काठमाडौं । नेपालमा बर्सेनी झण्डै १ हजार ५ सयज बालबालिकाहरूमा क्यान्सर हुन सक्ने अनुमान गरिएको छ । अन्तर्राष्ट्रिय बाल क्यान्सर दिवस २०२२ को अवसरमा सोमबार कान्ति बाल अस्पतालले गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै अस्पतालका निर्देशक डा अजित रायमाझीले जनस्वास्थ्य समस्याको दृष्टिकोणबाट हेर्दा बालक्यान्सर सम्पूर्ण क्यान्सरहरूमा छैठौँ र बालस्वास्थ्य समस्याहरूमा नवौं प्रमुख जनस्वास्थ्य समस्या रहेको बताए ।
डा. रायमाझिका अनुसार नयाँ बिरामीहरूमध्ये बालक्यान्सरको उपचार हुने नेपालका सम्पूर्ण अस्पतालहरूमा आइपुग्ने बालबालिकाहरूको संख्या जोड्दा करिब एकतिहाइले मात्र पूर्णरुपमा उपचार लिएको देखिन्छ । बहुसंख्यक क्यान्सर लागेका बालबालिकाहरूले उपचार नलिनुमा आर्थिक कारणका साथै बालबालिकाहरूमा हुने क्यान्सर उपचारबाट निको पार्न सकिन्छ भन्ने चेतनाको कमी प्रमुख कारणको रुपमा रहेका छन् ।
बालक्यान्सर रोग विशेषज्ञ डा. विष्णुरथ गिरीका अनुसार क्यान्सर उपचार हुने अस्पतालहरूमा आइपुगिसकेका मध्ये पनि २० देखि ३० प्रतिशत बालबालिकाहरू आर्थिक अभावका कारण उपचार नगरिकनै वा उपचारलाई बिचैमा छाडेर फर्किने गरेका छन् । विकसित देशहरूमा ८५ देखि ९० प्रतिशत क्यान्सर पीडित बालबालिका पूर्णरुपमा निको हुने गरेका छन् । हाम्रो देशमा अस्पतालमा गएर उपचार गर्नेहरूमध्ये करिब ७० प्रतिशत निको हुने गरेको तथ्यांक छ । अनुमानितमध्ये जम्मा एक तिहाईले मात्रै उपचार लिने गरेका छन् ।
निर्देशक डा. रायमाझीले क्यान्सर लागेका बालबालिकाहरूलाई अकाल मृत्युको मुखबाट जोगाउनका लागि पहिलो‚ स्थापित उपचार केन्द्रहरुलाई थप सुदृढीकरण गर्ने र दोस्रो‚ उपचारमा सबैको पहुँच पुर्याउन आवश्यक रहेको बताए ।
कान्ति बाल अस्पताल, बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, भक्तपुर क्यान्सर अस्पताल, पाटन अस्पताल, तिलगंगा आँखा अस्पताल लगायतमा बालक्यान्सरको उपचार उपलब्ध छ ।

