भरतपुरको चिकित्सा तथा व्यापार क्षेत्रको प्रगति र राप्ती नदी किनारको सौराहादेखि पश्चिम चितवनको मेघौलीसम्मका नयाँ तथा पुराना होटलबाट सिर्जित अवसरले पछिल्लो समय चितवनलाई बस्न, घुम्न वा लगानी गर्न आकर्षक स्थलको रूपमा विकास गरेको छ ।
तर देशका अन्य स्थानमा जस्तै चितवनको जनसंख्याको अधिकांश हिस्सा कृषिमा आश्रित छ । त्यसैले कृषि क्षेत्रको प्रगतिबिना चितवनको समावेशी प्रगति हुन सक्दैन ।
उत्तरी चितवनको पहाडी भेगमा सुक्खा माटोले गर्दा वर्षमा एक पटक मात्र खेती हुने ठाउँ प्रशस्त छन् । यी क्षेत्रमा कृषिमा आश्रित नागरिक न्यून आयमा बाँचिरहेका छन् । घरमूली महिला छिन् भने त त्यस्तो परिवारमा वैदेशिक आयको सम्भावना पनि कम छ । चितवनको दक्षिणी भेग तुलनात्मक रूपमा बढी रसिला छन् तर पानीको बहाव नियन्त्रण हुन नसक्दा अतिवृष्टिका बेला डुबान र अनावृष्टिमा सुक्खाको समस्यामा पर्ने गर्छन् ।
कृषि क्षेत्रको प्रगतिका लागि समयमै उन्नत बीउबिजन, मलको उपलब्धता, पूर्वी चितवन र माडी क्षेत्रका सानाठूला खोलाका साथै नारायणी नदीको तटबन्धन अहिलेको प्रमुख आवश्यकता हो । त्यसबाहेक पिठुवा र खगेरी जस्ता पुराना सिँचाइ आयोजनामा आवधिक मर्मतसम्भार अत्यावश्यक छ । कृषकको अर्को समस्या बजारको अनिश्चितता हो । बेलाबेलामा तरकारी, दूध फाल्नुपर्ने अवस्थाले नगदेबालीमा गरिएको आम्दानीको प्रतिफल अनिश्चित बनेको छ । निजी क्षेत्रले अहिले केही ठूला चिस्यान केन्द्र तथा भण्डार प्रस्ताव गरेका छन् । किसानको आय बढाउन अन्तरसिजन भण्डारण क्षमता निर्माण गर्न सरकारले पनि निजी क्षेत्रसँग मिलेर वा सार्वजनिक क्षेत्रले मात्र लगानीको आवश्यक छ ।
पूर्वी चितवनका पहाडदेखि माडीको निकुञ्जभित्र बसोबास गरिरहेकालाई हेर्दा पूर्वी चितवनको गरिबी समुदायसापेक्ष देखिन्छ । केही समुदाय अरूभन्दा विपन्न छन् । साथै जो जति विपन्न छ, त्यति नै ऊसँग कम सीप छ र कृषिमा आधारित छ । यसैले पनि कृषिको विकास चितवनको गरिबी निवारणको दीर्घकालीन रणनीतिको एक प्रमुख भाग त हो नै, यो सामाजिक सुरक्षा कार्यक्रम पनि हो । पैसा बाँड्नुभन्दा पैसा कमाउने दीर्घकालीन उपाय सिकाउनु नै गरिबी उन्मूलनको सर्वाधिक प्रभावकारी रणनीति हो ।
विपन्न वर्गलाई साना तथा सुक्खा जग्गालाई उपयुक्त हुने पानी बचाउने (वाटर सेभिङ) प्रविधि, सिँचाइ र बेलैमा कृषि उत्पादनका लागि चाहिने आवश्यक कच्चा पदार्थहरू (मल, बीउ आदि) आवश्यक छ । यसले कृषि उत्पादकत्व वृद्धिमार्फत आम्दानी बढाउँछ । कृषिका कच्चा पदार्थहरूको सामयिक उपलब्धताको प्रत्याभूति सरकारले गर्न नसकेको स्थितिमा त्यसको आयात–निर्यातमा निजी क्षेत्रलाई ल्याउनुपर्छ भन्ने नीति २०३० सालयता मुलुकले अवलम्बन गरेको थियो । त्यसलाई अझै प्रभावकारी बनाउनुपर्छ ।
कृषिसँगै जोडिएर आउने अर्को नमीठो तथ्य चितवनमा व्याप्त भूमिहीनता पनि हो । पूर्वी चितवनमा मात्र कम्तीमा पाँच हजार भूमिहीन परिवार बस्छन् । सालघारी, सिम्रेनी, गैरीगाउँ जस्ता बस्ती र माडी जस्ता ठाउँमा यो समस्या टड्कारो देखिन्छ । कृषि उत्पादकत्व बढाउँदै गर्दा भूमिहीनको समस्या पनि समाधान गर्नुपर्छ ।
DIshhome
यिनै भूमिहीनहरू जंगलमा घाँस काट्न जाँदा वा निउरो टिप्दै गर्दा बाघको आक्रमणमा पर्ने गर्छन् भने यिनले दुःख गरेर रोपेको गहुँलगायत अन्न धेरैजसो जंगल नजिकका खेतमा हुने भएकाले जंगली जनावरले खाइदिन्छन् । निकुञ्जसँग धेरैजसो द्वन्द्व पनि यिनै विपन्नको पर्छ । चितवनको वन देशका लागि धन होला, तर जंगल छेउमै बस्ने अधिकांश विपन्न जनताका लागि यो फगत दायित्व भएको छ ।
वनजंगलको फाइदाको यो असमान वितरणले पनि चितवनको गरिबी घटाउनभन्दा बढाउन सहयोग गरेको छ । कृषि र वन विकासको कुरा गर्दा भूमिहीन किसानलाई प्राथमिकतामा राखेर सोच्नुपर्ने हुन्छ ।
केही वर्षयता चितवनको पश्चिम भागमा भएका परिवर्तन आश्चर्यजनक नै छन् । विलासी रिसोर्ट तथा होटल राप्ती खोला किनारमा छरिएका छन् र तिनले विलुप्त भएको ‘टाइगर टप्स’को रिक्ततालाई भरेका मात्र छैनन्, नयाँ रोजगारी पनि सिर्जना गरेका छन् । पहिलेको एक्लो महेन्द्र चिकित्सालयको ठाउँमा सयौं अस्पताल तथा क्लिनिक खुलेका छन् । विशिष्टीकृत सेवा दिने बीपी कोइराला क्यान्सर अस्पताल पनि भरतपुरमा नै छ ।
नयाँ डिपार्टमेन्टल स्टोर र रेस्टुराँहरूले मानिसको सपिङ तथा आनीबानीमा आमूल परिवर्तन ल्याएका छन् । रामपुर क्याम्पसको ठाउँमा अहिले विश्वविद्यालय छ । नारायणीमा तटबन्धको काम धमाधम भएको छ भने यो नदीमा ‘सिग्नेचर ब्रिज’ निर्माणाधीन छ । बुटवलतर्फको सडक विस्तार भइरहेको छ भने नारायणघाट–मुग्लिन सडकको स्तरोन्नति सकिसकेको छ ।
पश्चिम चितवनको विकासअनुसार जति समग्र चितवनको व्यापार व्यवसायको आकार बढ्नुपर्ने थियो, त्यति बढेको भने छैन । एक त, उत्तरतिरका गोर्खा, लमजुङ, तनहुँ, धादिङ जस्ता जिल्लामा साना सहरहरू बन्दै गएका छन्, जसका कारण उपभोग्य सामानका लागि उनीहरू पहिलेझैं ठोरी वा चितवन झर्नुपर्दैन ।
दोस्रो, चितवनको खुद जनसंख्या आन्तरिक आप्रवासनले बढे पनि यहाँका धेरै बासिन्दा अस्ट्रेलिया, अमेरिकालगायत मुलुकमा बस्न गएका छन् । सम्पन्न चितवनेहरू विदेश वा काठमाडौंमा सर्दै गर्दा तुलनात्मक रूपमा विपन्न व्यक्तिहरू चितवनमा सर्ने स्थिति बन्दा समग्र खपत खासै नबढ्ने हुनाले अर्थतन्त्रले यथोचित गति लिन सक्दैन ।
तेस्रो, पश्चिम चम्पारण र गोरखपुर जस्ता भारतका जिल्लासँग नजिक भए पनि दक्षिणतिरको सम्पर्क प्रत्यक्ष र भरपर्दो नभएकाले चितवनले अन्य सीमावर्ती जिल्लाले जस्तो ‘क्रसबोर्डर’ व्यापारको फाइदा लिन सकेको छैन ।
व्यवसायको क्षेत्रमा चितवनको अबको भविष्य मुख्य गरी सडक यातायातको पूर्वाधार निर्माणको गतिमा भर पर्छ । चितवनमा सडक यातायातमा अब तीन महत्त्वपूर्ण काम बाँकी छन् ।
एक, चितवनलाई उत्तरसँग जोड्न भरपर्दो बाटो निर्माण । यो अहिलेसम्म नारायणगढ–मुग्लिन सडकले गरी आएको भए पनि यहाँ निरन्तर अवरोध आइराख्ने गरेकाले यसको विकल्प सोच्नुपर्ने छ । भरतपुरबाट जुटपानी हुँदै शक्तिखोर–मझिमटार सुरुङबाट पृथ्वी राजमार्गमा निस्कने सडक यसको महत्त्वपूर्ण विकल्प हो । यस सडकले औद्योगिक तथा आवागमन सहज बनाउनेछ ।
पृथ्वी राजमार्ग स्तरोन्नति सकिएपछि यो सुरुङमार्फत पूर्वी र पश्चिमी दुवै चितवनबाट पोखरा र काठमाडौं दुई घण्टाभित्र पुग्न सकिन्छ । चितवनमा धेरै बसोबास रहेका गोरखा, धादिङ, लमजुङ, तनहुँ, कास्की, बागलुङ र पर्वत घर भएकाहरूले यो बाटो धेरै प्रयोग गर्नेछन् । अर्कोतिर शक्तिखोर औद्योगिक क्षेत्र र अहिले धेरै उद्योग स्थापना भइरहेको उत्तरी खैरहनी, कालिका, राप्ती तथा रत्ननगर नगरपालिकाका क्षेत्रलाई पनि यो सडकले उत्तरी बजारसम्मको पहुँच सहज बनाउँछ ।
अर्को विकल्प चेपाङ मार्ग हो, जसले पूर्वी चितवन र मलेखु जोड्दै रसुवागढीसम्मको दूरी छोट्याउने लक्ष्य राखिएको छ । चेपाङ मार्गले पछाडि परेका राप्ती नगरपालिकाका विभिन्न वडालाई राष्ट्रिय मूल प्रवाहसँग पनि जोड्छ । त्यसैले यसको व्यावसायिक मात्र नभई सामाजिक पक्ष पनि त्यत्तिकै महत्त्वपूर्ण छ ।
दुई, चितवनलाई पूर्वसँग जोड्ने भरपर्दो विकल्प । यसको प्रमुख एक माध्यम पूर्व–पश्चिम राजमार्ग नै हो । तर पथलैया–नारायणगढ खण्डको निर्माणमा अविश्वसनीय ढिलाइले चितवनलाई अपुरणीय क्षति पुर्याइरहेको छ । वास्तवमा अहिले नै काँकडभिट्टादेखि दाङसम्म यो सडकका विभिन्न खण्डको विस्तार विभिन्न चरणमा अघि बढेका छन् ।
तर सबैभन्दा धेरै गाडी गुड्ने भनिएको खण्ड पथलैया–नारायणगढलाई अगाडि बढाउने काम प्राथमिकतामा राखिएको छैन । पूर्वतिर जोड्न सरकारले प्रस्ताव गरेको अर्को महत्त्वपूर्ण सडक चितवनदेखि थाहा नगरपालिका हुँदै काठमाडौं पुग्ने द्रुतमार्ग हो । अघिल्लो लगानी सम्मेलनमा पनि यो आयोजना सरकारले प्रस्ताव गरेको थियो । मुलुकमा द्रुतमार्गको युग अघि बढेसँगै यो सडक सबैभन्दा प्राथमिकतामा पर्ने विश्वास गर्न सकिन्छ ।
तीन, चितवनलाई दक्षिणसँग जोड्ने भरपर्दो विकल्प । लामो समयदेखि उत्तरी चितवन र दक्षिण चितवन (माडी) राम्रोसँग एकापसमा जोडिएका थिएनन् । मुख्यगरी निकुञ्ज कटेर जाने सडकको व्यवस्थापन सहज बनेन । जसरी पूर्वी र पश्चिमी भाग जोड्दा बरन्डाभारको जंगल काटेर सडक बनाउन खासै कुनै विवाद भएन, त्यस्तै सहजता निकुञ्ज कटेर माडी जाने कुरालाई लिएर भएन । नतिजास्वरूप माडी तुलनात्मक रूपमा पछाडि पर्यो । जबकि २०२० सालसम्म पनि विहारका महत्त्वपूर्ण बजारहरू बेतिया, नरकटियागन्जसँग नजिक रहेको माडीको भविष्य राम्रो मानिन्थ्यो ।
माडीदेखि ठोरीको सडक र माडीदेखि भरतपुरको सडक नजोडिँदा चितवन तराईका केही त्यस्ता जिल्लाहरूमध्ये एक भएको छ, जसको भारतीय बजारसँग सिधा र छोटो सम्पर्क छैन । यी तीन सम्पर्क सहज बनाउने सडकहरूको विकासले चितवनलाई देशभित्रदेखि देशबाहिरसम्म आवागमनको हिसाबले सहज बनाउने देखिन्छ । यी पूर्वाधारले चितवनको व्यवसायलाई अघि बढाउनेछन् र यसको ‘स्पिलओभर’ प्रभाव कृषकहरूलाई पनि पर्नेछ ।
चितवनमा अहिले कृषि उत्पादकत्व वृद्धि, व्यवसाय विस्तारका लागि आवश्यकताअनुसार नियामकीय हस्तक्षेप र सडक पूर्वाधारमा व्यापक लगानी जरुरी छ । यो बाटोबाट नै समावेशी र समन्यायिक विकास अघि बढाउन सकिन्छ । (अर्थशास्त्री पौडेल राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष हुन् ) साभार : कान्तिपुर

