गतको खोपको लागि पहल भइरहे पनि उसले पनि अहिले खोप पाउन नसकेको ती कर्मचारीले बताए ।

