(काठमाडौं) – जलवायु परिवर्तनका कारण पृथ्वीमा तीन जनामध्ये एक जना मानिसले अहिले सामना गरिरहेको उष्ण दबाब (हिट स्ट्रेस) को मात्रा यो शताब्दीको अन्त्यसम्म ५० देखि ७० प्रतिशतले वृद्धि हुने भन्दै वैज्ञानिकहरूले सतर्क गराएका छन् । राष्ट्र संघको अन्तरसरकारी प्यानल (आईपीसीसी) ले सोमबार सार्वजनिक गरेको प्रतिवेदनले जलवायु परिवर्तनले मानिसले अनूकलन गर्न सक्नेभन्दा छिटो पृथ्वीलाई हानि गरिरहेको उल्लेख गरेको छ ।
आईपीसीसीको छैटौं वैज्ञानिक प्रतिवेदन (एआर–६) को दोस्रो खण्डमा शताब्दीको अन्त्यसम्म बर्सेनि एक समयमा पानीको चरम अभावको अवस्था आउने चेतावनी छ । विश्वका ३ अर्ब ५० करोड मानिस जलवायु परिवर्तन असरको उच्च जोखिममा रहेको प्रतिवेदनले औंल्याएको छ । तातो हावा र उष्ण दबाब झन् बढ्ने प्रतिवेदनमा उल्लेख छ । ६७ मुलुकका २ सय ७० जना लेखक, ६ सय ७५ जना सहयोगी र ६२ हजार ४ सय १८ जना विज्ञ र सरकारी निकायका प्रतिनिधिहरूको संलग्नतामा सार्वजनिक प्रतिवेदनले मानिसका कारण बढिरहेको तापक्रमले आगामी दिनहरू झन् भयावह हुने आउने चेतावनी दिएको हो । आईपीसीसीका १ सय ९५ पक्ष राष्ट्रले यो रिपोर्टलाई अनुमोदन गरेका छन् । सर्वाधिक मानिस र पारिस्थितिकीय प्रणालीलाई असर गर्ने देखिएको आईपीसीसीका अध्यक्ष होउसेङ लिले सार्वजनिक गरेको प्रतिवेदनमा छ । जलवायु परिवर्तनले पृथ्वीकै लागि चुनौती थपिदिएको उनले बताएका छन् । ‘पर्यावरणमा असर गर्ने आजको क्रियाकलापले कसरी अनुकूलन गर्न सक्छौं र जलवायु परिवर्तनलाई प्रकृतिले कसरी लिन्छ भन्ने सवालमा पनि हाम्रो भविष्य भर पर्छ,’ लिले पत्रकार सम्मेलनमा भने ।
प्रतिवेदन अनुसार अबको दुई दशकमा पनि पृथ्वीमा धेरै किसिमका जलवायुजन्य जोखिमको सामना गर्नुपर्नेछ । जलवायुजन्य जोखिमलाई सम्बोधन गर्न तत्काल उपयुक्त कदम चाल्न आवश्यक रहेको पनि औंल्याइएको छ । अत्यधिक गर्मीका कारण मानिसको मुत्युदर बढ्ने, खडेरीका कारण रूखहरू मर्ने, समुद्री तह तातो हुँदा पानीमुनिको जैविक विविधतामा क्षति हुने प्रतिवेदनमा उल्लेख छ । ‘यसलाई सम्बोधन नगर्ने हो भने आगामी दिनहरू झन खतरा हुनेछ,’ प्रतिवेदनमा भनिएको छ, ‘अफ्रिका, एसिया, मध्य र दक्षिण अमेरिकामा पनि खाना र पानीको असुरक्षा बढेको छ ।’ हरितगृह ग्यास उत्सर्जनको व्यापक कटौती गर्नुपर्ने सुझाव दिइएको छ । एआर–६ को वर्किङ ग्रुप–२ का सहअध्यक्ष ह्यान्स ओटो पोर्टनरले भन,े ‘क्षति भएका पारस्थितिकीय प्रणालीको पुनःस्थापना गर्दै पृथ्वीको ३० देखि ५० प्रतिशत जमिन मात्रै संरक्षण गर्ने हो भने कार्बन सञ्चिति क्षमता पनि बढ्छ र दिगो विकासको लक्ष्य हासिल गर्न पनि सहज हुन्छ ।’ जोखिम न्यूनीकरणमा गहन छलफल र बहस ल्याउन जरुरी रहेको वैज्ञानिकहरूको मत छ । जथाभावी प्रयोग हुने प्राकृतिक स्रोत, बढ्दो सहरीकरण, सामाजिक असुरक्षा र भारी वर्षा र क्षति सम्बन्धिको बहस आवश्यकता रहेको आईपीसीसीले जनाएको छ ।
राष्ट्रसंघीय वातावरण कार्यक्रम (युनेप) की प्रमुख कार्यकारी निर्देशक इंगर एन्डेरसनले जलवायु परिवर्तनको असर अब लुकेर नबसी मानिसको टाउको बसेको बताइन् । ‘१.५ डिग्री तापक्रममा नबढ्न दिँदा यसको असर यस्तो देखिन्छ । हामी ३ डिग्री तापक्रम वृद्धि नजिक गइसकेका छौं, यसले ठूलो विपत्ति ल्याउदै छ,’ उनले भनिन् । आईपीसीसी जलवायु परिवर्तनको अनुसन्धान गर्ने र जानकारी दिने संयुक्त राष्ट्रसंघको सन् १९८८ मा स्थापना भएको अंग हो । यसका तीन कार्य समूह छन् । ती समूहले वैज्ञानिक आधार, असर, अनुकूलन, जोखिम र न्यूनीकरणका उपायहरूमा अनुसन्धान सहित प्रतिवेदन जारी गर्छन् । आईपीसीसीको सन् २०१५ को ४१ औं सम्मेलनले छैटौं रिपोर्ट (एआर–६) बनाउने भनेको थियो ।
एसियामा कस्तो हुन्छ असर ?
वर्किङ ग्रुप–२ को रिपोर्टमा बढ्दो तापक्रमले गर्मी बढ्ने, दक्षिण एसियामा खडेरी हुने, मनसुनी बाढीको प्रकोप बढ्ने, हिमालका पग्लने उल्लेख गरेको छ । एसियाली मुलुकहरूमा शताब्दीको अन्त्यसम्म ५ देखि २० प्रतिशतसम्म खडेरीको वृद्धि हुने अनुमान छ । सन् २०५० सम्म एसियाका अमु दर्या, इन्दुस, गंगा नदीमा पानीको अभाव हुने र मौसमी चक्र फरक फरक हुने पनि अनुमान छ ।
एसिया क्षेत्रमा जलवायु परिर्वतनका कारण संरक्षित वनस्पतिहरूको बासस्थान विनाशसँगै जैविक विविधतालाई धेरै असर गर्ने उल्लेख छ । बरफ पग्लने र हिमताल विस्फोटनका जोखिम बढ्ने प्रतिवेदनले भनेको छ । पान–अर्टिक क्षेत्रमा २०५० सम्ममा ६९ प्रतिशत मानव निर्मित संरचना उच्च जोखिममा पर्ने औंल्याइएको छ । दक्षिण एसियाली सहरहरू मुम्बई, ढाकामा समुद्र सतह बढ्दा बाढीबाट हुने क्षति बढने आकलन गरिएको छ । गर्मीसँग सम्बन्धित मृत्युदर पनि बढ्ने जनाइएको छ । यसमा लामखुट्टेले फैलाउने तत सरुवा रोगहरू पनि बढ्ने उल्लेख छ । दक्षिण एसियामा खाद्यान्नको अभाव र वृद्धिदर झन् बढ्ने प्रतिवेदनले औंल्याइएको छ ।
वर्षाका घटनाहरू आएको फेरबदलले ऊर्जा संकट हुने र एसियाका ११ विकासोन्मुख मुलुकहरूमा ऊर्जा संकट हुने प्रतिवेदनले भनेको छ । अनुकूलनका लागि पारिस्थितिकीय प्रणालीमा आधारित विपद् जोखिम न्यूनीकरणका काम गर्न सुझाव दिइएको छ । तापक्रम वृद्धि हुँदै जाँदा हिमाली क्षेत्रबाट आउने नदीमा सन् २०५० सम्म २० प्रतिशत पानी घट्ने प्रक्षेपण छ ।
यसअघि आईपीसीसीको छैटौं प्रतिवेदन (एआर–६) को कार्य समूह–१ को २०२१ को प्रतिवेदनले २०११ देखि २०२० मा मात्रै पृथ्वीको सतही तापक्रम १.१ डिग्री पुगेको जनाएको छ । प्रतिवेदनले १.१ डिग्री तापक्रम बढ्दा गर्मी समयमा यो २.८ गुणाले वृद्धि हुने प्रक्षेपण गरेको छ । विश्वमा १.५ डिग्री तापक्रम बढ्दा हिमाली क्षेत्रमा २.१ डिग्री तापक्रम बढ्ने प्रक्षेपण गरिएको छ, जसको प्रभाव नेपाललाई ठूलो हुने देखिएको छ । साभार : कान्तिपुर दैनिक,फागुन १८
‘बढ्छ पानी अभाव र तातो हावा’
‘बढ्छ पानी अभाव र तातो हावा’
"जलवायु परिवर्तनमा आईपीसीसी प्रतिवेदन "
- अ
- अ
- अ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस

