काठमाडौं । कोरोना संक्रमणको दोस्रो लहरसँगै काठमाडौं हट स्पट बनेको छ । संक्रमणको तीब्रतासँगै काठमाडौंमा जोखिम बढेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, काठमाडौं उपत्यकामा सक्रिय कोरोना संक्रमितको संख्या १९ हजार ७ सय ५२ पुगेको छ । जसमध्ये काठमाडौंमा १६ हजार २ सय ४२ , ललितपुरमा २ हजार ३ सय ४५ र भक्तपुरमा १ हजार १ सय ६५ जना सक्रिय संक्रमित छन् । यो संख्या मुलुकभर रहेका कुल संक्रमितको ५१ प्रतिशत हो ।
मुलुकभर सक्रिय कोरोना संक्रमितको संख्या ३८ हजार ३ सय ५७ पुगेको छ । काठमाडौं उपत्यकामा हालसम्म ५४ हजार ९ सय ६ जना व्यक्तिमा कोरोना संक्रमणबाट निको भइसकेको छ । हालसम्म ७४ हजार ९ सय ९१ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । कोरोना संक्रमित मध्ये २ सय ३३ जनाको ज्यान गइसकेको छ । काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या ७४ हजार ९ सय ९१ पुगेको छ । यसमध्ये काठमाडौं जिल्लामा मात्र ६० हजार ७ सय ४२ जना संक्रमण भइसकेको छ । अहिले होम आइसोलेसनमा १० हजार ५ सय १ जना रहेका छन् ।
त्यस्तै, ललितपुरमा दुई हजार ३ सय ४५ सक्रिय संक्रमित छन् । आठ हजार ५ सय ९९ जनामा संक्रमण पुष्टि भइसकेको छ । ६ हजार १ सय ९६ जना निको भइसकेका छन् । भक्तपुरमा एक हजार १६५ जना रहेका छन् । भक्तपुरमा पाँच हजार ६५० रहेका छन् । भदौ अन्तिमसम्म संक्रमितको संख्या ११ हजार रहेकोमा असोज अन्तिममा ५१ हजार नाघेको थियो । असोजदेखि कात्तिक १४ गतेसम्म भने यो संख्या ७४ हजार नाघेको छ ।
उपत्यकामा पछिल्लो दुई सातामा २३ हजार संक्रमित थपिएका छन् । उपत्यकामा डेढ महिना भित्रमात्र ५८ हजारमा संक्रमण देखिएको छ । कोरोनाका कारण काठमाडौं उपत्यकामा मात्र ३३३ जनाले ज्यान गुमाएका छन् । जसमा काठमाडौंमा मात्र २१२ जना रहेका छन् ।उपत्यकामा दुई साताको अवधिमा मात्र १ सय जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।
काठमाडौं उपत्यकामा कात्तिक १४ गते शुक्रवार १८ सय ८८ जना कोरोना भाइरस का संक्रमित थपिएका छन्। ७ सय ८१ महिला र ११ सय ७ पुरुष गरी १८ सय ८८ जनामा संक्रमण देखिएको मन्त्रालय प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।

