वासिङटन डिसी, पुस ९ । जर्मन कम्पनी बायोएनटेकका प्रमुख कार्यकारीले बेलायतमा देखिएको नयाँ प्रजातिको कोरोना भाइरसविरूद्ध आफ्नो खोपले लड्न सक्ने बताएका छन्।
बायोएनटेकरफाइजरले बनाइसकेको खोपलाई बेलायतको नयाँ भाइरसकै लागि भनेर परिमार्जन गर्न नपर्ने बायोएनटेक प्रमुख उगुर साहिनले पत्रकार सम्मेलनमा जानकारी गराएका हुन्।
द गार्डियनका अनुसार यो खोप नयाँ कोरोना भाइरसविरूद्ध पनि काम गर्नेमा आफू विश्वस्त रहेको पनि उनले बताएका हुन्। तर यसबारेमा थप अध्ययन गर्नुपर्ने पनि उनले बताएका छन्। यो भाइरसविरूद्ध खोपले काम गरे/नगरेका बारे उनको टिमले अध्ययन गरिरहेको पनि साहिनले बताए। यसको परिणाम दुई हप्तामा आउने उनले बताएका छन्। नयाँ भाइरसबाट हाम्रो खोपले पूर्ण सुरक्षा दिन्छ कि दिँदैन भनेर अहिले ठोकुवा त गर्न सक्दैनौं,साहिनका भनाइ उद्धृत गर्दै द गार्डियनले लेखेको छ,तर वैज्ञानिक रूपमा यो खोपले नयाँ प्रजातिका भाइरससँग पनि सहजै लड्ने सम्भावना उच्च छ।
उनका अनुसार बेलायतमा देखिएको उक्त भाइरसमा एक पटक नभइ नौ पटक परिवर्तन भइसकेको छ। र यो सामान्य हो किनकी बेलायतमा देखिएको यो भाइरसको प्रोटिन ९९ प्रतिशत पहिलेकै भाइरसको जस्तो छ। त्यसैले आफूहरूले बनाएको खोपले नयाँ भाइरसलाई पनि काम गर्नेमा साहिन विश्वस्त छन्।
कारणवश नयाँ भाइरसका लागि खोपमा केही परिमार्जन गर्नुपर्यो भने पनि कम्पनीले ६ साता नै काम भ्याउने साहिनले बताएका छन्। तर परिमार्जित खोप सर्वसाधरणलाई लगाउन भने पहिलेकै चरणहरू पार गर्नुपर्नेछ। त्यसमा परीक्षणदेखि अनुमतिसम्मका कुराहरू पर्नेछन्। हामीले खोपमा जतिनै विकास गरे पनि यसले कोरोना भाइरस निर्मूल भने पार्दैन,साहिनले भनेका छन्, यो हामीसँग आगामी दस वर्षसम्म रहनेछ।बायोएनटेकरफाइजरको यो खोपले अहिले ४५ वटा भन्दा बढी देशमा लगाउन अनुमति पाइसकेको छ।

