काठमाडौं । पतञ्जली योगपीठद्धारा सञ्चालित पतञ्जली आयुर्वेद क्याम्पसमा पटक पटक भइरहने विवाद यस पटक पनि दोहोरिएको छ । क्याम्पसले प्रयोगात्मक परीक्षा शुल्क नबुझाउँदा व्याचलर अफ आयुर्वेद मेडिसिन एण्ड सर्जरी (बाम्स) मा अध्ययनरत ३७ विद्यार्थी तनावमा छन् । शुल्क नबुझाउँदा बुधबारबाट सञ्चालित हुने परीक्षामा विद्यार्थी सहभागि हुन पाएनन ।
नेपाल संस्कृत विश्वविद्यालयले गरेको आग्रहलाई अटेर गर्दै क्याम्पस प्रशासनले विद्यार्थीको प्रयोगात्मक परीक्षावापतको शुल्क बुझाएको छैन । स्रोतका अनुसार, विश्वविद्यालयले पछि हिसाब मिलान हुने गरी प्रयोगात्मक परीक्षा खर्चवापत करिब २ लाख रुपैंया बैंकमा जम्मा गर्न पत्राचार समेत गरेको थियो ।
‘चार महिनायता हामीले दर्जर्नौ पटक मौखिक र लिखित जानकारी गराउँदा समेत क्याम्पसले शुल्क बुझाउन अटेरी गर्यो,’ विश्वविद्यालयका एक पदाधिकारीले भने, ‘परीक्षाबाट बञ्चित हुने भए पछि विद्यार्थीले मन्त्रालयमा पत्र पठाएर जानकारी समेत गराएका थिए ।’
क्याम्पस प्रमुख किन निरिह ?
त्यस पछि मन्त्रालयका तत्कालीन सचिव सुरेश अधिकारी, पतञ्जलीका ट्रस्टी शालिकराम सिंह र पीडित विद्यार्थीबीच छलफल समेत भएको थियो । तर, छलफलमा शुल्क बुझाउने सहमति गरेको क्याम्पसले विद्यार्थीलाई धोका दियो । पतञ्जलीका ट्रस्टी शालिकराम सिंहले किन शुल्क बुझाउन निर्देशन दिएनन ? विद्यार्थीको प्रश्न छ । क्याम्पसमा क्याम्पस प्रमुख नाम मात्रको भएको र सिंह नै सर्वेसर्वा रहेको पीडित विद्यार्थीहरु बताउँछन् । विद्यार्थी र अभिभावकहरुको सोझोपनलाई क्याम्पस प्रशासनले दुरुपयोग गरिरहेको जानकारहरु बताउँछन् ।
यस खालको समस्या यस अघि पनि भएको थियो । तेस्रो व्याजका विद्यार्थीको पनि शुल्क नबुझाएको कारण हालसम्म प्रयोगात्मक परीक्षाा हुन सकेको छैन । क्याम्पसले शुल्क नतिर्दा यस अघि परीक्षामा केन्दाध्यक्ष वाल्मीकि क्याम्पसका उपप्राध्यापक सुदर्शन ढुंगानाले आफ्नै खर्चमा परीक्षा सम्पन्न गरेका थिए । ‘कलेजले सधै यस्तै गर्छ । अहिले पनि पनि परीक्षा रोकियो,’ बाम्सको पढाई सकेका एक विद्यार्थीले नाम उल्लेख नगर्ने शर्तमा भने, ‘विश्वविद्यालय र कलेजबीच समन्वय नै हुन सकेको छैन । समयमै कलेजले पैसा बुझाउँदैन ।’
ती विद्यार्थीका अनुसार, यो भन्दा पहिला पनि एउटा परीक्षा सात महिना ढीला भएको थियो । त्यो पनि शिक्षा मन्त्रालयमा पुगेर गुनासो सुनाउनु पर्यो ।’ ती बिद्यार्थीले आसा व्यक्त गरे,’अहिले भारतबाट प्राध्यापकहरु आएका छन् । अब केहि परिवर्तन हुन्छ की ? ‘

