काठमाडौं । आफन्त वा साथिभाई बिरामी हुँदा कुरुवा बस्न जानु स्वभाविक हो । तर, कुरुवा बस्न गएका व्यक्ति नै बिरामी पर्न थाले पछि अवस्था कस्तो होला ?
बिरामीका कुरुवाका लागि अस्पतालमा कुरुवाघर नै हुनुपर्ने हो । तर, बर्सेनि १५ देखि २० हजार बिरामी बेडमा भर्ना भएर उपचार हुने वीरमा कुरुवा बस्ने छुट्टै घरको व्यवस्था छैन । विशिष्टिकृतसहितको सेवा दिइरहेको वीरमा सर्जिकल भवनसँगै नयाँ भवनहरू बनिरहे पनि कुरुवा भने वार्डबाहिरका प्यासेज, कुना र जोखिमयुक्त स्थानमै बस्न बाध्य छन् । चिसो भुइँमा लामो समय बस्दा बिरामी हुने जोखिम त छँदै छ, शौचालय, नुहाउने र फोन चार्ज गर्ने ठाउँदेखि ओढ्ने–ओछ्याउनेलगायतका सामान राख्ने ठाउँसम्म नहुँदा सामान चोरीसँगै कुरुवामा अन्य मानसिक समस्या पनि देखिने गरेको छ ।
वीरमा भर्ना गरिएका सबै बिरामीका कुरुवाको हालत एउटै छ । साँझ परेसँगै उनीहरू वार्डबाहिरका करिडोरमा लहरै सुतिरहेका भेटिन्छन् । वीरका निर्देशक डा. सन्तोष पौडेल भने भोटाहिटीतर्फ निस्किने बाटोको साइडमा कुरुवाघर बनाउने तयारी गरिए पनि बजेट अभावमा निर्माण थाल्न नसकिएको बताउँछन् ।
राजधानीका सबैजसो ठूला अस्पतालमा कुरुवाघरको अभाव
वीर र कान्तिमा मात्रै होइन, कुरुवाघर नहुँदाको दुःख राजधानीका सबैजसो ठूला अस्पतालमा छ । त्रिवि शिक्षण अस्पताल, सिभिल, पाटन, टेकुजस्ता अत्यधिक भिडभाड हुने अस्पतालमै कुरुवाघरको अभाव छ । कुरुवाघर आवश्यक भए पनि बजेट र ठाउँ अभावका कारण निर्माण गर्न नसकिएको ती अस्पतालका प्रशासनको जवाफ आउँछ ।
त्रिवि शिक्षण अस्पतालमा क्रिटिकल केयरका बिरामीका लागि २० बेडको कुरुवाघर छ । तर, क्रिकिटल केयरका बिरामीका कुरुवा नै त्यहाँ नअटाउने भएपछि सुरेश वाग्ले भवनको पेटीसमेत छुट्याइएको छ । अन्य बिरामीका कुरुवा भने सम्बन्धित वार्डबाहिर पेटीमै सुत्न बाध्य छन् ।
क्रिटिकल केयरमा राखेर उपचार गर्नुपर्ने बिरामीलाई अस्पतालले केही संख्यामा कुरुवा बस्ने व्यवस्था मिलाए पनि सबै कुरुवाका लागि व्यवस्थित कुरुवाघर सञ्चालनमा ल्याउन नसकिएको बताउँछन् त्रिवि शिक्षण अस्पतालका प्रवक्ता प्रमोदकुमार निरौला । ‘अस्पतालमा खाली रहेका केही वार्डमा पुराना सोफाहरू कुरुवाले प्रयोग गर्न मिल्ने गरी राख्ने व्यवस्था गरिएको छ । तर, अस्पतालमा बिरामी राख्ने बेडहरू नै पर्याप्त छैनन्, यस्तो अवस्थामा कुरुवाका लागि छुट्टै व्यवस्था गर्न नसकिने अवस्था छ,’ उनले भने, ‘केही दातृ निकायले कुरुवाघर बनाउन सहयोग गर्ने बताए पनि प्रक्रिया थाल्न सकिएको छैन ।’
सिभिलमा पनि समस्या उस्तै छ । अधिकांश बिरामीका लागि कम्तीमा दुईजना कुरुवा आवश्यक पर्छ । तर, अस्पताल निर्देशक डा. दयानिधि पौडेल एकभन्दा बढी कुरुवा बस्दा झन् समस्या हुने गरेको बताउँछन् ।
‘क्रिटिकल केयरबाहेकका वार्डहरूमा बिरामीका कुरुवालाई राति सुत्न सजिलो होस् भनेर फोल्डिङ चेयर राखेका छौँ । त्यहाँ एकजनालाई आराम गर्न सुविधा छ,’ उनले भने, ‘तर, एक बिरामीसँग चार–पाँचजनासम्म कुरुवा आउँदा समस्या हुन्छ । कुरुवाको होहल्लाले बिरामीलाई नै समस्या पर्छ भन्ने कुरा पनि बुझ्न आवश्यक छ ।’
कान्तिको कुरुवाघर नवजात शिशुका सुसारेलाई नै ठिक्क, अन्य बिरामीका कुरुवा छिँडीमै
कान्ति अस्पतालले बिरामीको कुरुवाका लागि भनेर पहिलो तलामा ३० बेडको छुट्टै वार्ड र पाँचजनालाई खाना पकाउन मिल्ने भान्साकोठाको व्यवस्था गरिदिएको छ । तर, उक्त कुरुवाघर नवजात शिशुको स्याहारका लागि आएकाहरूले भरिने भएकाले अन्य बिरामीका कुरुवाले ठाउँ नै पाउँदैनन् । बिरामीको चापअनुसार कुरुवाघरको क्षमता नहुँदा समस्या भइरहेको कुरुवाहरू बताउँछन् ।
बर्सेनि १५ देखि २० हजार बिरामी भर्ना भएर उपचार हुने वीरमा कुरुवाघरको व्यवस्था छैन . वीर अस्पतालमा बर्सेनि १५ देखि २० हजार बिरामी बेडमा भर्ना भएर उपचार गर्छन्, तर यहाँ कुरुवा बस्ने छुट्टै ठाउँ छैन । उनीहरू वार्डबाहिरका प्यासेज, कुना र जोखिमयुक्त स्थानमै बस्न बाध्य छन् । चिसो भुइँमा लामो समय बस्दा बिरामी हुने जोखिम त छँदै छ, शौचालय, नुहाउनेदेखि ओढ्ने–ओछ्याउनेलगायतका सामान राख्ने ठाउँ नहुँदा चोरीसँगै कुरुवामा मानसिक समस्या पनि देखिने गरेको छ । ५२ वर्षीया श्रीमतीलाई मिर्गौलामा समस्या देखिएपछि शुक्रबारदेखि कुरुवा बसिरहेका बाराका मधुसूदन साहले भने, ‘भुइँमै रात बिताउनुपर्दा म आफैँ बिरामी पर्न थालिसकेँ । साँझपखपछि ज्वरो आउँछ ।’
टिचिङमा क्रिटिकल केयरका बिरामीका २० कुरुवाका लागि मात्र ठाउँ, अन्य पेटीमै सुत्छन् काठमाडौंको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा क्रिटिकल केयरका बिरामीका लागि २० बेडको कुरुवाघर छ । तर, क्रिकिटल केयरका बिरामीका कुरुवा नै त्यहाँ नअटाउने भएपछि सँगैको सुरेश वाग्ले भवनको पेटीसमेत छुट्याइएको छ । अन्य बिरामीका कुरुवा भने सम्बन्धित वार्डबाहिर पेटीमै सुत्न बाध्य छन् । ‘अस्पतालमा बिरामी राख्ने बेडहरू नै पर्याप्त छैनन्, यस्तो अवस्थामा कुरुवाका लागि छुट्टै व्यवस्था गर्न नसकिने अवस्था छ । केही दातृ निकायले कुरुवाघर बनाउन सहयोग गर्ने बताए पनि प्रक्रिया थाल्न सकिएको छैन,’ त्रिवि शिक्षण अस्पतालका प्रवक्ता प्रमोदकुमार निरौलाले भने ।
निर्देशिकाले नै भनेको छ– बिरामीका एक कुरुवा बस्ने प्रबन्ध हुनुपर्छ
स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा स्तरोन्नति मापदण्डसम्बन्धी निर्देशिका, २०७० ले नै बिरामी कुरुवाका लागि कुरुवाघर हुनुपर्ने भनेको छ । निर्देशिकाको परिच्छेद ४ अन्तर्गत अस्पतालसम्बन्धी मापदण्डमा अस्पतालको वार्ड तथा अन्य उपचार दिने स्थानमा आवश्यकताअनुसार बिरामीको साथमा रहने एक कुरुवा बस्ने प्रबन्ध हुनुपर्ने भनिएको छ ।
तर, अत्यधिक भिडभाड हुने अस्पतालहरूमै बिरामी कुरुवा आवास हुनुपर्ने मापदण्ड कार्यान्वयनमा आउन सकेको छैन । कुरुवाघरको अभावले अस्पतालमा उनीहरूको स्वास्थ्यमा मात्रै होइन, अस्पताल व्यवस्थापनमै समस्या हुने बताउँछन् जनस्वास्थ्यविद् डा. बाबुराम मरासिनी । उनले भने, ‘हेर्दा सामान्य लागे पनि वार्डबाहिरका करिडोरमा बस्दा कुरुवा नै बिरामी परेर अस्पताल भर्ना हुनुपर्ने अवस्था छ । भिडभाडका कारण फोहोर बढ्ने, भिडभाडमा स्वास्थ्यकर्मीको सेवासमेत प्रभावित हुनेलगायत समस्या पनि देखिन्छन् । यसमा अस्पताल प्रशासनको खासै ध्यान गएको देखिँदैन ।’
सकेसम्म अस्पतालभित्रै वा सम्भव नभए अस्पतालनजिक एक बिरामीबराबर एकजना बस्न मिल्ने गरी कुरुवाघर बनाउन सके धेरै समस्या एकैचोटि समाधान हुने डा. मरासिनीको सुझाव छ ।

