काठमाडौँ, जेठ १८। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा सबै रोगको परीक्षण गर्नेगरी क्षमता वृद्धिमा लागिरहेको बताएका छन ।
नेपाल प्रेस युनियनको ३४ औँ स्थापना दिवसको अवसरमा आइतबार काठमाडौंमा आयोजित बृहत् स्वास्थ्य शिविर कार्यक्रममा बताए ।उनले जनस्वास्थ्य प्रयोगशालामा आफू मन्त्री हुनु अगाडि २० प्रतिशत मात्रै परीक्षण हुने गरेको बताउँदै आफू मन्त्री बनेपछि ५० प्रतिशत रोगको परीक्षण हुने परिस्थिति बनेको दाबी गरे ।
उनले निजी अस्पतालहरूले पनि उक्त प्रयोगशालामै परीक्षण गर्ने वातावरण निर्माण भइरहेको बताए। स्वास्थ्य मन्त्री पौडेलले अब मुलुक बाहिर पठाउन नपर्ने गरी राष्ट्रिय जनसङ्ख्या प्रयोगशालामै सबै परीक्षण हुने व्यवस्था मिलाउन बजेट विनियोजन गरिएको दावी गरे । उनले बिग्रिएर फालिएका ५५ प्रतिशत उपकरणहरू राष्ट्रिय आविष्कार केन्द्रमा मर्मतपछि सञ्चालनमा आइरहेको जानकारी दिए । उनले भने, “हामीले राष्ट्रिय आविष्कार केन्द्रलाई बिग्रेका उपकरणहरू बनाउन लगायौँ । बिग्रियो भनेर फालिएका ५५ प्रतिशत उपकरणहरू बनेर काममा आइरहेको स्थिति छ । अहिले नेपालको राष्ट्रिय प्रयोगशाला, जहाँ म आउनुभन्दा अगाडि २० प्रतिशत मात्रै परीक्षण हुने गथ्र्यो । सबै बाहिर जान्थ्यो परीक्षणको लागि । अहिले त्यसले क्षमता अभिवृद्धि गरेर झन्डै ५० प्रतिशत नेपालको परीक्षण त्यहाँ हुने परिस्थिति बनेको छ । सरकारीको त अब करिब करिब त्यही नै हुन्छ, प्राइभेटले पनि त्यहाँ सम्झौता गर्नुपर्ने स्थिति हामीले बनाएका छौँ । अब बाहिरै जानै नपर्ने गरी केन्द्रिय प्रयोगशालामा सबै परीक्षण हुने व्यवस्था यो पटक बजेट ल्याएर हामीले गर्दै छौँ ।”

