काठमाडौँ — सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले कोरोना भाइरस संक्रमणको जोखिमबाट बचाउने कार्ययोजना छिट्टै सार्वजनिक गरिने बताएका छन् ।
मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न शुक्रबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरुङले कस्तो आचारसंहिता, मापदण्ड अपनाउने भन्ने योजना चाँडै सार्वजनिक गर्ने बताएका हुन् । छिमेकी भारतलगायत देशमा कोरोना संक्रमण बढिरहेकोले त्यसको नियन्त्रणमा नेपालमा फेरि सरकारले लकडाउन गर्ने चर्चा चलेको भन्दै सञ्चारकर्मीको जिज्ञासामा मन्त्री गुरुङले कोभिडबाट जनतालाई कसरी बचाउने, कसरी सुरक्षित राख्ने भन्नेमा सरकारले सोच राखिरहेको बताए । उनले लकडाउन वा अन्य सुरक्षित विधि, मापदण्ड, आचारसंहिता लगायत विषयमा सबैसँग छलफल गरेर टुंगोमा पुगिने बताए । पत्रकार सम्मेलनमा मन्त्री गुरुङले भने, ‘सरकारले राष्ट्र, जनताको हितमा कार्ययोजना बनाउने छ । त्यो बनिसके पछिकोरोना नियन्त्रणका लागि सरकारको निर्णय छिट्टै आउनेछ ।’
पछिल्लो २४ घण्टामा नेपालमा २८८ कोरोना संक्रमित थपिएसँगै नेपालमा संक्रमितको संख्या २ लाख ७९ हजार ३ सय ८८ पुगेको छ । हालसम्म २ लाख ७३ हजार ७ सय ३५ जना संक्रमणमुक्त भएको मन्त्रालयको तथ्यांक छ । हालसम्म मृत्यु हुनेको संख्या ३ हजार ३८ छ । हालसम्म नेपालमा २३ लाख ६ हजार २ सय ४४ पीसीआर परीक्षण भएका छन् ।चैत्र २७, २०७७

