हरेक वर्ष सुक्खायाममा समग्र दक्षिण एसिया र विशेष गरी काठमाडौं वायु प्रदूषणबाट ग्रसित हुने गरेको छ । सामयिक सन्दर्भमा पनि काठमाडौं विश्वकै प्रदूषित सहर बनेको छ । काठमाडौंमा आँखा पोल्ने, आँसु झर्ने, घाँटी दुख्ने तत्कालीन समस्या छ भने यो प्रदूषणले मानव स्वास्थ्यमा पार्न सक्ने दीर्घकालीन स्वास्थ्य जोखिम अलग्गै छ ।
काठमाडौं उपत्यकामा तुवाँलो कति घना छ भने एक किलोमिटर आसपासका दृश्य पनि प्रस्टसँग देख्न मुस्किल छ । अझै केही दिन यस्तै अवस्था रहने प्रक्षेपण छ । यस्तो प्रदूषण तत्कालै न्यूनीकरण गर्न मानवीय प्रयत्न कामयाबी नहुन सक्छ, तर दीर्घकालीन साझेदारी अवश्य अपेक्षित छ ।
काठमाडौंको प्राकृतिक बनोटले पनि प्रदूषणको असर बढाउँछ । कचौरा आकारको उपत्यकामा प्रदूषित हावा सहजै बाहिरिन पाउँदैन । पानी परेको वा हावा चलेको स्थितिमा मात्रै सुधार हुन सक्छ । विश्वको वायु गुणस्तर अभिलिखित गर्ने स्विट्जरल्यान्डको वेबसाइट आईक्यूएयरमा उपलब्ध तथ्यांकअनुसार पछिल्ला चार दिनयता काठमाडौंको वायु गुणस्तर अति अस्वस्थ तहमा झरेको छ ।
आइतबार काठमाडौंको वायु गुणस्तर २११ एक्यूआई (एयर क्वालिटी इन्डेक्स) थियो । यस्तै सोमबार २३२, मंगलबार २२३ र बुधबार २४७ एक्यूआई पुगेको थियो । नेपाल सरकारबाट स्वीकृत वायु गुणस्तर सूचकांकअनुसार ०–५० को अवस्थालाई राम्रो मानिन्छ । त्यस्तै, ५१–१०० लाई मध्यम, १०१–१५० लाई संवेदनशील मानव समूहका लागि अस्वस्थ, १५१–२०० अस्वस्थ, २०१–३०० निकै अस्वस्थ तथा ३०१ भन्दा माथि गएमा खतरनाक मानिन्छ । चार दिनयता काठमाडौंको वायु गुणस्तर सबै वर्गका लागि निकै अस्वस्थ तहमा रहेको देखिन्छ ।
वायु प्रदूषण सिधै मानव स्वास्थ्यसँग जोडिएको हुन्छ । विश्वमा प्रत्येक वर्ष ७० लाख मानिसको मृत्यु वायु प्रदूषणले ल्याउने स्वास्थ्य समस्याका कारणले हुने विश्व स्वास्थ्य संगठनको तथ्यांक छ । नेपालमा पनि प्रत्येक वर्ष वायु प्रदूषणमार्फत निम्तिने रोगबाट झन्डै ४२ हजारको मृत्यु हुन्छ । त्यस्तै, नसर्ने खतरनाक रोगको वृद्धिको प्रमुख कारण प्रदूषण नै हो । प्रदूषणका तत्कालीन र दीर्घकालीन असर हुन्छन् । सामान्य रूपमा पनि वायु प्रदूषणले आँखाको एलर्जीदेखि चिडचिडाहट जस्ता असर देखिन्छन् ।
कालान्तरमा फोक्सोदेखि मुटुसम्म समस्या देखिन सक्छन् । त्यसैले मानव स्वास्थ्यमा असर कम गर्न व्यक्ति, परिवार तथा समाज स्वयंले सजगता अपनाउन आवश्यक छ । बालबालिका, वृद्ध, मुटु तथा श्वासप्रश्वासका रोगी र गर्भवती महिलालाई प्रदूषणको असर बढी हुने भएकाले उनीहरूको विशेष हेरचाह आवश्यक छ । त्यस्तै, पहिल्यैदेखि मुटु, दम, फोक्सो तथा उच्च रक्तचापका बिरामीलाई पनि सुरक्षित राखिनुपर्छ । यद्यपि, काठमाडौंको वायुको गुणस्तर निकै अस्वस्थ तहमा पुगिसकेकाले जोकसैले सुरक्षाका उपाय अपनाउनु आवश्यक छ ।
विश्वव्यापी रूपमै वायु प्रदूषण बढ्नुमा पेट्रोलियम र खनिज पदार्थको अनियन्त्रित प्रयोग नै हो । औद्योगिक कारखानामा खनिज इन्धनको प्रयोग, सवारीसाधनको चाप, डढेलो र धूलोका कारण प्रदूषण अनियन्त्रित छ । नेपालमा भने यी सबै कारण विद्यमान छन् । काठमाडौंमा अहिले पनि दैनिक १४ लाख हाराहारी सवारीसाधन गुड्छन् । प्रायःले इन्धनका रूपमा पेट्रोल तथा डिजेल प्रयोग गर्छन् ।
यति धेरै सवारीसाधनबाट निस्किने धूवाँ वायु प्रदूषणको एउटा मुख्य कारण हो । यहाँका सडक नियमित मर्मतसम्भार हुँदैनन् । निर्माण कार्य पनि प्रायः अलपत्र नै परिरहेको हुन्छ । जसले गर्दा इन्धनको अत्यधिक प्रयोग र धूलो बढाउँछ । डढेलो त देशव्यापी समस्या नै हो । अहिले पनि देशका विभिन्न भागमा लागेको डढेलोले प्राकृतिक विनाश गरिरहेको छ र वायु प्रदूषणलाई खतरनाक बिन्दुमा लगिरहेको छ ।
विकासका प्रतीक्षामा रहेका नेपालजस्ता देशले विद्युतीय सवारीसाधनलाई नै प्रोत्साहित गर्नुपर्छ । पहिलो, यसले काठमाडौंजस्ता सहरमा प्रदूषणलाई नियन्त्रण गर्न सघाउनेछ । दोस्रो, जलविद्युत्को उत्पादन बढ्दै गइरहेको अवस्थामा त्यसको उपभोगका लागि पनि विद्युत्को उपयोग उचित हुनेछ ।
तेस्रो, पेट्रोलियम पदार्थ खरिदमा नेपालको ठूलो धनराशि बाहिरिने गरेको छ । आर्थिक वर्ष २०८०/८१ मा मात्र १५ खर्ब ९२ अर्ब ९८ करोड रुपैयाँको वस्तु आयात हुँदा पेट्रोलियम पदार्थका लागि मात्रै १८.८७ प्रतिशत रकम खर्च भएको थियो । यसरी पेट्रोलियम पदार्थ आयातका लागि मात्रै वर्षमा तीन खर्ब बराबरको रकम बाहिरिने गरेकाले यसको विकल्पलाई प्राथमिकतामा राख्नु जरुरी छ ।

