काठमाडौं, सरकारले एक दर्जन ग्रुपका विषादी पञ्जीकृत गरे पनि दुई ग्रुपको मात्रै परीक्षण गर्दै आएको छ । दुई ग्रुपका विषादीको मात्रै ल्याब परीक्षण र अरू ग्रुपको नहुने हुँदा सर्वसाधारणको भान्सामा दैनिक विषादीजन्य तरकारी पाकिरहेको सरोकारवाला बताउँछन् ।
आरबीपीआर माध्यमबाट दुई ग्रुप (काब्रामाइट र अर्गानोफोस्पेट) को परीक्षण हुने गरे पनि त्यो प्रभावकारी छैन । ‘पछिल्लो समय नयाँनयाँ विषादी आइरहेका छन् । बढी प्रयोग हुने विषादी नियो निकोटिनवायस ग्रुपका विषादी हुन् । यीबाहेक ग्रुपमै नपर्ने अलगअलगका विषादी पनि छन्, तिनमा अवशेषका कुरा पनि हुन्छन्,’ प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका सूचना अधिकारी महेशचन्द्र आचार्यले भने, ‘तर दुई ग्रुपबाहेक अन्यको परीक्षण हुँदैन । अहिलेको परीक्षणले नयाँ विषादी प्रयोग भए/नभएको पत्ता लगाउनै सक्दैन । विषादी पहिचान गर्न नसक्दा सर्वसाधारणलाई समस्या हुन्छ । त्यसैले आरबीपीआरको दायरा बढाउन जरुरी छ ।’ एउटै ग्रुपमा दर्जनौं विषादी हुन्छन् । निको ल्याब परीक्षण हुन सकेको छैन ।
विषादी परीक्षणका नाममा सर्वसाधारणलाई झुक्याउने काम भइरहेको कृषि विभागका पूर्वमहानिर्देशक डिल्लीराम शर्माले बताए । भारतबाट आयात हुने धेरैजसो तरकारीमा विषादी भेटिने गरेको उनले बताए । तर परीक्षण नाम मात्रैको हुने गरेको उनको भनाइ छ । ‘सीमा नाकामा हुने अहिलेको परीक्षण नाम मात्रकै हो, सर्वसाधारणलाई भ्रममा पारिएको मात्र छ । अहिलेको परीक्षणले दुई ग्रुप (काब्रामाइट र अर्गानोफोस्पेट) मात्रै परीक्षण गर्छ । त्यो पनि उपस्थिति भए/नभएको मात्रै हेर्ने हो, त्यसले विषादीको मात्रा देखाउन सक्दैन,’ शर्माले भने ।
शर्माको भनाइलाई पछिल्लो समय गरिएको विषादी परीक्षणले पनि पुष्टि गर्छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले आर्थिक वर्ष ०७८/७९ मा आयात हुने तरकारी तथा फलफूलमध्ये ५६ हजार ३ सय ३८ नमुनामा काब्रामाइट र अर्गानोफोस्पेट विषादीको अवशेष परीक्षण गर्यो । आरबीपीआर माध्यमबाट कात्तिक १ देखि असार मसान्तसम्म गरिएको परीक्षणमा ५१ नमुना प्रतिकूल देखिए । विभागले आर्थिक वर्ष ०७९/८० को प्रथम चौमासिकसम्म आयातित तरकारीमध्ये १७ हजार ४६ वटा तरकारी तथा फलफूलको नमुनामा यिनै दुई विषादीको विश्लेषण गर्यो । विषादी परीक्षणका क्रममा १२ वटा नमुना प्रतिकूल भेटिए । आयात हुने तरकारी तथा फलफूलको विषादी परीक्षण गर्ने मुख्य दायित्व खाद्य प्रविधिको हो । कृषि विभागअन्तर्गत केन्द्रीय कृषि प्रयोगशालाले स्वदेशमा उत्पादन हुने तरकारी तथा फलफूलको विषादी परीक्षण गर्छ ।
केन्द्रीय कृषि प्रयोगशालाअन्तर्गतको विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला इकाई, कालीमाटीले आर्थिक वर्ष ०७८/७९ मा आयातित तरकारीका ६ सय २५ नमुनामा काब्रामाइट र अर्गानोफोस्पेट विषादीको अवशेष परीक्षण गर्यो । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिमा गरिएको परीक्षणमा ५ वटा नमुना खान अयोग्य देखियो । तिनमा ४५ प्रतिशतभन्दा बढी विषादी भएको भेटियो । ६ वटा नमुनामा ३५ देखि ४५ प्रतिशतसम्म विषादी रहेको पुष्टि भयो । यी सबै तरकारी भारतबाटै आएका थिए । चालु आर्थिक वर्षको फागुन १७ सम्म ३ सय ४९ नमुनामा दुई ग्रुपका विषादीको परीक्षण गरिएको छ । यस क्रममा ३ वटा नमुनामा ३५ देखि ४५ प्रतिशतसम्म विषादी रहेको देखियो । ती तरकारी पनि भारतबाटै आयात भएका थिए ।
विषादी अवशेष द्रुत विश्लेषणको तीन तहमा हेरिने बाली संरक्षण अधिकृत विवेक सुनार बताउँछन् । विषादी अवशेष द्रुत विश्लेषण गर्दा ३५ प्रतिशत इनिमेसन रेट भएका तरकारीलाई ग्रिन सिग्नल मान्न सकिन्छ । उक्त तरकारी उपभोग योग्य हुन्छन् । ३५ देखि ४५ प्रतिशतसम्म इनिमेसन रेट भएका खाद्यवस्तु खान अयोग्य भए पनि केही समय भण्डारणमा राख्दा इनिमेसन रेट कम भए उपभोग गर्न मिल्छ । ४५ प्रतिशतभन्दा माथि इनिमेसन रेट भएका तरकारी भने भने पूर्णतः अखाद्य हुने जनाएको छ । ३५ प्रतिशतसम्मलाई हरियो, ३५ देखि ४५ प्रतिशतलाई पहेंलो र ४५ भन्दा बढीलाई रातो नम्बरको संकेत दिइएको छ ।
उल्लिखित उदाहरण केही उदाहरणले पनि सीमा नाकामा विषादी परीक्षण नाम मात्रैको भएको पुष्टि हुन्छ । ‘खाद्य प्रविधिले नाकामा परीक्षण गर्ने क्रममा विषादी पुष्टि नभए आयात अनुमति दिन्छ । तर त्यताबाट छुटेका तरकारी कालीमाटीमा परीक्षण गर्दा विषादी भेटिन्छ,’ केन्द्रीय कृषि प्रयोगशालाका एक अधिकारीले भने, ‘यही घटनाले पनि नाकामा हुने परीक्षणको दुर्दशा देखाउँछ ।’ भारत र नेपालमा नियोनोकोटिनाइट ग्रुप र फंगीसाइट विषादी बढी प्रयोग हुन्छन् । तर अहिलेको आरबीपीआर परीक्षणले ती विषादीको मात्रा पत्ता लगाउन सक्दैन । व्यापारी र सरकारी कर्मचारीको मिलेमतोमा कतिपय तरकारी यत्तिकै आयात गरिने ती अधिकारी बताउँछन् । ‘व्यापारीहरूले धेरै तरकारी आयात गरेका हुन्छन्, सबै लटको परीक्षण सम्भव पनि हुँदैन । त्यसैले नाकाबाट स्वीकृत भई आएको तरकारी यहाँ परीक्षण गर्दा विषादी भेटिने गरेको हो,’ कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका एक अधिकारीले भने, ‘कतिपय परीक्षण नै नगरी भित्रबाट पनि छिराइन्छ ।’
नेपाल राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्षमा १६ अर्ब ९६ करोड १३ लाख रुपैयाँको तरकारी भारतबाट भित्र्याइएको थियो । चालु आर्थिक वर्षको पहिलो ६ महिनामा ९ अर्ब ६६ करोड ३० लाख रुपैयाँको तरकारी आयात भइसकेको छ । उपत्यकाका लागि कालीमाटी तरकारी बजारमा प्रतिदिन करिब ८ सय टन तरकारी भित्रिने गरेको समितिको तथ्यांक छ । आठ सय टनले उपत्यकाको मागको करिब ७५ प्रतिशत धान्छ । कालीमाटी तरकारी बजारमा भित्रिने तरकारीमध्ये करिब ४५ प्रतिशत भारतबाटै आउँछ ।
भारतकै केही ठाउँमा काब्रामाइट र अर्गानोफोस्पेट प्रयोगमा बन्देज गरिएको केन्द्रीय कृषि प्रयोगशालाका वरिष्ठ बाली संरक्षण अधिकृत राजीवदास राजभण्डारीले जनाए । तर नेपालमा यी दुई ग्रुपको मात्रै परीक्षण हुन्छ । ‘दुई ग्रुपको परीक्षण गर्दा पनि विषादी भेटिएकै हुन्छ, गोलभेंडा, काउली र सिमीमा विषादी देखिने गरेको छ,’ उनले भने । किसानले विषादी प्रयोग गर्दा मात्रामा पहिचान नै गर्दैनन् । अनुमानका भरमा विषादी प्रयोग हुन्छ ।
विषादीको प्रयोग गर्दा ध्यान नदिने, धेरै पटक विषादी हाल्ने, विषादीको डोज बढी प्रयोग गर्दा इनिमेसन रेट बढ्छ । विषादी प्रयोग भएको तरकारी सेवनले तीन तहको असर हुने गरेको जानकार बताउँछन् । पहिलो चरणअन्तर्गत थोकेको महसुस हुने, टाउको दुख्ने, स्वाँस्वाँ हुने, रिंगटा लाग्ने, हात लाटो हुने जस्ता लक्षण देखिन्छ । दोस्रो तहमा बान्ता हुने, छाती दुख्ने, गाह्रो हुने, वाकवाक आउने, पेट दुख्ने, पखाला लाग्नेलगायत समस्या हुने प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रले जनाएको छ । तेस्रो तहसम्म आइपुग्दा पक्षपात आक्रमण, मूर्च्छासमेत पर्ने केन्द्रको भनाइ छ । दीर्घकालीन रूपमा क्यान्सर, मुटु रोगीसमेत हुने जोखिम रहेको विज्ञ बताउँछन् ।
मन्द विष खाँदै उपभोक्ता
मन्द विष खाँदै उपभोक्ता
"सीमामा २ विषादीको मात्रै परीक्षण "
- अ
- अ
- अ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस

