महोत्तरी — केही समय प्रेम सम्बन्ध, त्यसपछि विवाह । महोत्तरीको औरही–१ की २१ वर्षीया नेहा चौधरी र रामगोपालपुर–५ का पंकज चौधरीको गत फागुन २५ मा विवाह भएको थियो । ७ महिनापछि नेहाले गत कात्तिक २५ मा फेसबुकमार्फत दाइजोका नाममा श्रीमान् र परिवारका अन्य सदस्यले आफूमाथि हिंसा गरिरहेको विवरण सार्वजनिक गरिन् ।
काठमाडौंको प्रतिष्ठित अस्पतालमा कार्यरत् चिकित्सक पतिले आफूलाई घरमै छाडेको र काठमाडौंमा सँगै राख्न अनुरोध गर्दा दाइजोमा घर माग्दै हिंसा गरेको उनको भनाइ थियो । त्यसपछि बढ्दै गएको विवादका कारण नेहा अहिले महोत्तरी जिल्ला अदालतमा एकैपटक पाँचवटा मुद्दा लडिरहेकी छन् ।
नेहाले श्रीमान् पंकज र परिवारका सदस्यविरुद्ध चारवटा मुद्दा (घरेलु हिंसा, दाइजो, मानाचामल र अंश) हालेकी छन् भने उनका श्रीमान्ले सम्बन्ध विच्छेदको मुद्दा दायर गरेका छन् ।
आफूलाई हिंसा गर्दै घरबाट समेत निकाला गरिएको नेहाको दाबी सुनेपछि महोत्तरी जिल्ला अदालतले गत मंसिर २६ मा उनका पक्षमा चारबुँदे ‘अन्तरिम संरक्षणात्मक आदेश’ जारी गरेको छ । आदेशमा भनिएको छ, ‘कुनै पनि माध्यमबाट अपशब्द प्रयोग गरी गालीगलौज तथा बेइज्जती नगर्नू, कुटपिट, जीउज्यानमा असर पुग्ने कुनै कार्य नगर्नू र धम्कीसमेत नदिनू, कुनै पनि प्रकारको शारीरिक तथा मानसिक यातना नदिनू र इज्जत आमदअनुसार खान/लगाउन दिनुका साथै स–सम्मान आफ्नो घरमा सुरक्षित साथ बस्न दिनू ।’
नेहा अदालतको यस्तो आदेश लिएर मंसिर २९ मा रामगोपालपुर पुगिन् । नेहालाई सुरक्षित साथ घरमा बस्न दिन माग गर्दै स्थानीय विद्यालयका विद्यार्थीले स्वस्फूर्त जुलुस निकाले, जुलुसमा अरू पनि मिसिए । नेहाका श्रीमान् र परिवारका सदस्यलाई पक्राउ गर्न माग गर्दै निस्केको जुलुसमा प्रहरीले हवाई फायर गर्यो । त्यसपछि जुलुसका सहभागीले टायर बालेर सडक अवरुद्ध गरे, नगरपालिका कार्यालयमा पनि तोडफोड भयो । रामगोपालपुरमा नेहालाई घर छिर्न र सुरक्षित साथ बस्न दिन माग गर्ने समूहमा जनकपुरकी निहारिका राजपुत पनि थिइन् ।
निहारिका आफूलाई धनुषाका शिव श्रेष्ठले बलात्कार गरेको भन्दै न्यायका लागि लडिरहेकी छन् । बलात्कारपछि जन्मेको सन्तान बोकेर एक्लै लडिरहेकी उनी यसअघि काठमाडौंमा अनशन बसेकी थिइन् । प्रहरीले मंसिर २९ को साँझ नेहा र निहारिकालाई पक्राउ गरी हिरासतमा राख्यो ।
पुस १ को बिहान हिरासत कक्षमा भेट्न पुगेका मधेस प्रदेश सांसद सरोज यादव र पूर्वप्रदेश सांसद रिना यादवलाई नेहा र निहारिका दुवैले एक स्वरमा सोधे– ‘हामी किन थुनामा छौं ? हाम्रो अपराध के हो ? हामी पीडितलाई थुन्ने तर जसले हिंसा गरेको छ उनीहरूलाई छाड्ने प्रहरीलाई तपाईं जनप्रतिनिधिहरूले किन केही भन्नुहुन्न ? हामीमाथि हिंसा गर्नेहरू कहिले पक्राउ पर्छन् ?’
वर्तमान र पूर्व दुवै जनप्रतिनिधिसँग मधेसका यी दुई छोरीले गरिरहेका प्रश्नको जवाफ थिएन । नेहा थुनामा रहेका बखत महोत्तरीको औरही–१ बजारटोलमा रहेकी उनकी आमा बिन्दादेवीको मनमा भने निराशा, डर र आक्रोशको आँधी चलिरहेको थियो । उनले कसरी छोरीको बिहे गरिदिएकी थिएँ भन्नेदेखि त्यसपछिका ९ महिनामा नेहाले भोगेको ज्यादती र न्याय माग्दा उल्टै थुनामा पर्नुपरेको अवस्थालाई एक शब्द नबोली व्यक्त गरिन्– आँखाबाट बरबरी आँसु चुहाउँदै ।
बिन्दादेवीका चार सन्तानमध्ये नेहा जेठी हुन् । ‘अहिले सुदूरपश्चिमको एउटा पहाडी जिल्लामा सहायक सीडीओ रहेका व्यक्तिका लागि बिहेको प्रस्ताव आएको थियो । तर, उनीहरू (नेहाका श्रीमान्को परिवार) ले नै कर गरेपछि हामीले पनि ठिकै छ भनेर बिहे गरिदियौं,’ बिन्दादेवीले ९ महिनाअघिको घटना सम्झिइन्, ‘बिहेको कुरा टुंगिनुअघि नै छोरीका ससुराले मेरो जेठो छोराको बिहेमा २५ लाख दाइजो लिएको छु, यो छोरा एमबीबीएस पढ्दा भएको सबै खर्च चाहिन्छ भन्न थाले । हामीले एनआईसी एसिया बैंकबाट ऋण लिएर सकेजति गर्यौं । बिहेको केही समयपछि छोरीले दुःख पाउन थाली । अहिले भर्खरै त्यही ऋणको कुरा गर्न बैंकका कर्मचारी घर आएका थिए । हामी भित्रैबाट टुटिसकेका छौं । अब त छोरीको सुरक्षाको मात्र चिन्ता छ ।’
एकातर्फ नेहाकी आमा यस्तो दुःखमा पिल्सिएकी छन्, अर्कातर्फ छोरी नेहाले गरिरहेको यो विद्रोहले दाइजोलगायत घरेलु हिंसामा पिल्सिरहेको मधेसी समाजमा एक प्रकारको परकम्प ल्याइदिएको छ । गत मंसिर २९ मा रामगोपालपुरमा टायर बालेर सडक अवरुद्ध गरिएको, नगरपालिका कार्यालय तोडफोड भएको र प्रहरीले हवाई फायर गर्नुपरेको घटनाले के देखाउँछ भने नेहाले हिंसा नसहन गरेको प्रतिवाद मधेसमा सुरक्षा निकायका लागि समेत टाउको दुखाइको विषय बनेको छ । धनुषा र महोत्तरीका प्रहरी अधिकृतहरू अनौपचारिक कुराकानीका क्रममा नेहा र निहारिकाका कारण ‘निकै टेन्सन थपिएको’ बताउँछन् ।
दाइजोको दलन
कोहीसँग पनि नडराई जुधिरहेका नेहा–निहारिकाका कारण मधेसका राजनीतिज्ञसमेतलाई ‘तनाव’ भएको छ । नेहा–निहारिकालाई भेट्न गएका प्रदेश सांसद यादवले पुस १ को बिहान हिरासतमै दुवैलाई ‘घटनालाई अनावश्यक रूपमा चर्काउनभन्दा प्रक्रियागत रूपमा समाधान खोज्न’ आग्रह गरेका थिए । उनको आग्रह भुइँमा खस्न नपाउँदै नेहा–निहारिकाले एक स्वरमा जवाफ फर्काए, ‘तपाईं यो कुरा हामीलाई किन भन्दै हुनुहुन्छ ? प्रक्रियाअनुसार आरोपितलाई पक्रेर मुद्दा चलाउन प्रहरीलाई भन्नुहोस् न ।’
पुस १ मा थुनामुक्त भएपछि नेहा रामगोपालपुरस्थित आफ्नै घर बसिरहेकी छन् । उनका श्रीमान् पंकज प्रहरी थुनामा छन् भने सासू–ससुरा फरार छन् । दाइजो र घरेलु हिंसाविरुद्ध नेहाको यो विद्रोह मधेसमा बदलिँदो लैंगिक सम्बन्ध चियाउने एउटा आँखीझ्याल हो ।
मधेसी समाजको मूल चरित्र लैंगिक रूपमा पुरुष प्रधान, जातीय रूपमा श्रेणीगत र वर्गीय रूपमा सामन्तवादी रहँदै आएको छ । यस्तो समाजमा पछिल्लो समय बढ्दो शिक्षा, देश–विदेशको ‘एक्स्पोपजर’, रोजगारी जस्ता कारणले अन्य सम्बन्ध जस्तै लैंगिक सम्बन्ध पनि बदलिँदो छ । नेहा त्यसको एउटा उदाहरण मात्र हुन् । यही सूचीमा महोत्तरी, जलेश्वरकी निहारिका राजपुत भनिने सोनालीकुमारी सिंह पनि पर्छिन् ।
आफूमाथि बलात्कार भएको र न्याय नपाएको भन्दै काठमाडौंमा पटक–पटक अनशन बसिसकेकी निहारिकाले केही समयअघि राष्ट्रपति कार्यालय शीतल निवास अगाडि आत्मदाहको प्रयास गरेकी थिइन् । अहिले मधेसका विभिन्न जिल्लामा भइरहेका हिंसाका घटनामा उनले आफूलाई पीडितका पक्षमा उभ्याइरहेकी छन् । गत पुस १ मा जलेश्वरस्थित प्रहरी हिरासतमा आफ्नो नाबालक सन्तानसँगै रहेकी उनले ‘पीडितको न्यायका लागि आफू जहिलेसुकै जहाँ पनि जान तयार रहेको’ बताइन् । नेहाको घरफिर्ती अभियानमा साथ दिन आफू जनकपुरबाट महोत्तरी आएका बखत पक्राउ परेको र बच्चालाई समेत थुनामा राखिएको उनले सुनाइन् । ‘जेलमा राखेर थकाउन खोजेका छन् । तर, म थाक्नेवाला छैन,’ थुनामै रहेका बेला उनले भनेकी थिइन ।
नेहा–निहारिकाको यो पहल दाइजोलगायत हिंसामा पिल्सिएका मधेसका छोरी–बुहारीको विद्रोह हो । तर, अवस्था सधैं यस्तो थिएन । केही वर्षअघि दाइजो नल्याएको निहुँमा धनुषाको जनकपुर–१० स्थित आफ्नै घरमा रूपा कर्णलाई झुन्ड्याएर मारिएको थियो । रूपाकी आमा अनिला कर्णलाई हिजैजस्तो लाग्ने त्यो घटना भएको १३ वर्ष बितिसकेको छ । २०६६ पुस २८ मा छोरी गुमाएका अनिला–अरुणकुमार दम्पतीले अहिलेसम्म न्याय पाएका छैनन् ।
रूपालाई झुन्ड्याएर आत्महत्याको रूप दिन खोजिएको थियो । रूपाकी आमा अनिलाले रूपाका श्रीमान् सतिशलाल कर्ण, ससुरा काव्यनारायण लाल कर्ण, सासू वीणादेवी कर्ण, देवर मनीषलाल कर्ण र देउरानी सीमाकुमारी कर्णविरुद्ध जाहेरी दिएकी थिइन् ।
‘बिहेमा दुई लाख नगद, मोटरसाइकल, चार तोला सुन, ३२ तोला चाँदी र पलङ दिएका थियौं । टीभी दिन सकेका थिएनौं । त्यही नल्याएकी भनेर सधैं यातना दिँदा रहेछन् । छोरीले हामीलाई केही भनेकी थिइनन्, साथीहरूलाई भनेकी रहिछन्,’ अनिलाले भनिन्, ‘पुस २६ गते मलाई आजै टीभी चाहियो भन्न आएका थिए । हामीले अहिले सक्दैनौं । केही समय पर्खनू भनेका थियौं । तर, अर्को दिन बिहानै ४ बजे छोरी सिकिस्त छ भनेर बोलाए । जाँदा त आत्महत्या गरेको भन्ने मुचुल्का नै तयार पारिसकेका रहेछन् ।’
रूपाका बाआमाले आत्महत्या भएको विश्वासै गरेनन् । प्रहरीमा जाहेरी दिए । पुनः अनुसन्धान भयो । परिवारका अन्य सदस्य फरार रहे पनि रूपाका ससुरा हाजिर भए । २०६९ असार १४ मा धनुषा जिल्ला अदालतले फैसला गर्यो, ‘दाइजोको विषयमा बारम्बार यातना दिने गरेको र माइती पक्षबाट थप दाइजो नल्याएको कारण कर्तव्य गरी मारेको तथ्य पुष्टि हुन आयो ।’ दाइजोका कारण हत्या गरिएको पुष्टि भए पनि हाजिर हुन पुगेका रूपाका ससुरा काव्यनारायण लाल कर्णलाई तीन वर्ष मात्र कैद सजाय भयो ।
परिवारका अन्य सदस्य फरार नै थिए, काव्यनारायणले तत्कालीन पुनरावेदन अदालतमा पुनरावेदन गरे । जिल्लाकै आदेश सदर भयो, त्यसपछि उनी सर्वोच्च पुगे । सर्वोच्च अदालतले मुद्दाको फैसला नगर्दै प्रजातन्त्र दिवसको उपलक्ष्यमा राष्ट्रपतिमार्फत सजाय माफी पाएर उनी छुटे । त्यसपछि उनले सर्वोच्चमा दिएको पुनरावेदनको निवेदन पनि फिर्ता लिए । २०७२ चैत १९ मा न्यायाधीशहरू दीपकराज जोशी र जगदीश शर्मा पौडेलले निवेदन फिर्ता लिन मिल्ने आदेश दिएका थिए ।
रूपाका ससुरा पूरै अवधि कैद नबसी छुटे । फरार रहेका उनका श्रीमान् सतिश अहिलेसम्म पनि पक्राउ परेका छैनन् । रूपाकी आमा अनिलाले सतिस भारतमा लुकेर बसेको र उतै बिहे गरी सन्तानसमेत जन्माइसकेको सुनेको बताउँछिन् । ‘ऊ भारतबाट आउजाउ गरेको सुनेपछि प्रहरीलाई खबर गर्छौं, तर पक्राउ पर्दैन । यहाँ गरिबलाई न्याय छैन । पैसावाललाई मात्रै छ,’ उनी भन्छिन् ।
रूपाकी आमा अनिलाले हिंसाविरुद्ध लडिरहेका नेहा–निहारिकाको कथा टीभीमा हेरेकी छन् । रेडियोमा सुनिरहेकी छन् । उनी भन्छिन्, ‘ती नानीहरूले दुःख पाइरहेको देख्दा मेरै छोरी रूपालाई झलझली सम्झन्छु । रूपा सारा यातना सहेर गई । तर, यी नानीहरू लडिरहेका छन् । उनीहरूलाई मेरो आशीर्वाद छ ।’
प्रकाशित : पुस १३, २०७९

