तेत्तीस वर्ष ५ महिना ८ दिनको जागिरे जीवनबाट पञ्चु लामाले अवकाश लिएको दुई वर्ष पुग्दै छ । उनी नर्सिङ पेसामा थिइन् । बिरामीको सेवा गर्ने पेसा भएका कारण उनको अनुहारमा हाँसो कहिल्यै छुटेन । अहिले पनि मधुर मुस्कानसहित कुरा गर्ने बानी छ । तर त्यो मुस्कानभित्र कठोर र दर्दनाक कथा छोपिएको कमैलाई थाहा छ ।
पञ्चुलाई अलि पहिल्यैदेखि चिन्नेहरू उनको यो जीवन देखेर छक्कै पर्छन् । ‘हैन तिमी ज्युँदै ?’ यही भावले उनलाई हेर्नेहरू धेरै भेटिन्छन् । चिन्नेजान्ने मात्रै होइन, डाक्टरले पनि ‘धेरै बाँचे १० वर्ष’ भनेको पञ्चुकै कानमा परेको हो । उनलाई क्यान्सरले समाएको थियो । सुरुमा क्यान्सर भएको सुन्दा उनको पनि होस उड्यो । उपचार सुरु भएपछि औषधिको असर यस्तो कडा थियो कि उपचारले रोग निको गर्नेे हैन, मार्ने नै भयो भन्ने लागेको थियो ।
उपचार सुरु गरेको पनि १४ वर्ष पुग्न लाग्यो । तर ‘मलाई क्यान्सर थियो’ भनेर पञ्चुले नभन्दासम्म उनलाई यो रोग लागेको थियो भनेर अहिले कसैले अनुमान गर्न सक्दैन । अहिले उनी सामान्य शारीरिक अवस्थामा छिन् । सक्रिय दिनचर्या बिताइरहेकी छन् । उनी स्वास्थ्यकर्मी थिइन्, आफूलाई क्यान्सर भएको अलि चाँडो थाहा पाइन्, बेलैमा उपचार सुरु भयो । अनि
निको भयो ।
क्यान्सर रोग लागे जीवन सकियो भनी ठान्नेहरू प्रशस्तै छन् । तर उपचारपछि निको हुँदो रहेछ भन्ने पञ्चुको कथाले सिद्ध गर्छ । क्यान्सर परास्त गर्न समयमै हुने उपचार मात्रै काफी नहुँदो रहेछ । यो पञ्चुले नै गरेको अनुभव हो । ‘हो, क्यान्सरले मान्छेलाई अत्याउँछ । क्यान्सरलाई पनि हामीले अत्याउन, अठ्याउन र परास्त गर्न नसकिने हैन । यसका लागि औषधि एउटा पाटो हो तर औषधिले मात्रै नभएर दह्रो आत्मबलले क्यान्सर पराजित गर्न सकिन्छ,’ पञ्चुले आफ्नो भोगाइको निचोड राखिन् ।
जब उनले यस्तो खबर सुनिन्
२०२० सालमा चितवन, फूलबारीको गोपालगन्जमा जन्मेकी पञ्चुले ०४० सालमा नर्सको जागिर सुरु गरिन् । लमजुङबाट उनको जागिरे जीवन सुरु भयो । लमजुङपछि चितवनको भरतपुर, खैरहनी, गौरीगन्ज हुँदै मकवानपुरको हेटौंडा र त्यसपछि पालुङ पुगिन् । पालुङमै कार्यरत हुँदा ०६१ सालमा नुहाउने बेला स्तनमा गिर्खा भेटिन् ।
भरतपुर आएका बेला स्त्री तथा प्रसूतिविज्ञ डा. किरण रेग्मीलाई स्तनका गिर्खाबारे बताइन् । डा. रेग्मीले तीन महिनाको औषधि लेखिदिइन् । सुरुमा सञ्चो भएजस्तो भए पनि पछि फेरि गिर्खा बढेको महसुस भयो उनलाई । त्यसपछि भरतपुरकै बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा डा. भक्तमान श्रेष्ठलाई भेटिन् । प्रारम्भिक परीक्षणमै डाक्टर श्रेष्ठले प्वाक्कै भनिहाले, ‘स्तन क्यान्सर भएछ ।’ यो सुनेर उनी छाँगाबाट खसेझैं भइन् ।
‘डा. भक्तमानले यो स्तन क्यान्सर हो, बरु चाँडो अप्रेसन गरे राम्रो हुन्छ । त्यसैले थप परीक्षण गरिहाल भन्नुभयो । साह्रै नरमाइलो लाग्यो,’ पञ्चुले सुनाइन् । डा. भक्तमानलाई भेटेको महिना दिन नपुग्दै उनको शल्यक्रिया हुने भयो । ०६१ असोज २ गते बीपीमै भर्ना भइन् । भोलिपल्टै शल्यक्रिया भयो । क्यान्सर निको हुन शल्यक्रियापछि केमोथेरामी र रेडियोथेरापी गर्नुपर्छ । विभिन्न औषधि स्लाइन पानीबाट शरीरमा पठाउने उपचार विधि केमोथेरापी हो । रेडियो विकिरणले क्यान्सरग्रस्त कोषहरू नष्ट गर्ने प्रक्रिया रेडियोथेरापी हो ।
लामो कपालको माया
शल्यक्रियापछि १४ दिन अस्पताल बसेर फर्केको केही समयपछि नै केमोथेरापी सुरु गर्नुपर्ने भयो । केमोथेरापीपछि शरीर निकै कमजोर हुन्छ । कपाल पनि झर्छ । कपाल झर्छ भन्ने सुनेपछि उनलाई निकै चिन्ता भयो । उनको कपाल बाक्लो र लामो थियो । कपालको मायाले ‘भो, केमो नगर्ने’ भन्नेसम्म उनलाई लाग्यो । तर चिकित्सकले सम्झाए । जीवनभन्दा कपाल ठूलो हैन भन्ने उनलाई थाहा थियो ।
२१/२१ दिनको फरकमा उनले ६ चरण केमोथेरापी गरिन् । कपाल झर्ला भन्ने चिन्ताले ग्रस्त थिइन् । तर पहिलो दिन, दोस्रो दिन, हप्ता दिन अनि दुई हप्ता हुन लाग्दा पनि उनको कपाल झरेन । केमोथेरापी सुरु गरेको १४ औं दिन पुगेपछि उनलाई जेको डर थियो, त्यही भयो । एकातर्फको कपाल पूरै सिरानीभरि टाँसिएको थियो । त्यो दिन उनलाई साह्रै नमज्जा लाग्यो । कपाल झर्दै गएर टाउको पूरै मुडुलो भयो । आफ्नो रूप ऐनामा हेर्न पनि डर लाग्न थाल्यो ।
तेस्रो चरणको केमो लिने बेला उनको शरीरको शक्ति पनि स्वाट्टै घट्यो । शरीरमा सेतो रक्तकोष (डब्लूबीसी) को मात्रा निकै कम देखियो । जमराको रस, तुलसीको पात खाने, माक्स लगाएर हिँड्ने गरेर डब्लूबीसी बढाएको उनले बताइन् । ६ चरणको केमोपछि रेडियोथेरापी सुरु भयो ।
अत्यायो रेडियोथेरापीले
केमो लगाउँदा गलेको शरीर रेडियोथेरापी सुरु भएपछि झन् शिथिल भयो । सातामा ५ दिन गरेर २५ पटक रेडियोथेरापी लिनुपर्यो । ‘१४ दिनसम्म पानी खान पनि नसकेर बसेँ । केही खायो कि बान्ता हुने । सुतेको सुत्यै भएँ,’ पञ्चुले सुनाइन् । उनको हालत देखेर आफन्त तर्से । एक जना फुपू पर्नेले पकाएर ल्याएको पोसिलो खाना एक गाँस मुखमा हाल्न नपाउँदै बान्ता भएर झनै बेहाल भयो ।
‘यसो भएपछि फुपूलाई मैले मलाई मिठो पोसिलो खाना हैन, विष ल्याउदिनू भनेछु,’ उनले त्यो अत्यासलाग्दो क्षण बिर्सन सकेकी छैनन् । केमो लिँदा सुरु भएको कमजोरीले रेडियोथेरापीमा पुग्दा शरीर थला नै पार्यो । अब यो बाँच्न गाह्रो छ भनेर धेरैले खासखुस गरेको उनी चाल पाउँथिन् । ‘जो आए पनि त्यसको अनुहारमा नजर गइहाल्ने । त्यो बेला मुखमा हेरेर यसले के भन्यो होला भनेर भाव बुझ्न मनलाग्दो रहेछ । सबैले यो जाने भई भनेको म अन्दाज लगाउँथेँ,’ पञ्चुले सुनाइन् ।
औषधिभन्दा ठूलो आत्मबल
खाए बान्ता हुने, दिसा बस्न गयो आन्द्रा नै बाहिरिएजस्तो हुने, निकै कहालिलाग्दो अवस्था आयो पञ्चुको जीवनमा । १५ औं दिन बल्ल थोरै पानी खान सकिन् । ‘मलाई अहिले पनि के लाग्छ भने रेडियोथेरापीले शिथिल बनाउँदा पनि ममा आत्मबलचाहिँ थियो । त्यो नहुँदो हो त पहिलो चरणको केमोले नै मेरो ज्यान लिन्थ्योझैं लाग्छ,’ उनले सम्झिइन् ।
केमोले मानसिक, शारीरिक कमजोरी र रेडियोथेरापीले झनै शिथिल बनायो । ‘तर ममा आत्मबल आयो । सकारात्मक भाव आयो । उपचार गरेपछि सहनुपर्छ भन्ने लाग्यो । मनमनै खान, उठ्न, बोल्न थाल्नुपर्छ भन्ने सोचेँ । त्यसपछि सबै कुरा बिस्तारै राम्रो हुँदै आयो,’ आत्मबलको शक्ति उनले महसुस गरिन् । अब उनलाई औषधिभन्दा धेरै आत्मबलले रोगलाई जित्दो रहेछ भन्ने लागेको छ ।
‘म बिरामीकै सेवा गर्ने मान्छे । हिजो आफंैले बिरामीलाई सम्झाउने बुझाउने गरेको थिएँ । त्यही सम्झेर ममा पनि एउटा आँट आयो । म लड्नुपर्छ र रोगलाई जित्नुपर्छ, म बाँच्नुपर्छ भन्ने लाग्यो,’ उनले भनिन् । आत्मबल बलियो बनाउन आफैंले आफूलाई तयार गर्नुपर्ने उनले बताइन् ।
‘आफूलाई व्यस्त राखें’
क्यान्सरको उपचार सुरु गरे पनि उनी काममा जान छाडिनन् । शल्यक्रिया, केमोथेरापी र रेडियोथेरापी लिँदा दुई वर्ष बित्यो तर यसबीच उनले जम्मा दुई/तीन महिना मात्रै काम गरिनन्् । अरू समय भरतपुर अस्पताल र जिल्ला जनस्वास्थ्य कार्यालयमा ड्युटी गरिरहिन् ।
‘केमो लिएको सात दिन हुँदा पनि म ड्युटी गएँ । डाक्टरले राउन्डमा जाऊ भन्नुभयो । धन्न ढलेकी,’ पञ्चुले सुनाइन् । बिरामीको सेवा र काममा व्यस्तता हुँदा आफूलाई सकारात्मक ऊर्जा प्राप्त भएको उनले सुनाइन् ।
क्यान्सर सचेतना अभियानमा सक्रियता
पञ्चुले ०७३ असारमा अवकाश पाइन् । अवकाशपछि के गर्ने सोच्दै थिइन्, भरतपुरकी बन्दना खाँडसँग उनको भेट भयो । खाँड पनि स्तन क्यान्सरबाट भर्खर निको भएकी थिइन् । ‘परिचय’ नामक संस्था खोलेर क्यान्सरविरुद्ध सचेतना कार्यक्रम सञ्चालन गर्दै आएकी छन् । पञ्चु सोही संस्थामा जोडिइन् ।
पञ्चुलाई क्यान्सर भएको पत्ता लाग्दा रोग दोस्रो चरणमा थियो । पहिलो, दोस्रो, तेस्रो र चौथो चरणसम्म बिरामी अस्पताल आउँछन् । सुरुवाती चरणमा नै उपचार गरे रोग निको हुन्छ । पहिलो चरणभन्दा पनि अगाडि क्यान्सर लागेको आभास हुने शून्य चरण पनि हुन्छ । उनीहरूको संस्थाले समुदायमा त्यही अवस्थाबारे बताउने गरेको छ ।
पञ्चुको उपचारमा ६ लाख रुपैयाँजति खर्च भयो । सुरुवातमै पत्ता लागेको भए खर्च कम हुन्थ्यो । पञ्चुले सबै उपचार भरतपुर क्यान्सर अस्पतालमा नै गराइन् । अझै पनि उनी वर्ष/वर्ष दिनमा परीक्षणका लागि अस्पताल जाने गरेकी छन् । डाक्टरले परीक्षण रिपोर्ट हेरेर सधैं मुस्कानसहित ‘लौ केही समस्या छैन’ भन्दा उनी विजेताझैं अनुभूति लिएर फर्कन्छिन् ।
‘क्यान्सर भनेको केही होइन रहेछ । शरीरमा केही कोषहरू असामान्य रूपमा बढदा उत्पन्न हुने एउटा अवस्था रहेछ । त्यो अवस्था हटाउन सकिन्छ । उपचार सुरु गर्नुपर्यो । औषधिको असरलाई पचाउने साहस जुटाउनुपर्यो,’ पञ्चुले भनिन् । क्यान्सर हुनै नदिने र भए पनि बलियो मनोबल बनाएर उपचारबाट रोगलाई पराजित गर्ने सामाजिक अभियानमा पञ्चुको पाइला अगाडि बढिरहेको छ ।

