काठमाडौं : भारतको अपोलो अस्पतालले नेपालमा फोक्सो तथा मुटु प्रत्यारोपणसम्बन्धी अन्तरक्रियात्मक कार्यक्रम सञ्चालन गरेको छ। काठमाडौंको र्याडिसन होटलमा आयोजना गरिएको कार्यक्रममा इन्द्रप्रस्थ अपोलो अस्पतालका पल्मोनोलोजी विभाग, क्रिटिकल केयर एण्ड स्लीप मेडिसिन विभागका वरिष्ठ सल्लाहकार डा एमएस कँवर, अपोलो हस्पिटल, नयाँ दिल्लीका कार्डियक इलेक्ट्रोफिजियोलोजिष्ट र इन्टरभेन्शनल कार्डियोलोजिस्ट, वरिष्ठ सल्लाहकार डा वनिता अरोरा तथा कार्डियोथोरासिक मृटु तथा फोक्सो प्रत्यारोपण शल्यक्रिया विशेषज्ञ डा मुकेश गोयलको सहभागिता थिए। कार्यक्रममा फोक्सो र मुटु रोगका जटिलताहरू र भारतमा उपलब्ध उन्नत स्तरको उपचार मोडेलहरूबारे जानकारी गराइएको थियो।
कार्यक्रममा इन्द्रप्रस्थ अपोलो अस्पतालका पल्मोनोलोजी डा कंवरले फोक्सो प्रत्यारोपण भनेको शल्यक्रिया मात्र नभएको बताए। ‘आइपीएफ, सीओपीडी, एम्फिसेमा, कोविड फाइब्रोसिस, पल्मोनरी हाइपरटेन्सन र अन्य यस्ता विविध अन्तिम चरणको फोक्सो रोगका बिरामीहरूको स्वास्थ्य अवस्थालाई स्थिर राख्दै फोक्सोको प्रत्यारोपण अघि गरिने व्यापक पूर्व तयारी कार्यबाट सुरु हुने प्रक्रिया हो,’ उनले भने।
यसमा फोक्सोको सामान्य पुर्नस्थापना, अधिकतम अक्सिजन थेरापी र सकारात्मक दबाब भेन्टिलेसन समावेश छ। ‘फोक्सो प्रत्यारोपण शल्यक्रिया जटिल छ। यसको जटिलता भनेको शल्यक्रिया पछिको तत्काल र दीर्घकालीन हेरचाह पनि हो। विकसित मुलुकहरुमा दशकौंदेखि लोकप्रिय रहेको फोक्सो प्रत्यारोपण अहिले भारतमा पनि तुलनात्मक परिणामसहित उपलब्ध छ। विभिन्न मुलुकका अन्तर्राष्ट्रिय बिरामीहरू हाल इन्द्रप्रस्थ अपोलो अस्पतालमा हाम्रो निगरानीमा उपचारारर्थ छन्। फोक्सो प्रत्यारोपणको लागि उनीहरु नयाँ दिल्लीस्थित हाम्रो अस्पतालमा पालो पर्खिरहेका छन्, जसमा अधिकांश दुवै फोक्सो प्रत्यारोपणका लागि प्रतीक्षारत छन्,’ डा कँवरले भने।
मृगौला, कलेजो तथा बोनम्यारो प्रत्यारोपणमा एक अग्रणी केन्द्रको रुपमा रहँदै आएको इन्द्रप्रस्थ अपोलो अस्पतालले अब मुटु प्रत्यारोपण पनि सम्पन्न गरेको छ। इन्द्रप्रस्थ अपोलो हस्पिटल, नयाँ दिल्लीका कार्डियक इलेक्ट्रोफिजियोलोजिस्ट र इन्टरभेन्शनल कार्डियोलोजिस्ट, वरिष्ठ सल्लाहकार डा अरोराका अनुसार देब्रे मुटुले काम नगर्ने अधिकांश बिरामीहरूको उच्च मृत्युको कारण या त मुटुको पम्प फेल हुन्छ या अचानक कार्डियक अरेस्ट हुन्छ। यस्तो अवस्थामा सावधानीपूर्वक जाँच गरेपछि कार्डियक रिसिंक्रोनाइजेसन थेरापी उपकरण वा स्वचालित प्रत्यारोपणयोग्य डिफिब्रिलेटर उपकरणहरू प्रत्यारोपण गरेर बिरामीहरूलाई बचाउन सकिन्छ। दुबै उपकरणहरू एउटै उपकरणमा समेत उपलब्ध छन्।
‘तिनीहरूले जीवनको गुणस्तर सुधार गर्छन् र बिरामी लामो समयसम्म बाँच्न सक्छन्। बिरामीहरुमा यी उपकरणहरू राखेपछि उनीहरुलाई प्रत्यारोपणको सूचीबाट हटाइन्छ यद्यपि, यस्ता बिरामीहरूको चयन भने सावधानीपूर्वक गर्नुपर्छ,’ उनले भनिन्।
उनले थपिन, ‘कमजोर मुटु भएका बिरामीहरूमा प्रयोग गरिने अर्को विशेष उपचार प्रक्रिया भनेको फिजियोलोजिकल पेसिङ हो। जहाँ मुटुमा विद्युतीय बाइपास गर्न तल्लो चेम्बरमा लिड राखेर दुवै चेम्बरमा पेसमेकर प्रयोग गरिन्छ। यसले मुटुको कार्यमा व्यापक सुधार गर्छ। यद्यपि, यी सबै उपकरणहरू प्रशिक्षित हातहरूमा हुनुपर्छ।’
त्यस्तै फोक्सो बिरामीका बारेमा जानकारी दिँदै डा गोयलले फोक्सोको दीर्घकालीन बिरामी भएर बाँच्नु निकै कष्टकर तथा खर्चिलो हुने बताए। उपचार विधिको रूपमा फोक्सो प्रत्यारोपणले अन्तिम चरणको फोक्सो रोगबाट पीडित बिरामीको जीवनको गुणस्तर सुधार गर्नसक्ने उनले बताए।
‘फोक्सो प्रत्यारोपणपछि बिरामीहरूले गुणस्तरीय जीवनको आनन्द लिन सक्छन्। प्रविधिको विकासले बिरामी तथा फोक्सो दाता बीचको खाडललाई कम गर्दै लगेको छ। प्रत्यारोपणपछि हुने जटिलताहरूलाई रोक्नसमेत मद्धत गरेको छ। अन्तिम चरणको फोक्सोको रोगका लागि उपलब्ध विशेष सर्जिकल प्रविधिहरूबारे जनतामा चेतना बढ्दै गएका कारण फोक्सोको रोगका कारण हुने मृत्युदर घटाउन विज्ञहरूलाई सहज भएको छ,’ उनले भने।
अमेरिका र बेलायतको दाँजोमा भारतमा मुटु र फोक्सो प्रत्यारोपण १० गुणा कम खर्चमा हुने विज्ञले बताएका थिए । उनीहरुले खर्च कम हुने भएकाले खाडी राष्ट्रसँगै पश्चिमी मुलुकका बिरामीसमेत भारत आउने गरेको जानकारी दिए ।
नयाँदिल्लीस्थित इन्द्रप्रस्थ अपोलो अस्पतालले फोक्सो र मुटु प्रत्यारोपणसम्बन्धी काठमाडौंमा शुक्रबार गरेको अन्तरक्रियाका विज्ञहरूले फोक्सो प्रत्यारोपण गराउनेको दाँजोमा मुटु प्रत्यारोपण गराएकाहरू बढी बाँच्ने गरेको बताए । पछिल्लो समय फोक्सो प्रत्यारोपण गराएकाहरू औसत ७।४ वर्ष र मुटु प्रत्यारोपण गराउनेहरू १३.३ वर्ष बाँच्ने गरेका छन् । फोक्सोभन्दा मुटु प्रत्यारोपणमा सफलताको दर राम्रो देखिएको छ । अपोलोका कार्डियोथोरासिक मुटु तथा फोक्सो प्रत्यारोपण विशेषज्ञ डा. मुकेश गोयलका अनुसार मुटु वातावरणको सम्पर्कमा नआए पनि फोक्सो भने निरन्तर श्वासप्रश्वासको माध्यमले वातावरण, प्रदूषण, जीवाणु आदिको सम्पर्कमा आउने भएकाले यो अंगको प्रत्यारोपणमा सफलताको दर कम देखिएको हो ।
केही समयअघि दुर्लभ कारणबाहेक सामान्यतया अन्तिम चरणको क्रोनिक अब्सट्रक्टिभ पल्मोनरी डिजिज (सीओपीडी) अर्थात् दम भएका बिरामी र फोक्सोको फाइब्रोसिस भएका बिरामीका लागि प्रत्यारोपण आवश्यक हुन्थ्यो । पछिल्लो दिन कोभिडले गर्दा फोक्सोमा देखिने फाइब्रोसिसका केही केसमा फोक्सोको प्रत्यारोपणको आवश्यक देखिएको पल्मोनोलजी विभागका डा. एमएस कुँवर बताउँछन् ।
अन्तिम अवस्थामा पुगेका फोक्सो र मुटुका रोगीमा अंग प्रत्यारोपण नगरिए ६ महिनादेखि १ वर्षसम्ममा मृत्यु हुन सक्ने डा. गोयलको भनाइ छ । ६०–६५ वर्षभन्दा कम उमेरमा मुटु प्रत्यारोपण र ६५–७० भन्दा कम उमेरमा फोक्सो प्रत्यारोपण उपयुक्त देखिने विज्ञको भनाइ छ । मुटुको कार्यक्षमता ६० प्रतिशतभन्दा कम हुँदै गएमा यो फेल हुँदै गएको बुझ्नुपर्छ । ‘फेल भएका बिरामीमा मुटुले ३५ प्रतिशतभन्दा कम काम गर्छ,’ इलेक्ट्रोफिजियोलजिस्ट र इन्टरभेन्सनल कार्डियोलजिस्ट डा. बनिता अरोराले भनिन्, ‘यस्ता बिरामीलाई विभिन्न परीक्षण गरेर पेसमेकरजस्ता यन्त्र छातीमा प्रत्यारोपण गर्न सकिन्छ ।’ ३०–३५ प्रतिशत मुटुको कार्यक्षमता भएका बिरामी ब्रस गर्न जाँदा, ओछ्यानबाट उठेर हिँड्दासमेत स्वाँस्वाँ गरिरहेका हुन्छन् । यस्ता बिरामीलाई तीनवटा तार भएको पेसमेकर लगाइने उनले बताइन् । ‘६ महिनादेखि वर्ष दिनसम्म मुटुको कार्यक्षमता राम्रो भइहाल्छ । ४५ प्रतिशत वा योभन्दा बढी पुग्न सक्छ,’ उनले भनिन् ।
कतिपय बिरामीमा सामान्य मुटुको क्षमता फिर्ता आउँदैन । यस्ता बिरामीमा ‘सडन कार्डियाक एरेस्ट’ अर्थात् एक्कासि मुटु बन्द हुने समस्या देखिन सक्ने डा. अरोरा बताउँछिन् । ‘हालै भारतीय गायक केकेले गीत गाउँदा–गाउँदै र केही वर्षअघि पूर्वराष्ट्रपति अब्दुल कलामले भाषण दिँदादिँदै सडन कार्डियाक एरेस्ट भएको थियो,’ उनले भनिन्, ‘यस्ता समस्या भएकालाई एउटा तार भएको आईसीडी (इम्प्लान्टेबल कार्डियोभर्टर डिफिब्रिलेटर) प्रत्यारोपण गरिन्छ । जसले मुटुको हरेक चाल अनुगमन गर्छ, असामान्य चाल हुँदा बिजुलीको झड्का दिएर सामान्य चाल बनाउँछ ।’ एक्कासि मुटु बन्द भएमा छातीमा सामान्य आईसीडी राखेर ज्यान जोगाउन सकिने उनले बताइन् ।प्रत्यारोपणमा नेपालीलाई करिब ७६ हजार अमेरिकी डलर खर्च हुने अपोलोले जनाएको छ । अपोलोमा ८ वर्षयता १ सय ९६ वटा फोक्सो प्रत्यारोपण र १५ वर्षको अवधिमा ९० वटा मुटु प्रत्यारोपण भएको छ ।
अपोलो अस्पताल भारतको पहिलो जेसिआइ मान्यता प्राप्त अस्पताल हो। सन् १९९६ जुलाईमा सुरु गरिएको यो स्वास्थ्य संस्था दिल्ली सरकार र अपोलो अस्पताल इन्टरप्राइज लिमिटेडबीचको संयुक्त उद्यम हो। अपोलो अस्पताल समूहद्वारा स्थापित यो तेस्रो सुपर स्पेशियालिटी केयर अस्पताल हो।
१५ एकड क्षेत्रमा फैलिएको यो अस्पतालमा ३०० भन्दा बढी विशेषज्ञ र ७०० भन्दा बढी अपरेशनल बेड, १९ अपरेशन थिएटर, १३८ आइसीयु बेड, चौबीसै घण्टा फार्मेसी, एनएबीएल मान्यता प्राप्त प्रयोगशालाहरू २४ सै घन्टा आपतकालीन सेवाहरू र एक सक्रिय एयर एम्बुलेन्ससहित ५७ विशेषताहरू छन्।

