काठमाडौं – वीर अस्पतालमा प्रत्यारोपणका लागि अयोग्य मिर्गौला झिकिएको विषयमा पीडित पक्षले मन्त्रीस्तरीय छानबिन समिति गठनको माग गरेका छन् । धादिङ गल्छी गाउँपालिकाकी ३२ वर्षीया चमेली गैरेलाई उनकी ५८ वर्षीया सासू मिर्गौला दिन तयार भएपछि प्रत्यारोपण गर्न कात्तिक १ मा सासूको मिर्गौला निकालिएको थियो । दुवैको स्वास्थ्य परीक्षणमा प्रत्यारोपण गर्न योग्य देखिएपछि कानुनी प्रक्रिया पनि पूरा गरिएको थियो । तर, शल्यक्रिया टिमले झिकिएको मिर्गौलामा खराबी देखिएको भन्दै प्रत्यारोपण गर्न नमिल्ने बतायो । यही विषयलाई लिएर बिरामीका आफन्त स्वास्थ्य मन्त्रालयले उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने माग राख्दै आइरहेका छन् ।
चमेलीका श्रीमान् जितबहादुरले घटना थामथुम पार्ने प्रयास गरेपछि वीर प्रशासनले गठन गरेको छानबिन समितिमा आफूहरू नबसेको बताए । ‘घटनाको सत्यतथ्य छानबिन गरी दोषीमाथि कडा कारबाही गराउन मन्त्रीस्तरीय छानबिन समिति गठन गर्नुपर्छ,’ उनले भने, ‘ताकि यस्तो चिकित्सकीय लापरबाही फेरि नदोहोरियोस् ।’ अस्पताल प्रशासनले बुधबार घटना अध्ययन गर्न सात सदस्यीय छानबिन समिति गठन गरेको थियो । समितिले निष्कर्ष भने निकालेको छैन । स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोखरेलले मन्त्रालयले छानबिन गर्ने नभई नेपाल मेडिकल काउन्सिलले गर्नुपर्ने बताए । ‘मन्त्रालयमा निवेदन पनि परेको छैन । परे पनि काउन्सिललाई जिम्मा दिने हो,’ उनले भने ।
काउन्सिलका अध्यक्ष डा. भगवान कोइरालाले छानबिनका लागि कतैबाट निवेदन प्राप्त भइनसकेको बताए । ‘प्रत्यारोपण गर्न योग्य भएको रिपोर्ट प्राप्त भइसकेपछि मिर्गौला झिक्नुअघि खराबी थियो या थिएन भन्ने कुरा चिकित्सकलाई पहिल्यै थाहा हुनुपर्ने हो होइन ? यो मुख्य कुरा रहेको छ,’ उनले भने ।
चमेलीलाई हाल वीरको सर्जिकल भवनको मिर्गौला प्रत्यारोपण वार्डमा राखिएको छ । पेटमा प्रत्यारोपण गर्न चिरिएको घाउका कारण उनी मुस्किलले शौचालयसम्म पुग्छिन् । ‘समस्याबारे पहिला केही पनि बताइएन, मिर्गौला एकदम राम्रो छ भन्नुभयो,’ उनले भनिन्, ‘अहिले मिर्गौला खेर गयो । अब प्रत्यारोपण गर्न कसलाई हारगुहार गर्ने ?’ उनले सातामा दुई पटक डायलसिस गराउनुपर्छ । उनले नौ महिनादेखि डायलसिस गराउँदै आएकी थिइन् । सासूआमालाई पनि वीरको मिर्गौला प्रत्यारोपण वार्डमा राखिएको छ ।
प्रत्यारोपणमा संलग्न चिकित्सकहरूले मिर्गौलामा भेन ब्लक र अरू मसिना नसा पनि पलाएको बताएका थिए । कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पतालका निमित्त प्रमुख प्रशासकीय अधिकारी डा. भूपेन्द्रकुमार बस्नेतले छानबिन गर्न नेपाल मेडिकल काउन्सिललाई अनुरोध गरिसकेको दाबी गरे । ‘अस्पतालले गरेको छानबिनपछि काउन्सिललाई देखाउनैपर्छ । दोहोरो हुने भएकाले सुरुमै काउन्सिलाई दिने निर्णयमा पुगेका छौं,’ उनले भने, ‘मिर्गौला खेर गएकामा दुःख लागेको छ ।’
बिहीबार वीर अस्पताल र बिरामी पक्षबीच तीनबुँदे सहमति भएको छ । मिर्गौला प्रत्यारोपणमा लागेको खर्च, अब लाग्ने उपचार खर्च शोधभर्ना दिने र छानबिन गर्ने सहमतिमा उल्लेख छ । उनीहरूले ५ लाख सरकारले व्यहोर्ने र ७ लाख बिरामी आफैंले
बेहोर्ने गरी १२ लाख रुपैयाँमा प्रत्यारोपण गर्न लागेका थिए । मिर्गौला प्रत्यारोपण टिममा युरो सर्जन डा.अनिल श्रेष्ठ र डा. पारसमणि श्रेष्ठलगायत थिए । डा. अनिलका अनुसार प्रत्यारोपण गर्नुअघि योग्य छ/भन्ने जाँच अन्य चिकित्सकले गर्छन् । ‘हामीले नसा ठीक छ/छैन चेक गरेर प्रत्यारोपण मात्र गर्ने हो । दुर्भाग्य, रिपोर्ट योग्य आए पनि प्रत्यारोपण गर्ने क्रममा मिर्गौलाको भेन ब्लक र अरू मसिनो नसा पनि पलाएको देखियो,’ उनले भने, ‘यस्तो अवस्थामा मिर्गौला प्रत्यारोपण नमिल्ने होइन । तर, बिरामीको ज्यानै जान सक्ने खतरा हुन्छ । ज्यानभन्दा ठूलो अरू केही होइन भनेर प्रत्यारोपण नगरेको हो ।’ साभार ः कान्तिपुर, २०७९,कात्तिक १२ ।
‘अयोग्य’ मिर्गौला झिकिएपछि पीडित तनावमा
‘अयोग्य’ मिर्गौला झिकिएपछि पीडित तनावमा
- अ
- अ
- अ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस

