काठमाडौं । प्रदेश नं ५को दाङ र प्यूठान जिल्लामा कोरोना भाइरस पोजेटिभ भएका व्यक्तिहरु फेला परेका छन । जसमध्ये दाङका तीनजनामा स्वाव (पीसीआर) विधिबाट परीक्षण गर्दा कोरोना भाइरस संक्रमणको पुष्टी भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार तुलसीपुर —७का एक युवामा कोरोना भाइरस पोजेटिभ भेटिएको छ । ३४ वर्षिय यी व्यक्ति त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जमा कार्यरत छन ।
त्यस्तै गढवा — ४ निवासी २३ वर्षिय र गढवा —५का ३६ वर्षिय पुरुषमा पनि कोराना भाइरस पोजेटिभको संक्रमण रहेको पाइएको छ । तीनै जना संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।
कसरी भए संक्रमित ?
गढवाका अन्य दुई जना पुरुष भने भारतबाट आएका हुन । भारतको मुम्बई र गोरखपुरबाट आएका व्यक्ति हुन । तीन दिन अघि उनीहरु एक विद्यालयमा क्वारेन्टाइनमा बसेका थिए । उनीहरु उद्योग वाणिज्य संघको एम्बुलेन्स चढेर दाङ आएका थिए । दाङमा गढवास्थित जनता माध्यमिक विद्यालयको क्वारेन्टाइनमा बसेको बेला गरिएको स्वाब परीक्षणमा कोरोना भाइरसको पुष्टी भएको हो ।
प्यूठानमा आरडीटी परीक्षणमा पोजेटिभ
प्यूठान जिल्लामा पनि ¥यापिड डाइगनोस्टिक टेस्ट (आरडीटी) परिक्षणगर्दा ११ जनामा कोरोना भाइरस पोजेटिभ भेटिएको छ । प्यूठान नगरपालिकाको मरन्ठानास्थित क्वारेन्टाइनमा बसेका ८ जना पुरुष र ३ जना महिलामा कोरोना पोजेटिभ भेटिएको हो । प्यूठान नगरपालिका नगरप्रमुख अर्जुन कुमार कक्षपतिका अनुसार ती सवै जना काठमाडौँबाट आएका हुन् । उनीहरुको स्वाव (पीसीआर ) परीक्षण गर्ने तयारी भइरहेको छ । यसअघि पनि प्यूठानका दुई जना युवा आरडिटी पोजेटिभ देखिएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका पूर्व प्रमुख विशेषज्ञ डा. सुशीलनाथ प्याकुरेलले आरडीटीमा पोजेटिभ देखिदैमा डराइहाल्न नहुने बताए । उनले भने,‘आरडीटी भन्दा पीसीआर परीक्षण विधि बढी विश्वासिलो र भरपर्दो हुन्छ । ’

