काठमाडौं । कोरोना भाइरस (कोभिड १९)को संक्रमण मुलुकका ३१ जिल्लामा फैलिएको छ । काठमाडौं उपत्यका सहित तराईका सीमावर्ती जिल्लामा कोरोना भाइरसको संक्रमण बढेपछि त्रास बढेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार, जेठ १ गतेसम्ममा पोलिमरेज चेन रियाक्सन (पीसीआर) विधिबाट गरिएका परीक्षणको संख्या २१ हजार ३सय ४० पुगेको छ । त्यसैगरि द्रुत परीक्षण किट (आरडीटी)बाट गरिएको परीक्षणको संख्या ६० हजार ३ सय १९ पुगेको छ । गत चौबिस घण्टामा पीसीआर २ हजार ३ सय ५७ वटा परीक्षण गरिएको थियो । त्यस्तै आरडीटी ६ सय ९२ वटा भएका छन । चौबिस घण्टामा कुल परीक्षण ३ हजार ४९ वटा भएका छन ।
उच्च जोखिममा प्रदेश २
भारतसँग सीमा जोडिएका तराईका जिल्लामा कोरोना संक्रमितको संख्या दिनहुँ बढेसँगै जनजीवन त्रसित बनेको छ । प्रदेश नं २मा ९६जना कोरोना संक्रमित फेला परेको मन्त्रालयका प्रवक्ता डा. देवकोटाले नियमित प्रेस बिफ्रिङ मार्फत जानकारी दिएका छन ।
संक्रमित मध्ये सबैभन्दा बढी पर्सा जिल्लाका बासिन्दा छन । पर्सामा ७९ जना व्यक्तिमा संक्रमण देखिएको छ । सप्तरी, धनुषा, महोत्तरी, सर्लाही, रौतहट ,बारामा संक्रमितहरु भेटिएका छन । ८ वटा जिल्ला मध्ये ७ जिल्लामा कोरोनाका संक्रमित फेला परेका छन । भारतबाट प्रवेश गरेका जमाति समुदायसँग घुलमिल गरेका र सम्पर्कमा रहेका व्यक्तिबाट संक्रमण फैलन पुगेको जनाइएको छ । प्रदेश २का ८ वटै जिल्ला भारतीय सीमासँग जोडिएका छन । बिहार राज्यका जिल्लासँग जोडिएका पर्सा, बारा ,रौतहट र सर्लाहीमा संक्रमितहरु फेला परेका छन ।
यस प्रदेशमा ५ हजार ९ सय ३७ जनाको आरडीटीबाट परीक्षण गरिएको थियो । विभिन्न क्वारेन्टाइनमा १ हजार ५ सय ७४ बसिरहेका छन । आइसोलेसनमा ९८ जनाको उपचार भइरहेको छ । प्रदेशमा १ सय ७९ वटा क्वारेन्टाइन निर्माण गरिएको छ ।
कसरी फैलियो संक्रमण
चैत ३० देखि वैशाख २८ सम्म भेटिएका सबै २५ संक्रमित वीरगन्ज महानगरपालिकाक भित्रका थिए । तर ३० बैशाखमा थप भेटिएका ३९ मध्ये १३ जना भने जिल्लाको ग्रामीण भेगमा पर्ने छिपहरमाइ गाउँपालिकाको रहेको मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले बताए ।
प्रदेश नं २मा दुई संचारकर्मी र एक जना नर्समा पनि कोरोनाको संक्रमण फैलिएको छ । नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्टका अनुसार कम्तीमा दुई जना संचारकर्मीमा कोराना भाइरस भेटिएको छ ।
त्यस्तै प्रदेश नं २ मा भेटिएका कोरोना संक्रमित मध्ये ३ जना भारतको उत्तर प्रदेश र दिल्लीका जमाती हुन् । संक्रमित सबैको नारायणी अस्पतालमा उपचार भइरहेको छ ।
पत्रकार पनि संक्रमित
नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्टका अनुसार पर्सामा कम्तीमा २ जना पत्रकारलााई कोरोना संक्रमण भएको छ ।बैशाख ३० गते उनीहरुमा कोरोना संक्रमणको पुष्टी भएको हो । संक्रमित दुई जनाको नारायणी अस्पतालको आइसोलेसनमा राखेर उपचार गरिंदैछ ।
पत्रकारलाई संक्रमण भएपनि अन्य १ सय २० जना पत्रकारले कोरोना जाँचका लागि स्वाब दिएका छन ।
नर्स संक्रमित
नारायणी अस्पतालमा कार्यरत नर्स पनि कोरोना भाइरसको संक्रमणको चपेटामा परेकी छिन ।
३१ बैशाखमा उनी कोरोना संक्रमण भएको पुष्टी भएको हो । उनको नारायणी अस्पतालको आइसोलेनमा उपचार भइरहेको छ । ३६ वर्षिया नर्सको स्वास्थ्य अवस्था सामान्य रहेको छ । संक्रमण हुनु अघि उनी अस्पतालमा भर्ना भएका संक्रमितको उपचारमा खटिएकी थिइन ।
मानसिक विरामी संक्रमित
सर्लाही जिल्लामा मानसिक विरामीमा पनि कोरोना संक्रमणको पुष्टी भएको छ । हरिपूर्वा नगरपालिका–३ धनकौल ४५ वर्षीय एकजना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले जानकारी दिए । उनको २६ गते जनकपुरमा पीसीआर परीक्षण गरिएको थियो । परीक्षणमा निगेटिभ आएपछि उनलाई घरमै राखिएको थियो ।
३० बैशाख मङ्गलबार राति १०ः१५ बजेको समयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति जारी गर्दै सर्लाहीमा थप एक व्यक्ति कोरोना संक्रमित भएको खुलासा गरेपछि उनको बारेमा सार्वजनिक भएको थियो । काठमाडौंबाट पीसीआर परीक्षण पोजेटिभ आएपछि मङ्गलबार राति नै उनलाई खोज्न सर्लाहीका सुरक्षा निकायका प्रमुख धनकौल पुगेका थिए । उनलाई राति घरबाट निकाल्न करिब तीन घण्टा लागेको प्रहरी उपरीक्षक विश्वमणि पोखरेलले जानकारी दिए । क्याचिङ रडले घरबाट तानेर गाडीमा हालेर बिहान २ बजे प्रादेशिक अस्पताल जनकपुर पठाइएको उनले बताए ।
आइसोलेसन वार्डबाट फरार पक्राउ
वीरगन्जको नारायणी अस्पतालको आइसोलेसन वार्डबाट ३१ बैशाखमा फरार दुई संक्रमितमध्ये १ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । अस्पतालको सर्जिकल वार्डमा बनाइएको आइसोलेसनबाट बुधबार दिउँसो साढे ३ बजे दुई संक्रमित भागेका थिए ।
ती मध्ये पर्साको विन्दवासिनि गाउँपालिकाको बहुअर्वाभाठा घर भएका संक्रमित २८ वर्षीय राजनाथ यादवलाई नियन्त्रणमा लिएर प्रहरीले फेरि आइसोलेसन वार्डमा बुझाएको छ । अस्पतालबाट भागेर खेतको बाटो हुदै पैदल बहुअर्वाभाठा जाँदै गरेका यादवलाई प्रहरीले वीरगन्ज सहर बाहिरको तिलावे खोलाको पुल नजिकको खेतबाट नियन्त्रणमा लिएको हो । यादव, लागु औषध मुद्दामा पक्राउ परेका थुनुवा पनि हुन । लागु औषध मुद्दामा जिल्ला प्रहरी कार्यालय पर्साको थुनुवा कक्षमा राखिएका यादवलाई , मङगलवार कोरोना पुष्टि भएपछि अस्पताल लगिएको थियो।
यादवसँगै अस्पतालबाट फरार भएका अर्का संक्रमित वीरगन्ज १६ इनर्वाका ४४ वर्षीय जाबेद मियाको भने खोजी कार्य भइरहेको पर्साकी प्रहरी उपरीक्षक गंगा पन्तले जानकारी दिइन् । एसपी पन्तका अनुसार, अस्पतालबाट भागेर घर पुगेका मियाका बारेमा परिवारकै सदस्यले प्रहरीलाई फोन गरेर खबर गरेका थिए। तर प्रहरी मियाको घरमा पुग्नु भन्दा पहिले नै उनी मोबाइल फालेर भागेकाले पक्राउ गर्न नसकिएको पन्तको भनाइ छ । मियालाई पनि मङगलवार दिउसो कोरोना संक्रमणको पुष्टि भएपछि चैत २९ गते साँझ अस्पताल भर्ना गरिएको थिया े। अस्पतालको दोश्रो तल्लाको आइसोलेसन वार्डको शौचालयमा बुधबार अपरान्ह साढे ३ बजे तिर छिरेका दुवै जना संक्रमित शौचालयकै भेन्टिलेटर फोडेर हाम फालि भागेका थिए । भागेको खबर बाहिरिए लगत्तै नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले अस्पताललाई घेरा हालेको फरार दुवैको खोजी सुरु गरेको थियो ।

