काठमाडौं । काठमाडौं महानगरपालिकामा काम गर्ने ३१ जनामा कोरोना भाइरस पोजेटिभ देखिएको छ। शुक्रबार गरिएको र्यापिड डाइगोनेस्ट परीक्षणमा ३१ जानाको पोजेटिभ देखिएको महानगरपालिकाका स्वास्थ्य विभाग प्रमु्ख नरेन्द्र विलास बज्राचार्यले बताए। पोजेटिभ देखिएका अधिकांस सफाइ कर्मचारी रहेको उनले बताए।
‘हामीले आज सफाई कर्मचारी, चालक र स्वास्थ्य स्वयम सेवकको कोरोना परिक्षण गरेका हौँ,’ उनले भने, ‘परीक्षण गरिएको मध्ये ३१ जनामा पोजेटिभ देखिएको छ। जसमा सफाई कर्मचारी र महिला स्वयमसेविकालाई देखिएको छ।’
महानगरले स्वास्थ्य विभागको समन्वयमा शुक्रबार नौ सय ३४ जनाको कोरोना परीक्षण गरिएको थियो। जसमध्ये आडीटी विधिबाट छ सय ६४ र पिसिआर विधिबाट दुई सय ७० जनाको परीक्षण गरिएको महानगरपलिकाको स्वास्थ्य विभाग प्रमुख बज्राचार्यले जानकारी दिएका छन्। ‘हामीले आरडिटि र पिसिआर दुवै विधिबाट परिक्षण गरेका थियौँ,’ उनले भने, ‘जसमा पिसिआर टेस्टको त रिजल्ट आउन समय लाग्छ। आर डिटिमा सफाई कर्मचारी र स्वास्थ्य स्वयम सेविकाको पोजेटिभ देखिएको छ।’
पीसीआर विधिबाट टेस्ट गर्दा लामो समय लाग्ने भएकाले आरडीटी विधिबाट पनि परीक्षण गरिएको उनले बताए। सफाई कर्मचारीको कोरोना परिक्षण महानगरपालिका र स्वास्थ्य सेवा विभागको समन्वयमा भएको थियो। आरडीटीमा पोजेटिभ देखिएका सबै कर्मचारीको स्वाब निकालेर पिसिआर परिक्षणका लागि पठाइएको प्रमुख बज्राचार्यले बताए।

