काठमाडौं, दिनहुँ झन्डै २५ सय सेवाग्राहीलाई गुणस्तरीय उपचारसेवा दिइरहेको वीर अस्पतालले सेवा विस्तार गरी ऐतिहासिक साख बढाउँदै छ। भर्नारत बिरामीलाई निःशुल्क खाजा, खाना र शय्या उपलब्ध गराउने यस अस्पतालले विशिष्टीकृत सेवाअन्तर्गत भीआईपीलाई समेत उपचार गरेर विरासत फर्काउन लागेको हो।
वीर अस्पतालका निर्देशक डा. सन्तोष पौडेल १३५ वर्ष पुरानो ऐतिहासिक विरासत फर्काउन लागिरहेको बताउँछन्। १९४६ सालमा वीरशमशेर जबराले यो अस्पताल स्थापना गरेका हुन्। ‘अस्पताल स्थापना भएसँगै आधुनिक चिकित्सा (औषधि) स्वदेश भित्रिएको हो। १५ शय्याबाट सेवा सुरु भएकामा अहिले ९ सय ६० शय्यामा विस्तार भएको छ,’ निर्देशक डा. पौडेल गर्व गर्छन्, ‘यो ऐतिहासिक विरासत थाम्दै भुइँमान्छेदेखि भीआईपी/भीभीआईपीहरूलाई पनि सेवा दिइरहेका छौं। चुनौतीका बाबजुद उपचार सेवा दिन पाउँदा गर्व महसुस हुन्छ।’
गरिब बिरामीका लागि खाना र शय्या निःशुल्क रहेको वीरले विशिष्टीकृत सेवा दिँदै आफ्नो लय समातेको छ। बिरामीलाई बिहान चिया, बिस्कुट, अन्डा अथवा दूध दिइन्छ। भर्ना भएका बिरामीका लागि बिहान १० बजे खाना र दिउँसो खाजा एवं साँझ खाना निःशुल्क खुवाइन्छ।
भुइँमान्छेदेखि भीआईपीसम्मको भरोसा
वीर अस्पतालमा २५ रुपैयाँ तिरेर विशेषज्ञ चिकित्सकसँग स्वास्थ्य जाँच गराउन पाइन्छ। शय्या शुल्क (बेड चार्ज) लाग्दैन। त्यसैले पनि बहिरंग विभाग (ओपीडी)को टिकट लिन बिहानैदेखि सर्वसाधारणको लाइन लाग्छ।
अस्पतालको तथ्यांकअनुसार, दैनिक औसत २ हजार ५ सय बिरामीको उपचार हुन्छ। दैनिक औसत ६० जनाको शल्यक्रिया हुन्छ। आपत्कालीन कक्ष (इमरजेन्सी)मा औसत दैनिक एक सय बिरामी आउँछन्। अस्पतालमा अनलाइन टिकेटिङको व्यवस्था भए पनि झन्डै १० प्रतिशत सेवाग्राही बिहानै ५ बजे टिकट लिन उँभिहाल्छन्।
भुइँमान्छेको भीड देखिने वीरमा अतिविशिष्ट व्यक्तिले पनि शल्यक्रियालगायतका सेवा लिएको रेकर्ड छ। २०४३/०४४ सालतिर तत्कालीन रानी ऐश्वर्य शाहको समेत भीभीआईपी कक्षमा शल्यक्रिया गरिएको थियो। त्यसयता भीभीआईपी कक्षमा कोही पनि भर्ना भएका छैनन्।
निर्देशक डा. पौडेलका अनुसार अहिले भुइँमान्छेदेखि सांसद, बहालवाला मन्त्रीदेखि पूर्वप्रधानमन्त्री, पूर्वराष्ट्रपतिलगायतका भीआईपीहरू उपचार गराउन आउने क्रम जारी छ। राष्ट्रपतिमा बहाल छँदै विद्यादेवी भण्डारीले दन्त सेवा लिइन्। पूर्वराष्ट्रपति रामवरण यादवले त २०८० भदौ २३ गते वीर अस्पतालको भीआईपी कक्षमा भर्ना भएरै सेवा लिए। अस्पतालमा दुई वटा भीभीआईपी कक्ष छ। त्यस्तै भीआईपी कक्ष तीन वटा छन्। पुरानो मेडिकल ब्लकमा एउटा भीभीआईपी र एउटा भीआईपी कक्ष छ।
अस्पतालको भीआईपी उपचार कक्ष
नयाँ सर्जिकल भवनमा पनि भीभीआईपी र भीआईपी कक्ष निर्माण गरिएको छ। ‘भुइँमान्छे र अतिविशिष्ट व्यक्तिहरूलाई गरिने उपचार र डाक्टरका हिसाबले उपचार सेवामा कुनै विभेद छैन,’ निर्देशक डा. पौडेल भन्छन्, ‘बहाल अवस्थामै उपचार गर्न आउँदा भीभीआईपी/भीआईपी निर्देशन दिनुपर्ने भएकाले सचिवालयका लागि छुट्टै कक्ष बनाइएको छ। राज्यले सम्मान गरेको हुँदा बैठक गर्न मिल्ने खालको छुट्टै कोठा निर्माण गरिएको हो।’
भीआईपी /भीभीआईपीका लागि एउटा अति सघन उपचार कक्ष (आईसीयू)को व्यवस्था पनि गरिएको छ।
पूर्वस्वास्थ्यमन्त्रीद्वय गगन थापा र मोहनबहादुर बस्नेतले अतिविशिष्ट/विशिष्ट व्यक्तिहरूको उपचार वीरमै विशेष गराउन पहल गरेका थिए। अहिले भीआईपीका रूपमा सबैभन्दा बढी सांसदहरूको उपचार भएको भीइआईपी कक्षकी इन्चार्ज सरिता घिमिरेले जानकारी दिइन्।
भीआईपी होउन वा भुइँमान्छे होउन, सबैलाई सेवा दिन चिकित्सकसहितको स्वास्थ्यकर्मी टोली बिहानैदेखि तयारी अवस्थामा हुन्छन्। बिहान ७ बजेदेखि नै टिकट काउन्टरदेखि प्रयोगशालाका ढोकाहरू खुलिसक्छन्। साढे ८ बजेदेखि चिकित्सकले सेवा प्रवाहमा हाजिर हुन्छन्। समयमा आइ नपुग्ने स्वास्थ्यकर्मीको भत्ता कटौती हुन्छ।
१० वर्षमा दोब्बर बढी बिरामी
१० वर्षअघि ओपीडीमा दैनिक झन्डै आठ सय बिरामी जँचाउन आउँथे। अहिले त्यसको दोब्बर बढी बिरामी आउँछन्। विशिष्टीकृत सेवा लिन आउने बिरामीको बढ्दो चापका कारण विगतमा रोकिएका कतिपय सेवाहरू पनि सुचारु भएको अस्पतालले जनाएको छ।
पुराना मुटुरोग विशेषज्ञहरू अवकाश पाएपछि वीरको मुटुको विभाग नै थला पर्यो। पूर्वाधार, जनशक्तिको अभाव भएपछि बिरामीलाई गंगालाल हृदय केन्द्रमा रेफर गर्दै आएको थियो। तर, अहिले वीरको नयाँ भवनमा मुटुरोगको सेवा पनि सुरु भएको छ।
‘मुलुकमै पहिलोपटक मुटुकको शल्यक्रिया सेवा यहीँ अस्पतालबाट भएको थियो,’ निर्देशक डा. पौडेल भन्छन्, ‘अहिले पुनः क्याथ ल्याबसँगै विभिन्न उपचार सेवा सुचारु गरिरहेका छौं।’ २०७९ माघ ५ गते क्याथ ल्याब सेवा सुरु गरिएको हो। मुटुको ओपीडी, आईसीयू, ईको, टीएमटी सेवा, कार्डियाक सर्जरी पनि सञ्चालनमा छ।
वरिष्ठ मुटु रोग विशेषज्ञ डा. समिर पौडेलको नेतृत्वमा डा. प्रभा चापागाईं, डा कुन्जाङ शेर्पा, डा. विनायक गौतमलगायतको टिमले बिहान ९ बजेदेखि नै मुटुसम्बन्धी जाँच एवं उपचार सेवा प्रवाह गरिरहेको छ। अस्पताल निर्देशक पौडेलका अनुसार, गंगालाल हृदय केन्द्रका पूर्वनिर्देशक एवं मुटुशल्य चिकित्सक डा. भगवान कोइरालाले पनि एक वर्षदेखि अस्पतालको मुटु शल्यक्रिया सेवामा संलग्न भइरहेका छन्। एक वर्षदेखि अस्पतालको मुटु विभागले लय लिएको छ। कोरोनरी एन्जियोग्राफी (मुटुको नसा अवरोध भए/नभएको जाँच गर्ने, एन्जियोप्लास्टी (मुटुको अवरोधयुक्त धमनी खोल्ने कार्य), पेसमेकर (मुटुमा ब्याट्री) राख्नेलगायत मुटुसम्बन्धी विभिन्न उपचार भइरहेको छ।
सरकारी तथ्यांकअनुसार नेपालमा हरेक वर्ष ३० हजार क्यान्सरका नयाँ बिरामी थपिने गरेका छन्। तर, क्यान्सरको उपचारको खोजीमा वीर अस्पताल जाँदा सेवा नपाएर निराश हुने अवस्था पनि फेरिएको छ। २०८० पुस ८ गते टोमोथेरापी मेसिन ल्याएपछि रेडियोथेरापी सेवा (बिकिरणको माध्यमबाट हुने उपचार) सहज भएको छ। टोमोथेरापी विश्वमै अत्याधुनिक उपकरण मानिन्छ। कोबाल्ट मेसिन बिग्रेपछि क्यान्सरका बिरामीले वीरमा उपचार पाउन वञ्चित भएका थिए। झन्डै ४० करोड लागतमा कोबाल्ट मेसिन ल्याएपछि बिरामीलाई राहत मिलेको छ। नेपालमा चितवन (भरतपुर), भक्तपुर क्यान्सर अस्पताल र निजी अस्पतालमा गरी जम्मा ६ वटा मात्र रेडियोथेरापी मेसिन सञ्चालनमा छन्। निजीको शुल्क महँगो रहेको बिरामीहरू बताउँछन्।
मिर्गौला फेल भएर डायलाइसिस एवं प्रत्यारोपण गर्न आउने बिरामीको संख्या बढ्दो छ। दैनिक ७०/८० जना मिर्गौलाका बिरामीहरूको डायलाइसिस भइरहेको डा. पौडेलले जानकारी दिए। ‘एचआईभी, हेपाटाटिस भएका र अरू अस्पतालले पन्छाएका बिरामीको पनि डायलाइसिस गरेका छौं,’ डा. पौडेल भन्छन्, ‘हामीले निःशुल्क डायलाइसिस सेवा दिइरहेका छौं।’ त्यस्तै मिर्गौला प्रत्यारोपण पनि सुचारु भएको छ। ‘सातामा एक दिन मिर्गौला प्रत्यारोपण भइरहेको छ। जनशक्ति अभावले गर्दा हप्तामा दुइटा प्रत्यारोपण गर्ने योजना पुरा भएको छैन।’

रगत चाहियो ? बाहिर खोज्नु पर्दैन
बिरामी भएर होस् वा चोटपटकबाट घाइते भएका हुन्, सबैको रोजाइ वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टर हुने गरेको छ। दैनिक औसत १७ सय बिरामी ओपीडीमा आउँछन्। अस्पतालमा साना ठूला गरी ६० वटा शल्यक्रिया हुन्छन्। त्यसैले त मुलुकको सबैभन्दा व्यस्त मानिन्छ, वीर अस्पताल। सधैं बिरामीको भीडभाड हुने अस्पतालमा ९ सय ६० शय्या तयारी अवस्थामा छ। तर, हाल ७ सय ७५ शय्या सञ्चालनमा छ। विशेषगरी विपन्न एवं असहायवर्गलाई लक्षित गरी हरेक १० शय्यामा एउटा शय्या निःशुल्क व्यवस्था गरिएको छ।
शय्या त पाइयो। तर, शल्यक्रियाको बेला थप रगत नपाएला कि ? भन्ने चिन्ता पनि अब गर्नु पर्दैन। अस्पतालले साप्ताहिक रूपमा रक्तदान कार्यक्रम गर्दै आएको छ। ‘शल्यक्रियाको बेला रगत खोज्न कहाँ जाने ? दूरदराजबाट आएका बिरामीलाई पहिलो समस्या नै रगत खोज्दा हुने पायौं,’ अस्पतालका निर्देशक डा. पौडेल भन्छन्, ‘समस्याको समाधानका लागि हरेक साताको आइतबार रक्तदान कार्यक्रम गर्छांै। यहीँ आइतबार ७२ पिन्ट रगत संकलन भयो।’
अस्पतालमा मेडिकल र नयाँ सर्जिकल गरी दुई छुट्टाछुट्टै केन्द्र छन्। ट्रमा सेन्टरमा चोटपटक लागेका घाइतेहरूको उपचार भइरहेको छ। एउटै परिसरमा रहेका तीनवटै भवनबाट निदानात्मक एवं उपचारात्मक सेवा प्रवाह भइरहेको छ। डा. पौडेलका अनुसार, बिरामी भएर आउने र चोटपटक (इन्ज्युरी) अवस्थामा आएकाहरूलाई छुट्टाछुट्टै गेट र ढोका बनेको छ। बिरामी भएर आउनेहरू पनि दुई किसिमका हुन्छन्।
कोही शल्यक्रिया गर्नुपर्ने त कोही औषधि दिएर पठाउनुपर्ने खालका हुन्छन्। डा. पौडेलका अनुसार एक दशकअघि चार सय शय्याका भरमा अस्पताल सञ्चालन भएको थियो। अहिले झन्डै पाँच सय शय्या सर्जिकल भवनमा मात्र छ। ‘सबै गरेर झन्डै १२ सय हाराहारीको बेड छ। भौतिक पूर्वाधारको हिसाबले यो ठूलो प्र्रगति हो,’ उनले भने।
अहिले अस्पतालमा बिहान र बेलुका दुई सिफ्टमा बहिरंग सेवा (ओपीडी) सेवा सुरु भएको छ। अस्पतालका निर्देशक डा. पौडेल भन्छन्, ‘अब तेस्रो सिफ्ट पनि सञ्चालन गर्ने सोंच बनाएका छौं।’ विशिष्टीकृत सेवाहरू (नेफ्रोलोजी, कार्डियोलोजी, हेपाटोलोजी, न्युरोलोजी, ग्यास्ट्रोलोजी, अंकोलोजी, रेडियोथेरापी) लगायतमा सेवाग्राहीको चाप बढ्दो छ। त्यसैले विस्तारित सेवालाई थप विस्तार गर्ने तयारी भइरहेको डा. पौडेल बताउँछन्।
अस्पतालको काउन्टरमा भीड देखिन्छ। त्यसको व्यवस्थापनका लागि बिमा काउन्टर छुट्टै राख्ने र तोकिएको औषधि पनि एक महिनाभित्र पूरै पाइने व्यवस्था मिलाउन लागिएको डा. पौडेल बताउँछन्। अहिले पनि फार्मेसीमा तीन वटा काउन्टर चलाइएको छ।

शय्याको संख्या बढ्दै
अस्पतालमा एकैचोटी पाँच सय शय्या थपिएसँगै सघन उपचार कक्ष (आईसीयू) को शय्या वृद्धि गरेको छ। आईसीयुमा २८ बाट वृद्धि गरी ४२ पुर्याइएको छ। ६० पुर्याउने लक्ष्य राखिएको डा. पौडेल बताउँछन्। एचडीयू र आईसीयू गरी १०० बेडको इन्टेन्सिभ केयर र सय बेडको आपत्कालीन कक्ष बनाउने लक्ष्यका साथ अघि बढेको उनको भनाइ छ।null
अहिले आपत्कालीन (इमरजेन्सी) कक्षमा ४७ शय्या मात्र छन्। त्यसलाई सय पर्याउने योजना कसरी पूरा हुन्छ त ? डा. पौडेल थप्छन्, ‘अहिलेको साँघुरो कक्षलाई रिइनोभेसन गर्न सकिन्छ। नभएमा नयाँ सर्जिकल भवनमा पनि कक्ष बनाउने योजना छ।’ युरोलोजी सेवामा बिरामीको चाप बढ्दो छ। जसका लागि उपकरण थप्ने योजना रहेको डा. पौडेल बताउँछन्। बर्न युनिटका लागि आवश्यक उपकरण खरिद गरिसकिएको छ। नर्सिङ जनशक्ति र केही सर्जनहरूको व्यवस्था हुनेबित्तिकै वर्न सेवा सञ्चालन हुने डा. पौडेलको भनाइ छ। नर्सहरूको व्यवस्था गरी शल्यक्रियाका कक्षहरूलाई हरेक दिन पूर्णरूपमा उपयोग गर्ने र विस्तारित सेवा प्रवाह गरी सेवा अवधि लम्ब्याउने योजना अस्पतालले लिएको छ।
नेसनल सेन्टर अफ एक्सिलेन्स
मुलुकको जेठो अस्पतालको भवन भव्य छ। तर, बजेट र जनशक्तिको कमी छ। निर्देशक डा. पौडेलका अनुसार, वीर अस्पताल र अन्य अस्पताललाई हेर्ने सरकारी दृष्टिकोण समान हुँदा सेवा प्रवाहमा चुनौती देखिएको बताउँछन्।अहिले चिकित्सा विज्ञान स्वास्थ्य प्रतिष्ठान (न्याम्स) अन्तर्गत ४० प्रतिशत र सरकारको तर्फबाट ६० प्रतिशत जनशक्ति नियुक्त छन्। ६० प्रतिशत जनशक्तिको तलब सरकारले बेहोर्छ। न्याम्सअन्तर्गतका जनशक्तिको तलब खर्च अस्पतालले आन्तरिक स्रोतबाट बेहोर्नुपर्छ। सेवासुविधादेखि निवृत्तिभरणसम्मका सबै खर्च अस्पतालले बेहोर्दै आएको छ। डा. पौडेलका अनुसार अस्पतालको दायित्व बढ्दै छ। तर, सरकारले दिने बजेट घट्दै गएको छ। बजेट अभावकै कारण सर्जिकल सेवा पूर्णरूपमा सञ्चालन हुन नसकेको डा. पौडेल बताउँछन्। दरबन्दीअनुसार जनशक्ति पनि छैन।
कोभिडपछि अपेक्षाअनुसारको बजेट उपलब्ध भएको छैन। मन्त्रालयमा मागेको प्रस्तावमा अस्पताल प्रशासनले १ अर्ब ५६ करोड बजेटको माग गरेको थियो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २०७९/८० मा ७३ करोड मात्र उपलब्ध गरायो। आर्थिक वर्ष २०८०/०८१ मा १ अर्ब १३ करोड बजेट विनियोजन भएको छ। ‘कुनै स्वास्थ्यमन्त्रीले अवस्था बुझेर बजेट बढाइदिएका र कुनैले वास्तै नगरेका अनुभव पनि छ,’ निर्देशक पौडेल भन्छन्, ‘वीर अस्पताललाई डिजिटलाइज्ड गर्नुपर्ने चुनौती छ।
डिजिटलाइज्ड गर्ने र इलेक्ट्रोनिक हेल्थ रिपोर्ट दिन सके बिरामीलाई लाइन लाग्न पर्दैनथ्यो। अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना बनाएको छुँ। तीन वर्ष कार्य गर्न पाए सबै योजना कार्यान्वयन गरिसक्ने लक्ष्य छ। नेसनल सेन्टर अफ एक्सिलेन्स बनाउन स
किन्छ।’
भुइँमान्छेदेखि भीआईपीको उपचार
पूर्वराष्ट्रपति रामवरण यादव नियमित स्वास्थ्य परीक्षण गर्न वीर अस्पताल नै पुग्छन्। यादवलाई गुणस्तरीय सेवाका कारण वीर अस्पताल नै रोजाइ पार्ने गरेका छन्। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाललाई दाँतमा समस्या भएपछि वीर अस्पतालमै पुगे।पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द वीर अस्पतालको भीआईपी उपचार कक्षमा उपचार गराए। ८५ वर्षीय चन्द भन्छन्, ‘सरकारी अस्पतालमा सोंचेभन्दा गुणस्तरीय सेवा पाएँ।’
nullवीर अस्पतालको भीआईपी उपचार कक्षमा उपचार गराउँदै पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द । तस्बिर : सुनिता डंगोल
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सर्जरी सेवा लिन वीर अस्पतालमै भर्ना भए। २०७८ वैशाख १६ गते भर्ना भएका डा. भट्टराईले ९ दिनसम्म सेवा लिएर डिस्चार्ज भए। छातीमा समस्या भएपछि पूर्वसभामुख दमननाथ ढुंगानाले पनि वीर अस्पतालमा भर्ना भए। २०७८ वैशाख २७ गते भर्ना भएका ढुंगानाले झन्डै एक साता सेवा लिएर डिस्चार्ज भए।
गुरुयोजना कार्यान्वयन कहिले ?
तत्कालीन अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेट प्रतिनिधिसभामा प्रस्तुत गर्दै भनेका थिए, ‘वीर अस्पतालको विस्तारित सेवा सञ्चालन गर्न भक्तपुरको दुवाकोटमा अन्तर्राष्ट्रियस्तरको अत्याधुनिक सुविधासम्पन्न अस्पताल निर्माण गरिनेछ।
तीन वर्षभित्र निर्माण सम्पन्न गरी सेवा सञ्चालन गर्ने लक्ष्यका साथ आगामी आर्थिक वर्षमा विस्तृत परियोजना प्रतिवेदनलगायतका पूर्वतयारी कार्य सम्पन्न गरिनेछ। भौतिक पूर्वाधार, उपकरण र जनशक्ति व्यवस्थापन एकैसाथ पूरा गरी अस्पताल सञ्चालनमा ल्याइनेछ। यसलाई राष्ट्रिय गौरवको आयोजनामा समावेश गरी छुट्टै आयोजना कार्यालयमार्फत कार्यान्वयन गर्ने व्यवस्था मिलाइनेछ।’
तत्कालीन अर्थमन्त्री पौडेलले काठमाडौं जडीबुटीदेखि अस्पताल निर्माणस्थलसम्म मनोहरा नदीको दुवै किनारामा चार—चार लेनको करिडोर सडक निर्माणको समेत घोषणा गरेका थिए। प्रस्तावित स्थल कोटेश्वर, सल्लाघारी हुँदै झन्डै ९ किलोमिटर टाढा पर्छ।
डीपीआर निर्माणका लागि ४० करोड रुपैयाँ बजेट विनियोजन भएको थियो। गत आर्थिक वर्षमा योे डीपीआर निर्माणका लागि सरकारले दुई करोड विनियोजन गरेको थियो। त्यो रकम जग्गा घेराबन्दी गर्नमा नै सकिएको छ। गुरुयोजना पूरा गर्न ५५ अर्बको बजेट आवश्यक पर्ने अनुमान छ।
सरकारले चाँगुनारायण–१, २ र ४ मा पर्ने दुवाकोटमा जग्गा छनोट गरिसकेको छ। अस्पतालको नाममा करिब ५ सय ७० रोपनी जग्गाको लालपुर्जासमेत प्राप्त भइसकेको छ। अन्तर्राष्ट्रियस्तरको वीर चिकित्सा अध्ययन तथा अस्पताल निर्माण गर्ने गुरुयोजना भए पनि बजेट अभावका कारण अलपत्र परेको छ।

