मुलुकका विभिन्न स्थानबाट बसाइँ सरेर आउनेको आकर्षणका कारण चितवनलाई मुलुकको ७८ औं जिल्ला भन्ने गरिएको छ । बसाइँ सरेर आउनेको संख्याका कारण मात्र यस्तो भनिएको होइन । यहाँ आउनेको जातीय, सांस्कृतिक परम्परामा देखिएको विविधताले पनि जिल्लालाई साझा फूलबारी बनाउँदै गएको छ ।
विभिन्न कारणले बसाइँ सरेर आउनेका कारण जिल्लाको जनसंख्या ह्वात्तै बढिरहेको छ । भविष्यमा त्यसले विभिन्न समस्या र चुनौती निम्त्याउनेतर्फ बहस प्रारम्भ भइसकेको छैन । समयक्रमसँगै धेरै जातजातिको बसोबास भए पनि चितवनलाई चिनाउने यहाँका थारूलगायत आदिवासी जनजाति हुन् ।
जिल्लाका विभिन्न स्थानमा भिन्न जातजातिको बसोबास छ । उनीहरूका आ–आफ्नै विशेषता छन् । तर जल, जंगल र जमिनसित गाँसिएका जनजातिमध्ये थारू समुदायको महत्त्व फरक छ । प्रकृति र संस्कृतिका पुजारी थारू समुदायको रहनसहन र खानपानले जिल्लाको पर्यटन उकास्न मद्दत पुर्याइरहेको छ भने अर्कोतर्फ यहाँका अमूल्य जैविक विविधताको संरक्षणमा पनि समुदायको ठूलो भूमिका रहँदै आएको छ ।
चितवनमा आदिवासीको कुरा गर्दा एउटै समुदायको वर्णनले पर्याप्त हुँदैन । आदिवासी समुदायको उपस्थिति हेर्दा चितवन ‘जनजाति संग्रहालय’ नै हो । नेपालको तराई भूभागमा मलेरिया तथा औलो उन्मूलन हुनुभन्दा पहिले तराई क्षेत्रको ९० प्रतिशत भूभाग वनजंगलले ओगटेको थियो । प्रतिकूल अवस्थामा पनि चितवनमा ९० प्रतिशत जनसंख्या थारू र बाँकी १० प्रतिशत सीमान्तकृत समुदाय बोटे, मुसहर, कुमाल, सोनाहर, दराई र पहाडमा चेपाङ समुदायको बसोबास थियो । आदिमकालदेखि बसोबास रहेको आदिवासी थारू र बाँकी अन्य जातिहरूको आफ्नो रीतिरिवाज, भेषभूषा, प्रकृतिसँग सम्बन्ध छ । उनीहरूले परम्परादेखि वन्यजन्तुको संरक्षण तथा उपयोग गर्दै आएका हुन् । थारू जातिको मुख्य पेसा कृषि हो । त्यसैले उनीहरूमा कृषिसम्बन्धी धेरै ज्ञान थियो ।
मलेरिया तथा औला उन्मूलनभन्दा पहिला आधुनिक कृषि प्रणालीको चलन थिएन । चितवनमा जनसंख्या निकै कम थियो । कृषि कार्यका लागि जमिन पर्याप्त भएकाले थारूहरूले हरेक पाँच–पाँच वर्षमा खेतपाती गर्ने जग्गा ठाउँसारी गर्थे । कृषिमा निर्भर भएकाले उक्त कार्यलाई सजिलो बनाउन प्रत्येक घरमा २/३ सय गाईगोरु, बस्तुभाउ पालन गर्थे । जसले कृषिका चाहिने मल पुग्थ्यो । खेत जोत्न सजिलो हुन्थ्यो । मलेरिया जस्तो डर लाग्दो रोग पनि पचाउन सक्ने जाति नेपालमा आदिवासी थारू, बोटे, मुसहर, कुमाल र दराई मात्र थिए र हालसम्म छन् । सन् १९५२ भन्दा पहिला अर्थात् मलेरियाको प्रकोपको समयमा तराईमा बाह्रै महिना बसोबास गर्ने अन्य जाति शून्य थिए ।
चितवनलाई आदिवासी थारूहरूले राजनीतिक, भौगोलिक र प्रशासनिक रूपमा काम गर्न सजिलो होस् भन्ने उद्देश्यले जिल्लालाई ५ वटा क्षेत्रमा विभाजन गरेका थिए । जसलाई थारू भाषामा प्रंगना भनिन्थ्यो । जसअनुसार पूर्वी चितवनलाई चितौन प्रंगना, माडी क्षेत्रलाई माडी प्रगन्ना, कसरा क्षेत्रलाई बेलोद, मेघौली क्षेत्रलाई टार र दिव्यनगर क्षेत्रलाई कालाबन्जारा प्रगन्ना भन्ने गरिन्थ्यो । इतिहास केलाउँदा पहाडबाट बसाइँसराइ सुरु हुनुभन्दा पहिला चितवनका उल्लिखित सबै क्षेत्रमा थारूको बाहुल्य थियो । २०१२ सालभन्दा अगाडि चितवनमा लगभग १ सय ५० देखि १ सय ७५ वटा मौजा (साना–साना गाउँ) थिए । पूर्वी चितवन अर्थात् चितौन प्रगन्ना र माडी प्रगन्नामा थारू समुदायको बसोबास धेरै थियो । हालको भरतपुर महानगरपालिका बेलोद प्रगन्ना (गौरीगन्जदेखि पटिहानीसम्म), टार प्रगन्ना (चनौलीदेखि गोलाघाटसम्म) र यही प्रगन्नाअन्तर्गत जितपुर क्षेत्रमा ८ वटा कुमाल समुदायको पनि गाउँ थियो ।
टार प्रगन्नाको क्षेत्र साविक गीतानगर र दिव्यनगर गाविसमा मात्र थियो । चितवनको पहाडी क्षेत्रमा चेपाङहरूको बसोबास थियो । चितवनमा आदिवासी समुदायले छुट्टाछुट्टै भाषा बोल्ने गरेका थिए । भाषाको दृष्टिकोणले चितवनका आदिवासी समुदाय अन्य जिल्लाको भन्दा फरक भाषा बोल्छन् । त्यसकारणले भाषा विज्ञानको हिसाबले चितवनका थारूहरूको भाषा एक महत्त्वपूर्ण अध्ययनको रूप हुन सक्छ । थारूहरूको मुख्य पेसा कृषि नै हो । कृषिसँगै थारूहरूको जीवनशैली जंगल तथा वातावरणसँगै आफ्नो जीवन चलाउनुपर्ने भएकाले थारू समुदायको परम्परागत खाना र चाडपर्व अरू जातिको भन्दा भिन्न थियो । जस्तै, थारूहरूको विशेष खानाका रूपमा घोंगी, चिचर, कालो हाँसको मासु, माछा र जंगलका तरकारीहरू थिए र सोसम्बन्धी उनीहरूलाई विशेष ज्ञान थियो । थारू मसुदायमा मुख्य चाडपर्वका रूपमा जितिया, यमोसा (पितृऔंसी), सोहराई (तिहार), खिचरा (माघी), फगुवा (होली) छन् । हरेक चाडपर्व बनाउने शैली पनि फरकफरक छ । यिनै चाडपर्वमा नाच्ने नाचहरू जस्तै— झम्टा, लाठी नाच र सारधारी नाचहरू हाल आएर चितवनको पर्यटन प्रवर्द्धन गर्नका लागि निकै टेवा पुगेको छ ।
चितवन घुम्न आउने पर्यटकको मुख्य आकर्षणका रूपमा थारू संस्कृति, भेषभूषा र खानपान छन् । थारूहरूले मनाउने परम्परागत संस्कृति आज पर्यटकको मुख्य रोजाइ बनेको छ । थारू समुदायको भाषा, भेषभूषा, जीवनशैली, नाच र चाडपर्व अन्य समुदायका भन्दा फरक छन् । धेरै गरगहना लगाउने जातिका रूपमा थारूलाई लिने गरिन्छ । यिनै संस्कृतिसँगै जोडिँदै हाल आएर नेपालको तेस्रो पर्यटकीय क्षेत्र चितवनको सौराहामा ७/७ वटा पुरुष र महिलाको झम्टा र लाठी नाच समूह छन् । त्यसैगरी कसरा क्षेत्रमा २/३ वटा, मेघौली क्षेत्रमा ३/३ र माडी क्षेत्रमा १/१ वटा नाच समूह छन् । महतो संरक्षणकर्मी हुन् । साभार : कान्तिपुर

