काठमाडौं– बितिगएका दिनका प्लटहरू टक्क अडिएका छन्– मानौं, इतिहास कुनै क्युरियो सामान होस् । मान्छे जिन्दगीका गुजुल्टाहरू र उसले टेकेको पैतालाका डोबहरूको नोस्टाल्जियाबाट हरदिन ग्रस्त छ । र, ती ‘प्रेत–दिन’ हरू पनि उसलाई प्रिय छ । समयको प्रवाहमा धेरै थोक हराए, गुमे ! मान्छेसँग तिनको स्मृतिसिवाय केही पनि रहने गर्दैन । अतीत केवल हिजोको कुरा होइन, यसले आजलाई धेरथोर प्रभावित त पारेकै हुन्छ ।
प्रकृतिको सूक्ष्म स्वभावलाई वर्षौंदेखि नियालिरहेका वनस्पतिविज्ञ तीर्थबहादुर श्रेष्ठ (८८) पनि अतीत–दंशित हुन्छन् । उनलाई कुनै बेला आफूले भोगचलन गरेका सरसामान जीवनका प्रिय पात्रजस्तै लाग्छन् । उहिले–उहिले उनले प्रयोग गरेका रिल क्यामरा, टाइप राइटर, सोनी कम्पनीको पुरानो रेडियो, टेप–रेकर्डर, क्यासेट प्लेयर, स्वस्थानीका हस्तलिखित किताब, स्लेटको पाटी, बाँसको कलम, दुई सय वर्षअघिका तामाका पैसा, चुनदाम आदि–इत्यादि सानेपास्थित घरको काँचको सोकेसमा सुरक्षित छन् । ती नबिग्रिउन्, धूलो–मैलोले नपुरोस् भन्ने सोचेर प्रायःजसो पुछपाछ गरिरहन्छन् र ती सामान हेरर आफू हिँडिआएका दिनहरूका स्मृतिले घेरिन्छन् । त्यो स्लेट, जसमा उनले ८ वर्षको छँदा गुणन, जोड–घटाउ सिके । ‘छोराको अक्षर राम्रो होस्’ भनेर बुबाले थमाइदिएको बाँसको कलम अझै खेलाइबस्छन्, एक बालकले झैं ।
सायद नोस्टाल्जिया स्मृतिको झ्याल हो, भविष्यको रेखाचित्र हो । असलमा यो विगततिर बरालिने गल्ली मात्रै होइन, भविष्यको कल्पनासम्म डोर्याउने गोरेटो पनि हो, जहाँबाट हराएका स्वर, बिर्सिगएका गन्ध, लोप भइसकेका कला, पुराना प्रिय सामान र विस्मृत संस्मरण पुनः जीवन्त हुन्छन् ।
ती सामान र तिनका नोस्टाल्जियासँग तीर्थबहादुरका यादहरूको सेतु जोडिएको छ । जीवनका विसंगति–संगति, निस्सारता र सुन्दरता उनी ती चिजबिजहरूमा खोजिबस्छन् । ‘ती सामान संग्रहालयमा सुहाउने निर्जीव वस्तु मात्रै होइनन्, स्मृतिका जीवित स्वरूप हुन्,’ घरअघिको हरियो चउरमा उभिएर उनले सुनाए, ‘तिनको धूलो सफा गर्छु र पुराना दिन याद गर्छु । तर, नयाँ चिजले पुराना चिज विस्थापित हुन्छन् नै, ती चिजबिज लोप भएकोमा उस्तो विस्मात् चाहिँ छैन ।’ तीर्थबहादुरका विचारमा ती एन्टिक सरसामान संग्रहालयमा सजाउनुपर्छ र तिनलाई सम्झनुपर्छ, ‘किनभने अब ती क्युरियो–सामान भए, ती हाम्रा पैतालाका डोब भए ।’
मान्छेलाई हात समातेर डोर्याउने चिज प्रविधि हो । ‘जीवन जटिल छ’ भन्दै हरयुगमा परिर्वतन भइरहने प्रविधिबारे माक्सिम गोर्की विमर्श गर्छन्, ‘जीवन पहिलेभन्दा अझ जटिल हुँदै गएको थियो र त्यसले कठोर मिहिनेतको माग गर्दै थियो । हरेक नयाँ दशकको आगमनसँगै प्रविधिले जीवन प्रवाहको गतिलाई अझ तेज बनाउँदै थियो । प्रविधिले यस्तो आज पनि गरिरहेको छ र भोलि पनि यसलाई निरन्तरता दिइरहनेछ ।’ (द डिस्इन्टिग्रेसन अफ् पर्सनालिटी’ को निनु चापागाईंले गरेको नेपाली अनुवाद ‘व्यक्तित्वको विघटन’ किताबबाट) ।
हाम्रा मूर्त सांस्कृतिक सम्पदा (ट्यान्जिबल), जुन थिए– समयको कुनै कालखण्डमा प्रयोग गरिएका सामानहरू (टेप–रेकर्डर, ग्रामोफोन, पेजर, पत्र–मञ्जूषा, टाइप राइटर, रेडियो सेट, लालटिन, क्यासेट प्लेयर, काँचका पोते, पोस्टकार्ड, चिठी–पत्र, अटोग्राफ, रिल क्यामरा, मोजाको बल……) र, अमूर्त सम्पदा (आगो माग्ने चलन, अर्मपर्म, मितेरी साइनो, रातको विवाह…) जो अब लगभग हराएर गए, किंवदन्ती भए, तर किन तिनका यादहरूमा मग्न–मग्न भइबस्छौं ? र, तिनमा अतीतको गन्ध महसुस गर्छौं ?
‘प्रिय सामान’ लोप हुँदा किन दुःखी हुन्छौं ? ती फिर्ता ल्याउनुपर्छ कि पर्दैन ? ‘मानिस अतीतमुखी हुन्छ । खुसी, सुख पहिल्यै थियो भन्ने भावले नोस्टाल्जिक बन्छ,’ मानवशास्त्री सुरेश ढकाल भन्छन्, ‘संस्कृति परिवर्तनशील छ, तर यो सरल रेखामा मात्रै हिँड्दैन, परिवर्तनको बाटो चक्रीय पनि हुन सक्छ, अर्थात् मानिसले लोप भइसकेको संस्कृति पुनः प्रयोगमा ल्याउन सक्छन् ।’ ‘संस्कृति चिन्तन’ किताबका लेखक, संस्कृति–चिन्तक, प्राध्यापक अरुण गुप्तोका विचारमा स्मृतिबाट अतीतको सौन्दर्यपान गर्न सक्छौं र वर्तमानलाई नयाँ कोणबाट बझ्न नोस्टाल्जिया आवश्यक हुन्छ ।
आँखैअघि थुप्रै चिजबिज गुमाएछौं हामीले– प्रविधि, कला, जीवनशैली र सामाजिक सम्बन्धका अनेक आयाम ! के–के गुमायौं ? त्यसको मेनु लामो बन्न सक्छ । ‘टेक्नोस्टाल्जिया’ ले हामीलाई हामीबाट हराएका विद्युतीय सरसामानको याद दिलाउँछ । यो अति–तीव्र परिवर्तनले केही प्रविधिहरू ‘इतिहास’ बन्नुअघि नै स्मृति र क्युरियो बनिरहेका छन्, जुन सामाजिक अनुष्ठानजस्तै स्मृति बनेर दिलदिमागमा सुरक्षित छन् । तर, हराएका सामानहरू केवल भौतिक वस्तु हुन् ? सायद होइनन्, ती वस्तुमार्फत अतीत–यात्रा गरिन्छ, जहाँ अन्तरआत्माले गहिरो संवाद गर्छ । मान्छेहरूको मस्तिष्कका पत्रहरूमा सुरक्षित, समाजबाट हराएका केही मूर्त र अमूर्त सामान र सम्पदामाथि विमर्श गरौं ।
मितज्यू नोस्टाल्जिया
नेपाली संस्कृतिको विशिष्ट र मौलिक बिम्ब थियो– मितेरी साइनो, त्यो थियो– एक पवित्र सम्बन्ध, जो अब सामाजिक र सामूहिक स्मृति–बाकसमा कैद भइसक्यो । मित–सम्बन्धको पहेली पहिल्याउने केही सानदार उक्ति थिए समाजमा, जो हजुरआमा सुनाउनुहुन्थ्यो– ‘बरु दाजुभाइ छुट्टिन्छन्, मित–नाता कहिल्यै छुट्टिँदैन, सुखमा दिदीबहिनी सम्झनु, दुःखमा मित,’ ‘मितको सात नाता, भाइको चार नाता’…! त्यसमाथि कृष्ण र सुदामाको मितेरी–कथा हिन्दु लोकजीवनमा प्रचलित छँदै थियो ।
मानवशास्त्री जनक राईको विचारमा हाम्रो मितेरी साइनो थियो– नैतिकता, प्रतिबद्धता र पारस्परिकतासँग जोडिएको । ‘नयाँ भूगोलका जाति र समुदायसँग घुलमिल हुन मित साइनो उपयोगी थियो । त्यसले सामाजिक अन्तरघुलन बढाएको थियो,’ जनक भन्छन्, ‘यो साइनोले थोरै भए पनि जातीय–वर्गीय तहगत संरचनामा पनि हार्दिकता र सम्मान थपेको थियो । नेपाली समाज जोड्ने सांस्कृतिक–परम्परागत संस्था थियो यो, जसले रगत र बिहेबारीको सम्बन्धभन्दा माथिको साइनो गाँस्थ्यो– अन्तरसमुदाय र अन्तरभूगोल जोड्थ्यो ।’
असलमा मित लगाउनु फेसबुकमा साथी बन्नुजस्तो ‘फास्ट–ट्र्याक’ सम्बन्ध थिएन, नैतिक सामाजिक सम्बन्ध थियो । तर, अब समाजलाई मित संस्था आवश्यक रहेन, जब हामी ‘आधुनिकता’ मा प्रवेश गर्यौं । मानवशास्त्रीहरू सुरेश ढकाल र नवीन रावलले सन् २०१७ मा मितेरी साइनोबारे ‘मित रिलेसन इन फार वेस्ट ः रिचुअल, रेसिप्रसिटी एन्ड रिप्रोडक्सन अफ् सोसल रिलेसनसिप’ शीर्षकको अनुसन्धान–पत्र लेखेका थिए– सुदूरपश्चिम क्षेत्रका मितहरूमाथि अध्ययन गरेर । त्यो पत्रले भन्छ– जातीय छुवाछूतले जकडेको ग्रामीण भेकमा दलित र उच्च जात भनिएको जातिबीचको मित साइनोको अद्वितीय सामाजिक बन्धन छ, जहाँ जातीय सीमाभन्दा माथि पारस्परिकता र हार्दिकता हुर्केको छ । तर, अब मितज्यू छैनन्, पुराना पुस्ताका मानिसको मनमनमै बाँचिरहेको छ– मितज्यू नोस्टाल्जिया !
वाकम्यान यादहरू !
मान्छे मेनुअलबाट मेसिनमा गयो । ‘एन्टिक–पिस’ बनेर मान्छेहरूको यादखानामा कैद छ– पुराना दिनको सहरको ‘मोर्डन–स्टाइल’ वाकम्यान । सन् १९७९ को मध्यदेखि फाटफुट र सन् १९८० को पूर्वार्द्धदेखि अलि ज्यादा मात्रामा वाकम्यान देखापरेको थियो– काठमान्डुमा । सम्भवतः सन् १९८९ पछि बिस्तारै वाकम्यानका प्रयोगकर्ता हराउँदै गए । अब वाकम्यान असामयिक भए पनि त्यसको स्मृति खोपिएको छ– कवि विनोदविक्रम केसीको दिल–दिमागमा, ‘कान छोप्ने इयरफोन धारण गरेर बाह्य ध्वनि जगत्बाट पूर्णतः कटिनु र शिरको ठीकबीचमा ड्रमसेटको ढङ–ढङ र गितारको झ्याङ–झ्याङ महसुस गर्नु ! आज हेर्ने–सुन्ने उपकरणहरूको भरमार उपलब्धताबीच पनि वाकम्यानले दिने त्यो ध्वनि मिस भइरहेको हुन्छ ।’
यी कविका लागि पचास/एकाउन्न सालतिर वाकम्यान थियो– सबैभन्दा उन्नत ग्याजेट । र, त्यो थियो– सपनाको फल वा भनौं न, महादूरस्थ चन्द्रमा । ‘एउटा फुटबल (त्यतिबेला ‘मिस्टर योड’ खुब चल्तीमा थियो) किनाइमाग्न त अभिभावकीय सत्ताविरुद्ध तीन/चार दिनको भोक–हडतालमा उत्रिनुपर्ने गरिबीग्रस्त वस्तुस्थितिबीच वाकम्यानको मालिक हुन सपनामा मात्रै सम्भव थियो,’ विनोद तीन दशकअघिको सुदूर–काँठका साँघुरा गोरेटोतिर विचरण गर्छन्, ‘लाऊँलाऊँ र खाऊँखाऊँको उमेरमा उपभोगको लालसा यसै पनि खुङ्खार हुन्छ । वाकम्यानका लागि म जे पनि गर्न तयार थिएँ । डाक्टर फाउस्टसले जादूमय शक्ति हासिल गर्न सैतानलाई आत्मा बेचेझैं म पनि वाकम्यानका लागि आत्मै बेच्न तयार थिएँ । अफसोस, क्रेताको अनुपलब्धता जो थियो ।’
जोसँग वाकम्यान हुन्थ्यो, ऊ हिरो हुन्थ्यो । त्यस जिनिसको केहीबेर उपभोगका लागि तड्पिने विनोदहरू त्यस ‘हिरो’ को खुब चाकरी गर्थे । चाकरीपछि कान छोप्ने एयरफोन लगाएर माइकल ज्याक्सनको ‘थ्रिलर’ गीत सुनेको, गीतको अन्त्यको अट्टहासबाट भयभीत भएर इयरफोन झ्वाट्टै निकालेको सम्झना उनको मस्तिष्कमा ओहोरदोहोर गरिबस्छ । कतिपय उदारमना वाकम्यान–धनि एक जोर ‘एभरेडी ब्याट्री–९५०’ किन्न लगाएर आफ्नो दिलदारिताको असुली पनि गर्थे ।
कथा–किंवदन्ती बनेर बुक–सेल्फमा ‘रेस्ट’ गरिरहेको छ– कवि विप्लव प्रतीकको वाकम्यान, जसको स्मृतिले बेलाबेला लखेटिरहन्छ, उनलाई । ‘उहिल्यै’ का दिन अब त खुइलिइसके, तर कानको सम्पूर्ण क्षेत्रफल छोप्ने घ्वाप्प परेको इयरफोन टाउकोमा सिउरेर गल्लीमा वाकम्यान सुन्दै हिँडेका दिनहरूको याद विप्लवको मस्तिष्कबाट उप्किएका छैनन् । वाकम्यान बोकेर हिँड्ने ज्यादाजसो केटाहरू नै हुन्थे । र, सबैको नजर तिनैतर्फ हुन्थ्यो । निश्चय नै वाकम्यान प्रयोगकर्ताले त्यो कुरा चाल पाउँथ्यो र गमक्क पर्थ्यो । सबैले सहजै किन्न नसक्ने भएकाले प्रयोगकर्ता समाजमा धनी र पहुँच भएकोमा गनिन्थ्यो र उसको फूर्ति हेर्नलायक हुन्थ्यो, जसरी अहिले केही हदसम्म म्याकबुक, एप्पल–वाच वा आइफोनले अलि ‘हुनेखाने’ को दर्जा जनाउँछ, उसैगरी उतिबेला त्यो महिमा वाकम्यानले सुरक्षित गरेको थियो । स्मृतियानमा सयर गरिरहेका छन् विप्लव, ‘बेलबटम पाइन्टको फेसन छुट्न लागेका बेला प्रवेश भएको वाकम्यान चुज पाइन्टको फेसन आएको केही समयपछि हराउने डौरमा गयो ।’
ती सुनौला समयमा विप्लव वाकम्यानमा मग्न–मग्न भएर सहरका सडक–गल्लीतिर डुलिहिँड्थे । उनीसँग भएको वाकम्यान सोनी कम्पनीको थियो, रिचार्जेबल ब्याट्रीयुक्त । ‘क्लिफ रिचर्ड, बिटल्स र डायर स्ट्रेट्स गीतहरू सुन्थें । मैले वाकम्यानको संगत छाड्नुअघि जगजित चित्राको ‘इकोज’ भन्ने अल्बम खुब सुनेको अझै याद आउँछ,’ अतीतका दिनमा वाकम्यानमा संगीत सुन्दै हिँडेको डल्लीबजारकै ठिक त्यही गल्लीमा उभिएर एक साँझ विप्लवले सुनाएका थिए, ‘कुनै बेला ब्याट्री धेरै नटिक्ने र रिचार्जेबल ब्याट्रीले पनि धेरैबेर काम नगर्ने भएकाले धेरैले बिस्तारै यसको दैनिक प्रयोग हुन छाडेको हुनुपर्छ ।’ उनलाई लाग्छ, हरेक नयाँ पुस्ता आफूलाई नवीन देखाउन रुचाउँछ, सम्भवतः त्यही पुस्तालाई लक्षित गरी वाकम्यान निर्माण भएको हुनुपर्छ ।
संस्कृतिविद्/कवि सुरेश किरणको स्मृतिमा ‘पोर्टेबल’ साइजको, पेटी भएको र कम्मरमा बाँध्न मिल्ने वाकम्यान उस्तै ‘प्रिय’ बाँचेकै छ ! स्कुल छँदा ‘सुरेश एन्ड साथीहरू’ वाकम्यानलाई ‘वाल्क म्यान’ भन्थे । थाइल्यान्डको बैंककबाट कपडा लिएर आउँदा विमानस्थल भन्सारमा केही प्रतिशत छुट दिइन्थ्यो, त्यसलाई ‘झिटीगुन्टा’ भनिन्थ्यो । झिटीगुन्टासँगै वाकम्यान पनि ल्याइन्थ्यो र न्युरोडको पसलमा बिक्री हुन्थ्यो– १२ देखि १५ सयसम्ममा, जुन २२–२५ वर्षका युवाको प्रिय प्रविधि थियो । मोटरसाइकल चलाउँदा हेलमेट अनिवार्य थिएन, युवाहरू कानमा एयरफोन सिउरेर बाइक चलाउँथे । ‘ब्यागी पाइन्ट’ को फेसन थियो । त्यो पाइन्ट खुट्टातिर टम्म कसिएको, तर कम्मरदेखि घुँडासम्मको भाग ह्वाग्लाङ्ग खुकुलो हुन्थ्यो । काँधसम्मै फित्ता जडित जिन्सको ‘रकी–पाइन्ट’ को छातीमा एउटा गोजी हुन्थ्यो । केटाहरू त्यही गोजीमा वाकम्यान घुसार्थे । जिन्सको त्यो पाइन्ट सञ्जय दत्तको पहिलो फिल्म ‘रकी’ (सन् १९८१) मा सञ्जय र हिरोइन टिना मुनिमले लगाएपछि काठमाडौंमा ‘पपुलर’ भएको थियो । सुरेशको वाकम्यान स्मृति सुखद् छ, ‘उतिबेला वाकम्यानमा हिन्दीभन्दा अंग्रेजी गीत सुन्ने चलन बढी थियो । डिस्को ८०’ भन्ने क्यासेट निक्कै लोकप्रिय थियो ।’ वाकम्यान अब संस्मरण–संग्रहालयको ‘टेक्नोस्टाल्जिया’ भित्र सुन्दर सम्झनामै सुरक्षित छन् ।
हुरी–स्मृति : एउटा किराँती कथा
सुदूर अतीतमा पूर्वी नेपालको किराँती समाजमा सामूहिक श्रम–प्रणाली प्रचलनमा थियो, जसलाई हुरी प्रथा भनिन्थ्यो (पोलिटिक्स अफ् कल्चर/टीबी सुब्बा– १९९९) । अहिले हुरी श्रम–प्रणाली पूर्ण रूपमा लोप भइसकेको छ, जो इतिहास र दस्ताबेजमा मात्रै जीवित छ । खेतीपातीको समयमा एक दर्जन हाराहारी नजिकका र मन मिल्ने युवायुवतीको समूहले पालैपालो सबैको खेतीपाती गर्थे । असलमा त्यो थियो सामूहिक श्रम–प्रणाली, जसलाई समाजवादी श्रमप्रणाली पनि भन्न सकिन्छ भन्छन्– अध्येता/अनुसन्धाता भोगीराज चाम्लिङ । किराँती समाजमा भूमिमाथि सामूहिक स्वामित्वको प्रणाली थियो, जसलाई ‘बोब्बी’ भनिन्थ्यो ।
‘किपट व्यवस्थामा पनि भूमिमाथि सामूहिक स्वामित्व प्रचलित थियो, त्यही सामूहिक भूस्वामित्वको उपज हुनुपर्छ– हुरी’, भोगीराज भन्छन्, ‘तर, किराँती समाजमा अझै सामूहिकतामुखी थुप्रै संस्कृति जीवितै छन् ।’ किराँत क्षेत्रमै केही वर्षअघिसम्म पनि वर्षमा एक पटक सामूहिक रूपमा बाटो सफा गर्ने प्रचलन थियो । तर, त्यो चलन अहिले हरायो । ‘सायद ग्रामीण सडकको व्यापक निर्माणले हरायो, गाउँमा आधुनिकता पसेपछि सडक सफा गर्ने सामूहिक उत्तरदायित्व पनि लोप भयो,’ भोगीराजको अध्ययन भन्छ ।
बाँस, काठजस्ता प्राकृतिक कच्चा पदार्थले बन्ने नाङ्लो, डालो, मान्द्रो, चित्रा जस्ता वस्तु हराउँदै छन् । तिनको ठाउँ लिएको छ– प्लास्टिक र धातुका सामानले । सांस्कृतिक सामग्रीका रूपमा प्रयोग हुने वाबु/वाबुक (चिन्डो) को सट्टा ड्यु, पेप्सी, कोकाकोला भित्रिए । प्रकृतिमैत्री हुनु पो उत्तम हुन्थ्यो, तर औद्योगिक सामानले पर्यावरणमाथि भार थोपरेको छ । किराँतीहरू कपडामा स्वावलम्बी थिए, आफैं कपास खेती गर्थे, कपडा बुन्थे, सिलाउँथे । लोपोन्मुख यो चलन फाट्टफुट्ट त चलेकै छ, तर ती कपडा उत्पादनको परम्परागत सीपबाट विमुख भइसकेका छन् ।
‘यसको कारणमध्ये एक हो, नेपालमा अंग्रेजहरूको औजारद्वारा निर्मित सस्तो कपडाका लागि नेपाली बजार खुल्ला गरिदिनु । र, त्यस्तै कपडा उद्योगहरू खोलिनु,’ भोगीराज भन्छन्, ‘औद्योगिकतामाथि बन्देज लगाउनु हुँदैन, तर सरकारले यस्ता स्थानीय घरेलु र परम्परागत सीप संरक्षण गर्न छुट्टै नीतिगत प्रबन्ध गर्नुपर्छ, जसले हाम्रो ज्ञान–प्रणाली संरक्षण हुन्छ, स्वावलम्बिता बरकरार हुन्छ, आय समानतामा सहयोग पुग्छ, पर्यावरणीय संरक्षणमा योगदान पुग्छ ।’
किराँतीहरू औद्योगिक कौशलका दृष्टिले निपुण र स्वावलम्बी थिए– जो फलाम, तामाको काम गर्थे । तर, ती सीप पनि लोप भए, किन ? भोगीराजको विचार छ, ‘हिन्दु वर्णव्यवस्थाबाट प्रभावित भएपछि छुवाछूतको सिकार हुनुपर्ने त्रासबाट किराँतीहरू धातुको कामबाट अलग्गिए । हिन्दु वर्णव्यवस्थाले किराँतीलाई औद्योगिक सीपबाट विमुख तुल्यायो, जुन नेपाली समाजकै लागि ठूलो क्षति हो ।’ किराँती समाजमा चराचुरुङ्गी, पशुपन्छी सिकार गर्न गुलेली र धनुवाण प्रयोग हुन्थ्यो, अहिले पितृपूजामा सांस्कृतिक औजारकै रूपमा प्रदर्शनमा सीमित छ । ती हतियार प्राचीनकालमा किराँती पुर्खाको जीविकाको साधन थियो । तर, आधुनिककालमा मनोरन्जन, आंशिक सिकार र सांस्कृतिक सामग्री मात्रै बने ।
घुमाउने घर–इतिहासको साक्ष्य
जीवनसँग जोडिएका र सांस्कृतिक मूल्य भएका सरसामान हराए । प्रत्येक सामान त्यस समयका लागि नयाँ हो, समयसँगै त्यो पुरानिन्छ । र, मानिसलाई सामानसँग जोडिएका पुराना नोस्टाल्जिया सुखद् लाग्छन् । घट्ट–चौतारो–पँधेरो त मासिँदै छन् नै, ग्रामीण दैनिकीबाट अब कम आवश्यक हुँदै गएका ढाकर, तोक्मा, ढिकी, जाँतो, पेरुङ्गो, सोली–थुन्छे, भकारी, घुम, पिर्का, सन्दुस, हलो, उलिन्काठ आदि–इत्यादि सामान पनि हराउँदै छन् । ती मासिनु इतिहासकै भौतिक साक्ष्य मासिनु हो, जो व्यावहारिक–सांस्कृतिक जीवन वा संग्रहालयमा संरक्षित रहनुपर्छ । राजनीतिक विश्लेषक झलक सुवेदीको विचारमा सामान र चलनहरू हराउँदै जानुले मान्छेको संस्कृतिमा प्रभाव त पार्छ, तर नयाँ सामान प्रयोगपछि नयाँ–संस्कृति पनि सुरु हुन्छ । ‘उत्पादन, प्र्रविधि, ज्ञान र आविष्कारमा आएका परिर्वतनले पुराना संस्कृति विस्थापित हुन्छन्, नयाँ निर्माण हुन्छन् । यसलाई स्वीकार्नुपर्छ,’ झलक भन्छन्, ‘सम्बन्धका स्वरूपदेखि समाजमा धेरैथोक हराए, परिवर्तन र रूपान्तरणको यो प्रक्रिया निरन्तर हो, रोकिँदैन ।’
झलकको गाउँ कास्की, मकैखोला–काउरेबाट घुमाउने घरहरू हराए । उनी सानै छँदा काउरेमा दुईबाहेक सबै ‘घुमाउने घर’ थिए, अहिले एउटै छैनन् । ती घरको विशेषता थियो– जाडोमा न्यानो, गर्मीमा शीतल हुनु । तर, घरभित्र गाढा अँध्यारो हुन्थ्यो, कोठा अलग थिएनन् र गोपनीयता रहँदैनथ्यो । बिस्तारै घुमाउने घर हराए, बार्दली भएका र नयाँ वास्तुकलासहितका चारकुने घर बने– ढुंगा–माटोको । अब ती घर पनि हराए, एक–तले सिमेन्टका घर बन्न थाले ।
स्कुल आइजाइ गर्न बुम्ले–खोला र मौरी–खोला तर्नुपर्थ्यो झलक सुवेदीले । झलकको स्मृतिमा गाउँ–परिवर्तनको एक झलक यस्तो छ, ‘पहिले खोलो तर्यौं, त्यसपछि काठको मुढाको साँघु अनि झोलुङ्गे पुल, अब सिमेन्टको मोटर गुड्ने पुल बन्यो बुम्ले–खोलामा । मौरी खोलामा पुल बन्दै छ ।’ त्यसैले पुराना सामान हराएकोमा झलक दुःखी छैनन् ।
स्मृति–संस्कृति
संस्कृति र स्मृतिको साइनो इतिहास, समाजशास्त्र, कला, साहित्य, दर्शनशास्त्र, धर्मशास्त्र, मनोविज्ञान र स्नायु–विज्ञानसँग पनि हुन्छ । वस्तु हराउँछन् समयसँगै, त्यो फर्केर आउन पनि सक्छ, नआउन पनि । जस्तो घोडा–बग्गी कहिल्यै हराउँदैन, तर केही पुराना कार हराइसके । बेलीबटम पाइन्ट आउँदै–हराउँदै गर्छ । क्र्यु–कट (कानमाथि सेभ गर्ने) हेयर–स्टाइल आदिम हो, त्यो हराउँदै–बौरिँदै गरिरह्यो । पोनी–टेल र क्राउन ब्रेडजस्ता हेयर–स्टाइल पनि हराउँदैनन्, शताब्दीऔंदेखि ती फेसन आउँदै–हराउँदै गरिरहेकै छ ।
प्राध्यापक अरुण गुप्तोको अध्ययन छ– ‘संस्कृति र स्मृति’ का ३ आयामी पक्ष छन्– सामाजिक वा ऐतिहासिक पक्ष (जहाँ मान्छे, सम्बन्ध र संस्थाको कुरा गरिन्छ), पदार्थ वा वस्तुगत पक्ष (जहाँ कलाकृति, मिडियाबारे विमर्श गरिन्छ) र मानसिक पक्ष (जहाँ विचार, मनस्थितिको अध्ययन गरिन्छ) ।
यीमध्ये ‘पदार्थ वा वस्तुगत पक्ष’ सबैभन्दा प्रभावकारी हुन्छ, आफूले दैनिक जीवनमा प्रयोग गरेका सामानको स्मृति मान्छेले हत्तपत्त बिर्सिंदैन । केही सामानहरू संग्रहालयकरण गरिन्छ– जस्तो कलाकृति, रीतिरिवाज । कथा, कला र मिडियाले पनि संग्रहालय बनाइरहेको हुन्छ । ‘जुन वस्तु हराएर जान्छन् वा उपयोग हुँदैनन्, ती संग्रहालयमा जान्छन् । तिनको सौन्दर्यशास्त्रीय अभिलेखीकरण भइरहेकै हुन्छन्,’ गुप्तो भन्छन्, ‘उपयोगी नदेखिए सामान मात्रै होइन, दर्शन र सिद्धान्त पनि त्याज्य हुन्छन् । फेरि तिनको सान्दर्भिकता फर्किन पनि सक्छ ।’
हराएका सामान–मेनुमध्ये अरुणको मन अडिएको छ– गोलो आकारको पित्तलको चम्किलो मट्टितेल स्टोभमा, जुन उनकी आमाले प्रयोग गरेकी थिइन् ६० वर्षअघि । अरुणले ‘एन्टिक–पिस’ का रूपमा काँचको सोकेसमा सजाएर राखेका छन्, पित्तले–स्टोभ । समयसँगै हराएको ग्रामोफोनको पनि रूपान्तरण भयो– ‘एलिट’ हरूको सजावट सामग्रीमा, अर्थात् यो हो– ग्रामोफोनको क्लास रूपान्तरण । जसको सान्दर्भिकता हुँदैन, त्यो हराउँछ जसरी मट्टितेल स्टोभ, वाकम्यान, ग्रामोफोन हराए र मस्तिष्कको ‘टेक्नोस्टाल्जिया’ कुनामा रहिरहे ।
मान्छे नयाँ खोजबिनमा रमाउँछ– खानादेखि वस्तु र विचारसम्मै । ‘खोजी अगाडि बढ्दा बाटोमा आएका वस्तु पछाडि सर्दै जान्छन् । तर, पुराना वस्तु सुन्दर पनि लाग्छ, मान्छे रमाउने नै स्मृति–कथाहरूमा हो,’ गुप्तोको बुझाइ छ, ‘सन्तुष्टि हराएका सामान बिर्सनुमा छ वा सम्झिनुमा– त्यो मान्छेको च्वाइसले निर्णय गर्छ । च्वाइस, सन्तुष्टि र डिजायरमै निहित हुन्छ– सामानहरूको आयु ।’ मान्छेका अमूल्य सम्पदा हुन्– हराएका सामान । तिनलाई अर्काइभ गर्नुपर्छ– ‘मार्क्स’ र ‘बुद्ध’ दुवै संग्रहालयमा अट्नुपर्छ । हामी हिँडिआएका दिनका मौन साक्षी हुन्– हराएका सामान र तिनका स्मृति–संसार, जो सायद जीवन र जगत्का मूल कथानकभन्दा पर कुनै सीमान्त–कथा भएर जीवित रहलान् ।
‘संस्कृति परिवर्तनको बाटो चक्रीय पनि हुनसक्छ’
सुरेश ढकाल, मानवशास्त्री
१. हरेक युगमा केही न केही मूर्त–अमूर्त संस्कृति लोप हुन्छन् । हरेकलाई लाग्छ– हाम्रो युगमा मात्रै यी हराए । मान्छेलाई त्यस्तो किन लाग्छ ? अनि तपाईंले देख्दादेख्दै चाहिँ के–के हराएछन् ?
– संस्कृति स्वभावतः परिवर्तनशिल हुन्छ । मूर्त या अमूर्त संस्कृतिको निरन्तरको परिवर्तन नै संस्कृतिको मूलभूत नैसर्गीक विशेषता हो । हामी अन्य कतिपय विषयजस्तै संस्कृतिलाई हेर्ने र बुझ्ने सवालमा पनि गैरऐतिहाशिक वा समकालिक दृष्टिकोण राख्छौं । यसरी जब हामी संस्कृतिको एतिहासिकता वा कालक्रमिकता बुझ्दैनौं, निरन्तर परिर्वन हुने संस्कृतिको गतिशिलता बुझ्दैनौ, तब हामीलाई लाग्छ, यी हाम्रा युगमा मात्रै बिलाए ।
संस्कृति परिवर्तन सरल रेखामा वा उद्विकाशीय हिसावले मात्रै हुंदैन, यो चक्रीय पनि हुन सक्छ । कुनै समयखण्डमा लोप भएको संस्कृति पछि केही समयको अन्तरालमा पुनर्जिवीत/पुनःस्थापित भइरहेको हुन्छ ।
संस्कृतिः चाडपवर्व, खानपान, लवाइखवाई, पूजाआजा, विश्वास परम्परा, पेशापरम्परा, सोचबिचार, नैतिकता सम्वन्धि मान्यता, जेलाई हामी संस्कृति भनेर बुझ्छौं, ति समय र स्थान विशेषका हुन्छन् ।
समय र स्थानमा आउने परिवर्तनसगैं ततत् संस्कृतिमा पनि परिवर्तन आउने गर्छ । संस्कृति ब्यक्तिको वा ब्यक्तिगत हुंदैन, त्यो सामुहिक हुन्छ । संस्कृतिले त्यसैले सामुदायको भौतिक आवश्यकता र मनोबैज्ञानिक अभिष्ट, अकांक्षा पुरा गरीरहेको हुन्छ । जब त्यस्तो सामुहिक आवश्यकता र अभिष्ट पुरा गर्न सक्दैनन् तव संस्कृतिका निश्चित अवयवहरु असान्दर्भिक र क्रमशः लोप हुँदै जाने हुन् ।
संस्कृति परिवर्तन हुने, लोप हुने, नयां विकसित गर्ने वा ग्रहण गर्ने कुरा धेरै विषयमा भर पर्छ । कुनै छिटो परिवर्तन भइरहेको वा लोप भएजस्तो लाग्छ, कुनै धिमा वा विस्तारै । प्रत्येक मानिसको औशत जिवनकालमा उसले त्यस्तो परिवर्तनहरु अनुभव गरेकै हुन्छ ।
म झूलो चकमकले आगो सल्काएको देखेर हुर्केको हुँ । ढिकी–जाँतो जस्ता खाद्य प्रशोधन प्रविधि प्रचलनमै थियो । गाउंघरमा छिमेकबाट आगो ल्याउने प्रचलनमै थियो, दाउरा नै खाना पकाउने इन्धनको प्रमुख श्रोत थियो, काठमाडौंको एउटा कुना, म जहाँ जन्मे हुर्कें बालीघरे प्रथा कायमै थियो । बर्षा सकिएपछि र दशैं आउनुअघि सामुहिक रुपमा कुवा, प“धेरा, पानीको मुहान सफा गर्ने, बाटोघाटो मर्मत र सरसफाई गर्ने काम मानौं गाउ“को बार्षिक क्यालेण्डरमै हुन्थ्यो । खेतीपाती अर्मपर्मकै भरमा चल्थ्यो । दशैं–तिहारमा सरसल्लाह गरि आलोपालोमा धान भिजाउने, ओखलमा चिउरा कुट्ने चलन थियो, जुन सामुहिक रुपमा मात्रै सम्भव हुन्थ्यो ।
मैले सुनेको, हाम्रो हजुरबाको मा छिमेकका समबयस्क लोग्नेमान्छेहरू सांझमा भेला हुन्थे रे हुक्का–चिलिममा तम्वाखु खान, जुन मेरा बा का पालासम्म निरन्तर थियो । म सानो छंदा अनुभव गरेका यि सब प्रचलन, जुन संस्कृतिको पनि हिस्सा थियो अब सबै लोपप्रायः नै भइसके । हामीले सानो केटाकेटी हुदां खेलेका कैयौंन खेल नै लोप भइसके । यो काठमाडौंको कांठ पनि भनिहाल्न नमिल्ने (हालको काठमाडौं महानगरपालिका भित्रको एक वडा)को कथा थियो । उदाहरण अनेक हुन सक्छन् ।
२. मान्छे किन अतीतमुखि हुन्छ ? र, लोप भएका संस्कृतिलाई नोस्टाल्जिक भएर सम्झिबस्छ ?
– जसरी मानिसले अर्को कुनै मानिसस“ग भावनात्मक सम्वन्ध कायम गरेको हुन्छ, त्यस्तै मानवत्तेर प्राणी, भौतिक बस्तु, चालचलनस“ग पनि उस्तै भावनात्मक सम्वन्ध हुन्छ । जब ऊ ति गुमाउंछ– उदसीन, खिन्न, स्मृतिदशंले ग्रसित र विगतमुखी बन्न पुग्छ । दोश्रो मानिसले परिवर्तन अनुरुप आफूलाई सहज रुपमा बदल्न नसक्दा पनि ऊ अतितमुखी बन्न जान्छ । खुशी, सुख पहिले नै थियो भन्ने भावले अतितमुखी हुन्छ ।
त्यो भन्दा पनि महत्वपूर्ण आयाम भनेको संस्कृतिभित्र लुकेको शक्ति संरचना हो । हामी धेरैले यो पक्ष नजरअन्दाज गरेका हुन्छौं । खासखाले संस्कृति÷परम्पराले खासखाले शक्तिसंरचनालाई बैधानिक बनाईरहेको हुन्छ, भरथेग गरीरहेको हुन्छ । संस्कृति र परम्पराका नाममा कोही दलनमा परेका हुन्छन्, कसैले अतिरिक्त सुविधा–सम्मान पाईरहेका हुन्छन् । जब त्यो भत्किन्छ, तब हिजोको लाभ र प्रतिष्ठा गुमाउनुपर्दा ऊ अतितमुखि हुन्छ ।
३. हाम्रोमा कु–संस्कृति जोगिइराख्ने र सु–संस्कृतिहरू लोप हुँदै जाने किन हुन्छ ?
– मानवशास्त्रीहरू संस्कृतिलाई ‘कु’ वा ‘सु’ भनि वर्गिकरण गर्दै अध्ययन गर्दैनन् । संस्कृतिलाई अर्को संस्कृतिस“ग दा“जेर एकभन्दा अर्को राम्रो÷नराम्रो, उ“चो÷निचो, सुसंस्कृति÷कुसंस्कृति भन्दैनौं । तर, समय–स्थानमा सन्दर्भित गरेर हेर्नुपर्ने हुन्छ । कुनै पनि संस्कृतिलाई विशिष्ट समय र स्थानको सन्दर्भमा सापेक्षित रुपमा हेर्नु, बुझ्नुपर्ने हुन्छ न कि अर्को संस्कृतिस“ग दा“जेर, फरक संस्कृति र विश्वदृष्टिकोण भएका मानिसको मूल्याङ्कनका आधारमा बुझेर । प्रत्येक संस्कृति विशिष्ट उद्विकासको प्रकृयाबाट उद्भव र विकसित भएका हुन्छन् तसर्थ उक्त संस्कृतिलाई त्यही सन्दर्भमा बुझ्नुपर्ने हुन्छ ।
एक धार्मिक विश्वासका आधारमा साकाहारी भएका अहिंसाबादी ब्यक्तिले अर्को धर्ममा रहेको बलीप्रथालाई सुसंस्कृति नठान्न सक्छ । कुनै समुदायमा जा“ड–रक्सी संस्कृतिको अभिन्न अङ्गका रुपमा रहेको हुन्छ, तर अर्को समुदाय, सम्प्रदाय, जात, धर्मको मान्छेले त्यस्तो सुसंस्कृतिलाई हेर्ने दृष्टिकोण फरक हुन सक्छ । तसर्थ सु–संस्कृति र कु–संस्कृति छुट्याउने प्राधिकार को हो ? कसरी हुन्छ कुनै संस्कृति राम्रो र नराम्रो ?
त्यसैले कु–संस्कृति रहने र सु–संस्कृति लोप हुने अवधारणा नै गलत हो । हामीले माथि उल्लेख गरेका लोप भएका संस्कृति सु–संस्कृति थिए र निरन्तर रहेका संस्कृति कु–संस्कृति थिए भन्ने जस्ता सामान्यीकरण अवधारणा र पद्धति दुवै कोणबाट गलत हुन् ।
४. जीवनशैलीबाट संस्कृति बनिसकेका सामानहरू किन र कसरी हराउँछन् ?
– समाजबाट संस्कृति बनिसकेका सामानहरू किन र कसरी हराउँछ भन्ने ब्याख्या फरक फरक तरिकाले गर्न सकिन्छ । त्यसमध्ये एउटा हो, आधार र उपरीसंरचनाको सम्बन्धको माक्र्सेली विश्लेषण प्रतिमान वा मोडेल । सामान्य भाषामा भन्दा समाजको आधार वा जग आर्थिक हो भने सामाजिक, राजनैतिक, सांस्कृतिक पक्ष चांही उपरीसंरचना । अर्थात उत्पादन सम्बन्धका आधारमा संस्कृति निर्माण हुने हुंदा जसै उत्पादन सम्वन्धमा फेरबदल आउंछ त्यसै अनुरुप संस्कृति पनि फेरिने वा विस्थापित हुने हुन्छ । खोजी शिकारीमा आधारित उत्पादन प्रणाली भएको समयमा त्यसैलाई धान्ने वा समर्थन गर्ने सामाजिक, राजनैतिक, सांस्कृतिक संरचनाहरु हुन्थे । तर, खेती किसानीमा प्रवेश गरेपछि केही संस्कृतिले निरन्तरता पाए र धेरै लोप वा विस्थापित भए । सामन्तवादी समाज र पूंजीबादी समाजको संस्कृति फरक हुनु स्वभाविक हो ।
कुनै पनि संस्कृतिले मानिसको सामुहिक आवश्यकता, भौतिक वा मानसिक चाहनाको परिपूर्ती गरीरहेको हुन्छ र यसो गर्न नसक्दा उक्त संस्कृति असान्दर्भिक हुन्छ र हराएर जान्छ । कुनै क्रमसः केही समयको कालक्रममा, कुनै एक्कासी भने कुनै क्रमस अन्य संस्कृतिसगं घुलमिल हुंदै, अन्य संस्कृतिका पक्षहरु ग्रहण गर्दै रुपान्तरीत हुंदै परिमार्जितरुपमा निरन्तर पनि हुन्छन् ।
५. संस्कृति हराउँदा के गुम्छ ? कसले के गुमाउँछ ? हराएका संस्कृति फिर्ता ल्याउनु जरुरी हुन्छ कि हुँदैन ?
– म संस्कृति हराउँदा के गुम्छ भन्ने भन्दा के गुम्दा संस्कृति हराउँछ भनेर हेर्न रुचाउँछु र हेर्ने गर्छु । पहिलो कुरा मानिस मूलतः सांस्कृतिक प्राणी हो । संस्कृति उसको सवैभन्दा महत्त्वपूर्ण पहिचान हो । त्यसैले भनिन्छ नि संस्कृतिबिनाको मानिस त पशु समान हुन्छ । उसको संस्कृतिले उसलाई विशिष्ठ पहिचान दिएको हुन्छ ।
संस्कृति उत्पादन सम्वन्ध/प्रणालीको प्रत्यक्षिकरण हो । उत्पादन प्रणाली र सम्बन्ध आउने/फेरबदल संस्कृति हराउने एक प्रमुख कारण हो । उत्पादन प्रणाली र सम्वन्धमा फेरबदल हुने अनेक कारण हुन्छन् ।
यथास्थितिको सामाजिक संरचना र शक्तिसम्वन्धका आधारमा संस्कृतिको आधार र आवरणमा कसैले अतिरिक्त सामाजिक, आर्थिक, राजनैतिक लाभ पाइरहेका हुन्छन् । खासखाले संस्कृति हराउंदा ति वर्ग/समूहले त्यस्तो लाभ गुमाउँछन् ।
अर्कोतर्फ संस्कृति सामूहिक पहिचानको महत्वपूर्ण श्रोत पनि भएका कारण त्यस्तो समूहको पहिचान ध्वस्त पार्न बलशाली समूश÷शक्ति लागेको पनि हुन्छ । यसरी शक्तिका आडमा जवर्जस्ती गरेर संस्कृतिको विलोपीकरण गराउने प्रकृयाले त्यस्ता समूहले सामुहिक पहिचान गुमाउँछन् ।
फिर्ता ल्याउनु जरुरी हुन्छ कि हुदैंन ? त्यसमा कुन संस्कृति, संस्कृतिको कुन आयाम वा पक्षको कुरा गरीरहेका छौं भन्नेमा भर पर्छ । संस्कृति गुम्ने कारण प्राकृतिक थियो कि बलजफ्ती कुनै संस्कृतिको बिनास गरिएको थियो भन्नेमा भरपर्ने कुरा भयो ।
हराएका संस्कृति फिर्ता ल्याउनु जरुरी हुन्छ कि हुँदैन भन्ने निर्णय मानिसको सामूहिक विवेक, काल्पनिकी र सामूहिक प्रयत्नमा भर पर्ने विषय हुन् । त्यसैले यो विषयको कुनै नियामक वा निर्देशनात्मक मापदण्ड हुन्छ भन्ने मलाई लाग्दैन । शुरुमा पनि भनेका थिए ‘–संस्कृति परिवर्तनशिल छ, तर यो एक सरल रेखामा मात्रै हिँड्दैन । त्यो परिवर्तनको बाटो चक्रीय पनि हुनसक्छ, अर्थात मानिसले पुरानो, लोप भइसकेको संस्कृतिलाई पुनः प्रयोगमा ल्याउन सक्छन् । यस्तो संस्कृति पुर्नस्थापनाका अनेक उदाहरण छन् ।’ साभार : कान्तिपुर

