काठमाडौं : विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ संक्रमण नियन्त्रणमा मुलुक नै केन्द्रित छ । प्राप्त विवरणमा शनिवारसम्म ७५ जिल्लाले निषेधाज्ञा जारी गरी अत्यावश्यक बाहेकका गतिविधि रोक्दै संक्रमण तोड्ने प्रयास गरिरहेका छन् । त्यसबाट केही सकारात्मक परिणाम देखिए पनि अझै संक्रमणदर नियन्त्रणमा आशातित उपलब्धि हुन सकिरहेको छैन ।
अहिले पनि दैनिक झण्डै आठ हजारको हाराहारीमा संक्रमित फेला परिरहेका छन् । निको हुने दरमा केही वृद्धि भइरहे पनि मृत्युदर अझै घट्न सकिरहेको छैन । मुलुकमा दैनिक १५० भन्दा माथि नै मानिसको ज्यान गइरहेको छ ।
कोरोनाको दोस्रो लहरको फैलँदो क्रमसँगै त्यसलाई नियन्त्रणका लागि निषेधको आदेश जारी गर्ने क्रम शुरु भएको एक महीना नाघ्यो । मुलुकका ७७ मध्ये दुई जिल्लाले अझै आदेश जारी नगरी नियन्त्रणको प्रयास गरिरहेका छन् ।
आदेश जारी नगरी नियन्त्रणको काम गरिरहेको जिल्ला तेह्रथुमले पनि शनिवार बिहानदेखि यही जेठ १४ गते राति १२ बजेसम्मका लागि जिल्लाभर नै निषेधाज्ञा लगाइसकेको छ ।
अब आदेश जारी नगर्ने जिल्लामा ‘खोटाङ र मनाङ’ छन् । ति जिल्लाले पनि संक्रमण नियन्त्रणमा लिने प्रयास गरिरहेका छन् । उक्त जिल्लाका अधिकारीहरूले स्वअनुशासन र स्वआइसोलेशनलाई जोड दिएर नियन्त्रणको प्रयास जारी राखेको जानकारी गराएका छन् ।
दोस्रो लहरको कोरोनासँग वैशाख ७ गते बाग्लुङबाट निषेधको आदेश जारी गर्न शुरु गरिएको थियो । वैशाख १६ गतेपछि यसरी आदेश जारी गर्ने क्रम बढेको थियो ।

