काठमाडौं – अंगदान कानुन बनेको ६ वर्षमा नेपालमा ७ जनामा मात्रै मस्तिष्क मृत्यु (ब्रेन डेथ) भएकाबाट प्राप्त अंग प्रत्यारोपण गरिएको छ । हालसम्म ३ जनाबाट प्राप्त मिर्गौला ६ जनामा र कलेजो एक जनामा प्रत्यारोपण गरिएको हो ।
सरकारले ब्रेन डेथ भएकाहरूको अंगदान गर्नेसम्बन्धी कानुन २०७२ सालमा ल्याएको थियो । अस्पतालले मस्तिष्क मृत्यु भएका बिरामीको जानकारी सरकारमातहतको मस्तिष्क मृत्युसम्बन्धी प्रत्यारोपण समिति (ब्रेन डेथ डोनर सेन्ट्रल ट्रान्सप्लान्ट कोअर्डिनेसन युनिट) लाई दिनुपर्ने व्यवस्था कानुनमा छ ।
मस्तिष्क मृत्युसम्बन्धी प्रत्यारोपण समितिका प्रमुख एवं अंग प्रत्यारोपण केन्द्रका मिर्गौला रोग विशेषज्ञ डा. कल्पना श्रेष्ठका अनुसार मुलुकमा हुने कुल ‘ब्रेन डेथ’ मध्ये १० प्रतिशतको मात्रै अंग प्राप्त गर्न सकियो भने पनि बर्सेनि ३ सयभन्दा बढी मृत्युको मुखमा पुगेका बिरामीको ज्यान जोगाउन सकिन्छ । तर, चिकित्सकहरूकै अनिच्छा र आमनागरिकमा चेतना अभावले मस्तिष्क मृत्यु (ब्रेन डेथ) पछिको अंगदान न्यून संख्यामा मात्रै हुने गरेको छ ।
हाल मुलुकमा मस्तिष्क मृत्यु भएकाहरूबाट दानस्वरूप प्राप्त हुने मिर्गौला प्रत्यारोपणका लागि ६ सय जनाभन्दा बढीले नाम लेखाएका छन् । श्रेष्ठका अनुसार देशभरका ७३ वटा केन्द्रबाट ५ हजार ५ सय जनाभन्दा बढीले निःशुल्क डायलसिस गराइरहेका छन् । ‘डायलसिस गराइरहेका धेरै जना मिर्गौला प्रत्यारोपण आवश्यक रहेका बिरामी हुन्,’ उनले भनिन् ।
मस्तिष्क मृत्यु भएका एक जना दाताबाट फोक्सो (दुई), मिर्गौला (दुई), कलेजो, प्यांक्रियाज, मुटु र सानो आन्द्रा गरी कम्तीमा ८ वटा अंग प्राप्त गर्न सकिन्छ । पछिल्लो समय गर्भाशय, अनुहार, हाडलगायतका अंगसमेत प्रत्यारोपण हुन थालेको छ भने छाला, कोर्नियाजस्ता अंग पहिलेदेखि नै प्रत्यारोपण हुँदै आएको छ । दान दिने कानुनी व्यवस्था भए पनि प्रक्रियागत जटिलताका कारण अंगहरू खेर गइरहेको विशेषज्ञहरूले बताएका छन् । ‘मस्तिष्क मृत्यु भएका व्यक्तिबाट अरूको ज्यान जोगाउन दानमा पाउन सकिने थुप्रै अंग खेर गइरहेका छन्,’ भक्तपुरस्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले भने, ‘ऐन बनेको पाँच वर्ष बितिसक्दा पनि कार्यान्वयन प्रक्रिया झन्झटिलो भएकाले अंग प्रत्यारोपण गरेर बचाउन सकिनेहरू पनि मृत्युको मुखमा पुगेका छन् ।’
सरकारी तथ्यांकअनुसार हालसम्म ‘ब्रेन डेथ’ भएका तीन व्यक्तिबाट प्राप्त ६ वटा मिर्गौला र कलेजो प्रत्यारोपण गरेर सात जनाको ज्यान जोगाइएको छ । मस्तिष्क मृत्युसम्बन्धी कानुन बनेपछि गत ६ वर्षमा काठमाडौंका अस्पतालहरूमा २२ जनाको ‘ब्रेन डेथ’ भएको जानकारी अंग प्रत्यारोपण केन्द्रलाई प्राप्त भए पनि त्यसमध्ये १७ जनाको परिवारले अंगदान गर्न अस्वीकार गरेको थियो । त्यस्तो जानकारी दिने सबै अस्पताल निजी हुन् । ‘दुई परिवारले अंगदान गर्ने चाहना व्यक्त गरे पनि धेरै ढिलो भएकाले सम्भव भएन,’ डा. श्रेष्ठले भने, ‘६ वर्षमा मस्तिष्क मृत्यु भएका तीन जनाको अंगले मृत्युको मुखमा पुगेका ७ जनालाई जीवनदान दिएको छ ।’ मुलुकमा बर्सेनि हुने मस्तिष्क मृत्युका घटनामध्ये आधाबाट मात्रै मिर्गौलालगायत अंगदानमा प्राप्त भएको खण्डमा कम्तीमा हजार जनाको ज्यान जोगाउन सकिने डा. श्रेष्ठको भनाइ छ । ‘हाल मिर्गौला फेल भएका करिब ३ हजार जनाले अंग अभावमा प्रत्यारोपण गराउन सकिरहेका छैनन्,’ उनले भने ।
मस्तिष्क मृत्युका घटना धेरै भए पनि अंगदानको प्रक्रिया सहज नहुनुमा चिकित्साकर्मीको अनिच्छा पनि प्रमुख कारण रहेको पाइएको छ । चिकित्सकमा अंगदान प्रक्रियामा सामेल हुनबाट हच्किने, डराउने र तर्किनेजस्ता प्रवृत्तिले अंगदान प्रक्रियालाई निरुत्साहित गरिरहेको विज्ञहरूको बुझाइ छ । सर्वसाधारणमा अंगदानसम्बन्धी सचेतनाको पनि कमी रहेको विज्ञहरू बताउँछन् । ‘चिकित्सकले ब्रेन डेथसम्बन्धी किताबमा पढे पनि व्यवहारमा लागू गर्न सकेका छैनन्,’ डा. श्रेष्ठले भने, ‘ब्रेन डेथ डिक्लेयर गरेर अंगदानको प्रक्रियालाई अघि बढाउँदा कानुनी लफडामा फसिन्छ कि भन्ने डरले पनि चिकित्सकले चासो देखाउँदैनन् ।’
नेपाली समाजमा मृत्युपछिको अंगदान पुण्य काम हो भन्ने मान्यता स्थापित नभएका कारण अंगदानमा उत्साहजनक उपलब्धि हासिल नभएको डा. श्रेष्ठले बताए ।
‘ब्रेन डेथ पश्चिमामा भन्दा हामीकहाँ बढी हुन्छ तर मृत्युपछिको अंगदानजस्तो पुण्य काम हालसम्म समाजमा स्थापित हुन सकेको छैन,’ उनले भने, ‘बर्सेनि करिब २२ सय ज्ञात मृत्यु सडक दुर्घटनामा मात्र हुन्छ, अज्ञात त्योभन्दा बढी छ । करिब एक हजारजति ब्रेन डेथ हुने गरेको हाम्रो आकलन छ ।’ पछिल्लो तथ्यांकअनुसार हालसम्म मुलुकमा करिब २५ सय जनाले मात्र मृत्युपछि अंगदान गर्ने घोषणा गरेका छन् । साभार कान्तिपुर : २०७८ चैत १०
६ वर्षमा ‘ब्रेन डेथ’ भएका तीन जनाको मात्रै अंगदान
६ वर्षमा ‘ब्रेन डेथ’ भएका तीन जनाको मात्रै अंगदान
- अ
- अ
- अ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस

