काठमाडौँ, प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले लिने महत्वपूर्ण निर्णयमा सत्तारुढ गठबन्धनभित्र छलफल गर्ने प्रतिबद्धता जनाएका छन् । स्वास्थ्य राज्यमन्त्रीको नियुक्तिमा सरकार चुकेको भन्दै बुधबार सत्तागठबन्धनको बैठकमा आलोचना भएपछि प्रधानमन्त्री देउवाले अबका निर्णयमा ‘छलफल गर्ने’ र ‘सचेत रहने’ प्रतिबद्धता जनाएका हुन् ।
गठबन्धनमा रहेका दलका नेताहरूले असन्तुष्टि जनाएपछि प्रधानमन्त्री देउवाले राज्यमन्त्री नियुक्ति गर्नुअघि यो हदमा विरोध हुने कल्पना नगरेको भन्दै स्पष्टीकरण दिएका थिए । ‘काम गर्दा कहिलेकाहीँ तलमाथि हुन सक्छ । तर, यो विषयमा यति धेरै विरोध होला भन्ने सोचेको थिइनँ । पार्टीभित्रकै साथीहरूले पनि चर्को विरोध गरेका छन् । म अप्ठ्यारोमा छु । तर, अब गरिहालियो । ठूलो शिक्षा भयो । आगामी दिनमा सच्याएर जानुपर्छ । अब गठबन्धनमा सल्लाह नगरी यस्ता निर्णय गर्दिनँ,’ देउवाको भनाइ उद्धृत गर्दै एक नेताले भने ।
स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठको नियुक्तिलाई लिएर बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले असन्तुष्टि व्यक्त गरेका थिए ।
राज्यमन्त्री नियुक्तिपछिको पहिलो बैठकमा केसी देउवाविरुद्ध सबैभन्दा खरो रूपमा प्रस्तुत भए । उनले प्रतिगमनको विरुद्धमा बनेको सरकारले नै गलत सन्देश जाने कदम चालेको भन्दै आलोचना गरेको बैठकमा सहभागी जनमोर्चा सांसद दुर्गा पौडेलले बताइन् ।
‘स्वास्थ्य राज्यमन्त्री नियुक्तिमा पहिलोे सन्देश नै राम्रो दिनुभएन । हिजो ओलीले जे–जे गलत काम गरे, र हामीले त्यसलाई प्रतिगमन भन्यौँ । आज फेरि तपाईं पनि त्यस्तै गर्ने भए त के फरक भयो र ?’ बैठकमा केसीले भनेको भनाइ उद्धृत गर्दै पौडेलले भनिन्, ‘हामीले प्रतिगमन सच्याउन कार्यगत एकता गरेका थियौँ । अब हामी सरकारमा आउँदैनौँ । प्रतिपक्षमा बस्छौँ । गुण र दोषका आधारमा हाम्रो समर्थन र विरोध रहन्छ ।’

