काठमाडौँ । नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण (एनडीएचएस) २०२२ सार्वजनिक भएको छ । शुक्रबार राष्ट्रिय सभागृहमा आयोजित विशेष समारोहमा स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले एनडीएचएसको पछिल्लो प्रतिवेदन सार्वजनिक गरेका हुन् ।
हिजो सार्वजनिक भएको यो सर्वेक्षण नेपालमा सन् १९९६ पछि गरिएको छैठौं जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण हो ।सर्बेक्षणले नेपालीहरुको स्वास्थ्यमा उल्लेख्य सुधार हुँदै गएको देखिएको छ ।सर्वेक्षणका लागि राष्ट्रको पुरै प्रतिनिधित्व हुने गरी १३,७८६ घरधुरीमा १५ देखि ४९ बर्षका १४,८४५ जना महिला र छनौटमा परेका आधा घरधुरीबाट १५–४९ बर्षका ४,९१३ जना पुरुषहरुलाई अन्तरवार्तामा समावेश गरिएको थियो, जसले महिलाहरूको लागि ९७ प्रतिशत र पुरुषहरूको लागि ९५ प्रतिशत उत्तर दर प्रतिनिधित्व गर्दछ।
सर्वेक्षणको नतिजा कस्तो छ ?
पछिल्लो सर्वेक्षणले नेपाली महिलाहरुले बढ्दो संख्यामा मातृ स्वास्थ्य सेवा लिने गरेका देखाएको छ । कुल ९४ प्रतिशत गर्भवती महिलाहरूले दक्ष स्वास्थ्यकर्मी, जस्तै डाक्टर, नर्स वा अनमीबाट गर्भवती सेवा (बच्चा पाउनु अघिका जाँचहरु) प्राप्त गरेका छन् । २६ वर्षका अघि अर्थात् सन् १९९६ को नेपाल परिवार स्वास्थ्य सर्वेक्षण अनुसार २५ प्रतिशत महिलाहरूले मात्र दक्ष स्वास्थ्यकर्मीहरुबाट गर्भवती सेवा प्राप्त गरेका थिए ।
सन् २०२२ को अनुसार ७३ प्रतिशत गर्भवती महिलाहरूले गर्भावस्थाको पहिलो तीन महिना भित्रमा पहिलो गर्भवती जाँच गराएका थिए ( जुन आमा र बच्चा दुवैको लागि जोखिमहरू कम गर्न महत्वपूर्ण समय हो) साथै ८१ प्रतिशत गर्भवती महिलाहरूले सिफारिस गरे अनुसार कम्तिमा चार पटक गर्भवती सेवा प्राप्त गरेका थिए। सन् १९९६ को मा ८ प्रतिशत जीवित जन्महरु मात्र स्वास्थ्य संस्थामा जन्मिने गरेका थिए भने, एनडीएचएस २०२२ अनुसार ७९ प्रतिशत जीवित जन्महरू स्वास्थ्य संस्थामा जन्मेका छन् , जुन उल्लेखनीय वृद्धि हो ।
बच्चा जन्मे पछि, १० मध्ये ७ महिला र नवजात शिशुहरूलाई जन्मेको दुई दिन भित्र स्वास्थ्य जाँच गराईएको पाइन्छ।
नेपालमा आधा भन्दा बढी (५७ प्रतिशत) विवाहित महिलाहरुले परिवार नियोजनको साधन वा बिधि प्रयोग गर्छन्, जसमध्ये ४३ प्रतिशतले आधुनिक परिवार नियोजनको साधन वा बिधि प्रयोग गर्छन् र १५ प्रतिशतले परम्परागत विधिहरू प्रयोग गर्छन्।
महिला बन्ध्याकरण, डिपो र इम्प्लान्ट जस्ता आधुनिक परिवार नियोजनका साधन वा बिधिहरु नेपालमा सबै भन्दा बढी प्रयोग भएको पाईएको छ ।
२०२२ एनडीएचएसमा नेपालले कूल प्रजनन् दरलाई २.१ मा घटाउने दिगो विकास लक्ष्य २०३० लाई पूरा गरेको देखाउँछ ्र विगत साढे दुई दशकमा नेपालमा प्रजनन दर आधाले घटेको देखिन्छ, सन् १९९६ मा प्रति महिलाले ५ बच्चाहरु जन्माउथे भने सन् २०२२ मा प्रति महिलाले २.१ बच्चाहरु मात्र जन्माउँछन् ।
पाँच वर्ष मुनिको बाल मृत्युदर उल्लेखनीय रुपमा घटेको देखिन्छ । सन् १९९६ मा ५ वर्ष मुनिका प्रति १,००० जीवित जन्ममा ११८ को मृत्यु हुने गर्थ्यो भने सो मृत्युदर तुलनात्मक रूपमा घटेर हाल प्रति १,००० जीवित जन्ममा ३३ को मृत्यु हुने गर्दछ, दीर्घकालिन कुपोषणको एउटा संकेत पुड्कोपन वा उमेर अनुसार उचाई कम हुनु हो । यो सर्वेक्षण अनुसार सन् १९९६ मा ५७ प्रतिशत रहेको पुड्कोपन घटेर सन् २०२२ मा २५ प्रतिशतमा झरेको छ ।
यो सर्वेक्षण अनुसार स्वास्थ्यको धेरै क्षेत्रमा प्रगति भएको देखाएता पनि चुनौतीहरु अझै बाँकि छन् । नेपालमा ६ महिना भन्दा कम उमेरका शिशुहरूलाई पूर्ण रुपमा स्तनपान गराउने प्रवृतिमा समयसँगै उतारचढाव भएको देखिन्छ र यो सन् १९९६ मा ७५ प्रतिशत थियो भने सन् २०२२ मा ५६ प्रतिशतमा झरेको छ ।
विश्व पोषण निर्देशिकाले शिशुहरूलाई बाल मृत्यु तथा अन्य रोगहरुबाट बचाउनको लागि जन्मेको पहिलो ६ महिनासम्म पूर्ण रुपमा स्तनपान मात्र गराउन सिफारिस गर्दछ । साथै, नवजात शिशु मृत्यु दर पछिल्लो दशकमा प्रति १,००० जीवित जन्महरूमा २१ मृत्युमा स्थिर रहेको देखिन्छ। किशोरीवस्थाको प्रजनन दर उच्च रहेको देखिन्छ, जसमा १५ देखि १९ उमेर समुहका १४ प्रतिशत किशोरीहरु गर्भवती हुने देखिएको छ।
कोभिड खोपमा सफलता मिलेता पनि, बाल्यकाल नियमित खोप कभरेज आश्चर्यजनक ढंगले अघिल्लो सर्वेक्षणहरुमा भन्दा घटेको पाईएको छ। हाल, ८० प्रतिशत बालबालिकाहरूले सबै आधारभूत एन्टिजेन्सहरू विरुद्ध खोप लगाएका छन्, जुन २०११ एनडीएचएसमा ८७ प्रतिशत थियो । २०२२ एनडीएचएसले कुनै पनि खोप नपाएका बालबालिकाको प्रतिशतमा पनि थोरै वृद्धि भएको देखाएको छ, जुन २०१६ एनडीएचएसमा १ प्रतिशत थियो भने अहिले २०२२ एनडीएचएसमा ४ प्रतिशत रहेको छ ।
नेपालमा १५ वर्ष वा सो भन्दा माथिका १८ प्रतिशत महिला र २३ प्रतिशत पुरुषलाई उच्च रक्तचाप भएको देखिन्छ ।
यो सर्वेक्षण अनुसार प्रति १००,००० व्यक्तिहरु मध्ये १४ जनाको मृत्यु सडक दुर्घटनाका कारणले हुने गर्दछ, जसमध्ये सबैभन्दा बढि मृत्यु वा घाइते भएका ६८ प्रतिशत सडक दुर्घटना, मोटरसाइकलको कारणले हुने गर्दछ।
यस सर्वेक्षणमा १५ देखि ४९ वर्षका २२ प्रतिशत महिला र ११ प्रतिशत पुरुषहरूले चिन्ता (एन्जाइटी) का लक्षणहरू अनुभव गरेका पाइयो। समग्रमा, १५ देखि ४९ वर्षका महिलाहरू मध्ये २३ प्रतिशतले कुनै न कुनै समयमा शारीरिक हिंसाको अनुभव गरेका छन् भने ८ प्रतिशतले १५ वर्षको उमेरदेखि यौन हिंसाको अनुभव गरेका छन् ।
समग्रमा, नेपालमा ७२ प्रतिशत विवाहित महिलाहरुले आफ्नो स्वास्थ्यको हेरचाह सम्बन्धि निर्णय आफै वा संयुक्त रुपमा गर्ने गर्दछन् भने ६० प्रतिशतले घरायसी मुख्य सरसामानहरु खरिद गर्न र ६८ प्रतिशतले आफ्नो परिवार वा आफन्तलाई भेट्न आफै वा संयुक्त रुपमा निर्णय गर्दछन् ।

