काठमाडौं । खाद्य पदार्थको रुपमा प्रयोग हुने मसलाहरुमा औषधीय गुण हुने चर्चा गर्दै आयुर्वेद चिकित्सकहरुले भान्छामा बेसार, अदुवा, मरिच, मेथि लगायतको प्रयोगले फाइदा गर्ने बताएका छन । परम्परागतरुपमा प्रयोग हुँदै आएका यी मसलामा औषधीय तत्व हुने भएकोले दिनहुँ मात्रा मिलाएर प्रयोग गर्दा रोग प्रतिरोधि क्षमता वृद्धि हुने चिकित्सकहरुको भनाई छ ।
बरिष्ठ कायाचिकित्सक एवं आयुर्वेद शिक्षण अस्पतालका पूर्व निर्देशक प्राडा देबबहादुर रोकाले बेसारमा एन्टिसेप्टिक (किणाणुनाशक), एन्टिटक्सिक( विष नाशक) र एपिटाइजर ( खाना रुचि गराउने) तत्व रहेको बताए । उनले भने,‘ खाद्य पदार्थमा बेसारको प्रयोग गर्दा रोग प्रतिरोधि क्षमता बढाउनमा सहयोग गर्छ । यो बहुगुणि छ ।’ भाइरस, ब्याक्टेरिया, प्यारासाइट्स, फंगस लगायतको संक्रमण रोक्नमा बेसार उपयोगी हुने डा. रोकाको भनाई छ ।
बेसारका साथै अदुवा, मेथि, मरिच लगायतका मसलाको प्रयोगले संक्रमण विरुद्ध प्रतिरोधि क्षमता वृद्धि गर्ने आयुर्वेद चिकित्सकको भनाई छ ।ती पदार्थमा औषधीय तत्व हुने उनीहरुको दावी छ । यसबारे चरक संहितामा उल्लेख गरिएको डा. रोकाले जानकारी दिए ।
आयुर्वेद चिकित्सा परिषदका अध्यक्ष प्राडा धनिकलाल भरखेरले शास्त्रीय एवं अनुभवजन्य कुराहरुबाट बेसार, अदुवा,मरिच ,मेथिलाई मसलाले फाइदा गरेको पुष्टि हुँदै आएको बताए । उनले भने, ‘ साइृड इफेक्ट गर्ने र हानीकारक भएको भए त प्रयोग मै आउँदैनथे नि । वर्षौदेखि भान्छामा प्रयोग हुँदै आएको छ । ’
नेपाल आयुर्वेद चिकित्सक संघका अध्यक्ष डा. प्रकाश ज्ञवालीले रुघाखोकी लागेको बेलामा अदुवा,बेसार, मरिचको प्रयोगले शरीरलाई फाइदा गरेको चर्चा गर्दै यी दुवैमा औषधीय गुण रहेको बताए । उनले भने,‘ बेसारको गुणलाई बढाउन मरिचको भुमिका झन उपयोगी हुन्छ । जथाभावि सेवन नगरि चिकित्सकको सल्लाहमा मात्रा मिलाएर सेवन गर्दा फाइदा हुन्छ ।’

