काठमाडौँ — कान्ति बाल अस्पताल महाराजगन्जमा मेसिन नभएका कारण ओखलढुंगाकी मनीषा तामाङले १२ वर्षीय छोरा रोविनको एमआरआई गराउन वैशाखयता तीन पटक निजी अस्पताल धाइसकिन् । कान्तिमा एमआरआई गराउन दुई हजार शुल्क तिरे पुग्छ तर निजीमा गराउँदा १२ हजार पर्यो । उनले तीन पटकको ३६ हजार तिरिसकेकी छन् ।
रोविनको मस्तिष्कको नसा सुकेर डेढ वर्षदेखि दाहिने हात र खुट्टा चल्न कम हुँदै गएपछि घिस्रिएर हिँड्नुपर्ने अवस्था आएको थियो । मनीषा भन्छिन्, ‘उपचारका क्रममा निजी अस्पताल धाउँदाधाउँदै तीन/चार लाख रुपैयाँ खर्च भइसक्यो । उपचार महँगो भएकै कारण कान्तिमा ल्याएको थिएँ तर यहाँ पनि सेवा नपाएर निजीमै जानुपरेको छ ।’
000
मकवानपुरको वाग्मती गाउँपालिका–५ बलदेवका ५ वर्षीय मनिक भोलन १८ महिनासम्म हिँडेनन् । सुरुमा देब्रे हातले सामान समात्न नखोज्ने, घुँडा टेकेर हिँड्दा खुट्टा बाँगो हुने जस्ता समस्या देखापर्यो । पछि हिँड्डुल गर्नै छोड्यो । कान्तिमा उपचारक्रममा उनको बायाँ मस्तिष्कको नसा सुक्दै गएको पत्ता लाग्यो । अभिभावकले महँगो शुल्क तिरेर तीन पटक निजीमा मनिकको एमआरआई गराइसकेका छन् । उनका हजुरबुबा टीकाबहादुरले भने, ‘त्रिवि शिक्षण अस्पतालमा एमआरआई गराउन एक महिना पालो कुर्नुपर्छ ।’
000
मस्तिष्कको नसा सुकेकै कारण जनकपुरकी ५ वर्षीया सीता चौधरीको पनि दाहिने खुट्टा र हात कम चल्छ । राजु र सीता दम्पतीले कान्तिमा छोरीको डेढ वर्षदेखि उपचार गराउँदै आएका छन् । उनीहरूका अनुसार प्रत्येक तीन महिनामा एक पटक एमआरआई गराउनुपर्छ । अहिलेसम्म निजीबाट पाँच पटक एमआरआई गराइसकेको राजुले बताए ।
000
यी तीन जना प्रतिनिधि पात्र मात्र हुन् । कान्तिमा एमआरआई मेसिन नहुँदा चिकित्सकहरूले रेफर गरेपिच्छे निजीमा धाउने बिरामी थुप्रै छन् । अस्पतालमा एमआरआई गर्नुपर्ने मस्तिष्कका नयाँ बिरामी दैनिक ५ देखि १० जना आउने गर्छन् ।
कान्तिमा सर्वसाधारणले भोग्नुपरेका दुःखलाई मध्यनजर गरेर जापानी सहयोग नियोग (जाइका) ले एमआरआई, सिटीस्क्यान, भेन्टिलेटर, शरीरमा तरल पदार्थ पठाउन प्रयोग गरिने इन्फ्युजन पम्प र सिरिन्ज पम्प २०/२० वटा दिने भनेर स्वास्थ्य मन्त्रालयसँग २०७८ असार २५ मा सम्झौता गरेको थियो । तर, सम्झौता गरेको ९ महिना बितिसक्दा पनि मेसिन ल्याउन न मन्त्रालयले पहल गर्यो न अस्पतालले ।
स्वास्थ्य मन्त्रालय गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा. मदन उपाध्यायले कोभिडका कारण मेसिन ल्याउन ढिलाइ भएको दाबी गरे । ‘हालसालै मात्र मेसिन ल्याउन जाइकाको टोलीलाई भ्रमण गराइसकेका छौं,’ उनले भने, ‘अहिले डकुमेन्ट मिलाउँदै छौं ।’ कान्ति बाल अस्पतालका निर्देशक डा. युवानिधि बसौलाले जाइका र मन्त्रालयबीच सम्झौता भएकाले मेसिन ल्याउन जाइकासँग सिधै कुराकानी गर्न नसकिएको बताए । ‘मेसिन ल्याउने जिम्मेवारी मन्त्रालयको भएकाले उतैबाट पहल भइरहेको छ,’ उनले भने, ‘हामीले मेसिन जडान गर्न ठाउँ र सञ्चालन गर्न जनशक्ति तयार छ ।’
जाइकाले दिन लागेको एमआरआई एक दशमलव ५ टेस्ला (युनिट) को अत्याधुनिक मेसिन हो । यसमा एक्सरे र सिटीस्क्यानमा जस्तो विकिरणको प्रयोग हुँदैन । सिटीस्क्यान पनि नयाँ मोडेलको हो । अहिले अस्पतालमा भएको १६ स्लाइसको सिटीस्क्यान १० वर्ष पुरानो हो, बेला–बेला बिग्रिरहन्छ । निजी अस्पतालले ५ सय स्लाइसको मेसिन ल्याइसकेका छन् । कम स्लाइस भएमा रोग पहिचान गर्ने क्षमता कम हुने गर्छ । अस्पतालमा सिटीस्क्यान गर्नुपर्ने बिरामी दैनिक करिब १० जना आउँछन् । सेवा प्रभावित हुँदा कान्तिमा एक हजार ५ सय रुपैयाँमा गर्न सकिने स्क्यानका लागि बिरामी निजीमा ५ देखि ७ हजार रुपैयाँसम्म तिर्न बाध्य छन् ।
जाइकाले दिने मेसिन चाँडै जडान गर्न सकेमा त्रिवि शिक्षण अस्पतालका बिरामीले समेत सेवा पाउनेछन् । कान्तिको आम्दानी पनि वृद्धि हुनेछ । अहिले शिक्षण अस्पतालमा एमआरआई र सिटीस्क्यान गराउन कम्तीमा एक साता कुर्नुपर्छ । कान्तिका निर्देशक डा. बसौलाले बिहीबार मात्रै जाइकाले दिने भनेको उपकरणबारे बुझ्न मन्त्रालयमा दुई जना कर्मचारी पठाएको बताए । कान्तिमा उपकरण नभएकै कारण अन्य सेवा पनि वर्षौंदेखि प्रभावित भएका छन् । जापान सरकारले उपलब्ध गराइदिएको २७ वर्ष पुरानो अपरेसन थिएटर जेनतेन सञ्चालनमा छ । थिएटरको एयर सर्कुलर सिस्टम ‘एचएभीसी’ उपकरण बिग्रिएको वर्षौं बितिसक्यो । शल्य चिकित्साका लागि आवश्यक औजार पनि अभाव छ । भएका सामान वर्षौं पुराना छन् ।
आन्द्रासम्बन्धी रोग पत्ता लगाउन प्रयोग गरिने
फ्लोलोस्कपी मेसिन बिग्रिएको १५ वर्ष बित्यो । मुटुको परीक्षण गर्ने कोरियोग्राफी मेसिन थन्किँदा कार्डियोलोजी विभाग दुई वर्षदेखि बन्द छ । सेवा बन्द भएसँगै बिरामी मात्र मर्कामा छैनन्, दुई जना कार्डियोलोजिस्ट पनि कामविहीन भएका छन् । अहिले मुटुको परीक्षण गर्न दैनिक ५–७ जना बिरामी आउँछन् । ७ सय रुपैयाँमा हुने परीक्षणका लागि उनीहरू निजीमा दुई हजार ५ सयदेखि ३ हजार रुपैयाँसम्म तिर्न बाध्य छन् । त्यस्तै क्यान्सर रोग उपचार गर्न प्रयोग गरिने फ्लो साइटोमिटर मेसिन छैन । क्यान्सर पत्ता लगाउन प्रयोग गरिने ल्याबको सामान हिस्टोप्याथोलोजी पनि छैन । अस्पतालमा आउने बिरामीमध्ये प्रत्येक वर्ष क्यान्सरका रोगी बढ्दै गएको तथ्यांक छ ।
तैपनि अस्पताल प्रशासनले खरिद गर्न चासो नदिएको ल्याबकै कर्मचारी गुनासो गर्छन् । ल्याबका प्राविधिक शमशेर नेपालीले भने, ‘प्रविधि कहाँबाट कहाँ पुगिसक्यो तर कान्तिमा अझै दिसापिसाबको जाँच ‘म्यानुअल’ नै छ । रगत जाँच गर्ने मेसिन १० वर्ष पुरानो जेनतेन सञ्चालनमा छ । अत्याधुनिक मेसिन खरिद गर्न कसैको ध्यान गएको छैन ।’ उनका अनुसार रगतजन्य रोग पत्ता लगाउने हेमाटोलोजी एनालाइजर खरिद गर्न यस वर्ष २४ लाख रुपैयाँ बजेट छुट्याइएको थियो । ‘तर आर्थिक वर्ष सकिन लाग्दा पनि मेसिन खरिदमा कसैले चासो दिएनन्,’ उनले भने ।
कान्तिका निर्देशक डा. बसौलाले कुनै पनि बजेट फ्रिज हुन नदिने बताए । ‘अर्थ मन्त्रालयले सीमित बजेट विनियोजन गरेकाले अत्याधुनिक मेसिनहरू खरिद गर्न गाह्रो हुने गरेको हो,’ उनले भने, ‘मन्त्रालयले कान्तिलाई वार्षिक करिब ३० देखि ४० करोड रुपैयाँको हाराहारी मात्र बजेट विनियोजन गर्छ, त्यसैले तलबभत्ता पनि खुवाउनुपर्छ । अस्पताल विकास समितिको आम्दानीले कर्मचारीलाई उपदान खुवाउनै धौधौ छ ।’ उनका अनुसार चालु आवमा अर्थ मन्त्रालयसँग नयाँ अपरेसन थिएटर सेटअप गर्न १० करोड रुपैयाँ र कार्डियोलोजी विभाग सञ्चालनमा ल्याउन एक करोड रुपैयाँ बजेट माग गरिएको छ । ‘अर्थ मन्त्रालयले बजेट सुनिश्चित गरेमा यसै आर्थिक वर्ष सामान खरिद गरेर सेवा सुरु गर्छौं,’ उनले भने ।
कान्तिका मर्मत तथा सम्भार अधिकृत रोशन बज्राचार्यले नयाँ मोडेलको मेसिन खरिद गर्दा पनि पुरानै भर्सन पर्ने गरेको बताए । ‘यसले मेसिन बिग्रियो भने बजारमा पार्टपुर्जा पाउन समस्या हुन सक्छ, सस्तोमा पाइयो भनेर पुरानो मोडेलको सामान खरिद गर्ने प्रवृत्ति पनि छ,’ उनले भने, ‘व्यापारीले अन्य देशमा चलाइसकेका सामान पनि भित्रिने गरेको छ ।’ उनले महँगो उपकरण खरिद गर्न स्वास्थ्य मन्त्रालयबाट अनिवार्य स्वीकृति लिनुपर्ने व्यवस्था गर्नुपर्ने बताए । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समीर अधिकारीले अल्ट्रासाउन्ड र एक्सरेजस्ता मेसिन खरिद गर्न अनिवार्य स्वीकृति लिनुपर्ने प्रावधान ल्याइसकेको बताए ।
यसबाहेक कान्तिमा फिजियोथेरापीको सामान पनि पर्याप्त छैन । बोलीको उपचार विधि स्पिच थेरापी, अंकुशम थेरापी (बाँगो भएको हातखुट्टा सिधा बनाउने विधि) छैन । मिर्गौला बिग्रिएका बालबालिकाका लागि हेमोडायलसिसको व्यवस्था छैन । अस्पतालको ब्लड बैंकमा प्लाज्मा छुट्याउने उपकरण छैन । हिस्टोप्याथोलोजी (कोषिकाको नमुनाको परीक्षण गरी क्यान्सर रोग पत्ता लगाउने), साइटोलोजी (टिस्यु नमुनाहरूको परीक्षण) गर्ने व्यवस्था छैन । सफाइका मेसिन पनि थन्किएका छन् । फोक्सो अवस्था हेर्ने ब्रोन्कोस्कोपी सेवा सुरु गरिसकेको र डायलसिसका लागि एक जना चिकित्सकलाई भारतमा तालिम लिन पठाइसकेको अस्पतालले जनाएको छ ।
कोभिडमा मात्रै चार जना कान्तिका निर्देशक परिवर्तन भइसकेका छन् । स्वास्थ्यमन्त्री भानुभक्त ढकाल आउँदा डा. आरपि बिच्छालाई निर्देशकबाट हटाएर डा. कृष्ण पौडेललाई बनाए । करिब सात महिना पौडेलले निर्देशक सम्हालेपछि २०७७ पुसमा मन्त्री हृदयेश त्रिपाठीले पुनः विच्छालाई निर्देशक बनाए । २०७८ साउनमा स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ आएपछि बिच्छालाई स्वास्थ्य विभागको निर्देशक बनाए । त्यसपछि कान्तिमा डा. अजित रायमाझी निर्देशक बने । स्वास्थ्यमन्त्री विरोध खतिवडा आएपछि डा. रायमाझीलाई हटाएर २०७८ फागुनमा भरतपुर अस्पतालमा कार्यरत डा. बसौलालाई निर्देशक बनाए । डा. बसौलाभन्दा सिनियर कान्तिमा अन्य ५ जना छन् । मन्त्रीले सिनियर चिकित्सकहरूलाई पाखा लगाएर जुनियरलाई जिम्मेवारी दिएका हुन् । कान्तिमा ओपीडीमा दैनिक ५ सयभन्दा बढी बिरामी उपचारका लागि आउँछन् । यीमध्ये ६० प्रतिशत उपत्यकाबाहिरका छन् । प्रकाशित : वैशाख १०, २०७९

