काठमाडौं, चैत १४ । उपत्यका र आसपासको क्षेत्रमा प्रदूषणको मात्रा ह्वात्तै बढेको छ । प्रदूषणको मात्रा अत्यधिक बढी हावामा मानव स्वास्थ्यका लागि हानिकारक मानिने धुलोका कण समेत भेटिएपछि स्वास्थ्य मन्त्रालयले सकेसम्म घरबाहिरै ननिस्कन आग्रह गरेको छ ।
शुक्रबार दिउँसो काठमाडौं उपत्यकाको वातावरण एकाएक धुम्मियो । बाक्लो तुवाँलो र धुलो मिसिएको हावाले वायुमण्डल ढाकिएपछि भिजिबिलिटी कम भयो । जसका कारण दिउसो २ बजेदेखि नै त्रिभुवन विमानस्थलमा आन्तरिक र अन्तर्राष्ट्रिय उडान एवं अवतरण रोक्नुपर्यो । वातावरण विभागका अनुसार पीएम टु प्वाइन्ट फाइभको मात्रा भैंसेपाटीमा अहिलेसम्मकै धेरै प्रतिघनमिटर ५ सय ५१ माइक्रोग्राम मापन भयो । त्यस्तै काठमाडौंको फोहरा दरबारमा ३ सय ७६, भक्तपुरमा ३ सय ५, सिमरामा २ सय ४८ र पोखरामा १ सय ६१ माइक्रोग्राम मापन गरिएको छ । हावामा पीएम टु प्वाइन्ट फाइभको मात्रा प्रतिघनमिटर ४० माइक्रोग्राम राष्ट्रिय मापदण्डभित्र पर्छ । यसको अर्थ उपत्यकामा मापन गरिएको प्रदूषण निकै धेरै हो । मानव स्वास्थ्यका लागि यो तहको प्रदूषण निकै नै हानिकारक मानिन्छ । देशका विभिन्न स्थानमा लागेको डढेलोको कारण वातावरण एक्कासी प्रदूषित भएको हो ।
वायुमण्डलमा धुलोसँगै धुवा पनि मिसिएकाले आँखा पोल्ने समस्या देखिएको छ । वायु प्रदूषण निकै बढेकाले स्वास्थ्य मन्त्रालयले सतर्कता अपनाउन आग्रह गरेको छ । उसले घरवाहिर नबस्न, नखेल्न, व्यायाम नगर्न र अत्यावश्यक नभइ सवारीसाधन नचलाउन भनेको छ । घर बाहिर निस्कनुपर्ने अवस्थामा मास्क अनिवार्य प्रयोग गर्न आग्रह गरिएको छ । वरिपरि घेरिएको कचौरा जस्तो काठमाडौं उपत्यकाबाट प्रदूषित वायु बर्षात वा ठूलै खालको बतास नचली नहट्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
उपत्यकामा वायु प्रदूषणको मात्रा यसअघि प्रतिघनमिटर ३ सय ५० माइक्रोग्रामबाट नाघेको थिएन । शुक्रबार ५ सय ५१ पुग्नु भनको स्थिति निक भयावह हुनु हो । तर प्रदूषण कम गर्न कुनै पहल गरिएको छैन ।

