जिन्दगीको मेरो पहिलो जागिर आमालाई पढाउनु थियो । जिल्ला शिक्षा कार्यालय सल्यानले मलाई प्रौढ शिक्षाको ६ महिने मास्टर बनाएको थियो । ब्ल्याकबोर्डमा अनि चौपारीमा फलानो
प्लस फलानो लेख्नेबाहेक चकको प्रयोग गर्न पाइएको थिएन । नीलो पैन्टको गोजीवरिपरि लागेको सेतो धूलोबाटै थाहा भइहाल्थ्यो— चक चोर ।
आमालाई पढाउने रात्रिकक्षामा मैले चकले लेख्न पाएँ । पछि म सल्यानमै बोर्डिङको मास्टर पनि भएँ । त्यहाँ पनि चकले नै लेखियो । तर, एक वर्षपछि चक एकाएक हरायो । चकसँगै चकिलो अक्षर मेट्दा उड्ने फुइँफुइँ धूलो अनि दुई हत्केला रगड्दै धूलो टकटक्याउने अनि खोक्ने दृश्य पनि हरायो । मोहन सर त अझ चकिलो अक्षर डस्टर हैन, हत्केलाले नै मेट्नुहुन्थ्यो । चक गायब भयो । हामी शिक्षक र पहिलो बेन्चमा बस्ने जेहेन्दार छात्रछात्राको जीवनमा मार्कर पेन र सेतोपाटीको एउटा क्रान्ति आयो । सम्झिन्छु, हाम्रा धेरै शिक्षक चकको धूलोले नै बिरामी परे, छिट्टै गइगए । चक हरायो, जो ठीक भयो ।
सल्यानमा स्कुल पढाउँदाकै कुरो । प्रश्नपत्र हातैले लेख्नुपर्थ्यो । राम्रा अक्षरमा लेख्दालेख्दै पुछारमा कतै गडबड भयो भने फेरि अर्को पन्नामा सुरुदेखि लेख्नुपर्थ्यो । सल्यानमा पहिलोपल्ट पलिसा कम्प्युटर इन्स्टिच्युट खुल्यो । म त्यहाँ गएर तीन महिना कम्प्युटर सिकें । सिकें के भनूँ, टाइपशाला खोलेर टाइप हानें । जब कागजमा लेखेका मेरा अक्षर कम्प्युटरमा टाइप हुन थाले, कार्बन पेपर राखेर लेख्नु परेन । अहिले मलाई कम्प्युटरमा घोप्टेको घोप्टियै गर्यो भन्दा अनायास याद आउँछ— कम्प्युटर त मेरो जुगऔं जिन्दगीको वरदान नै हो नि !
फेरि पढाउँदाकै कुरो । एक दिन तीन कक्षाको एउटा चकचके बच्चालाई मैले पिटेछु । पछि त उसले मेरो हातै सीधा हुन्न भन्न थाल्यो । मलाई अब बहुत डर लाग्न थाल्यो । बल्लतल्ल पाको जागिर, अब खोसिने भो, बजार बाहुल्य समुदायबाट फेरि गोदाइ खाइने भो भन्ने त्रासले मलाई रातैभर निद्रा लागेन । उपरान्त, मबाट पिट्ने चलन हरायो, जो ठीक भयो । साँझ आमाहरूलाई म ‘नयाँ गोरेटो’ पढाउँदै थिएँ । एक दिन मेरो गाउँको गोरेटोमा कर्फ्यु आदेश बनेर संकटकाल देखापर्यो । अब हाम्रो कक्षा बिथोलियो । उपाय निस्कियो– दिउँसो १२ बजेतिर पढ्ने । घरको सुसेधन्दाले एकछिन फुर्सद नपाउने आमाहरू दिउँसो एक घण्टा भए पनि आफ्नो नाम लेख्न जम्मा हुन थाल्नुभयो । आमाहरूका लागि कर्फ्यु क्षणिक आराम दिने वरदान जो बन्यो ।
म सानोमा भान्साको काम गर्थें । सायद दिदीबहिनी नभएकाले र आमाले महिनावारी बार्ने भएकाले म अल्छी केटोवादी हुनबाट किञ्चित जोगिएँ । कसौडीमा भात पकाइरहेको मैले एक दिन प्रेसर कुकरमा भात पकाउन थालें । (भलै बिर्को छिराउने र निकाल्ने कला सिक्न धेरै दिन लाग्यो । यति ठूलो बिर्को कसरी बिटै नछोई लुसुक्क छिर्छ, मलाई अचम्म लाग्छ ।) करण मामाले दिनुभएको कुकरले एक दिन एक सिट्ठी के दियो, त्यल्ले मलाई औधी खुसी दियो । भान्साबाट कसौडी हरायो, कुकर करायो, जो ठीक भो ।
हाम्रो घरअगाडि बिजुलीको पोल थियो । वरपर सबका घरमा गुलुप बल्दा, टीभी आइसक्दा, तिहारमा छिमेकी घरहरू झिलिमिली हुँदा हामी तीन दाजुभाइ भने मट्टीतेलको ध्वाँसोमा पढ्थ्यौं । लालटिनको चिम पुछ्ने, धुने र बाल्ने नै हाम्रो नियमितको सन्ध्याकर्म हुने गर्थ्यो अनि कालो खकार थुक्ने नियमितको प्रातःकर्म । एक वर्ष मेरो राजेन्द्र स्यानबुवा काठमाडौंबाट घर गएका बेला ‘यो त भएन केटा हो’ भनेर पैसा दिएर बिजुलीका केही सामान किन्न लगाउनुभयो । आफ्नो घरबाट रातो–कालो तार जोडिदिएर हाम्रो घरमा चिम बालिदिनुभयो । चिम बलेको त्यो रात (खासमा रात किन भनौं दिनजस्तै थियो रात) म कहिल्यै बिर्सन्नँ । रातो–कालो तारबाटै आएको बिजुलीले घरमा तीनवटा गुलुप बालेरै हाम्रा धेरै वर्ष बिते । यसरी गाउँ बिजुलीले झिलिमिली भएको वर्षौंपछि हाम्रो घरबाट टुकी, पानस र लालटिन एकदिन बुइँगलमा थन्किए ।
तिहारमा गाउँमा ‘डेग’वाला भैली निकाल्यो, पहिलोपल्ट । म उत्साही भएर जेईको घरमा त्यो भैली हेर्न पुगें । त्यहाँबाट हाम्रो घरको पालो आउँथ्यो । उनीहरूले भने, ‘विराज (मेरो दाइ) को घर नजाम्, त्याँ बत्ती छैन ।’
अनि उनीहरू मेरै घरको पेटीपेटी हिँडेर सीधै बराल दाइको घरमा नाच्न गए । पछि घरमा लालटिन हराएको दिन म उनीहरू ननाचेको त्यो घटना सम्झेर मनमनै नाचेको थिएँ— अब हाम्रो घरमा पनि डेकवालाहरूको डेग त चल्ला नि ।
म सम्झिन्छु । होली बडो उच्छृङ्खल पर्व । केटीहरूका लागि कोतपर्व, भण्डारखालपर्व । केटाहरूको दाउ नै स्तन समाइदिने हुन्थ्यो । मलाई लाग्छ, केटीहरूले पहिलो हिंसा भोगेको सायद होलीमै होला । ती हिंस्रक होलीबाज अब हराए, जो ठीक भो ।
स्कुलमा शौचालय थिएन । महिला शौचालय र पानीको व्यवस्थाको त के कुरा ? च्यातिएका थोत्रामोत्रा धोतीका टालो कट्टुभित्र कोचेर दिनभर स्कुलमा बस्नु, काममा जोतिनु कष्टकर
र जोखिमपूर्ण थियो । अझ घरमा पनि त्यही टालो सुकाउन घाम हैन, छाया खोज्नुपर्ने । अब त स्कुलहरूमा निःशुल्क प्याडपाइन्छ, कति राम्रो । पहिलोचोटि महिनावारी हुँदा घर र घरका लोग्नेमान्छे नदेखिने गरी हप्ता दिन एक्लै अँध्यारोमा लुकाउने कुहे रीत जो थियो, सो हरायो । ठीक भो ।
‘ए केटा जा, यो चुरोट सल्काएर ले ।’
‘यो चिलिम भर् ।’
‘आगो लेर आ,’ यस्तो भनेर आफ्ना नाबालक छोरछोरीलाई आदेश दिने श्री ५/श्री ३ पिताहरू सायद अब बदलिए कि ? चिम्टाले फिलिंगो च्यापेर बाका लागि पहिला आफ्नो दूधेओठमा चुरोट च्यापेर धूमपान सुरु गर्ने ब्रोहरू सायद अब लोप हुनुपर्ने हो । आमाहरू अबेर सुत्ने, सबेर उठ्ने । चुलोभाँडो । ढिकी–जाँतो । मेलापात । पानीपँधेरो । भाले नबास्दै उठेर किशोरी उमेरकै पोथी (चाहे गर्भवती, चाहे सुत्केरी, चाहे बिरामी) हरूले घोप्टिएर ढोका, बैठक, घर हातैले लिप्नुपर्ने । कुइरीमण्डल भान्सामा ढुंग्रोले आगो फुफु गर्दै पकाइरहनुपर्ने । अझ १५/२० जनासम्मको परिवारलाई, पहाडमा त रोटी । अनि आफूले खान पाउनु त सबैले खाइसकेपछि, बाँकी रहे मात्र । मनु ब्राजाकीको कथा ‘अन्नपूर्णाको भोज’झैं । भान्साको सबैभन्दा घिनलाग्दो त के भने, खाँदाखाँदै अलिकति जुठोपुरो भात राखिदिने अनि श्रीमतीले त्यही थालमा खानुपर्ने । गिजोलेको भात खुवाउने भालेतन्त्र सुस्तान्त भो । काइदा भो ।
गाउँमा चालीस कटेसि कुप्रिएका, चाउरिएका बाआमा धेरै देखिनुहुन्थ्यो । आफैं चालीस पुग्न लाग्दा बल्ल बोध भयो— खानु न पिउनु, कुप्रिएर गर्नुपर्ने काम कति हो कति । थाप्लोमा नाम्लो हालेर घाँसको भारी बोकेर, डोकोमा तीन खेप ग्रागी बोकेर धूवाामण्डलभित्र छिर्दा बल्ल उज्यालो हुन्थ्यो । जति नै चिसो होस्, घरभरिका सारा लुगा एकेक अम्खोरा पानी उभाउँदै बुरानाउलामा एक्लै धुनुपर्ने ।
‘आहा ! रातोमाटो र कमेरोले लिपेको घर’ साहित्यकारज्यूहरूको यस्तो पोस्ट देख्यो कि म यादको यात्रामा पुगी त हाल्छु । रातोमाटो लिन मेरी आमा धेरै टाढाको बेतालगाउँ जानुपर्थ्यो । ढिस्कोमा पुरिएर कतिको त्यहाँ ज्यान पनि गयो । आमा मुन्टो बांगो बनाउँदै माटोको गह्रौं भारी लिएर साँझमा घर आउनुहुन्थ्यो । अनि ‘लुगुनछोराउ गोठ’मा सासै नफेरी सेवामा जोतिनुहुन्थ्यो । अबका नानीहरूमा ती नारीहरूमा जस्तो क्षयरोग, बाथ, आङ खस्ने, दम एकदम हराउला त ?
‘दाउरामा पकाएको कति मीठो’ यस्तो पढ्छु । उहिलेका महाराज जनताको छानाबाट धूवाँ निस्किएपछि मात्र आफू खान्थे रे । अबका महाराजचैं रैतीहरूको घरबाट सायद विषाक्त धूवाँ कुर्नु हुन्न, किनकि घरघरमा ग्यासपाइप पठाइसक्नुभो । बिहान आठ बजे खाएको आँटो र भातको भरमा दिनभरि केही नखाई एक्कैचोटि पाँच बजे घर आएर भेटे बासीभात, नभए एक्कचोटि साँझ रोटी खाइन्थ्यो । अब त स्कुलहरूमा दिवाभोज कति कति !
माइतीमा दाजुभाइको कट्टु धोइदेऊ, तन्ना मिलाइदेऊ, कोठा बढारिदेऊ, अर्नी बनाइदेऊ भनेर छोरीलाई काम लगाउने, छोरा चाहिँलाई स्कुल पठाउने । अनि सानैमा बिहे गरिदिएर त्यही छोरी श्रीमान्को घरका हरएकको सेवक । घरकाले पनि आफ्नी सुकुमार छोरी उता सेविका नै बनेकी छे, आफू पनि दुःखै पाएकी थिएँ भनेर यता आफ्नी किशोरी बुहारीलाई बीस घण्टा रोजगारी दिइरहने । ओ भावुक कविज्यू ! यस्तो नोस्टाल्जिया यहाँ कसलाई छ यार प्यारो, कसलाई छ पीडादायी ? यशोदाज्यू, हजुरको गीत त मेरी आमा शारदाहरू यसरी पो गाउँछन् त— के माग्छौ भनी कसैले सोधे, म माग्थिनँ बालपन !
बाउबाजे पुस्ताले दुईतीनवटै बिहे गर्ने । माइली–कान्छी श्रीमती त अझ आफ्ना छोराछोरीभन्दा पनि कान्छी । मेरी माइली हजुरसानिमा नौ वर्षमै विधवा । अनि जीवनभर सेतो धरती । चाडपर्वमा अशुभ हुन्छ भनेर देखापर्नै नदिने । यो श्वेतस्मृति कहाँ छ यार रंगीन ?
जस्तोसुकै यातना सहेर पनि आमा–दिदीहरू श्रीमान्सँगै बसेको देखियो । अब दिदीबहिनी–छोरी पुस्तामा डिभोर्स गर्ने हिम्मत छ । छोरीहरूले पढे, सीप सिके, आत्मनिर्भर भए तर पुरुष आफ्ना बाउबाजेको चेतनामा बसिरह्यो, सच्चिएन । ‘अदालतमा सबैभन्दा बढी मुद्दा डिभोर्स’ भनेर रिपोर्टिङ । सहनशीला सुशीला खोज्नेले स्वअस्तित्वको चेत कहिले देख्ने ?
गाउँमा खाली गोडा हिँड्नेहरू धेरै नै देख्थें । छिमेकी भरार्नी भाउजूका खुट्टामा बल्ल चप्पल देखें यसपालि । सारंगी बजाउँदै घरमा आउने, कल लिएर दसैंमा लुगा सिलाइदिन आउने (यहाँ उहाँहरूको नाम बडा अपमानजनक, ऐकारान्त भएकाले लेख्न सकिएन) ! दाइहरूले सहने अपमान र छुवाछूत धेरै नै चर्को । मेरो स्कुले सहपाठी सन्तोष विश्वकर्मा एसएलसी दिँदा बल्ल पहिलोचोटि मोहन सरको घरभित्र छिरेर पानी पिएको रहेछ । जातको जरो अझै जब्बर छ, जुन सर्वथा बेठीक छ । प्रकाशित, अप्रकाशित किताबहरू पढिन्छ । घरीघरी अचम्म पनि लाग्छ । गाउँ, गाउँ जस्तो भएन । समाज उच्छृंखल भयो । अधिकार बढी भो । स्वतन्त्रता बढी भो । यस्तो भन्छन्, लेख्छन् । ‘हिमालचुली मुन्तिरको पँधेरो’ हेर्न त गजबै रमाइलो नि । तर, त्यहाँबाट ‘छिनेको त्यो कटीमा जलको घडा टाँसेर’ घण्टौं हिँड्ने आमा–दिदीबहिनीको कम्मरदुखाइ नि ? पहाडमा पानीकै दुःखको पीडागीत गाइन्छ, सुन्ने को ?
‘पराले झुपडीवालालाई पवित्र हावा शान्तिको मन्दिर’ भनेर कतिन्जेल भावुक बनिरहने ? सर्जकको दरबार पराले त थिएन । गाउँको सौन्दर्य जोगाउन व्यक्तिका घरलाई खरपरालको छानो, कच्ची ढुंगामाटोको भित्तोमा किन राखिरहने ? सरकारीहरूले आफ्ना घर–अफिसलाई पराले झुपडी बनाएर पर्यटक बोलाए भैगो त । एकदम मन परेको नेपाली सिनेमा ‘ऐना झ्यालको पुतली’ । हेरेपछि मलाई बल्ल बोध भयो । म स्कुल जाँदा एक घण्टा हिँड्नुलाई ठूलो दुःख सम्झिरहेको रहेछु । मार्के, बरला, कजेरी, कौछे, लेखडांग्रीबाट दैनिक चार–पाँच घण्टा बाटोमा बिताउनेको समस्या बुझेको रैनछु । स्कुल पढ्नैलाई सदरमुकाममा डेरा बसेका साथीहरूलाई महसुस गरेको रैनछु । अब कम्तीमा (डोजरे) बाटो त खुल्यो, (निम्छरा) स्कुल त खुले, (जोखिमपूर्ण) अटो त चल्छन् । (धूवाँदार) बाइक त चल्छन् । त्यो बेलाबाटै बन्द भएर अलमल, अहिले बाटो धेरै भएर कुन बाटो हिँडूँ भन्ने अलमल । चौबाटोको भाष्यले बाटै नहुनेको कथाव्यथा छोपिदिन त भएन नि ! ‘खै, काँ के हरायो ? तेरो हरायो भन्दैमा हाम्रो… ?’ मेरो यो ‘हरायो हरायो’ सुनिसकेपछि यहाँहरू कतिपयले पक्कै यसो भन्नुभयो होला । कुरो सही पनि हो । तर, ‘कहाँ हरायो’ लाई ‘यहाँ मेरोमा यसरी हरायो’ भन्दैभन्दै हराउनैतिर बल गरौं न ल । हस् त, अब मेरो शब्द नि हरायो । साभार : कान्तिपुर

