काठमाडौं, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेडिकल उपकरण खरिदमा अनियमितता गरेको आरोपमा आइतबार मेडिकल व्यवसायी विशाल पण्डितसहित ६ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । कोभिड महामारीमा कोशी प्रादेशिक अस्पतालका लागि हाई डिपेन्डेन्सी युनिट (एचडीयू) को उपकरण खरिद गरिएको थियो । त्यस क्रममा कम कबोल गर्नेलाई ठेक्का नदिई बढी कबोल गर्ने पण्डितको कम्पनी हस्पिटेक इन्टरप्राइजेसलाई जिम्मा दिई अनियमितता गरेको आरोपमा उनीहरूविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको हो ।
अख्तियारले उपकरण खरीद मूल्यांकन समितिका संयोजक एवं स्वास्थ्य निर्देशनालय धनकुटाका तत्कालीन निर्देशक चन्द्रदेव मेहता, मूल्यांकन समितिका सदस्य एवं कोशी प्रदेशको प्रदेश आपूर्ति व्यवस्थापन केन्द्र विराटनगरका बायोमेडिकल इन्जिनियर कुशल दाहाल,समितिका सदस्य एवं स्वास्थ्य निर्देशनालय, धनकुटाका लेखा अधिकृत डन्डसिंह विक, समितिका सदस्य एवं स्वास्थ्य निर्देशनालय, धनकुटाका खोप अधिकृत उदेश श्रेष्ठलाई पनि प्रतिवादी बनाएको छ । पण्डितको कम्पनी हस्पिटेक इन्टरप्राइजेसका बजार व्यवस्थापक मनोज आचार्यविरुद्ध पनि अख्तियारले मुद्दा दायर गरेको छ । काठमाडौंस्थित बसेरा होटल सञ्चालकसमेत रहेका पण्डित सरकारले खरिद गरेका विभिन्न प्रकारका महँगा मेडिकल सामग्रीमा संलग्नताका कारण विवादित व्यक्ति हुन् । अख्तियारले उनीहरूविरुद्ध २ करोड ८९ लाख रुपैयाँ बिगो मागदाबी गरेको छ ।हस्पिटेक इन्टरप्राइजेज प्रालि, त्यसका सञ्चालक पण्डित र कम्पनीकै बजार व्यवस्थापक मनोजकुमार आचार्यविरुद्ध मतियारको भूमिका निर्वाह गरी भ्रष्टाचार गरेको अभियोग छ । बैभन्दा कम रकम कबोल गर्ने कम्पनी र बढी कबोल गरेर पनि छनोट भएको हस्पिटेकको मूल्य अन्तरलाई बिगो कायम गरेर अख्तियारले मुद्दा दायर गरेको हो । ‘गैरकानुनी लाभ लिने बदनियतले सबैभन्दा बढी कबोल गर्ने बोलपत्रदातालाई छनोट गरेकाले यसरी तेस्रो हुने र पहिलो हुने फर्महरूद्वारा कबोल गरिएको रकमको अन्तर दुई करोड ८९ लाख ६६ हजारबराबर अस्वाभाविक रूपमा बढी मूल्य तिरी खरिद गर्ने कार्य गराएको पुष्टि भयो,’ अख्तियारले दायर गरेको आरोपपत्रमा उल्लेख छ ।
एचडीयूको उपकरण खरिदका लागि आह्वान भएको टेन्डरमा तीनवटा कम्पनीको प्रस्ताव परेको थियो । तर, तीनवटै कम्पनीको प्रस्ताव सारभूत रूपमा प्रभावग्राही नभए पनि तीमध्ये सबैभन्दा धेरै बढी रकम सात करोड ३३ लाख ८० हजार रुपैयाँ प्रस्ताव गरेको हस्पिटेकलाई छनोट गरिएको थियो । तीमध्ये निक्की फार्मा डिस्ट्रिब्युसनले चार करोड ४४ लाख रुपैयाँको प्रस्तावलाई भने अस्वीकृत गरेको पाइएको छ ।
विराटनगरस्थित कोशी अस्पताल कोभिड-१९ केन्द्रमा कोरोनाभाइरस संक्रमितको उपचारका लागि एचडीयू (हाई डिपेन्डेन्सी युनिट) जडान गरिएको थियो। एचडीयू जडान र सञ्चालनका लागि सामग्री खरीद गर्दा परेका बोलपत्रमध्ये न्यून कबोल गर्नेलाई छनोट नगरी अनियमितता गरिएको अख्तियारको दाबी छ।
न्यून कबोल गर्ने र छनोट हुनेबीच दुई करोड ८९ लाख ६६ हजार ५० रुपैयाँको फरक छ। प्रक्रिया बमोजिम नगरी बढी कबूल गर्नेलाई ठेक्का दिएर राज्यलाई हानिनोक्सानी पुर्याएको अख्तियारले जनाएको छ। त्यस्तै, ठेक्का पाउने कम्पनी हस्पिटेक इन्टरप्राइजेजका सञ्चालक विशाल पण्डित र बजार व्यवस्थापक मनोजकुमार आचार्य विरुद्ध पनि मुद्दा दायर गरिएको छ। यसमा सामान आपूर्ति गर्ने कम्पनी हस्पिटेकलाई पनि विपक्षी बनाइएको छ।

