हिमाल मिडिया मेला २०२३ को ‘खोज पत्रकारिताका खोजी’ शीर्षकको छलफलमा सहभागी पत्रकारहरूले अर्थ अभावमा नै नेपालमा खोजी पत्रकारिताको विस्तार हुन नसकेको बताएका हुन्। खोज पत्रकारिता केन्द्रका सम्पादक किरण नेपालले खोज पत्रकारिताका लागि रिपोर्टरमा हुटहुटी, धैर्य आवश्यक भए पनि सबैभन्दा महत्त्वपूर्ण आर्थिक स्रोत भएको बताए। “खोज पत्रकारिताका लागि रिपोर्टरमा धैर्य, चाहनाका साथै सम्पादकमा पनि हुटहुटी हुन आवश्यक छ,” नेपालले भने, “सबैभन्दा महत्त्वपूर्ण आर्थिक स्रोत हो।”
समाचारकक्षको उचाइ बढाउन खोजी पत्रकारिताको महत्त्वपूर्ण योगदान रहने उनको भनाइ थियो। तर, वित्तको समस्या, बजारको सङ्कुचन, अनुदान दिने संस्थाको अभाव आदिले नेपालमा खोजी पत्रकारिता विस्तार हुन नसकेको उनले बताए।
पत्रकार देवेन्द्र भट्टराईले खोजी रिपोर्टिङका लागि पत्रकारमा हुटहुटी, सम्पादकको सहयोगका साथै आर्थिक स्रोत आवश्यक हुने बताए। खोजी रिपोर्टिङका लागि आवश्यक स्रोत कस्तो छ भन्ने प्रश्नको जवाफमा भट्टराईले भने, “मलाई नसोध कहाँ दुख्छ घाउ…।”
पत्रकार दीपा दाहालले पनि खोजी रिपोर्टिङका लागि रिपोर्टरका चाहनाले मात्र अर्थ नराख्ने बताइन्। दाहालले भनिन्, “समाचारकक्षले खोज्दैन भनेर रिपोर्टरको सीप काम लाग्दैन।” उनले खोजी रिपोर्टिङका लागि मिडियाको नीति पनि आवश्यक रहेको बताइन्।
पत्रकार दाहालले खोजी पत्रकारिता चुनौतीपूर्ण भएको र महिलालाई झन् चुनौती भएको बताइन्। त्यसैले मिडिया र परिवारले उनीहरूलाई सहयोग गर्नुपर्नेमा उनले जोड दिइन्।

