काठमाडौं , जीडीपीमा कृषि क्षेत्रको योगदान २३.९५ प्रतिशत र गैरकृषि क्षेत्रको योगदान ७६.०५ प्रतिशत बराबर छ । गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्ष कृषि क्षेत्र २.४४ प्रतिशत र गैरकृषि क्षेत्र ६.८८ प्रतिशत बढ्ने अनुमान छ । त्यस्तै थोक तथा खुद्रा व्यापार, मोटरगाडी तथा त्यसको मर्मतसम्भारसम्बन्धी क्षेत्रको जीडीपीमा योगदान १६.४० प्रतिशत बराबर छ । घरजग्गा क्षेत्रले ८.७९, शिक्षा क्षेत्रले ८.१०, सार्वजनिक प्रशासन तथा सामाजिक सुरक्षाका क्षेत्रले ७.७३, वित्तीय तथा बिमासम्बन्धी क्रियाकलापले ६.८६, निर्माण क्षेत्रले ६.१७, औद्योगिक उत्पादनले ५.६५ र यातायात तथा भण्डारण क्षेत्रले ५.९८ प्रतिशत योगदान गरेका छन् । जीडीपीमा सूचना तथा सञ्चार क्षेत्रले २.०९, आवास तथा भोजनसम्बन्धी क्रियाकलायले १.६५, विद्युत् तथा ग्यासले १.३७, स्वास्थ्य क्षेत्रले १.७९, कला तथा मनोरञ्जन क्षेत्रले ०.६१ र पेसागत तथा वैज्ञानिक क्रियाकलापले ०.९९ प्रतिशत योगदान गरेका छन् ।
द्वितीय क्षेत्रका रूपमा रहेको उद्योग, विद्युत्, ग्यास, पानी आपूर्ति, खानेपानीलगायत क्षेत्रले चालु आर्थिक वर्षको जीडीपीमा १३.७ प्रतिशत योगदान पुर्याउने अनुमान गरिएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा यस वर्ष द्वितीय क्षेत्र १०.२९ प्रतिशत वृद्धि हुने अनुमान गरिएको छ । माथिल्लो तामाकोसी जलविद्युत् आयोजना निर्माण सम्पन्न हुनु र निर्माण कार्यमा वृद्धि हुनुलाई यस क्षेत्रको योगदान बढ्नुमा कारण मानिएको छ ।
अहिले जीडीपीमा कृषि र उद्योग क्षेत्रको योगदान घटिरहेको छ । सेवा क्षेत्रको योगदान भने निरन्तर बढिरहेको छ । नेपालले उत्पादनका क्षेत्रमा प्रतिस्पर्धा गर्न नसक्ने भएका कारण अब सेवा क्षेत्रमा बढी केन्द्रित हुनुपर्ने आईआईडीएसका कार्यकारी निर्देशक गौचन बताउँछन् । ‘जीडीपीमा कृषि क्षेत्रको योगदान घट्नुमा उत्पादकत्व घट्नु र कृषियोग्य जमिन पनि घट्दै जानुलाई कारण मान्न सकिन्छ । भारत र चीन जस्ता मुलुकसँग प्रतिस्पर्धा गर्न नसक्ने भएका कारण उद्योगको उत्पादन पनि घटिरहेको छ,’ गौचनले भने, ‘कृषि क्षेत्रबाट बिस्तारै उद्योग क्षेत्र बढ्ने र सेवा क्षेत्रमा जानुपर्ने हो । तर अब उत्पादन क्षेत्रबाट सम्भव छैन भने सेवा क्षेत्रमै जानुपर्छ ।’ सेवामा पनि क्षेत्रगत रूपमा सूचना प्रविधिका क्षेत्र (डिजिटल इकोसिस्टम) र कार्बन ट्रेडमार्फत नेपालले लाभ लिन सक्ने उनको भनाइ छ ।

