काठमाडौं, नेपालमा उमेर, वर्ग र पेसाका आधारमा लक्षित समूह तोकेर कोरोना भाइरसविरुद्धको खोप अभियान सञ्चालन भइरहेको छ। तर, लक्षित समूहमा रहेका नागरिकले सहज रूपमा खोप लगाउन पाएका छैनन्। घण्टौं लाम लागे पनि ज्येष्ठ नागरिक नै त्यत्तिकै घर फर्किएका थुप्रै उदारहण छन्। पहुँचवालाले भने सहजै घरमै पनि खोप लगाउन पाएका छन्।
खोपको आसमा रहेका ७२ प्रतिशत नागरिकलाई खोपमा पहुँच पुर्याउन धौ–धौ देखिएको छ। विश्वभर साढे ३ अर्बभन्दा बढी व्यक्तिले खोप लगाउँदा नेपालमा ४.३ प्रतिशतले मात्र पाएको देखिन्छ। कोरोना भाइरसबाट जोगिन १८ वर्षभन्दा माथिका नागरिकको नजर खोपमै केन्द्रित छ। देशव्यापी रूपमा २९ असारदेखि खोप अभियान सञ्चालन गरिए पनि कतिपय जिल्लामा स्थगन गरिएको छ।
मुलुकभर जारी अभियानमा तीन किसिमका खोप लगाइएको छ। कोभिसिल्ड, भेरोसेल र जोन्सन एन्ड जोन्सन खोप लगाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। कोभिसिल्डको पहिलो डोज लगाउनेको संख्या १८ लाख २८ हजार ४ सय ८४ छ। दोस्रो डोज पाउनेको संख्या ४ लाख ६० हजार ७ सय ३४ छ। १४ लाख २३ हजार ४ सय ४७ जनाले भेरोसेलको पहिलो डोज लगाएका छन्। भेरोसेलको दोस्रो डोज पाउनेको संख्या ६ लाख ८२ हजार ३ सय ९२ छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार पछिल्लो समय सञ्चालन भइरहेको जोन्सन एन्ड जोन्सन एक डोज मात्र लगाए पुग्छ। ८१ हजार ३ सय ५२ जनाले यो खोप लगाएका छन्।
धेरैभन्दा धेरै नागरिकलाई खोप लगाउन नसके तेस्रो लहरको जोखिम झन् बढ्ने विज्ञहरू बताउँछन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका पूर्वप्रमुख विशेषज्ञ डा. सुशीलनाथ प्याकुरेलका अनुसार कोरोना परीक्षण पनि न्यून गर्ने र खोपमा पनि ढिलाइ गर्दा संक्रमण झन् बढ्ने जोखिम हुन्छ। सहप्रवक्ता डा. अधिकारीका अनुसार अहिले औसत संक्रमणदर २२ प्रतिशत छ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका प्रमुख डा. अनुप बाँस्तोला निषेधाज्ञा खुकुलो भएसँगै कोरोना पुष्टि हुनेको संख्या क्रमशः बढ्दै गएको बताउँछन्। ‘हरेक दिन १५ देखि २० जना व्यक्ति कोरोना संक्रमणको लक्षणसहित आइरहेका छन्। तीमध्ये ७ देखि १० जनालाई भर्ना गर्नुपरिरहेको छ’, डा. बाँस्तोला भन्छन्, ‘अस्पतालको शय्या खाली हुन पाएको छैन।’
खोप केन्द्र : संक्रमणको थलो ?
मुलुकभरका ५ हजारभन्दा बढी खोप केन्द्रमा भीडभाड देखिन्छ। भौतिक दुरी कायम नगर्ने, हतार गर्ने प्रवृत्तिले खोप केन्द्र नै संक्रमणको थलो हुने जोखिम बढाएको छ। खोप लगाएर फर्केको केही दिनपछि ज्वरो आउने, खोकी लाग्नेलगायत लक्षण देखिएको डा. बाँस्तोला सुनाउँछन्। ‘खोप अभियान चल्दै गर्दा ती ठाउँमा सुरक्षाका मापदण्ड नअपनाएका कारण खोप लगाएको पाँच–छ दिनपछि कोरोना संक्रमणका लक्षण लिएर अस्पताल आउने क्रम जारी छ’, डा. बास्तोला भन्छन्।
खोपको स्थानीय व्यवस्थापन र सूक्ष्म योजनाको समन्वय प्रदेश र सोमातहतका सम्बन्धित जिल्ला स्वास्थ्य कार्यालय र स्थानीय सरकारले गर्छन्। तर, अहिले प्रभावकारी समन्वय नहुँदा खोप केन्द्र भद्रगोल बनेका हुन्। मन्त्रालयले यथेष्ट खोप केन्द्रको व्यवस्था गर्न, खोप दिने जनशक्ति व्यवस्थापन गर्न अपिलसमेत गरेको छ। ‘सबैको पालो आउँछ। पालो नभएको बेला भीडभाड नगरौं। खोप केन्द्रमा धेरै भीडभाड भए संक्रमण हुनसक्छ’, सहप्रवक्ता डा. अधिकारी भन्छन्।
खोप लगाउन आउनेको संख्या धेरै भएकाले व्यक्ति व्यक्तिबीचको भौतिक दूरी कायम हुन सकेको छैन। खोप लगाइसकेपछि खोप केन्द्रमा २ मिटर दूरी कायम राखेर आधा घण्टा बस्नुपर्ने हुन्छ। सम्भव भएसम्म स्यानिटाइजर साथमै बोक्ने र कुनै पनि सतह छुनेबित्तिकै हात सफा गर्नुपर्छ। ‘लाइनमा बसेर दूरी कायम गरी आफूलाई संक्रमणबाट जोगाउनु अपरिहार्य छ। स्वास्थ्य मापदण्ड तोडेपछि आउँदा दिन कठिन हुनेछ। तेस्रो लहरको संक्रमणमा पर्ने जोखिम छ’, डा. बास्तोला भन्छन्, ‘खोप लगाइसकेपछि अब मलाई केहि हुँदैन भन्ने सोचेर स्वास्थ्य मापदण्ड नअपनाउँदा खोप लगाएका व्यक्तिहरू पनि सिकिस्त संक्रमित भएर अस्पतालमा भर्ना हुने संख्या जारी छ।’
प्रधानमन्त्री शेरबहादुर देउवाले हालै मुख्यसचिव शंकरदास बैरागी र स्वास्थ्य मन्त्रालयका सचिव लक्ष्मण अर्याललाई खोप कार्यक्रम व्यवस्थित गर्न निर्देशन दिएका थिए। अत्यधिक भीडभाड भएको र कतिपय स्थानमा लक्षित समूहले खोप प्राप्त नगरेको पाइएपछि प्रधानमन्त्री देउवाले उनीहरूलाई बोलाएका थिए।
मन्त्रालयका सहप्रवक्ता डा. अधिकारीका अनुसार विश्वव्यापी रूपमा सफल भएका र गुणस्तरीय खोप नै नेपाल ल्याइएको छ। खोपको गुणस्तर कायम राख्दै खोप अभियान चाँडो सक्न प्राथमिकतामा राखेको डा. अधिकारीको भनाइ छ। जसमा विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले मान्यता दिएका खोपहरू मात्र ल्याएर प्रयोग गरिने उनी बताउँछन्।
‘१८ वर्षभन्दा माथिका व्यक्तिका लागि बनाइएका खोप ल्याएर ७२ प्रतिशत जनसंख्यालाई लगाउने तयारी छ’, उनी भन्छन् । उनका अनुसार १२ देखि १८ वर्षसम्मका व्यक्तिको हकमा अरु मुलुकमा सफल भएका खोप प्रयोग गर्न सकिने गरी योजना बनाइँदै छ।
खोप विज्ञ श्यामराज उप्रेतीका अनुसार कोभिसिल्ड खोप लगाएपछि ७६ प्रतिशत संक्रमणबाट जोगाउँछ भन्ने छ। ‘तीनवटै खोपले अस्पतालमा भर्ना हुने दर र मृत्यु हुने दर घटाएको पाइएको छ’, उनी भन्छन्। भेरोसेलको ७९ प्रतिशत प्रभावकारी मानिएको छ। त्यस्तै, जोन्सन एन्ड जोन्सनको ६६ प्रतिशत प्रभावकारी देखिएको छ।
खोपको पहिलो वा दोस्रो डोज लिएपछि शरीरमा कोरोनाको प्रभाव जान्न भारतमा नयाँ अध्ययन गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। यो अध्ययन भारतीय चिकित्सा अनुसन्धान परिषद् (आईसीएमआर) द्वारा गरिएको हो। यो कोरोना संक्रमितको जीनोम विश्लेषणमा आधारित छ। पीसीआर परीक्षण गरिएका ६ सय ७७ जनामा जीनोम विश्लेषण गरिएको थियो। ४ सय ८२ जनामध्ये ७१ प्रतिशतमा कोरोना संक्रमणको लक्षण थियो। २९ प्रतिशत लक्षणविहीन (एसिम्टोमेटिक) थियो।
अध्ययनमा धेरैजसो व्यक्तिमा डेल्टा भेरियन्ट संक्रमण भएको थियो। सहभागीमध्ये ६९ प्रतिशतमा ज्वरो, ५६ प्रतिशतमा टाउको दुखाइको समस्या थियो। ४५ प्रतिशतमा खोकी र ३७ प्रतिशतमा घाँटीको दुखाइ थियो। २२ प्रतिशत व्यक्ति गन्ध र स्वाद लिन सक्दैनथे। ६ प्रतिशत पखाला, ६ प्रतिशतको स्वास–प्रश्वासमा समस्या थियो। एक प्रतिशतमा आँखा रातो हुने समस्या थियो। संक्रमितमा डेल्टाका साथै अल्फा र कप्पा भेरियन्ट पनि थियो। सबैभन्दा बढी ८६ प्रतिशत डेल्टा संक्रमित थिए।
संक्रमणपछि मृत्युदरमा कमी आएको थियो। सहभागीमध्ये ७१ जनाले कोभ्याक्सिन र ६०४ जनाले कोभिसिल्ड खोप लगाएका थिए। २ जनाले चीनको सिनोफर्म खोप लगाएका थिए। यी सहभागीमध्ये ३ जनाको ज्यान गएको थियो।
अध्ययनअनुसार ९.८ प्रतिशत व्यक्ति खोप लिइसकेका र अस्पतालमा भर्ना गर्नुपरेको थियो। जबकी, ०.४ प्रतिशत संक्रमितको मृत्यु भएको थियो। उक्त अध्ययनले खोपले सुरक्षा प्रदान गर्ने कुराको स्पष्ट भएको छ।
कहाँ–कहाँबाट खोप?
नेपालमा चीन र भारतबाट अनुदान र खरिद गरी ल्याइएका खोपले सर्वसाधारणलाई खोपमा पहुँच पुर्याएको छ। भारत र चीनले अनुदानमा खोप दिएका छन्। त्यस्तै ती मुलुकबाट खोप खरिद गर्ने कार्य पनि अघि बढेको छ। भारतबाट १०लाख मात्रा अनुदानमा उपलब्ध भएको थियो। खरिद गरेको १० लाख डोज पनि उपयोग गरिएको छ। भारतले नेपाली सेनालाई थप १ लाख डोज उपलब्ध गराएको थियो। भारतको सिरम इन्स्टिच्युटलाई अग्रिमरुपमा पैसासमेत तिरिसकिएको १० लाख डोज अझै आएको छैन। प्रधानमन्त्री देउवाले विश्वासको मत पाएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भुक्तानी दिइसकेको १० लाख डोज खोप दिने आस्वासन दिएका छन्।
चीनले पनि हालसम्म १८ लाख डोज खोप सहयोग गरेको छ। त्यस्तै चीनबाट खरिद प्रक्रियाअन्तर्गत थप खोप लिन नेपाल वायु सेवा निगमको जहाज चीन जाँदै छ। यसै साताभित्र १६ लाख खोप आइपुग्ने जनाइएको छ। साउन १५ गतेभित्र कम्तीमा ३२ लाख र त्यसपछि निरन्तर खोप नेपाल आउने क्रम जारी रहने जनाइएको छ। ‘हामी सबैले खोप लगाउन पाउनेछौं। त्यसैले सबैलाई संयमित भई खोप अभियान सफल बनाउन अनुरोध गर्दछु’, उनी भन्छन् ।
हाल भेरोसेल लगाउने वर्गमा ५५ वर्षभन्दा माथिका खोप नलगाएका व्यक्ति छन्। विश्वविद्यालयका प्राध्यापक, विद्यालयका शिक्षक र कर्मचारी, सार्वजनिक यातायातमा कार्यरत चालक, सहचालक, सरकारले तोकेको अत्यावश्यक सेवामा संलग्न व्यक्तिहरू, खोप अनिवार्य गरेको मुलुकमा जाने नेपाली छन्। सहप्रवक्ता डा. अधिकारीका अनुसार साउन ६ गतेदेखि खरिद गरिएका थप खोप चीनबाट निरन्तर रूपमा ल्याइँदै छ। कोभ्याक्स सुविधाअन्तर्गत ३ लाख ४८ हजार मात्रा खोप पनि ल्याइएको छ। यस्तै अमेरिकाले कोभ्याक्सअन्तर्गत १५ लाखभन्दा बढी डोज उपलब्ध गराएको छ।
जोन्सनको खोप कति सुरक्षित ?
अमेरिकाको औषधि नियामक निकाय (एडीए) जोन्सन एन्ड जोन्सन खोपले स्नायु प्रणालीसम्बन्धी गियान बार्रे सिन्ड्रोमको जोखिम बढाउन सक्ने जानकारी दिएपछि खैलाबैला मच्चिएको छ। तर, अहिलेसम्म उपलब्ध प्रमाणले खोप र गियान बार्रे सिन्ड्रोमको जोखिमबीच प्रत्यक्ष सम्बन्ध देखिएको छैन। अमेरिकाको औषधि नियामक निकायले यो रोग एकदमै विरलै देखिने जनाएको छ। यसको जोखिमभन्दा यो खोप लगाउँदा हुने फाइदा बढी हुनेमा जोड दिइएको छ।
मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलका अनुसार यसबारे जानकार रहेको उल्लेख गर्दै आगामी दिनमा निगरानी अघि बढाइने बताउँछन्। ‘जोन्सन एन्ड जोन्सनको खोप लगाउँदा हुने सम्भावित जोखिमभन्दा यसले कोरोना भाइरसविरुद्ध दिने लाभ बढी छ’, प्रवक्ता डा. पौडेल भन्छन्।
यो खोप लगाउने समूहमा ५० देखि ५४ वर्ष उमेर समूहका एक मात्रा पनि खोप नलगाएका व्यक्तिहरू पर्छन्। पूर्ण, अति अशक्त (वर्ग क र ख) अपांगता भएकाहरू, शरणार्थी, स्वास्थ्यकर्मी र सरसफाइकर्मीलाई तोकिएको छ। त्यस्तै यो खोप अनिवार्य गरिएका राष्टहरूमा जाने व्यक्तिलाई सोहि खोप प्रदान गर्नुपर्नेछ। खोप केन्द्रमा जाँदा आवश्यक कागजात (पासपोर्ट र भिसा) पनि सँगै लिएर जानुपर्ने मन्त्रालयले जनाएको छ।
मन्त्रालयले चरणबद्ध तरिकाले प्राथमिकता प्राप्त समूहलाई खोप लगाउने अभियान निरन्तर सञ्चालन हुनेछ। आफ्नो पालोअनुसार उमेर खुल्ने परिचयपत्र लिएर मात्रै खोप लगाउन जान हुन् र अरुका खोप लगाउने पालोमा भीडभाड नगरी खोप अभियानमा सहयोग गर्न अनुरोधसमेत गरेको छ। परिचयपत्र नभएको खण्डमा स्थानीय तहबाट परिचय पत्र खुल्ने सिफारिस आवश्यक पर्ने मन्त्रालयले जनाएको छ।
नेतालाई घरमै खोप, लक्षित समूहले पाएनन्
एमालेको प्रदेश १ सचिव विनोद ढकालले विराटनगरस्थित घरमै स्वास्थ्यकर्मीलाई बोलाएर कोभिसिल्ड खोप लगाए। सर्वसाधारण र लक्षित समूह खोपका लागि तड्पिरहँदा यो विषय सार्वजनिक भएपछि नेता ढकाल आलोचनाका पात्र बने। ढकालले भने आफू एक महिनादेखि काठमाडौंमा रहेको भन्दै खोप घरमा लगेर नलगाएको दाबी गरे।
पहुँचका भरमा घरमै खोप लगाउने नेताको सूचीमा एमाले मोरङ अध्यक्ष ऋषिकेश पोख्रेलसहित रामलाल साह, गिरेन्द्र कार्कीलगायत धेरै छन्। ढकाल, पोख्रेल, साह र कार्कीजस्ता धेरै नेताले खोपका लागि सर्वसाधारणले जसरी घण्टौं लाममा बस्नुपरेन।
खोप पाइँदैन कि भन्ने चिन्ता नेता र उनीहरूका निकटस्थले लिनै परेन। बरु सहज रूपमा घरमै खोप सेवा उपलब्ध गराइयो। कांग्रेसको प्रदेश १ संसदीय दलका प्रमुख सचेतक केदार कार्कीले आफ्ना परिवारका सदस्य र कार्यकर्तालाई लगाउन भन्दै सामाजिक विकास मन्त्रालयबाट चार भायल खोप लिएर गए। मन्त्रालय स्रोतका अनुसार सरकारबाट खोपको दुरुपयोग भयो भनेर चर्को विरोध गर्दै हिँड्ने कार्की आफंै खोप लिन आएपछि सबै अचम्ममा परे। कार्कीले भने यो कुरा अस्वीकार गरेका छन्।
विराटनगरका उद्योगी, व्यवसायी एवं पहुँचवालालाई घरमै खोपको व्यवस्था मिलाइदिएको आरोप विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीलाई लागेको छ। महामारी उत्कर्षमा पुगेर बिरामीले सहज उपचार पाउन नसक्दा र अक्सिजनको हाहाकार हुँदा पहुँचवालाका घरघरमा अक्सिजन सिलिन्डर लिएर पराजुली पुग्थे। तर, आर्थिक अवस्था कमजोर भएका स्थानीयले समस्यामा परेर बारम्बार फोन गर्दा वास्ता नगर्ने गरेको विराटनगर–४ का उत्तम दाहाल बताउँछन्।
माओवादी केन्द्रका प्रतिनिधिसभा सदस्य अमनलाल मोदीले मन्त्रालयका तत्कालीन सचिव गोविन्दबहादुर कार्कीको क्वार्टरमै खोप लगाउन पाए। मोदीले कुनै खोप केन्द्रमा पुगेर उभिनु र पालो पर्खिनुपर्ने झन्झट व्यहोर्नुपरेन।
प्रदेश १ का मुख्यमन्त्री शेरधन राईका जनसम्पर्क सल्लाहकार रामकुमार बस्नेतले मापदण्ड मिचेर विराटनगरस्थित सिटी सिनेमा हलमा नेता, कार्यकर्ता, उद्योगी र व्यवसायीसमेत निश्चित व्यक्तिलाई गोप्य हिसाबले खोप लगाउने व्यवस्था मिलाइदिए। करिब ३ सय जनालाई दोस्रो डोज खोप दिने तयारी भइरहँदा कुरा बाहिरिएपछि स्थानीयवासी विरोधमा उत्रिए। खोप बोक्न प्रयोग गरिएको बा.१झ ९३६५ नम्बरको गाडी, खोप लगाइदिन पुगेका स्वास्थ्यकर्मी र कर्मचारी तथा लगाइमाग्न गएका पहुँचवालालाई सुरक्षा दिन प्रहरीलाई हम्म पर्यो।
प्रदेशमा खोपको दुरुपयोग गर्नेमा बस्नेत र सामाजिक विकासमन्त्री उषाकला राईका प्रमुख सल्लाहकार तुलसी पोखरेलको नाम अग्रपंक्तिमा छ। त्यस्तै, मुख्यमन्त्री राईको सचिवालयमा रहेकाहरूमाथि पनि विभिन्न दबाब दिएर खोप लग्ने र दुरुपयोग गर्ने गरेको आरोप छ। सचिवालयको समूह अहिले पनि खोप माग्दै मन्त्रालयमा दैनिक पुग्ने गरेको एक कर्मचारी बताउँछन्।
दलका नेता कार्यकर्ता तथा आफ्ना नजिककाले पहुँचका भरमा खोपका लागि निवेदन दिनेबित्तिकै मापदण्डविपरीत तोक लगाइदिने गरेको भन्दै मन्त्री राईको आलोचना भइरहेको छ। मन्त्रालय स्रोतका अनुसार मन्त्री राईको निर्देशनमै लक्षित समूहभन्दा बाहिरकाले सहज रूपमा खोप पाएका हुन्। जब कि कोरोना नियन्त्रणका लागि अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, कर्मचारी, सञ्चारकर्मी लगायतले खोप पाइरहेका छैनन्। लक्षित उमेर समूहकाले पाउने त धेरै टाढाको कुरा हो।
मन्त्री राईका सल्लाहकार पोखरेल पहुँचका आधारमा खोप नदिएको दाबी गर्छन्। ‘पहिलो डोज लगाउन मान्छे नआएपछि संस्थागत सिफारिस गर्नेहरूलाई खोप दिइएको हो,’ पोखरेल भन्छन्, ‘तपाईलाई पनि चाहिएको छ भने आउनुस् लगाइदिएर पठाउने जिम्मा हाम्रो भयो।’
पोखरेल संस्थागत रूपमा दिइएकाले कसले कहाँ लगेर कसरी खोप लगाए भन्ने यकिन नभएको बताउँछन्। उद्योग, वन, वातावरण तथा पर्यटन मन्त्रालयमै लगेर पहुँचवालालाई खोप लगाउने व्यवस्था मिलाइएपछि प्रदेश १ सरकार खोपको मामिलामा आलोचित बनेको छ।
लक्षित समूहलाई आएको खोप नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीका आफन्तले पहुँचका आधारमा लगाएको भन्दै केही समयअघि सुनसरीको रामधुनी नगरपालिकाका युवाले विरोध गरे। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ज्येष्ठ नगरिकलाई भनेर पठाएको भेरोसेल खोप कर्मचारीले आफन्तलाई बाँडेको भन्दै युवाले नगरपालिका घेराउ गरे।
‘३२ वर्षको उमेर भएको मानिसलाई ६२ वर्षको बनाएर जनप्रतिनिधि र कर्मचारीका आफन्त र नजिककाले खोप लगाएको पाइएको छ,’ स्थानीय सुदीप अधिकारी भन्छन्, ‘मापदण्ड र तथ्यांकबिना नै हावाका भरमा खोप बाँडिएको छ।’
खोप कार्डमा खोपको नाम, लगाएको मिति, अर्को पटक लगाउनुपर्ने मिति उल्लेख छैन। पहुँचवालालाई दिन हतारो हुँदा बिहेको कार्ड जसरी बाँडिएको अधिकारी बताउँछन्। उनका अनुसार खोप लगाउनेहरूको नामावली सार्वजनिक गर्न बुधबारसम्मको अल्टिमेटम दिइएको छ। यस विषयमा बुझ्न बिहीबार फेरि नगरपालिका कार्यालय जाने उनको भनाइ छ।
नगरपालिकाका स्वास्थ्य शाखा अधिकृत नगेन्द्र पौडेल ४ हजारभन्दा बढीले खोप लगाइसकेको र बीचमा धेरै भएर ७ सय भायल खोप फिर्तासमेत गएको बताउँछन्। ‘मेयर साहेबले भनेर कोही विदेश जाने वा अत्यावश्यक परेकाहरूले लगाए होलान्। तर, खोपको दुरुपयोग भएको छैन,’ उनी भन्छन्।
भोजपुर नगरपालिका–५ बोखिमका फविन्द्र प्रधान महामारीले नागरिकको बेहाल भइरहेका बेला पहुँचका भरमा आफन्त र व्यक्ति विशेषलाई खोप दिइएको बताउँछन्। ‘संक्रमणका बेला बिरामीका लागि अक्सिजन, भेन्टिलेटर र एम्बुलेन्स पाइँदैन’, प्रधान भन्छन्, ‘अर्कोतिर सरकारी अभियानको खोप पनि लक्षित समुदायसम्म पुग्न सकेको छैन।’
पहुँचका भरमा खोप अभियान चलाउने गलत परिपाटीको विकास भएको स्थानीय युवा अगुवा नवीन प्रधानको भनाइ छ। ‘हुनेखाने, चिनेजाने र नेता तथा मन्त्रीसँग नजिक भएकाले खोप पाए। लक्षित वर्ष अहिले पनि खोप नपाएर तड्पिरहेको छ,’ उनी भन्छन्, ‘संक्रमण जोखिम क्षेत्रका नागरिकले अहिले पनि खोप पाएका छैनन्। महामारीग्रस्त क्षेत्रलाई खोपको प्राथमिकतमा राख्न सबै पक्षले दबाब दिनुपर्ने बेला भएको छ।’
कोरोना महामारी समुदायस्तरमा र दुरदराजका गाउँसम्म फैलिएको छ। तर, सरकारले सुरु गरेको खोप अभियान भने लक्षित समूहबाहेक सीमित क्षेत्रमा केन्द्रित गरिएको जनगुनासो बढेको छ। प्रदेश १ भरी नै पहुँचका भरमा खोपको असमान वितरण भइरहेको छ।
प्रदेश १ मा हालसम्म कोभिसिल्ड ४ लाख ५९ हजार र भेरोसेल १ लाख ४२ हजार डोज आइसकेको छ। प्रदेश १ सरकारको तथ्यांकबाट हालसम्म ३ लाख ७१ हजार ८६ जनाले कोभिसिल्डको पहिलो र ५२ हजार ८ सय ५५ जनाले दोस्रो डोजसमेत लिएको देखिन्छ। भेरोसेलको पहिलो डोज ७० हजार २ सय ६३ र दोस्रो डोज ४६ हजार ८ सय २२ जनाले लगाइसकेको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक ज्ञानबहादुर बस्नेत बताउँछन्।
उनका अनुसार हालसम्म खोपको दुवै डोज भने ९९ हजार ६ सय ७७ जनाले मात्रै लिएका छन्। ‘दुईवटै खोप दुवै डोज लगाउनुपर्ने हुन्छ,’ बस्नेत भन्छन्, ‘पहिलो डोज लगाउनेको तुलनामा दोस्रो डोज लगाउनेको संख्या निक्कै कम छ।’
प्रदेश २ मा पहुँचका भरमा वितरण
प्रदेश २ मा कोभिसिल्ड खोप पहिलो चरणमा आउँदा सबैभन्दा पहिला आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले लगाएका थिए। मन्त्री यादवले आफू लक्षित समूहमा नपरे पनि जनतालाई सकारात्मक सन्देश दिन पहिलो डोज लगाएको बताएका थिए। तर, अन्य मन्त्रीहरू, मन्त्री निकटस्थ, नातेदार र चिनजानकाहरूले पहुँचकै आधारमा खोप लगाए। प्रदेश २ सरकारको सामाजिक विकास मन्त्रालयमातहत रहेको स्वास्थ्य आपूर्ति निर्देशनालयले खोप वितरण गर्ने भएकाले मन्त्रीकै भनसुनमा पनि खोप लक्षित समूहभन्दा अन्यलाई बढी वितरण गरिएको कर्मचारीहरू नै बताउँछन्।
वीरगन्ज महानगरपालिका—१० घरियरवा टोलका १० जनाभन्दा बढी व्यक्ति स्वास्थ्य कर्मचारीलाई ८ देखि १० हजार रुपैयाँसम्म कोभिडसिल्ड खोपको दुवै डोज खोप लगाएको बताउँछन्। कतिपय त कर्मचारीले घरमै आएर खोप लगाई दिएको र सोबापत आफूहरूले पैसा तिरेको दाबी गर्छन्।
६४ वर्षभन्दा माथिको उमेर समूहका वृद्धवृद्धालाई पहिलो चरणमा दिइनुपर्ने खोप वडास्तरमा जनप्रतिनिधिका नातेदार र कार्यकर्तालाई बाँडिएको गुनासो व्यापक छ। ‘कोभिसिल्ड खोपका बेला कतिपय सोर्सफोर्स लगाएर खोप वितरण गरिएको जानकारी हामीले पनि पायौं। महामारीको निकै त्रास भएकाले पहिलो चरणमा खोप आउँदा अधिकांशले यसको स्वास्थ्यमा खराब असर पर्ने भन्दै लगाएनन् पनि। तर, दोस्रो चरणमा कोभिसिल्डको डोज आउँदा लक्षित समूहभन्दा बाहेककालाई पनि पहुँचकै भरमा खोप लगाइएको गुनासोहरू निकै धेरै आयो’, प्रदेश २ स्वास्थ्य आपूर्ति केन्द्रका निर्देशक डा. प्रमोद यादव भन्छन्, ‘भेरोसेल आएका बेला हामीले विशेष सतर्कर्ता अपनायौं। यसमा लक्षित समूहहरूलाई नै बढिजसो खोप वितरण गरिएको छ।’
प्रदेश २ मा कोभिसिल्डको दोस्रो डोजको पर्खाइमा २ लाख ६६ हजार ३ सय ५७ जना छन्। दोस्रो चरणमा भारतबाट खोप उपलब्ध नभएपछि दोस्रो डोज वितरण गर्न सकिएको छैन। त्यसैगरी भेरोसेलको पहिलो डोज ७२ हजार ९ सय ८५ जनाले पाइसकेका छन् भने ४० हजार ४३४ जनाले दोस्रो डोजको खोप पनि लिइसकेका छन्।
पहुँचवालाद्वारा कब्जा
५५ वर्ष उमेर समूहसहित केही लक्षित वर्गलाई साउन १ गतेदेखि खोप लगाउने अभियान थियो। बुटवलको कान्ति माविमा अभियान सुरु भयो। तर, त्यहाँ लक्षित समूहभन्दा पहुँचवाला हावी देखिए। चर्काे विवाद भएपछि प्रहरी नै परिचालन गर्नुपर्यो। खोप कार्यक्रम तीन घण्टा अवरुद्ध भयो।
लुम्बिनी प्रादेशिक अस्पतालमा पनि विवाद भयो। विदेश जानेलाई लक्ष्य गरी खोप लगाउने कार्यक्रम थियो। तर, त्यहाँ पनि लक्षित समूहभन्दा पहुँचवाला हावी भए। विवाद भएपछि खोप कार्यक्रम नै स्थगन गरी १ सय ६८ डोज फिर्ता पठाइयो।
लुम्बिनी प्रदेशको अस्थायी मुकाममा भएका यी घटनाले प्रदेशभरकै प्रतिनिधित्व गर्छ। सरकारले उमेर समूह र जोखिम क्षेत्रका नागरिकलाई खोप लगाउने योजना बनाएको छ। तर खोप भने पहुँचवालाको कब्जामा पुगेको छ। प्रदेशको सहरी क्षेत्रमा राजनीतिक दलका नेता, माथिल्लो तहका कर्मचारी, जनप्रतिनिधिका आफन्त, पत्रकार र स्वास्थ्यकर्मीका परिवार अधिकांशले खोप पाएका छन्। लक्षित समूहका व्यक्ति भने खोपबाट वञ्चित छन्।
रुपन्देहीमा उत्तरतर्फका नागरिकले मर्चवार पुगेर खोप लगाएका छन्। त्यसो गर्दा स्थानीयवासी खोपबाट वञ्चित भएका छन्। कोटहीमाई गाउँपालिका मर्चवारका पत्रकार राजकुमार धवल गाउँका धेरै ज्येष्ठ नागरिक खोपबाट वञ्चित भएको बताउँछन्। ‘पालिकामा आएको खोप सकियो भन्छन्। यहाँ ज्येष्ठ नागरिकले खोप नै पाएका छैनन्’, धवल भन्छन्, ‘जनप्रतिनिधि र कर्मचारीले आफ्ना मान्छे बोलाएर खोप लगाएका छन्।’
बुटवलका थुप्रै व्यवसायीले मर्चवार पुगेर खोप लगाएका छन्। रुपन्देहीजस्तै दाङ, नवलपरासी, बाँके, बर्दियाको अवस्था छ। गुल्मी, पाल्पा, अर्घाखाँची, प्युठान र रोल्पामा पनि पहुँचवालाले खोप लगाएर सकेका छन्।
दाङ तुल्सीपुर–६ की ५८ वर्षीया ललिता उपाध्याय खोप लगाउन दुई दिन खोप केन्द्रमा पुगेर फर्किइन्। दिनभर लामबद्ध भए पनि उनले खोप पाइनन्। तर, उनी गएकै खोप केन्द्रमा तन्नेरीहरू खोप लगाइरहेका थिए। ‘उमेर पुगेकालाई खोप दिने भन्थे, लाइनमा बसाले अनि सकियो भनेर पठाए’, उनी भन्छिन्।
खोप नलगाई फर्किने उनी मात्रै थिइनन्, तुल्सीपुर ५ कै ५५ वर्षिया कुसुम पौडेल पनि त्यत्तिकै फर्किनुपरेको थियो। सरकारले साउन १ गतेदेखिको अभियानमा ५५ वर्षभन्दा माथिकालाई खोप दिने जनाएको थियो। तर धेरैले खोप लगाउनै पाएका छैनन्। घन्टौं लाम लाग्दा पनि खोप लगाउन नपाएको बुटवल ११ का कुलबहादुर केसी बताउँछन्। स्थानीय सरकारले खोप केन्द्रको व्यवस्थापन तथा सर्वसाधारणको नामावली संकलनमा ध्यान नदिएको उनको भनाइ छ।
बुटवल उपमहानगरपालिकाका प्रवक्ता रामप्रसाद रेग्मी लक्षित समूह र नगरपालिकामा आएको खोपको संख्यामा तालमेल नमिल्दा समस्या भएको बताउँछन्। बुटवलका लागि ६ हजार ५ सय डोज उमेर समूह र १ हजार डोज शिक्षकका लागि गरी जम्मा ७ हजार ५ सय डोज आएको हो। उपमहानगरपालिकाले साउन १ गते उमेर समूहका लागि ६ तथा शिक्षकहरूका लागि थप २ गरी ८ केन्द्रबाट खोप लगाउने व्यवस्था गरे पनि पर्याप्त नभएपछि अधिकांश सेवाग्राही त्यसै फर्किनुपरेको थियो।
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङ शिक्षक/प्राध्यापक, यातायात मजदुर सहित ५५ वर्षभन्दा माथिकाका लागि खोप लगाउनुपरेकाले व्यवस्थापनमा केही असहजता आएको बताउँछन्। तामाङका अनुसार लुम्बिनीमा लक्षितभन्दा बाहिरका व्यक्ति खोपको लाममा बस्दा समस्या भएको हो।
रुपन्देहीमा यसपटक ६० हजार भाइल खोप आएको हो। जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख डा. राजेन्द्र गिरी आवश्यकताभन्दा कम खोप आउँदा व्यवस्थापनमा जटिलता देखिएको बताउँछन्। सरकारले लक्षित समूहकै जनसंख्या आँकलन नगरी खोप पठाएको जनाइएको छ। रुपन्देहीमा दुई दिनमा करिब ५० हजार खोप खपत भएको थियो।
खोपमा मनपरी
हेटौंडा उपमहानगरपालिकामा जेठ २९ गते कोभिसिल्ड खोप लगाउन कार्ड भर्दै गरेकाहरूको भिडियो सार्वजनिक भयो। सरकारले तोकेको मापदण्ड बाहिर एमालेनिकट नेता कार्यकर्ताले उपमेयरको कार्यकक्षमा खोप लगाउन कार्ड भर्दै गरेको भिडियो थियो त्यो। सामाजिक सञ्जालमा त्यसको विरोध गरिए पनि ठूलो रूप भने लिन पाएन।
एमाले मकवानपुरका नेता कार्यकर्ताले कांग्रेस, माओवादी केन्द्रका नेताहरूले वडा समितिहरूमा पुगेर लगाएको खोपको तथ्य सार्वजनिक गर्ने भनेपछि त्यो विषय सेलायो। पहुँचकै आधारमा प्रायः नेताहरूले खोप लगाइसकेका छन्।
जिल्ला कोभिड बिपद् व्यवस्थापन समितिको मंगलबार बसेको बैठकले १ सय थान भेरोसेल खोप मकवानपुर उद्योग वाणिज्य संघका पदाधिकारीलाई लगाउन दिने निर्णय गरेको छ। तर, यो निर्णय पनि सरकारले सार्वजनिक गरेको मापदण्डमा पर्दैन।
जिल्ला स्वास्थ्य कार्यालयले कति खोप जिल्लामा आयो, कुन उमेर समूह र लक्षित समूहले कति लगाए भन्ने तथ्यांक सार्वजनिक गरेको छैन। प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले खोपको अनियमितताबारे प्रश्न उठ्न थालेपछि एक महिनाअघि जिल्ला प्रशासन कार्यालयको समन्वयमा खोप लगाउने काम अघि बढाएका थिए। तर, प्रमुख जिल्ला अधिकारी पाण्डेले पनि बिभिन्न दबाबमा लक्षित समूहबाहिरका व्यक्तिलाई पनि खोप लगाउन सिफारिस गर्दै आएका छन्।
‘अब विस्तारै खोप सहज हुँदै गएको छ। पहिलाभन्दा दबाब पनि कम छ’, प्रमुख जिल्ला अधिकारी पाण्डे भन्छन्, ‘हामीले मापदण्डभित्र रहेर नै खोपसम्बन्धी निर्णयहरू गरिरहेका छौं।’
चीनबाट प्राप्त भेरोसेल खोप शिक्षक र चालक सहचालकलाई पनि लगाउने भने पनि यसको स्पष्ट मापदण्ड बनाएर खोप लगाउने काम भएको छैन। ‘गाडी चलाउने लाइसेन्स हुने जो कोहीले पनि लगाइरहेका छन्। निजी विद्यालयहरूले शिक्षक भनेर अन्य व्यक्तिहरूलाई पनि खोप लगाउन पठाइरहेको देखिन्छ’, हेटौंडा उपमहानगरपालिकामा कार्यरत एक स्वास्थ्यकर्मी भन्छन्, ‘सरकारले भनेको मापदण्डमा स्पष्ट व्यक्ति पहिचान गर्न नसक्दा पनि समस्या भएको छ।’
जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख प्रणयकुमार उपाध्यय सम्बन्धित वडा कार्यालयमा परिचयपत्र हेरेर र जिल्ला स्वास्थ्य कार्यालयको समन्वयमा सम्बन्धित संस्थाहरूले गरेको सिफारिसका आधारमा शिक्षक र चालक सहचालकलाई खोप लगाउने काम भइरहेको बताउँछन्। ‘हामीले सबै लक्षित वर्ग र मापदण्डभित्रका व्यक्तिहरूलाई नै खोप दिएका छौं’, उपाध्याय भन्छन्, ‘जिल्ला कोभिड बिपद् व्यवस्थापन समितिको निर्णयअनुसार काम गरिरहेका छौं।’
सुदूरपश्चिमलाई उपेक्षा
सधैं राज्यका सेवासुविधाबाट बञ्चित हुँदै आएको सुदूरपश्चिम प्रदेश कोरोना खोपमा पनि उपेक्षामा परेको छ। चीन, भारत र अमेरिकाबाट अनुदान र किनेर ल्याइएका ७१ लाख खोपमध्ये सुदूरपश्चिमको भागमा ३ लाख ३७ हजार डोज मात्रै परेको छ।
भारतले दुईपटक अनुदानमा दिएको र किनिएको ३० लाख खोपमध्ये २ लाख ४९ हजार डोज मात्रै प्रदेशमा आएको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले जनाएको छ। कोरोना महामारि फैलिएपछि भारतले दुईपटक नेपाललाई १०/१० लाख गरी २० लाख कोभिसिल्ड खोप अनुदानमा दिएको थियो। त्यसपछि सरकारले खरिद गरेको खोपमध्ये १० लाख डोज आएको थियो।
‘त्यसमध्ये दुई पटक गरी २ लाख ४९ हजार मात्रै प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले पाएको छ’, केन्द्रका प्रमुख पदमबहादुर विष्ट भन्छन्। विष्टका अनुसार चीनबाट आएको भेरोसेल खोप ८८ हजार डोज मात्रै सुदूरपश्चिममा प्राप्त भएको छ। ‘कोभिसिल्ड र भेरोसेल गरी ३ लाख ३७ हजार डोज खोप सुदूरपश्चिमका ९ जिल्लामा पठाएर सर्वसाधारणले लगाइसकेका छन्’, विष्ट भन्छन्, ‘तर अहिले थप खोप आएको छैन।’
सरकारले चीनबाट किनेको भेरोसेल खोप पनि सुदूरपश्चिममा आइपुगेको छैन। अमेरिकाको सिंगल डोजमा लगाउन मिल्ने, अनुदानको जोन्सन एन्ड जोन्सन खोप पनि यहाँ प्राप्त भएको छैन। ती खोप लुम्बिनी, बागमती र गण्डकी प्रदेशमा मात्रै पठाइएको छ।
स्वास्थ्य सेवा विभागले सुदूरपश्चिमका लागि १ लाख ४१ हजार डोज भेरोसेल र ९७ हजार २ सय ५६ डोज जोन्सन एन्ड जोन्सन खोप पठाउने जानकारी भने प्रदेश आपूर्ति व्यवस्थापन केन्द्रलाई पठाएको छ। ‘यस संख्याको व्यवस्थापनमा लाग्नु भन्ने पत्र आएको छ तर खोप आइपुगेको छैन’, विष्ट भन्छन्।
सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयले पनि खोप छिट्टै आउने प्रक्रियामा रहेको जनाएको छ। ‘अरू प्रदेशमा साउन ४ गतेदेखि खोप अभियान सञ्चालन भए पनि सुदूरपश्चिममा आएको छैन। तर, तीन–चार दिनमा आइपुग्छ होला’, सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. गुणराज अवस्थी भन्छन्।
यसअघि प्राप्त कोभीसिल्ड खोप कैलालीमा ७४ हजार १ सय ३०, कञ्चनपुरमा ३७ हजार १ सय १०, अछामका २४ हजार ३ सय २०, बैतडीमा १९ हजार ७ सय ४०, बझाङमा २० हजार ८ सय, बाजुरामा १४ हजार ६०, डडेल्धुरामा १४ हजार १ सय १० र डोटीमा २४ हजार ३ सय २० डोज पठाइएको छ। कोभिसिल्ड खोप लगाएका धेरै जेष्ठ नागरिकले दोस्रो डोज नपाएको केन्द्रले जनाएको छ।
चीनबाट आएको भेरोसेल खोप पनि कैलालीमा २८ हजार ७ सय ७८, कञ्चनपुरमा १५ हजार १ सय ४०, अछाममा ८ हजार ३ सय ४, बैतडीमा ७ हजार ५ सय ६०, बझाङमा ६ हजार १ सय ६८, बाजुरामा ४ हजार १ सय ४०, डडेल्धुरामा ३ हजार ७ सय ७० र डोटीमा ६ हजार ३५ डोज पठाइएको छ।
स्थानीयले अनुदानमा आएका र सरकारले किनेका खोप दामासाहीको हिसाबले वितरण हुनुपर्ने माग गरेका छन। ‘७१ लाख खोप७ प्रदेशलाई वितरण गर्दा हरेकको भागमा १० लाखभन्दा बढी पर्न आउँछ। तर ३ लाख ३७ हजार भनेको त्यसको पनि एक तिहाई हो। यो सुदूरपश्चिमप्रतिको उपेक्षा हो’ सुदूरपश्चिम विश्वविद्यालयका पूर्व रिजिष्टार डाक्टर हेमराज पन्त भन्छन्, ‘सुदूरपश्चिम कोरोनाको ‘ईपीसेन्टर’ भएकाले पनि यहाँ खोप बढी आउनुपर्छ।’
खोप ढुवानी गर्ने रेफ्रिजरेटर ग्यारेजमा
प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रसँग रहेको रेफ्रिजरेटर भ्यान डेढ वर्षदेखि थन्किएको छ। विभागले पठाएको उक्त रेफ्रिजरेटर भ्यानमा लाखौं खर्च गर्दा पनि सञ्चालन गर्न नसकिएको केन्द्रका प्रमुख विष्ट बताउँछन्।
‘दुई/तीन पटक काठमाडौं लगेर बनाइयो तर बुटबल नपुग्दै बिग्रीने गरेको छ। त्यसका २ सय ५० लिटर भोल्युममा खोपहरू ढुवानी गर्न सकिन्थ्यो। ५ लाख डोज एकै पटकमा ढुवानी गर्न सकिने क्षमता थियो। तर, त्यो पुरानो भएकाले मर्मतमै धेरै रकम लाग्न थालेपछि थन्काइएको हो,’ विष्ट भन्छन्।
केन्द्रले अहिले कोरोना र अन्य नियमित खोपहरू कोल्ड बक्समा प्याक गरेर गाडीबाट जिल्लाहरूमा पठाइरहेको छ। ‘आइस बक्समा प्याक गरेर पठाउनुको विकल्प छैन, रेफ्रिजरेटर भ्यान नभएकाले यसरी पठाउदा ढुवानी सारै महँगो पर्न थालेको छ, रेफ्रिजरेटर भ्यान अति आवश्यक भइसक्यो’ उनी भन्छन्।
गण्डकीमा महानगरवासी नै वञ्चित
५५ वर्षमाथिलाई खोप लगाउने सूचना पाएपछि पोखरा महानगरपालिका–२८ माझठानाका वृद्धवृद्धा एकाबिहानै हिँडेर स्वास्थ्य चौकी आइपुगे। १० बजेपछि खोप लगाउने भनेर उनीहरू लाम लागे। खोप बोकेर एउटा गाडी आउँदै गरेको देखियो। तर, उक्त गाडी स्वास्थ्य चौकीमा नआइपुग्दै खबर आयो– ‘खोप आज नलगाउने रे !’ वडाध्यक्ष निर्मल दियालीलाई पनि फोनमा त्यही सन्देश आयो– ‘खोप कार्यक्रम स्थगित।’
वडाध्यक्ष दियालीले महानगरपालिकाको कार्यालयमा फोन लगाए। ‘माथिको आदेश हो, आज खोप नलगाउने।’ उनले तब प्रमुख जिल्ला अधिकारीलाई फोन घुमाए। त्यहाँबाट पनि जवाफ महानगरपालिकाबाट भन्दा भिन्न पाएनन्। भएको के रहेछ भने आइतबार माझठानामा पठाइएको खोप अमेरिकी कम्पनीको थियो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उक्त खोप ५० देखि ५४ वर्षसम्मका व्यक्तिलाई मात्रै लगाउन भनेको रहेछ। खोप लगाउन बोलाइएकाहरू भने त्योभन्दा माथिल्लो अर्थात् ५५ वर्ष कटेकाहरू थिए।
बोलाएका एकथरी र खोप लगाउनुपर्ने उमेर समूह अर्काथरी परेपछि त्यस दिन माझठानामा मात्रै होइन पोखरा महानगरका थुप्रै वडामा खोप कार्यक्रम स्थगन गरियो। पोखराका १८ देखि ३३ नम्बर वडामा त्यस दिन खोप लगाउने भनिएको थियो। त्यसअघिका वडाका ५५ वर्षभन्दा माथिकालाई खोप लगाइएको थियो।
पोखरा महानगरपालिकाको स्वास्थ्य महाशाखाका अधिकृत हरिलाल आचार्य ५५ वर्षमाथिलाई छुटाएर अरूलाई लगाउँदा विवाद हुने देखिएको बताउँछन्। व्यवस्थापन गर्न कठिन हुने देखेर खोप कार्यक्रम स्थगन गरिएको अधिकृत आचार्यको भनाइ छ। ‘१ देखि १८ नम्बर वडामा ५५ वर्षमाथिकाले खोप लगाउनुभएको छ’, आचार्य भन्छन्, ‘बाँकी वडामा पनि त्यही उमेरकालाई छुटाउनु न्याय हुँदैनथ्यो।’
स्वास्थ्य कार्यालय कास्की प्रमुख बाबुराम आचार्य जोन्सन खोप ५० देखि ५४ वर्षका व्यक्तिलाई लगाउन स्वास्थ्य मन्त्रालयले ढिला गरी भनेको बताउँछन्। स्वास्थ्य कार्यालयका आचार्यका अनुसार कास्कीका चार गाउँपालिका रूपा, मादी, माछापुच्छ्रे र अन्नपूर्णमा भने जोन्सन खोप लगाइएको छ। तर, महानगरपालिकामै छुटेकाहरूलाई खोप अब कहिले त ? गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका प्रमुख डा. खिमबहादुर खड्का चीनबाट भेरोसिल खोप आएपछि स्थानीय तहहरूलाई उपलब्ध गराउन सकिने बताउँछन्। सरकारले साउन ७ गते चीनबाट भेरोसिल खोप ल्याउँदै छ। तर, पोखरामा कति आउँछ र छुटेकाहरूले पाउँछन् कि पाउँदैनन् भन्ने यकिन छैन।
गण्डकी प्रदेशको विकट जिल्ला मनाङमा खोप हेलिकोप्टरबाट पुर्याइएको छ। मुस्ताङमा मानिसले नै बोकेर लगिएको छ। दुवै जिल्लामा बाढीपहिरोले सडक भत्काउँदा स्थल यातायातका साधन गुड्न नपाउँदा अन्य विकल्प रोज्नुपरेको हो। हिँडेर जाँदा सात दिन लाग्ने र मोटरबाटोले नछोएको र सदरमुकामबाट हिँडेर जाँदा सात दिनै लाग्ने गोरखाको उत्तरी गाउँ चुमनुब्रीमा पनि हेलिकोप्टरबाट खोप पुर्याइएको छ। गोखराको चुमनुब्रीमा २ साउन र मनाङमा ५ गते खोप लगिएको हो।
उत्तरी सीमावर्ती गाउँमा सबैलाई खोप
चीनसँगको सीमावर्ती गोरखाका गाउँमा कोरोना भाइरसविरुद्ध भेरोसिल खोप लगाइएको छ। हेलिकोप्टरबाट ढुवानी गरी गाउँ–गाउँमा पुर्याएर खोप लगाइएको खोप समन्वय समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी शालिग्राम पौडेलको भनाइ छ।
चीनले सीमा आसपास बसोबास गर्ने सबैका लागि खोप उपलब्ध गराएको थियो। स्वास्थ्य कार्यालय गोरखामा प्राप्त ३ हजार डोज सिम्रिक एयरको हेलिकोप्टरबाट ढुवानी गरी सीमावर्ती गाउँमा पुर्याइएको कोल्डचेन निरीक्षक ऋषिराम खत्रीको भनाइ छ।
‘३ हजार डोज पठाइएको थियो। प्रायः सबैलाई लगाइएको छ’, खत्री भन्छन्, ‘कुनै गाउँमा एकाध छुटेका होलान्। कतै अलिअलि बढी भएको छ। त्यसलाई व्यवस्थापन गरी अपुग ठाउँमा पठाएर खोप लगाउने तयारी छ।’
चुमनुब्री गाउँपालिका–१ सामागाउँमा केही खोप लगाउन छुटेका वडाध्यक्ष वीरबहादुर लामाको भनाइ छ। ‘५५ वर्षभन्दा माथिका केहीले डराएर लगाएका थिएनन्। उहाँहरु छुट्नुभएको छ’, वडाध्यक्ष लामा भन्छन्, ‘तर कति जना छुट्नु भयो एकिन छैन।’
वडा नम्बर २ मा पनि खोप कार्यक्रम सम्पन्न भएको वडाध्यक्ष पेम्बारेता लामाको भनाइ छ। वडा नम्बर ४ प्रोकमा पनि खोप लगाइएको छ। ‘गाउँमा रहेका सबैले लगाएका छन्। बरु काठमाडौं, गोरखा बजार, पोखरातिर रहेका गाउँका विद्यार्थीले लगाउन पाएका छैनन्’, वडाध्यक्ष पेमाडुण्डुप लामा भन्छन्, ‘आजका विद्यार्थी भनेका भोलिका गाउँ हाँक्ने शक्ति हुन्। उनीहरुले झन खोप लगाउन पाउनुपर्ने हो तर पाएनन्। दुःख लागेको छ।’
वडा नम्बर ७ छेकम्पारमा पनि खोप कार्यक्रम सम्पन्न भएको वडाध्यक्ष पासाङ फुञ्जो लामाको भनाइ छ। लक्षित समूहलाई लगाएर बाँकी रहेको खोप उमेर समूह बाहिरकालाई पनि लगाइदिएको वडाध्यक्ष लामा सुनाउँछन्।
छुटेकाहरुलाई पुनः हेलिकोप्टरबाट लगेर लगाउने प्रयास भइरहेको कोल्डचेन निरीक्षक खत्रीको भनाइँ छ। उनका अनुसार वडा नम्बर ५ बिहीमा करिब सय डोज खोप उप्रिएको छ। सो क्षेत्रका ३ हजार ७ सय ८ जनाका लागि स्वास्थ्य कार्यालय गोरखाले ३ हजार खोप पठाएको थियो।
‘खोप केन्द्रमा मापदण्ड पालना नगर्ने प्रवृत्ति देखियो’
डा. झलक शर्मा गौतम
– खोप शाखा प्रमुख, स्वास्थ्य सेवा विभाग
कोरोना भाइरसविरुद्धको खोप कति नेपालीले स्वदेशमै लगाएका छन् ?
पहिलो डोज लगाउने करिब १२ प्रतिशत छ। दोस्रो डोज लगाउने अर्थात् पूर्ण खोप पाउने ४.३ प्रतिशतजति छन्।
खोप केन्द्र अव्यवस्थित हुँदा त्यहींबाट के संक्रमणको जोखिम देखिएको हो ?
सूचना र ओरियन्टेसनचाहिँ खोप केन्द्र बढाउने, भीडभाड कम गर्ने, भौतिक दूरी कायम राख्ने नै हो। हामीले सूचनाप्रवाह पनि गरिरहेका छौं। खोप केन्द्रमा आएका व्यक्तिलाई पनि
सम्झाउने/बुझाउने, स्वास्थ्य मापदण्ड पालना गर्न आग्रह गर्ने हो। जबरजस्ती गर्न पनि भएन। तर, त्यसको अवज्ञा गरेको देखियो।
काठमाडौंको हकमा नागरिकले नटर्ने र स्वास्थ्य मापदण्ड पालना नगर्ने प्रवृत्ति पनि पाइयो। काठमाडौं उपत्यकाभन्दा तुलनात्मक रूपमा बाहिरी जिल्लामा स्वास्थ्य मापदण्ड पालना गरेको पाइएको छ।
खोप केन्द्रको संख्या थोरै भएर समस्या भएको हो कि खोप उपभोक्ताको प्रवृत्तिगत समस्या हो ?
उपत्यकामै १ सय ७० भन्दा बढी खोप केन्द्र छन्। यो संख्या थोरै होइन। खोप लगाउन आउनेहरू एकैजसो समय हुन्छ। लाइन लाग्दा पनि भौतिक दूरी कायम नगर्ने प्रवृत्ति देखिएको छ।
खोपप्रति निस्क्रिय र खोपप्रति सक्रिय वर्गको मनोविज्ञान कस्तो पाउनुभएको छ ?
एउटा तप्का खोपप्रति निस्क्रिय छ। जुन खोप भए पनि हुन्छ भन्ने मनोभाव छ। अर्को वर्गचाहिँ यो खोप भए हुन्थ्यो भन्ने छ। खोपको छनोट गर्छन्। निश्चित खोपको माग गर्छन्। खोपप्रति मिश्रित खालको मनोविज्ञान छ। कुन खोपलाई कति प्रतिशतले रुचाए भन्ने तथ्यांक छैन।
सबैभन्दा बढी खोप लगाउने १० मुलुक
१ चीन
२ भारत
३ अमेरिका
४ ब्राजिल
५ जर्मनी
६ बेलायत
७ जापान
८ फ्रान्स
९ टर्की
१० इटली

