बर्दिया । गेरुवा गाउँपालिका–६ का ऋषिभक्त गिरी आफूलाई भाग्यमानी ठान्छन् । शरीर दुख्ने, पखाला लाग्ने लगायतका लक्षणहरु हुनासाथ होम आइसोलेसनमा रहेका गिरी भन्छन,‘बल्लतल्ल पीसीआर परीक्षण गरियो । स्वास्थ्य लाभ गरिरहेको छुँ । जे होस बाँचियो । खुशी छुँ ।’
दुई साता अघि संक्रमण भए पनि आफूलाई कोरोना भएको हो/होइन पुष्टि गर्नको लागि सास्ती व्यहोर्नु पर्यो । घर नजिकैको स्वास्थ्य चौकीमा स्वाब निकालियो । नेपालगन्जस्थित भेरि अञ्चल अस्पतालमा स्वाब परीक्षण गरि रिपोर्ट आउन एक साता लाग्यो । अहिले उनले निको भएको महसुस गरिरहेका छन् ।
राजापुर क्षेत्रमा व्यवसाय गरिरहेका गिरीको झैं समस्या अहिले गाउँका बासिन्दालाई भएको छ । कोरोना संक्रमण भए पनि पीसीआर (स्वाब )परीक्षण गराउन समस्या छ । उपचारको बन्दोबस्त भरपर्दो छैन । चिकित्सकको अभाव छ । उपचार नपाएर होम आइसोलेसनमा छटापटाउनेहरु बढ्दै गएका छन् । गिरी भन्छन,‘ अधिकांश व्यक्ति त होम आइसोलेसनमा बसेरै निको भएका छन् । शहरमा बस्नेहरुले बेड पाएका छैन । गाउँमा बस्नेले स्वाब परीक्षण गराउन पाएका छैनन ।’
बर्दिया जिल्लाका बासिन्दालाई पीसीआर परीक्षणको लागि कोहलपुरस्थित नेपालगन्ज मेडिकल कलेज पुग्नु पर्छ । कि, भेरी अस्पताल नेपालगन्ज जानु पर्छ । स्वास्थ्य मन्त्रालयका अनुसार, बर्दियाका ४३ जनालाई आइतबार संक्रमणको पुष्टि भएको छ ।
अहिले बर्दिया जिल्लामा निशेधाज्ञा रहेका कारण पनि संक्रमितलाई परीक्षणको लागि जान सकस भइरहेको गिरी बताउँछन् । ‘ परीक्षणको व्यवस्था नजिकै हुन्थ्यो भने बर्दियामा कोरोना संक्रमणको ग्राफ झन बढी हुन्थ्यो । जिल्ला सदरमुकाम गुलरियामा पीसीआर परीक्षणको व्यवस्था भए जिल्लाबासीलाई सजिलो हुन्थ्यो । पहुँच भएका नेताहरु र स्वास्थ्यकर्मीले पहल गरे हुन्थ्यो की ? ’ उनले भने ।

२१ हजार भन्दा बढी होम आइसोलेसनमा
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार, जेठ २ गतेसम्म लुम्बिनी प्रदेशमा २१ हजार ४ सय ४७ जना होम आइसोलेसनमा बसिरहेको तथ्यांक छ । यस प्रदेशका संक्रमितमध्ये १५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । १ सय २२ जनाको सघन उपचार कक्ष (आईसीयु)मा उपचाररत छन् ।

