काठमाडौँ । विश्वव्यापि संक्रमण फैलाइरहेको कोरोना भाइरस (कोभिड १९ )को लागि निसानाकारुपमा क्लिनिकल ट्रायलका रुपमा परीक्षण भइरहेको हाइड्रोक्सीक्लोरोक्वीन सल्फेट ट्याब्लेट स्वदेशमै उत्पादन हुने गरेको छ ।
तीनवटा नेपाली औषधि उत्पादक कम्पनिले हाइड्रोक्सीक्लोरोक्वीन सल्फेट ट्याब्लेट उत्पादन गरिरहेको पाईएको छ । देउराली जनता फर्मास्युटिकल्स,क्युमेड र मारुती फर्मा औषधि कम्पनीले यो औषधि उत्पादन गरिरहेको औषधि व्यवस्था विभागले जनाएको छ । विभागका महानिर्देशक नारायण ढकालका अनुसार, मारुति फर्माले हालै उत्पादन शुरु गरेको छ । अन्य देउराली जनता (डीजेपिएल) र क्युमेडले भने लामो समयदेखि उत्पादन गर्दै आएका छन ।
कोरोना भाइरस विरुद्ध भारत , लगायत विकसित मुलुकले क्निकल ट्रायलका रुपमा यसको प्रयोग गर्दै आएको महानिर्देशक ढकालले बताए । उनले भने,‘ यो औषधिको प्रयोग सफल भएको खण्डमा नेपालमै पनि पर्याप्त मात्रामा उत्पादन गर्न सकिन्छ । कच्चा पदार्थ विदेशबाट ल्याएर स्वदेशमै पर्याप्त औषधि उत्पादन गर्न सकिने देखिएको छ ।’
देउराली जनता फर्मास्युटिकल्सले आवश्यकता परेको अवस्थामा सरकारलाई निःशुल्क औषधि उपलब्ध गराउने प्रतिबद्धता समेत व्यक्त गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका विज्ञ सल्लाहकार डा. खेमबहादुर कार्कीले हाइड्रोक्सीक्लोरोक्वीन सल्फेट ट्याब्लेट औषधि केहि औषधि कम्पनिहरुले उत्पादन गरिरहेकोले आवश्यकता परेको अवस्थामा प्रयोग गर्नकालागि स्टकमा राख्ने काम भइरहेको बताए । उनले भने,‘ तत्कालै चार लाख भन्दा बढी ट्याब्लेट स्टकमा राख्ने योजना अनुरुप काम अघि बढेको छ ।’ देउराली जनता फर्मास्युटिकल्सले मात्रै सरकारले माग गरेको अवसथामा करीब १५ हजार जनाको उपचार गर्न पुग्ने करीब ४ लाख टयाब्लेट उत्पादन गर्ने जनाएको छ । औषधि सरकारलाई निशुल्क उपलब्ध गराउने कम्पनिले जनाएको छ ।
कच्चा पदार्थ रक्सौलमा रोकियो
हाइड्रोक्सीक्लोरोक्वीन सल्फेट ट्याब्लेट उत्पादनका लागि भारतबाट स्वदेशी औषधि उत्पादक कम्पनिले कच्चा पदार्थ आयात गर्ने गरेका छन । त्यस्तै भारतका तीनवटा औषधि कम्पनिद्धारा उत्पादित हाइड्रोक्सीक्लोरोक्वीन सल्फेट ट्याब्लेट नेपाली बजारमा विक्रिवितरण भइरहेको औषधि आयातकर्ता संघका महासचिव पवन आचार्यले जानकारी दिए ।
महासचिव आचार्यका अनुसार, इप्का ल्याबरोटरीज प्राइभेट लिमिटेड,एलेम्बिक फर्मा र वालेस फर्माबाट उत्पादित हाइड्रोक्सीक्लोरोक्वीन सल्फेट ट्याब्लेट नेपाली बजारमा खपत हुने गरेको छ । इप्काको नेपालस्थित आयातकर्ताको गोदाममा ( दुईसयएमजीको अहिले ३ लाख ट्याब्लेट सन्चित रहेको छ । त्यस्तै, चार सय एमजीको ६० हजार ट्याब्लेट औषधि रहेको छ । त्यस्तै तीन शय एमजीको १२ हजार हाइड्रोक्सीक्लोरोक्वीन सल्फेट ट्याब्लेट गोदाममा रहेको छ । एलेम्बिक कम्पनिको दुईसयएमजीको १ ३ सय ट्याब्लेट औषधि पनि गोदाममा रहेको छ ।
नेपाल आयात गर्न लागिएको वालेस फर्माको ५० हजार भन्दा ट्याब्लेट औषधि अहिले विरगन्जस्थित रक्सौल नाकामा रोकिएको महासचिव आचार्यले बताए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका विज्ञ सल्लाहकार डा. खेमबहादुर कार्कीले कुटनीतिक माध्यमको प्रयोग गरेर नाकामा रोकिएको औषधि तथा औषधिजन्य कच्चा पदार्थ ल्याइने बताए ।
औषधिमा आत्म निर्भर
आइतबार मन्त्रालयमा देउराली जनता फर्मास्यूटिकल्स प्रा. लि. का तर्फबाट प्राप्त एक लाख ५० हजार थान हाइड्रोक्सीक्लोरोक्वीन सल्फेट ट्याब्लेट बुझ्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले अत्यावश्यक औषधिहरूको उत्पादनमा नेपाल आत्मनिर्भर बन्नुपर्ने बताए । मन्त्री ढकालले भोलिका दिनमा नेपालमा चाहिने अत्यावश्यक औषधिहरूमा आत्मनिर्भर हुन सकियोस भनर काम गर्नु पर्ने बताए । सम्पूर्ण औषधि व्यवसायीहरूले आफ्नो उत्पादन बढाउनु पर्ने भन्दै त्यसकालागि आवश्यक वातावरण तयार गर्नकालागि सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।‘औषधिहरू पर्याप्तउत्पादनगर्नुस्, उत्पादनगर्ने कुरामा कठिनाइ छन भने ती कठिनाइ हटाउनका लागि सरकार तपाइँहरूको साथमा हुन्छ ।’ उनले भने ,‘तपाइँहरू जस्तै व्यवसायीजो यो क्षेत्रमालाग्नु भएको छ राज्यले उहाँहरूको संरक्षण गर्ने विकास गर्न सहयोग पुर्याउने र परनिर्भरताको यो विषयबाट माथि उठ्ने यो योजनाका साथी लाग्छौँ अफ्ठेरोमा सहयोग गर्नुभएको छ योप्रति त आभार नै छ । भोलिको दिनहरूकालागि पनि औषधि उत्पादन बढाउनेगरी लाग्नुस सरकार पूर्ण रूपमातपाइँहरूको साथमा हुन्छ ।’
समारोहमा देउराली जनता फर्मास्यूटिकल्सका कार्यकारी निर्देशक हरिभक्त शर्माले आफू सधैँ सरकारसँग हातेमालो गरेर अघि बढ्न तयार रहेको बताए ।
विदेशमा माग बढदै
यो औषधिको उत्पादन र निर्यातमा भारत अग्रणी मानिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतबाट हाइड्रोक्सीक्लोरोक्विन माग गरेका छन । औषधि माग गर्ने क्रममा राष्ट्रपति ट्रम्पले घुमाउरो ढंगले चेतावनी दिएपछि भारतमा चर्को विरोध समेत भएको छ । राष्ट्रपति ट्रम्पले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई औषधि निर्यात गर्न आग्रह गर्दै औषधि नपठाएमा जवाफी कारवाही गर्ने चेतावनी समेत दिएका थिए ।
गुजरातका मुख्यमन्त्री विजय रुपाणिले अमेरिकाले गरेको माग अनुसार औषधि निर्यात गर्न तयार रहेको जानकारी दिइसकेका छन ।पहिलो खेपमा तीन करोड टयाब्लेट पठाउने तयारी भारतले गरिरहेको भारतीय सन्चारमाध्यमले जनाएका छन । अमेरिकामा हालसम्म ११ हजार भन्दा बढी व्यक्तिको कोरोना भाइरसका कारण ज्यान गइसकेको छ ।
भारतबाट हाइड्रोक्सीक्लोरोक्विन औषधि माग गर्ने मुलुकहरु बढेका छन । ब्राजीलका राष्ट्रपति जयर बोलसनोरोले हाइड्रोक्सीक्लोरोक्विन औषधिलाई संजिबनी बुटीको संज्ञा दिंदै निर्यात गरेकोमा भारतीय राष्ट्रपति मोदीको प्रशंशा गरेका छन । अमेरिकासँगै रुस,ब्राजील, इजरायल, जर्मनी, फ्रान्स, स्पेन लगायतका मुलुकले औषधि माग गरेका छन । भारतमा समेत कोरोना भाइरसको संक्रमितहरु बढिरहेको बेला औषधिको माग बढेपछि निर्यातको विषयमा भारतीय अधिकारीहरु योजना बनाएका छन । काँग्रेस नेता एवं पूर्व केन्द्रीय मन्त्री शशि थरुरले घरेलु आपूर्तिका लागि हाइड्रोक्सीक्लोरोक्विन निर्माण गरिएको उल्लेख गर्दै भारतले औषधि विक्रि गर्ने निर्णय गरेमा मात्र निर्यातको विषय बन्ने ट्वीट गरेका छन ।
मानवीयताको आधारमा निर्यात
हाइड्रोक्सीक्लोरोक्विन औषधिको माग बढेपछि भारतले मानवीयताको आधारमा निर्यात गर्ने निर्णय गरेको छ ।
भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवका अनुसार, भारतमा रहेका संक्रमितको अवस्थालाई मध्यनजर राखेर निर्यात गरिने भएको छ । भारतले गत सोमबार १४ किसिमका औषधिको निर्यात बन्द गरेको थियो ।
कति प्रभावकारी छ?
औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकालले कोरोनाको प्रभावकारी उपचारका लागि यस औषधि उपयुक्त भएको भन्ने वैज्ञानिक आधार नभएको बताए । उनले भने,‘क्लिनिकल परीक्षण भइरहेको छ । कोरोना भाइरसको उपचारका लागि सहयोगी सिद्ध हुन सक्छ ।’
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका विज्ञ सल्लाहकार डा. खेम कार्कीले विगतमा मलेरियाको विरुद्ध प्रयोग भइरहेको यो औषधि सर्पोटिभ केयरका रुपमा प्रयोग हुन थालेको बताए । उनले भने,‘ कोरोना भाइरसको असर न्युन गर्ने भएकोले पूर्व तयारीको लागि संचय गर्न लागिएको हो ।’पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्व उपकुलपति एवं वरिष्ठ श्वासप्रश्वास रोग विशेषज्ञ डा अर्जुन कार्कीले हाइड्रोक्सीक्लोरोक्विन औषधिको प्रभावकारिताको प्रमाणिकता भइनसकेको बताए । उनले भने,‘ यस औषधिको प्रभावकारिताको वैज्ञानिक पुष्टि नभइसकेकोले वैज्ञानिक आधारविना केहि भन्न सक्ने अवस्था छैन । ’

