शरीरको सम्पूर्ण भार थेग्ने हुँदा घुँडा र हिपको जोर्नीलाई शरीरको महत्वपूर्ण जोर्नी मानिन्छ । यो जोर्नीमा समस्या आउँदा हिँड्डुल गर्न, उठ्न–बस्न नै समस्या आउने हुँदा शरीर चलायमान गर्न सकिँदैन । नेपालमा घुँडा तथा हिपको जोर्नी प्रत्यारोपण सेवा सुरु भएको धेरै समय भएको छैन । अहिले पनि काठमाडांै र केही सहरी क्षेत्रमा रहेका ठूला अस्पतालमा बाहेक जोर्नी प्रत्यारोपण सेवा उपलब्ध छैन । सामान्यतया सबै सरकारी अस्पतालहरूमा जोर्नी प्रत्यारोपण सेवा उपलब्ध नहुनु र निजी अस्पतालमा उपचार खर्च महँगो हँुदा जोर्नी प्रत्यारोपण महँगो उपचारअन्तर्गत पर्छ ।
जोर्नी प्रत्यारोपण भनेको समस्या आएको जोर्नीलाई शल्यक्रियामार्फत निकालेर कृत्रिम धातुको जोर्नी राख्नु हो । जोर्नी प्रत्यारोपण जुनसुकै जोर्नीको उपचारका लागि महत्वपूर्ण माध्यम मानिन्छ । घँुडा वा हिपको जोर्नीमा समस्या आए चलाउन नसकिने अवस्था आएमा धातुको जोर्नी राखिन्छ । जुन स्टिल, कोबाल, क्रोमियम, मोलिबेलमको सम्मिश्रणबाट निर्माण गरिएको हुन्छ । सेरामिक धातुबाट बनेको जोर्नी पनि प्रत्यारोपणमा राख्ने गरिन्छ, जुन अन्यको तुलनामा महँगो पर्छ । धातुबाट बनेको जोर्नी स्थायी रूपमा प्राकृतिक जोर्नीमा फिट गरिन्छ ।
सामान्यतया ६० वर्षभन्दा माथि उमेर भएपछि हड्डी खिइँदै जाने समस्या हुन्छ । जुन जोर्नीमा आउने समस्याको मुख्य कारण हो । योसँगै अटोइम्युन रोग र दुर्घटनाका कारणसमेत जोर्नीमा समस्या आएर प्रत्यारोपण गर्नुपर्ने अवस्था आउन सक्छ । एकपटक जोर्नी प्रत्यारोपण गरेपछि अपवादबाहेक औसत १५ वर्षसम्म कृत्रिम जोर्नीले प्रभावकारी रूपमा काम गर्छ । सामान्यतया दुर्घटनाका कारण जोर्नीमा समस्या आएका वयष्क वा बालबालिकामा भने प्रत्यारोपण गरिएको जोर्नी वृद्धवृद्धाको तुलनामा कम समय टिक्ने हुन सक्छ । योसँगै जोर्नी प्रत्यारोपण बाँकी शरीरको हड्डी कत्तिको मजबुत छ भन्नेमा पनि भर पर्छ । सामान्यतया प्रत्यारोपण गरिएको जोर्नी नजिकको हड्डीहरू बलियो भएमा जोर्नीलाई अठ्याएर राख्ने गर्छ, जसले गर्दा प्रत्यारोपण लामो समयसम्म प्रभावकारी हुन्छ ।
कसरी गरिन्छ जोर्नी प्रत्यारोपण
जोर्नी प्रत्यारोपण सामान्य शल्यक्रियाद्वारा गरिन्छ । जोर्नी प्रत्यारोपण गर्नुपर्ने अंगमा अगाडिको भागबाट काटेर खिइएको जोर्नीलाई हटाइने गरिन्छ । योसँगै कृत्रिम जोर्नीलाई आवश्यक आकारमा मिलाएर राख्ने गरिन्छ । टिबिया अर्थात् खुट्टाको हड्डी र फेबर (थाईको हड्डी)मा इम्प्लान्ट अर्थात् कृत्रिम जोर्नी फिट गरिन्छ । जुन सही आधारमा चलायमान भएको निर्धारण गरिसकेपछि घाउ बन्द गरिन्छ र हड्डीले आकार लिनका लागी बाहिर सिमेन्टको प्रयोग गरिन्छ । हिपमा पनि यही आधारमा शल्यक्रियाबाट प्रत्यारोपण गरिन्छ ।
अन्य अंग प्रत्यारोपणपश्चात् सामान्यतया पुरानो अवस्थामा फर्किन लामो समय आरामको आवश्यकता पर्ने हुन्छ, तर जोर्नी प्रत्यारोपण गरेको एक वा दुई दिनमै हिँड्डुल गर्न सक्छन् । जसलाई जोर्नी प्रत्यारोपणको ठूलो उपलब्धि मान्ने गरिन्छ । बाहिरी घाउ निको हुन केही समय लागे पनि शल्यक्रियापश्चात् जोर्नी पूर्ण रूपमा निको भएर जान्छ ।
जोर्नी प्रत्यारोपणका लागि आवश्यक पर्ने उपचारका साम्रगीहरू अन्य देशहरूबाट आयात गरिने हुँदा पनि नेपालमा यो उपचार महँगो पर्ने गर्छ । यद्यपि, केही निजी अस्पतालहरूले भने सस्तोमा पनि उपचार गरिरहेका छन् ।

