जुम्ला — दमरोगले थलिएकी चन्दननाथ–५ सिमखाँडाकी ५९ वर्षीया देवीकन्या तिमिल्सिनालाई अञ्चल अस्पताल जुम्ला पुर्याइयो । तर डाक्टर, औषधि र उपकरण नहुँदा उनलाई अस्पतालले नेपालगन्ज रेफर गर्यो । नेपालगन्जमै उपचार क्रममा उनको मृत्यु भयो । ‘यहीँ डाक्टर भएको भए सायद आमा अहिलेसम्म बाँच्नुहुन्थ्यो होला,’ देवीकन्याका छोरा जयले २०६० सालको घटना सम्झिँदै भने ।
कुनै बेला कर्णाली अस्पतालको काम ‘एकोहोरो बिरामी रेफर गर्ने’ मात्र थियो । लामो समय अहेबको जिम्मामा रहेको त्यही अस्पताल अहिले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रूपान्तरण भएको छ । जहाँ २० जनाले एमबीबीएस पढिरहेका छन् । जनकपुरबाट आएर एमबीबीएस पढिरहेका आनन्द उपाध्यायले भने, ‘दुर्गममा व्यवस्थित पढाइ छ ।’ काठमाडौबाट आएकी प्रतीक्षा शर्माले पढिकसेर केही समय कर्णालीमै काम गर्ने इच्छा भएको बताइन् । ‘हामीलाई कर्णालीले शिक्षा दिँदै छ,’ उनले भनिन्, ‘हामीले पनि यहाँका लागि केही योगदान गर्नैपर्छ ।’
प्रतिष्ठानले कोरोना महामारीका बेला नेपालगन्ज र कर्णालीका सबै जिल्लामा विशेषज्ञ चिकित्सक खटाएको थियो । अहिले पाठेघर खस्ने समस्याको आधारभूत परीक्षणका लागि जिल्लाजिल्लामा शिविर चलाइरहेको छ । चन्दननाथ नगरपालिका प्रमुख कान्तिका सेजुवालका अनुसार स्वास्थ्य शिक्षा, सेवा र अनुसन्धानमा पनि प्रतिष्ठान अब्बल छ । कर्णालीका विद्यार्थीलाई महँगो रकम खर्चेर डाक्टर पढ्न जिल्ला बाहिर पठाउनुपर्ने बाध्यताको अन्त्य भएको उनले बताइन् ।
प्रतिष्ठान स्थापना हुनुअघि डाक्टर जीवन परियार, शिव सिमल, विप्लव सापकोटा मात्र जुम्लामा बसे । ‘अरू बेला अहेबकै भरमा अस्पताल चल्यो,’ प्रतिष्ठानका डिन डा. रमेश भट्टराईले भने, ‘अहिले सहरहरूमा प्रतिष्ठानबाट डाक्टर पठाइरहेका छौं ।’ उनका अनुसार अहिले जुम्लामा ९० जना विशेषज्ञ डाक्टर बस्छन्, तीमध्ये ३५ जनाले बिरामी जाँच्छन् । केहीले प्राध्यापन गर्छन् । मेडिकल अधिकृतको संख्या मात्रै ३० छ । कर्णालीवासीले डाक्टर रोजीछानेर उपचार गराउन पाइरहेको उनले जानकारी दिए । प्रतिष्ठानले जाजरकोटमा फार्मेसीको पठनपाठन गरिरहेको छ । जुम्लामै बीएमएस र बीपीएचको पढाइ हुन्छ । यहीँ स्टाफ नर्स, ब्याचलर अफ मिडवाइफ्री, हेल्थ असिस्टेन्ट, ब्याचलर अफ पब्लिक हेल्थ, एनेस्थेसिया असिस्टेन्टलगायत पढेका झन्डै ४ सयले शिक्षण अस्पतालमा सेवा गरिरहेका छन् । बीएमएसमा १० र बीपीएचमा २० जनाको कोटा छ । बीएमएस नेपालमै नयाँ कोर्स हो । बीएमएस जनरल नर्सिङमा २० र बीफार्मेसीमा २० जनाले पढिरहेका छन् ।
स्नातकोत्तर तहको एमडीजीपी ३ जनाले, पेडाटिक्स र एनेस्थेसिया १/१ जनाले अध्ययन गरिरहेका छन् । प्रतिष्ठानको पहिलो ऐनले १० जिल्लामा कार्यक्षेत्र तोकेको थियो । कार्यक्षेत्रभित्रका जिल्लाकालाई पढाइमा ४५ प्रतिशत छुट छ । प्रतिष्ठानको शिक्षण अस्पतालमा १२ बेडको आईसीयू र २४ बेडको एचडीयू छ भने सिटीस्क्यान, सीआर एक्सरेलगायत अत्यधुनिक उपकरण पनि जडान गरिएका छन् । ‘बेड वा कुनै रोगको उपचार नपाएर फर्किनुपर्ने अवस्था छैन,’ प्रतिष्ठानका शिक्षाध्यक्ष डा. निरेश थापाले भने । उनले अहिले मुगु र हुम्लामा विशेषज्ञ सेवा सञ्चालन गरिरहेको बताए । अस्पताल ३ सय शय्याको छ ।साभार: कान्तिपुर, चैत्र १८, २०७८

