यसरी फैलियो समुदाय तहमा……..
काठमाडौं । बर्दिया, राजापुर—५ बदालपुरकी बालिका घरबाट निस्केपछि कोरोना भाइरसबाट संक्रमित हुन पुगिन । उनी हजुरआमासँग छिमेकी जिल्ला कैलाली गएकी थिइन । घर फर्कन नपाउँदै क्वारेन्टाइनमा बसेकी ती ११ वर्षिया बालिकाको अस्पतालमा उपचार भइरहेको छ ।
सीमावर्ती सहर नेपालगन्ज—७का एक शिक्षकको दोस्रो पटकको पीसीआर परीक्षणमा पनि पोजेटिभ रिपोर्ट आएको छ । उनी भारतको नानपाराबाट स्वदेश फर्के पछि क्वारेन्टाइनमा बसेका थिए । क्वारेन्टाइनमा बस्न नमानेर कतिपय भागे । कोरोना भाइरस संक्रमण भएको थाहा नपाउँदा उनले धेरैलाई पढाए । उनीबाट फैलन शुरु भएको संक्रमण अहिले २४ जनामा पुष्टी भइसकेको छ । सब संक्रमितको खजुरास्थित सुशील कोइराला परोपकार क्यान्सर अस्पतालको आइसोलेसनमा उपचार भइरहेको छ ।
प्रदेश नं ५को सीमावर्ती जिल्ला सम्मरी गाउँपालिका र लुम्बिनी सांस्कृतिक नगरपालिकामा भेटिएका आधा दर्जनभन्दा बढी संक्रमित सीमापारी भारतबाट लुकेर नेपाल आएको स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख डा. राजेन्द्र गिरीले बताए । त्यस्तै कपिलवस्तु जिल्लामा अग्रपंक्तिमा रहेर कार्यरत २५ वर्षिया स्वास्थ्यकर्मीमा कोरोना भाइरस पोजेटिभ पाइएको छ ।
उता पर्सा जिल्लामा समाचार संकलनमा खटिने दुई जना संचारकर्मीमा कोरोना भाइरस पोजेटिभ देखिएको छ । भारतबाट आएका जमाती समुदायबाट पूर्वी जिल्लामा संक्रमण फैलन पुगेको छ ।
यी माथीका घटना प्रतिनिधिमुलक हुन । यी घटनाक्रमले कोरोना भाइरसको संक्रमण तेस्रो चरण अर्थात समुदाय तहतर्फ तीब्र गतिमा बढेको विज्ञहरु बताउँछन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका पूर्व प्रमुख विशेषज्ञ डा. सुशीलनाथ प्याकुरेल भन्छन,‘ पीसीआर परीक्षण सीमित भयो । जनतालाई भुलाउन बल्छि थापेर हुँदैन । संक्रमण समुदाय तहमा गइसकेको छ । तत्काल ट्रेसिङ नगर्ने हो भने अवस्था भयावह हुन सक्छ ।’
संक्रमणको जोखिम न्युनिकरण गर्न सरकारले लक डाउनको घोषणा गरेपनि त्यसको पुर्ण कार्यान्वयन हुन सकेको छैन । ‘ लक डाउनको पूर्ण कार्यान्वयन पनि भएको छैन । पीसीआर परीक्षण पनि अपेक्षाअनुसार विस्तार भएको छैन । ट्रेसिङ पनि सुस्त गति छ । टे«सिङ र पीसीआर परीक्षणको दु्रत गतिमा गर्न सकेको भए समुदायमा तहमा कति धेरै गइसकेको छ भन्ने प्रष्ट चित्र आउँथ्यो । ’ डा. प्याकुरेलले भने ।

