काठमाडौं । प्रदेश ५ का दुई जिल्ला रोल्पा रुकुम पूर्वी भाग बाहेक सबै १० वटा जिल्ला रेड जोनमा परेका छन् ।
सीमावर्ती बाँके, बर्दिया , दाङ, कपिलवस्तु , रुपन्देही लगायत मुलुकभरका ५२ वटा जिल्ला रेड जोनमा परेका छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार, कोरोना भाइरस लागेर निको नभएका व्यक्तिको संख्या मात्र ३१ हजार ३ सय १५ पुगेको छ ।
हालसम्म कोरोना भाइरस संक्रमण भई निको भएका व्यक्तिको संख्या ७५ हजार ८ सय ४ पुगेको छ । कोरोना संक्रमणबाट ६ सय ३६ जनाको ज्यान गइसकेको छ ।आइतबार एकैदिन २२ जनाको ज्यान गएको थियो ।
हिमाली भेगमा रहेको हुम्ला, मुगु, डोल्पा, मुस्ताङ र मनाङमा भने कोरोना संक्रमण देखिएको छैन ।
लक डाउन योजना छैन ः मन्त्री ज्ञवाली
परराष्ट्रमन्त्री एवं सरकारका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले कोरोना भाइरस सङ्क्रमण बढ्दै गए पनि बन्दबन्दी पुनः गर्ने सरकारको कुनै योजना नरहेको बताएका छन् ।
असोज २२ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गर्न मन्त्रालयमा आइतबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता ज्ञवालीले भने, “काठमाडौँमा सङ्क्रमण तीव्र बन्दै गएको छ । यद्यपि यति हुँदाहुँदै पनि बन्दाबन्दीमा पुनः जाने सरकारको योजना छैन । त्यस्तो अवस्था नआओस्, यसमा नागरिकको स्वास्थ्य सचेतनामा पनि भर पर्छ ।”

