२०८० साउन २५ गते बिहीबार १ बजे अपरिचित नम्बरबाट फोन आयो । फोन गर्ने व्यक्तिले एकछिन भेटेर फोन गर्नु भन्दै भेट्न चाहेको बताए । एमडी अध्ययन गरेर बसेका रञ्जित यादवले भक्तपुर लोकन्थलि तिर बोलाए । ती अपरिचित व्यक्तिले यादवसँग पढ्ने साथीको नाम लिएर भेट्न चाहेको बताएका थिए । दिउसो करीब ३ बजेतिर कोठा अगाडी आइपगें भन्दै ती अपरिचितले फोन गरे पछि डा. यादव बाहिर निस्के । भेट हुनासाथ प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी)बाट आएको हुँ , फोन दिनुहोस भन्दै मागे ।
त्यसपछि यादब झसंग भए । ती अपरिचित व्यक्तिले डीएसपी साबले पक्राउ गरेर ल्याउनु भन्नु भएको छ हिंड्नोस पो भन्न थाले । के कारणले पक्राउ गर्न खोजिएको उनले भेउ पाएनन । पक्राउ पुर्जी नै दिइएन । उनले माथिको आदेश भन्दै सँगै लिएर गए । मलाई किन पक्राउ गरेको ? उनले प्रश्न गर्न छोडेनन । तर, जवाफ केही पाएनन । मेरो कसुर के छ ? के गल्ती हो भन्ने सोध्दा डीएसपी साब आए पछि सोध्नु भन्दै जवाफ फर्काए , सिधै थुनुवा कक्षमा छोडिदिए ।
डिएसपी समयमा आएनन् । राति १२ बजे डिएसपी आउनु भएन ? भनेर सोध्दा बल्ल तपाईंको शैक्षिक प्रमाणपत्र नक्कली छ त्यै भएर पक्राउ गरिएको हो भन्ने जवाफ फर्काइयो । त्यस पछि डा. यादव छांगाबाट खसे झैं भए । प्रहरीले उनलाई महानगरीय प्रहरी वृत्त मालिगाउँमा थुन्यो । डा. यादवले आफ्नो शैक्षिक प्रमाणपत्र सक्कली हो भन्दा अनुसन्धान भइरहेको जवाफ दिन्थे । भोलिपल्ट अर्थात साउन २८ गते जिल्ला अदालत काठमाडौंमा लगियो । त्यहाँ न्यायाधीशले केही सोधेनन । सिधै ५ दिन हिरासत राख्न अनुमति दिए । त्यसपछि भ्यानमा राखियो ।
उनले आफ्नो शैक्षिक प्रमाणपत्र हेर्न अनुरोध गरे । फाईलमा भएको डकुमेन्ट हेर्दा नाम मिले पनि स्कुलको नाम, प्राप्तांक र अन्य कुराहरु मिलेको थिएन । उनले ती प्रमाणपत्र मेरो होइन भनेँ, तर उहाँहरुले थप अनुसन्धान गर्न अनुरोध गरे । आफ्नो शैक्षिक प्रमाणपत्र झिकाउँछु भन्दा प्रहरीले तपाईंले दिएर हुँदैन, हामी आफैं सम्बन्धित निकायबाट मगाएर भेरिफाइ गर्छौं भन्ने जवाफ फर्काउ ।
२७ साउन शनिबार डा. यादवले नेपाल चिकित्सक संघ (एनएमए) का पदाधिकारीलाई सम्पर्क गरे । आफू अन्यायमा परेको जानकारी गराए । संघका पदाधिकारी सीआईबीको टोली) नेपाल मेडिकल काउन्सिल पुगे । त पदाधिकारीले पनि शैक्षिक प्रमाणपत्र सक्कली नै भएको दावी गरे । चार दिन थुनामा राखेपछि शैक्षिक प्रमाणपत्र नक्कली नभएको भन्दै साउन २८ गते आइतबार राति १२ बजे रिहा गरियो ।
थुनामा रहँदा प्रहरीले कुनै कुटपीट गरेन । तर, अन्य अपराधगरेकाहरुसँगै राख्यो । हचुवाको भरमा प्रकाउ गर्दा उनलाई र परिवारलाई ठूलो मानसिक तनाव भएको छ । धेरै सञ्चारमाध्यममा नक्कली डाक्टर भनेर फोटोसहित प्रकाशित हुँदा जिन्दगी भरको दाग बस्यो । मानिसहरुले मलाई हेर्ने दृष्टिकोण फरक भयो । अब उनले कति मानिसलाई मेरो शैक्षिकपत्र नकक्ली होइन भन्दै स्पष्टीकरण दिँदै हिँड्ने ?मेडिकल काउन्सिल र सीआईबीको गैरजिम्मेवारीले उनले दुःख हैरानी पाए । बंगलादेशको नर्थ बंगाल युनिभर्सिटीबाट नक्कली प्रमाणपत्र लिएका उही नाम गरेका अर्का चिकित्सकका ठाउँमा डा। यादव पक्राउ परेका थिए। नाम मिले पनि उमेर, विश्वविद्यालय जाँच नगरी प्रमाणपत्र पठाउने नेपाल मेडिकल काउन्सिल र सिआइबी दुवैको ठुलो लापरबाहीका कारण उनले अनाहकमा शारीरिक र मानसिक तनाव झेल्नुपरेको छ । यसको जवाफदेही को हुने ? गम्भीर प्रश्न खडा भएको छ ।

