काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्यमा क्षेत्रमा गरिएको लगानीलाई व्यवस्थित गर्न जरुरी रहेको बताउनु भएको छ । स्वास्थ्यमा सर्वव्यापी पहुँच दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै स्वास्थ्यमन्त्री पौडेलले यस्तो बताउनु भएको हो ।
उहाँले स्वास्थ्यमा व्यवस्थित लगानी नहुँदा परिणाम दिन नसकेको उल्लेख गर्नु भयो । उहाँले स्वास्थ्य क्षेत्रमा लगानी पनि आवश्यकता अनुसार हुन नसकेको र भएको लगानीलाई पनि व्यवस्थित गर्न नसकेको बताउनु भयो । उहाँले नागरिकको स्वास्थ्य सरकारको पहिलो दायित्व भएको भन्दै स्वास्थ्यको दायित्वबाट सरकार विमुख हुन नमिल्ने उल्लेख गर्नु भयो । स्वास्थ्य क्षेत्रका संरचना र जनक्तिलाई पनि व्यवस्थित गर्न आवश्यक रहेको बताउनु भयो ।
उहाँले भन्नुभयो, “एकदमै पुँजीवादी देशले पनि स्वास्थ्यको दायित्वबाट विमुख हुन सकेका छैनन् । स्वास्थ्य कुनै न कुनै ढंगबाट राज्यले दायित्व लिनुपर्ने कुरा हो । राज्यको दायित्वको विषयमा राज्यले कति लगानी गरेको छ । कति प्राथमिकतामा राखेको छ, यसको व्यवस्थापन कति चुस्त, दुरुस्त हुन सकेको छ, यो आजको एकदमै महत्त्वपूर्ण विषय हो । हाम्रोमा संरचनागत पक्षबाट पनि यसलाई व्यवस्थित गर्न सकेनौं, उपकरण उपलब्धताको पक्षबाट पनि यसलाई व्यवस्थित गर्न सकेनौं, जनशक्तिको पक्षबाट पनि यसलाई व्यवस्थित गर्न सकेका छैनौं । अस्पताल बनाएर मात्रै हुँदैन, अस्पतालभित्र उपकरण र जनशक्ति पनि हुनुपर्छ ।”
मन्त्री पौडेलले आर्थिक पक्षबाट पनि स्वास्थ्यलाई सर्वसुलभ र सहज बनाउनु पर्ने बताउनु भयो ।

