ज्वरो आउने, टाउको दुख्ने भएपछि रुकुम पूर्वका ५९ वर्षीय सेतानन्द जैसी चार दिनपछि जिल्ला अस्पताल पुगे । परीक्षणबाट डेंगु संक्रमण पुष्टि भयो । दुई रात तीन दिनको अस्पताल बसाइपछि घर फर्किएका उनलाई अहिले पनि हिँडडुल गर्दा रिंगटा लाग्छ । ‘यसले ज्यान धेरै दुख्ने रहेछ,’ उनले भने, ‘शरीर निकै गलाएको छ ।’
गुल्मीको रेसुंगा–५ का सुदीप ढकाल पनि बेड रेस्टमा छन् । डेंगु संक्रमणपछि उनलाई १ सय ४ डिग्रीसम्म जरो आयो । अहिले पनि सहज तरिकाले बस्न नसकेकाले बिस्तरामा पल्टिएर दिन बिताउने गरेको उनले सुनाए ।
यसअघि तराईका जिल्लामा धेरै फैलिने डेंगु संक्रमण पछिल्लो समय पहाडसम्म पुगेको छ । लुम्बिनी प्रदेशका गुल्मी, रुकुम पूर्व, अर्घाखाँची, रोल्पा र प्यूठानमा डेंगुका बिरामी बढिरहेका छन् । यहाँस्थित स्वास्थ्य निर्देशनालयको तथ्यांक अनुसार प्रदेशका १२ वटै जिल्लामा डेंगुका बिरामी छन् । पछिल्लो ६ महिनाको तथ्यांकअनुसार पहाडी जिल्लामध्ये पाल्पामा सबैभन्दा धेरै ५८ जनामा डेंगु संक्रमण देखिएको छ । अर्घाखाँचीमा २५ जना संक्रमित फेला परेको तथ्यांक अधिकृत मानबहादुर वलीले बताए । गुल्मीमा ६ महिनामा १७ जना बिरामी परे भने रोल्पा, रुकुम पूर्व र प्यूठानमा महिनामा सरदर तीन जनासम्म बिरामी भेटिएका छन् ।
पहाडी तथा हिमाली जिल्लामा पनि लामखुट्टे रहेकाले डेंगुको जोखिम बढेको रुकुम पूर्व अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. पूर्णबहादुर पुनले बताए । उनका अनुसार अस्पतालमा प्रतिदिन २० जनासम्म डेंगुका लक्षण भएका बिरामी आउने गरेका छन् । ‘हामीसँग डेंगु किट अभाव छ,’ उनले भने, ‘सयवटा आएका किट सबै सकिए, अहिले लक्षणका आधारमा सामान्य औषधि दिएर घर पठाउने काम भइरहेको छ ।’ गम्भीर खाले बिरामी भने उपचारका लागि बुटवलसम्म पुग्ने गरेका छन् ।
किट पर्याप्त भएर जाँच्ने हो भने पहाड र तराई जताततै डेंगु देखिने डा. प्रकाश श्रेष्ठ बताउँछन् । ‘यहाँ रुघा, ज्वरो सामान्य भए जाँच नै हुँदैन,’ उनले भने, ‘८५ प्रतिशत बिरामीमा लक्षण गम्भीर नहुनाले डेंगु भए/नभएको वास्ता नभएको हो ।’ बिरामीको ट्राभल हिस्ट्री हेर्दा गाडीमा यात्रा गर्दागर्दै डेंगु लागेर जचाउन आएको समेत भेटेको उनले बताए । ‘पहाडी बस्तीका मानिस तराई पुगेर फर्कंदा डेंगुको पहिलो भाइरसले छोइसकेको हुन्छ,’ उनले भने, ‘त्यसैले नयाँ मानिसलाई संक्रमण गराउन समय धेरै लाग्दैन ।’ लुम्बिनी प्रदेशका तराईका जिल्लामध्ये रूपन्देहीमा सबैभन्दा धेरै ६ सय ९९ जना डेंगु संक्रमित छन् । लुम्बिनी प्रादेशिक अस्पताल, युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज, भीम अस्पताललगायतमा डेंगुका बिरामी उपचाररत छन् । त्यस्तै, बाँके, बर्दिया, दाङमा २० देखि २६ जनासम्म बिरामीलाई डेंगु भएको तथ्यांकमा उल्लेख छ । कपिलवस्तु, पश्चिम नवलपरासीमा भने सबैभन्दा कम ३ देखि ६ जनामा मात्र डेंगु पुष्टि भएको छ ।
कर्णाली र सुदूरमा पनि
डेंगु संक्रमणपछि भेरी उपचारार्थ अस्पताल भर्ना भएका बिरामीमध्ये दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दियाका ८५ वर्षीय पुरुष र कैलाली टीकापुरकी १२ वर्षीया बालिका छन् । भदौ १४ गते र १९ गते भर्ना भएका उनीहरूको बुधबार केही समयको अन्तरमा मृत्यु भएको भेरी अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. बद्री चापागाईंले बताए । त्यसअघि निःसर्ग अस्पतालमा पनि ३५ वर्षीया एक महिलाको मृत्यु भएको थियो । कैलालीको लम्की चुहामा मात्रै २५ जनामा संक्रमण देखिएको छ ।
भेरी अस्पतालमा डोटीकी ५५ वर्षीया महिलाको उपचार भइरहेको छ । चिकित्सकहरूले ती महिलामा रगतको कमी भए पनि स्वास्थ्य अवस्थामा सुधार भइरहेको जनाएका छन् । डेंगुका कारण पश्चिम तराईमा मृत्यु र संक्रमित हुनेको संख्या थपिदै गएपछि संक्रमणले महामारीको रूप लिन सक्ने खतरा बढेको छ । लुम्बिनी, कर्णाली र सुदूपश्चिम प्रदेशका विभिन्न जिल्लाबाट भेरी अस्पतालमा डेंगु संक्रमितहरू आउने गरेका छन् । ज्वरोले थलिएर सिकिस्त भएपछि मात्रै अस्पताल आउनेहरू बढी जोखिममा पर्ने गरेको चिकित्सक बताउँछन् । यस्तै अवस्थाका बिरामीमध्ये बर्दियाका एक र कैलालीका दुईसमेत तीन जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा १२ देखि ८५ वर्ष उमेरसम्मका छन् ।
सुदूरपश्चिको पहाडी जिल्ला डोटीबाट समेत बिरामी आउनुले संक्रमण तराईदेखि पहाडी क्षेत्रसम्म फैलिएको पुष्टि हुन्छ । चिकित्सकले डेंगुका कतिपय बिरामीमा रगतको कमी हुने गरेको बताएका छन् । उपचार गराउन आएका बिरामीका आफन्तले पहाडी तथा ग्रामीण क्षेत्रमा धेरै जना ज्वरो आएर थलिएको तर स्वास्थ्य परीक्षण गर्न अस्पताल नगएको बताए । ‘गाउँमा धेरैलाई ज्वरो आएको छ तर सबै घरमै बसेका छन्,’ शिखर नगरपालिका–११ का बहादुर बोहराले भने, ‘गाउँमा धेरै जना थलिएका छन् । सबैमा डेंगुको जस्तै लक्षण देखिएको छ ।’
धेरै स्थानमा डेंगु सार्ने एडिस एजिप्टी जातका लामखुट्टे र त्यसका लार्भासमेत देखिएकाले संक्रमण अझै बढ्न सक्ने चेतावनी दिँदै स्वास्थ्यकर्मीले सावधानी अपनाउन अपिल गरेका छन् । ‘झुलको प्रयोग गर्ने, टिनका डब्बा, प्लास्टिकका बोतल, टायर, सिसी, ड्रममा जमेको पानी फालेर लामखुट्टेको बासस्थान नष्ट गरे जोगिन सकिन्छ,’ भेरी अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. चापागाईंले भने, ‘एडिस एजिप्टी जातको लामखुट्टेले दिउँसो वा उज्यालो समयमा टोक्दा डेंगु हुने भएकाले जोगिन सकिने उत्तम उपाए सावधानी नै हो ।’ भारत आउजाउका लागि घुइँचो लाग्ने नेपालगन्जको बसपार्क क्षेत्र डेंगु संक्रमणको उच्च जोखिममा छ । स्वास्थ्यकर्मीले डेंगु सार्ने जातको लामखुट्टे र त्यसका लार्भासमेत देखिएपछि बसपार्कसहित नेपालगन्ज–४ लाई खतराको सूचीमा राखेका छन् ।
डेढ लाखभन्दा बढी बासिन्दा रहेको नेपालगन्जको अति व्यस्त क्षेत्र गणेशपुरसहित उपमहानगरपालिकामा चार जनामा डेंगु देखिएको छ । गणेशपुरमा कतै नगएका व्यक्तिमा संक्रमण पुष्टि भएपछि क्रमिक रूपले सबैतिर संक्रमण फैलिन सक्ने भन्दै स्वास्थ्यकर्मीसहितको टोलीले बसपार्कको सीमित क्षेत्रमा लामखुट्टे बस्ने ठाउँ नष्ट गरे पनि उक्त अभियानमा स्थानीयवासीको सक्रियता भने देखिएन । बाँकेमा बिहीबारसम्म १२ जनामा डेंगु देखिएको छ, तीमध्ये तीन जना बर्दियाका हुन् । रोग पहिचानका लागि दुर्गम भेकका अस्पताल तथा स्वास्थ्य केन्द्रमा किट अभाव छ ।
७ जनाको मृत्यु
स्वास्थ्य मन्त्रालयले डेंगु नियन्त्रणका लागि हरेक शनिबार बिहान १० बजे १० मिनेट अभियान चलाउने
– अतुल मिश्र
(काठमाडौं)
हुम्ला र मुस्ताङबाहेक सबै जिल्लामा देखिएको डेंगु संक्रमणबाट हालसम्म सात जनाले ज्यान गुमाएका छन् । तर, स्वास्थ्य सेवा विभागले भने दुई जनाको मृत्युलाई मात्र रेकर्डमा राखेको छ ।
‘दुई जनाको मृत्यु भएको जानकारी हाम्रो रिपोर्टिङ सिस्टममा आइसकेको छ, थप मृत्युबारे अद्यावधिक गर्नेछौं,’ स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का निर्देशक डा. चुमनलाल दासले भने । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. सञ्जयकुमार ठाकुरका अनुसार कैलाली र ललितपुरमा एक–एक जनाको मृत्यु पुष्टि भएको हो ।
ईडीसीडीकै एक विज्ञले भने डेंगुबाट सात जनाको मृत्यु भएको पुष्टि गरे । मृत्यु हुनेमा ६ महिला र १ पुरुष छन् । नेपाल मेडिसिटी अस्पतालमा ३८ वर्षीय पुरुष र ५९ वर्षीया महिला, भेरीमा १२ वर्षीया महिला, नेपालगन्ज मेडिकल कलेजमा २५ र ६० वर्षका महिला, सिभिलमा ४४ वर्षीया महिला र वीर अस्पतालमा ८० वर्षीया महिलाको मृत्यु भएको हो । गत साउनदेखि हालसम्म ६ हजार ७ सय ७ डेंगुको केस देखिएको छ ।
स्वास्थ्य विज्ञहरूले उपत्यकाको ललितपुर र काठमाडौंसहित १५ जिल्लामा संक्रमण महामारीतर्फ विस्तार भइरहेको चेतावनी दिएका छन् । सबैभन्दा बढी संक्रमण ललितपुर, काठमाडौं, रूपन्देही र मकवानपुरमा देखिएको छ । ‘हामी महामारीलाई परिभाषित गर्ने चरणमा छौं । वैज्ञानिक रूपमा भन्नुपर्ने हुँदा यसबारे विश्लेषण भइरहेको छ,’ डा.दासले भने । सन् २०१९ मा १७ हजार ९ सय ९२ केस देखिएकामा ६ जनाको मृत्यु भएको थियो । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा सातायता डेंगु क्लिनिक नै सञ्चालनमा छ । क्लिनिकमा लक्षण लिएर दैनिक आउने करिब दुई सयमध्ये परीक्षण गराउँदा ९० प्रतिशतमा डेंगु देखिएको डा. राजेश साहले बताए ।
यसैबीच, स्वास्थ्य मन्त्रालयले हरेक शनिबार बिहान १० बजे १० मिनेट घरभित्र र बाहिर डेंगु सार्ने लामखुट्टेको लार्भा रहे/नरहेको निरीक्षण गर्न अभियान चलाउने निर्णय गरेको छ । ‘सातामा एक पटक सबैले एक समय घरभित्र र बाहिर डेंगुको लार्भा खोजबिन गरी नष्ट गर्दा संक्रमणको कडी तोडिनेछ,’ मन्त्रालयका प्रवक्ता डा. सञ्जयकुमार ठाकुरले भने, ‘सफा स्थिर पानीमा पार्ने फुलबाट बनेको लामखुट्टेको लार्भा ७ दिनमा वयस्क हुने भएकाले हरेक साता उक्त चेन ब्रेक हुनुपर्छ ।’ साभार : कान्तिपुर

