- लक डाउनको ६३ औं दिन
काठमाडौं । मुलुकमा कोरोना भाइरस संक्रमण भेटिएको चार महिनाको निको हुनेको संख्या ८७ पुगेको छ । हालसम्म ६ सय जना संक्रमितमध्ये निको हुनेहरु १४ प्रतिशत रहेका छन ।
गत माघ ९ गते मुलुकमा कोरोना भाइरस संक्रमित पहिलो व्यक्ति फेला परेका थिए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार,संक्रमितको संख्या ६ सय नाघेको छ । आइतबार १९ जना नयाँ संक्रमित देखा परेसँगै संक्रमितको संख्या ६ सय तीन पुगेको हो । संक्रमित हुनेमा पाँच सय २४ जना पुरुष र ७९ जना महिला छन ।
स्वास्थ्य मन्त्रालयका पूर्व प्रमुख विशेषज्ञ डा. सुशीलनाथ प्याकुरेल सरकारले पीसीआरको परीक्षणको दायरा विस्तार गर्न ढीलो गरेको बताउँछन । पछिल्ला चौबिस घण्टाको अवधिमा पीसीआर विधिबाट गरिएको परीक्षण संख्या दुई हजार आठ सय ५६ रहेको छ । आरडीटी विधिबाट गरिएको परीक्षणको संख्या तीन हजार सात सय ९१ रहेको मन्त्रालयले जनाएको छ । ‘चार महिनाको अवधिलाई हेर्दा सरकारले शुरुवाती चरणमै पीसीआर परीक्षण र क्वारेन्टाइनलाई व्यवस्थित गर्न चुकेको देखिन्छ ।’ डा. प्याकुरेलले भने । कोरोना भाइरस संक्रमणको जोखिम न्युनिकरणको लागि सरकारले लक डाउन घोषणा गरेको दुई महिना नाघिसकेको छ । उनले थपे,‘लक डाउनका कारण संक्रमणको जोखिम न्युनिकरण भएको त छ । तर, कहिले सम्म लक डाउन घोषणा गरिरहने ?’
आइसोलेसनमा लामो बसाई
संक्रमितहरुको अस्पतालको आइसोलेसनको बसाई औसत २० दिन रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, क्लिनिकल रिसर्च युनिटका संयोजक डा. शेरबहादुर पुनका अनुसार सामान्यतया दुई सातामा लक्षण नदेखिए संक्रमण नभएको र कोरोना संक्रमण मुक्त भएको मानिन्छ । तर प्रयोगशाला परीक्षण गर्दै जाँदा संक्रमितको शरीरमा अलि बढी समय भाइरस रहेको पाइएको छ । ‘ संक्रमितको शरीरमा अलि बढी समयसम्म भाइरस रहेको पाइयो । तुलनात्मकरुपमा शरीरमा बढी समयसम्म किन रहयो भन्ने बारे छुट्टै अनुसन्धानको खाँचो छ ।’ डा. पुनले भने ।
सरकारले परीक्षणको दायरा विस्तार गरेसँगै संक्रमितको संख्यामा वृद्धि भएको छ । संक्रमितको शरीरमा लामो समयसम्म भाइरस रहँदा आइसोलेसनमा बढी समय बस्नु पर्ने हुन्छ । संक्रमितको संख्या बढ्दै जाने र आइसोलेसनको बसाई अवधि तीन साता हुँदा अस्पतालमो बेडको संख्या अभाव हुन सक्ने डा. पुनको भनाई छ । मुलुकका ७७ वटा जिल्लामध्ये ४२ जिल्लामा कोरोना भाइरसको संक्रमण फैलिएको छ । संक्रमित मध्ये अधिकांश रोजगारीका सिलसिलामा भारत गएकाहरु छन । मुलुकभरिकै संक्रमित मध्ये झण्डै आधा संक्रमितहरु प्रदेश ५ का बासिन्दा रहेको पाइएको छ । यो प्रदेशमा दुई सय ८१ जना कोरोना संक्रमित फेला परेका छन । सबैभन्दा बढी बाँके जिल्लामा मात्र एक सय ४२ जना संक्रमित भेटिएका छन ।
प्रदेश २ मा एक सय ७९ प्रदेश १ मा ८६, बागमती प्रदेशमा ३४, गण्डकी प्रदेशमा पाँच, कर्णाली प्रदेशमा चारजना र सुदूरपश्चिम प्रदेशमा १४ जना कोरोनाबाट संक्रमित भएका छन् । चार महिनाको अवधिमा कोरोनाको संक्रमणबाट प्रदेश नं ५मा दुई जना र बागमति प्रदेशमा एक गरि तीन जनाको ज्यान गएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
९० हजार बढीको परीक्षण
मुलुकभर ९० हजार २६ जनाको कोरोना परीक्षण गरिएको छ । जसमध्ये स्वाब अर्थात पीसीआर विधिबाट हालसम्म ४८ हजार ८ सय १५ परीक्षण गरिएको छ । त्यसैगरि रगत अर्थात द्रुत विधि आरडीटीबाट गरिएको परीक्षणको संख्या ९० हजार ३६ पुगेको छ ।
३९ हजार बढी व्यक्ति क्वारेन्टाइनमा
भारतबाट स्वदेश फर्किएका व्यक्तिहरु मध्ये सबैभन्दा बढी प्रदेश नं ५ को क्वारेन्टाइनमा बसेका छन । प्रदेश नं १मा एक हजार चार सय ५०, प्रदेश नं २मा आठ हजार दुई सय ३८, बागमति प्रदेशमा पाँच सय ६२, गण्डकि प्रदेशमा आठ सय ८२ प्रदेश नं ५मा १९ हजार पाँच सय २५ र कर्णाली प्रदेशमा तीन हजार चार र सुदूरपश्चिम प्रदेशमा ६ हजार एक सय ४३ जना क्वारेन्टाइनमा बसिरहेका छन ।
हाल देशभर ३९ हजार आठ सय चारजना क्वारेन्टाइनमा रहेका छन् । मन्त्रालयका प्रवक्ता डा. देवकोटाका अनुसार, क्वारेन्टाइनमा बसिरहेका सबै व्यक्तिको परीक्षण पछि कोरोना भाइरसको संक्रमण नभेटिएमा मात्र घर पठाइने छ ।

