काठमाडौं । चिकित्सा शिक्षा आयोगले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्नातकोत्तर तहका लागि जनरल प्राक्टिस इमरजेन्सी मेडिसिनमा ३ जना र एनेस्थेसिया क्रिटिकल केयर तथा पेड्रियाट्रिकमा एक एक जना कोटा दिएको छ ।
कर्णालीमा डाक्टरी पढ्नका लागि पाँचवटै कोटामा नेपाल सरकारको छात्रबृत्ति उपलब्ध छ । अहिले तीन जना विद्यार्थी जुम्ला पुगेर अध्ययन सुरु गरिसकेका छन् । कर्णालीमा एमडि पढ्नका लागि कपिलवस्तुबाट डा.वेदकुमार चौधरी, दार्चुलाबाट डा.ललितसिंह धामी र भक्तपुरबाट डा. रहिस कोजु जुम्ला पुगेका हुन् । सुगमबाट कर्णालीको स्वास्थ्य अवस्था हेर्दा निकै कहाली लाग्दो देखिन्छ । तर त्यहिं ठाउँमा अहिले विशेषज्ञ डाक्टरी पढाइ हुन थालेकोमा अध्ययन गर्न आएका डाक्टर निकै खुसी छन् । कर्णालीमा अध्ययन गरेका डाक्टरले कर्णाली लगायत पिछडिएका क्षेत्रमा दुई वर्ष काम गर्नुपर्ने हुन्छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पढाइ सुरु भएपछि डाक्टरी पढ्नकै लागि काठमाडौ धाउनुपर्ने अवस्थाको अत्य भएको छ । जुम्लामा मेडिकल शिक्षाको अध्ययन सुरुभएपछि कर्णालीको स्वास्थ्य अवस्थामा थप सुधार हुने अपेक्षा स्थानीयले गरेका छन् ।
प्रतिष्ठानले नयाँ शैक्षिक सत्रदेखि एमडिसँगसँगै एमविविएसको अध्ययन सुरु गर्ने तयारी गरेपनि चिकित्सा शिक्षा आयोगले अनुगमन नगर्दा पढाइ अनिश्चित वनेको छ । पछिल्लो पटक १९ औं पटक सत्याग्रहमा बसेका डा.गोविन्द केसीसँग सरकारले छ महिनाभित्र प्रतिष्ठानमा एमविविएस अध्ययनका लागि सम्पूर्ण तयारी पुरा गरी विद्यार्थी भर्ना लिने सम्झौता गरेको थियो । प्रतिष्ठानले सम्पूर्ण तयारी पुरा गरेपनि आयोगको अनुगमन नआएकाले एमविविएस सुरु गर्न नसकिएको प्रतिष्ठानको भनाई छ ।

